नेपाल-यूएई टी-२०: दीपेन्द्रले अन्तिम ओभरमा नेपाललाई जिताए, शृङ्खला बराबरी भएपछि समर्थकहरू खुसी

नेपाली समर्थक

तस्बिर स्रोत, Niranjan Rajbanshi

    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी नेपाली सेवा, दुबई

दीपेन्द्र सिंह ऐरी र पवन सर्राफले ब्याटिङमा राम्रो साझेदारी गरेपछि नेपालले दोस्रो टी-२० क्रिकेट खेलमा यूएईलाई चार विकेटले हराएको छ।

यूएईले १९.२ ओभरमा सबै विकेट गुमाएर १०७ रन बनाएको थियो। एक शय आठ रनको लक्ष्य पाएको नेपालले १९.३ ओभरमा छ विकेट गुमाएर १११ रन बनायो।

अन्तिम ओभरको पहिलो बलमा पवन आउट भएका थिए। तर दीपेन्द्रले दोस्रो बलमा छक्का र तेस्रोमा चौका प्रहार गरेर तीन बल बाँकी छँदै नेपालको लक्ष्य पूरा गरिदिए।

यो विजयपछि तीन खेलको शृङ्खला १-१ ले बराबर भएको छ।

खेल हेर्न पुगेका नेपालीहरूले आफ्नो टोलीले जितेपछि हर्षोल्लास गरेका थिए।

बिहीवार भएको पहिलो खेलमा नेपाल पराजित भएको थियो।

आइतवार हुने अन्तिम खेलको विजेताले शृङ्खला जित्नेछ।

दीपेन्द्र र पवनको साझेदारी

दश ओभरमा पाँच विकेट गुमाएर ४६ रनको स्थितिमा नेपाल हुँदा ऐरी र सर्राफको साझेदारी सुरु भएको थियो।

उनीहरूले नहतारिईकन खेल्दै नेपाललाई बिस्तारै जिततर्फ डोर्‍याएका थिए। तर पवन मैदानमा पूरै समय टिक्न सकेनन्।

अन्तिम ओभरको पहिलो बलमा १८ रन बनाएर आउट भएका थिए। त्यसपछि ऐेरीले छक्का र चौका हानेर ४७ रनमा अविजित रहँदै नेपाललाई अन्तिम ओभरमा विजयी बनाएका थिए।

नेपालले ब्याटिङमा राम्रो सुरुवात गर्न सकेन। प्रदीप ऐरी र कप्तान पारस खड्का नेपालको नौ रन पुग्दा आउट भइसकेका थिए।

उपकप्तान ज्ञानेन्द्र मल्ल पनि सात रनमा आउट भए।

अविनास बोहोरा

तस्बिर स्रोत, .

करण केसीले २० रन बनाउँदै केही आशा देखाए पनि उनी र सन्दीप जोरा सँगसँगै आउट भएपछि नेपालले १० ओभरमा ४६ रनभित्रै पाँच विकेट गुमाएको थियो।

यही अवस्थामा ऐरी र सर्राफ ब्याटिङमा आएका थिए।

यूएईको सङ्घर्ष

पहिलो खेलमा नेपाललाई २१ रनले हराएको यूएईले टस जितेर पहिले ब्याटिङ गरेको थियो। सोमपाल कामीले तीन ओभरभित्र दुई विकेट लिएपछि यूएई खुम्चिएको थियो।

शुक्रवारको खेलमा सन्दीप लामिछानेले आफ्नो पहिलो ओभरको अन्तिम दुई बलमा लगातार दुई विकेट लिएका थिए।

पारस खड्का

तस्बिर स्रोत, .

सोमपाल र सन्दीपका प्रदर्शनका कारण यूएई छ ओभरमा चार विकेटको क्षतिमा ३४ रनको स्थितिमा पुगेको थियो।

उनले बिहीवारको खेलमा सर्वाधिक रन बनाउने म्यान अफ द म्याच साइमन अनवर र मोहम्मद उस्मानलाई आउट गरेका थिए। अनवरले १४ रन मात्रै बनाए।

रिज्वानको रन,अविनाशको तीन

अरू खेलाडीहरू आउट भइरहे पनि ओपनर सीपी रिज्वान भने टिकेर खेले।

उनले ४३ बलमा ४४ रन बनाएका थिए। यूएईको नवौँ विकेटमा रूपमा उनी अविनाश बोहोराको बलमा आउट भएका थिए।

आफ्नो दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेल खेलिरहेका बोहोराले मध्यक्रममा राम्रो बलिङ गर्दै तीन विकेट लिएका थिए।

करण केसीले पनि दुई विकेट लिए। ललितनारायण राजवंशी र पवन सर्राफले विकेट लिन सकेनन्।