नर्गिस मोहम्मदी: नोबेल शान्ति पुरस्कार विजेता जसले वर्षौँ जेल बस्नुपर्यो

तस्बिर स्रोत, Reuters
- Author, बीबीसी न्यूज पर्सियन
- पढ्ने समय: ५ मिनेट
नर्वेको राजधानी ओस्लोमा १० डिसेम्बर २०२३का दिन १७ वर्षे जुम्ल्याहाले नोबेल शान्ति पुरस्कार थापे र त्यसलाई बीचमा रहेको एउटा खाली कुर्चीमा राखे।
नोबेल पुरस्कार स्वीकार गर्दै दिइने भाषणमा नर्गिसकी छोरीले आमाबिनाको आफ्नो किशोरावस्थाको कठिनता तर खासगरी इरानी महिलाको मानव अधिकारबारे आमाको लडाइँ उनीहरूका लागि गौरवको कुरा छ भन्ने राखिन्।
उनीहरू इरानबाट युरोपका लागि ८ वर्षको उमेरमा हिँडेदेखि आमासँग छुट्टिएर रहेका छन्।
उनीहरूकी आमा त्यतिबेला इरानी जेलमा थिइन् र अहिले पनि उनी इरानी जेलमा छन्।
जतिबेला जुम्ल्याहाहरू दुई वर्षका थिए, इरानी अधिकारीले उनलाई चेतावनी दिएका थिए : "आफूसँग साना बच्चा छन् त्यसैले गिरफ्तार हुने छैन भन्ने नसोच्नू, बच्चासहित म तिमीहरूलाई जेल हाल्ने छु।"
"तिमीले तेहरान छोड्नै पर्छ।"
तर उनले तेहरान छोडिनन्। उनले मानव अधिकारको अभियानमा सक्रिय हुन पनि छोडिनन्। त्यसैले गर्दा नर्गिस मोहम्मदी नोबेल शान्ति पुरस्कार पाउने दुई इरानी महिलामध्ये एक बनेकी छन्।

तस्बिर स्रोत, Anadolu via Getty Images
नोबेल फाउन्डेशनमा प्रयोग गरिएको जानकारी अनुसार अहिलेसम्म उनी १४ भन्दा बढी पटक गिरफ्तार गरिएकी छन्, ३१ वर्ष जेल परेकी छन् र १५४ पटक कोर्रा खाएकी छन्।
उपचार आवश्यक पर्ने गम्भीर स्वास्थ्य समस्या भए पनि गएको दुई दशकमा उनी एक जेलबाट अर्को जेलमा पठाइएकी उनका परिवारका सदस्य र सहकर्मी अभियानकर्मीले बताएका छन्। उनलाई सोधपुछ र धरपकडमा बेलामा वा अदालतमा सुनुवाइका बेला उनले हिजाब नलगाउनाले उनलाई भौतिक र मानसिक दुर्व्यवहार हुने गरेको छ।
१० मे २०२६ आइतवारका दिन गिर्दो स्वास्थ्य अवस्थाका कारण उनलाई जेलबाट तेहरान अस्पतालमा सारिएको छ।
इरानी अधिकारीहरूले "ठूलो मात्राको धरौटी रकम लिएर जेल सजायँ स्थगित गर्ने" भनेका थिए। उनी अहिले "आफ्नै मेडिकल टीमबाट तेहरान पार्स अस्पतालमा उपचार गराइरहेको" नर्गिस मोहम्मदी फाउन्डेशनले बताएको छ।
उनका वकिल चिरिन अर्दकानीका अनुसार उनलाई उत्तरी इरानको जनजन शहरमा हृदयाघात भएको हो कि भन्ने आशङ्का गरिएको छ र गएका १० दिन उनले सघन उपचार कोठामा राखिएको छ।
गत चार महिनामा उनको वजन २० किलो घटेको छ र उनलाई श्वास फेर्न अक्सिजनको सहारा चाहिन्छ।
नर्वेमा बस्ने उनका भाइ हमदिरेजा बीबीसी न्यूजलाई भने, "इरानी सत्ताले नर्गिस र उनीजस्ता अभियानकर्मीहरूबाट मुक्ति चाहेकोमा कुनै शङ्का छैन।"
राजनीतिक गतिविधि
मोहम्मदी राजनीतिक परिवारकी हुन्। उनी जनजनमा जन्मेको वर्ष सन् १९७२ को एप्रिलको २१ दिन उनको परिवारका कैयौँको राजनीतिक हत्या गरिएको थियो।
उत्तर-मध्य इरानस्थित एक प्रमुख शहर कराज र पश्चिम इरानस्थित कुर्दिस्तान प्रान्तमा उनी हुर्किइन् र विश्वविद्यालयमा अप्लाइड फिजिक्स पढ्दै राजनीति गतिविधिमा चुर्लुम्म डुबिन्।
सन् १९९७ मा मोहम्मदी पूर्व राष्ट्रपति मोहम्मद खतामीको चुनावी प्रचारमा सक्रिय भइन्।
सन १९९९को संसदीय चुनावमा क्षेत्रीय राष्ट्रवादी अभियानका लागि काम गरिन् जसले इस्लामिक सिद्धान्त र धर्म निरपेक्ष इरानी राष्ट्रवादको मिश्रणको वकालत गर्थ्यो।
त्यसै वर्ष उनले धार्मिक राष्ट्रवादी राजनीतिक कार्यकर्ता ताघी रहमानीसँग बिहे गरिन् जसले पहिलो पटक सन् १९८० मा र त्यसपछि १४ वर्ष जेलमा बिताएका थिए।
उनीहरूका जुम्ल्याहा बच्चाहरू कियाना र अलि रहमानी २८ नोभेम्बर २००६ मा जन्मिएका थिए।

तस्बिर स्रोत, AFP via Getty Images
मोहम्मदीको नाम सन् २०१० मा उनी उपाध्यक्ष रहेको डीफेन्डर्स अफ ह्युमन राइट्स सेन्टर डीएआरसीमाथि अधिकारीहरूले धरपकड गर्न थालेपछि चर्चित हुन पुग्यो।
उनलाई घरबाट पक्राउ गरियो र गम्भीर किसिमको सोधपुछ थालियो।
उनकी निकटतम सहकर्मी शिरिन एबादी जो पहिले क्रान्तिकारी न्यायाधीश र वकिल थिइन् - उनी पहिलो इरानी महिला हुन् जसले सन् २००३ मा नोबेल शान्ति पुरस्कार प्राप्त गरेकी थिइन् - उनीहरू र अरू मिलेर सन् २००१ मा राजनीतिक बन्दी, महिला र अल्पसङ्ख्यकको अधिकारको वकालत गर्न इरानमा संस्था खोलेका थिए।

तस्बिर स्रोत, AFP
बिस्तारै मोहमदीले संरचनागत सुधारका लागि रहेको समर्थनबाट अघि बढ्दै इस्लामिक रिपब्लिक सत्ताको कडा आलोचक बन्दै गइन्।
इरानको मे २०१७ को राष्ट्रपतीय चुनावमा उनले तेहरानको एभिन जेलबाट मतदान गरेकी थिइन्।
सन् २०१७ र २०१८ मा भएको सरकारविरोधी प्रदर्शनमा जतिबेला प्रदर्शनकारीहरूमाथि सुरक्षा फौजले चलाएका गोलीबाट मारिएका थिए - मोहम्मदी र १४ जना अरू अभियानकर्मीले मानिसहरू "अहिलेको धार्मिक प्रणालीवाला सरकार चाहन्छन् कि फरक भन्ने " निश्चित गर्न जनमत सङ्ग्रह गर्नुपर्ने माग राखे।
जेलभित्रबाटै मासा अमिनिको इरानको पुलिस नियन्त्रणमा भएको मृत्युको पहिलो वार्षिकीमा - जसले देशव्यापी वुमन लाइफ फ्रीडम प्रदर्शन निम्त्याएको थियो- मोहम्मदीले १६ सेप्टेम्बर २०२२ लाई "धार्मिक निरङ्कुश सरकारले महिलाविरुद्ध गरेको दमनको दिनका रूपमा दर्ज भएको " घोषणा गरिन्।
नारा लगाउँदै
नोबेल शान्ति पुरस्कार पाउनु अघि मोहम्मदीले सोसल मिडिया प्ल्याटफर्म क्लबहाउसमा उनको जीवन युनिभर्सल डीक्लरेशन अफ ह्युमन राइट्सका तीस बुँदा कार्यान्वयन गराउन उनको जीवन समर्पित गरेको र हरेक वर्ष बित्दै जाँदा त्यसैप्रति झन् समर्पित भएको बताएकी बताएकी थिइन्।
१२ डिसेम्बर २०२५ मा मोहम्मदीको एक तस्बिर छापिएको थियो - त्यतिबेला उनलाई अस्थायीरूपमा औषधोपचारका लागि जेलबाट मुक्त गरिएको थियो उनले वकिल खोस्रो अलि स्कोर्दिको स्मरणसभामा सहभागी हुँदै एउटा कारको छतबाट नारा लगाइरहेकी थिइन्।
उनले इस्लामिक रिपब्लिकको अदालतको वैधतालाई मान्यता दिन अस्वीकार गरेपछि सुरक्षा फौजले गिरफ्तार गरेका थिए। त्यसपछि उनलाई आन्तरिक निर्वासनसहित साढे सात वर्षको जेल सजाय सुनाइएको थियो।
अदालतका कारबाही सार्वजनिक हुने भए मात्र उनी सुनुवाइमा सहभागी हुने र त्यसो गर्दा आफ्नो रोजाइको पोशाक लगाउने उनले बताएकी थिइन्।

तस्बिर स्रोत, Mohammadi family handout via Reuters
जुन २०२५ पछि सुरु भएको अमेरिका र इजरेलसँगको युद्धपछि मोहम्मदी र इबादी तथा अन्य पाँच इरानी अभियानकर्मीले संयुक्त राष्ट्रसङ्घलाई तत्काल र निर्णायक कारबाही गर्न आग्रह गर्दै भनेका थिए ताकि र कि इस्लामिक रिपब्लिकले "युरेनिअम एनरिचमेन्ट" गर्न बन्द गरोस् र उनीहरूले दुवै पक्षलाई सैन्य कारबाही रोक्न भनेका थिए।
उनी र अन्य १६ जनाले ज्यानुअरी २०२६ को सडकको विरोध प्रदर्शको समर्थन गर्दै इस्लामिक स्टेटबाट शान्तिपूर्ण रूपमा सन्धिकालतर्फ लग्न "कसैले रोक्न नसक्ने आवश्यकता" भइसकेको बताएका थिए।
जेलमा उनलाई दिइएको यातना र दुर्व्यवहारका विवरण उनले प्रस्तुत गर्थिन् र पनि मोहम्मदीको सार्वजनिक छवि भने जीवनलाई माया गर्ने व्यक्तिको रूपमा रहेको छ।
जेलबाट छापिएका तस्बिरमा होस् या भिडिओमा होस् वा मारिएका व्यक्तिको सम्झनामा गरिएका समारोहहरू हुन् धेरैजसो उनी न्यायको खोजीमा रहेका अन्य महिलाहरूसँग नाचेको वा गीत गाएको देखिन्थ्यो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।





















