टी२० अन्तर्राष्ट्रिय क्रिकेट: नेपाल आयरल्यान्डसँग १६ रनले पराजित, लामिछानेको ५० विकेट

ओमानमा भइरहेको चार देशीय टी२० आई श्रृङ्खलाको अन्तिम खेलमा नेपालले टेस्ट राष्ट्र आयरल्यान्डसँग १६ रनले पराजित भएको छ।
टस जितेर फिल्डिङ रोजेको नेपालले आयरल्यान्डलाई १२७ रनमा रोके पनि मध्यक्रम धराशायी हुँदा टोली ९ विकेट गुमाई १११ रनमा समेटिन पुग्यो।
बलिङ र फिल्डिङमा नेपालले तेस्रो दिन उत्कृष्ट प्रदर्शन गर्दा मजबुत भनिएको ब्याटिङमा भने असफल देखियो।
आयरल्यान्डविरुद्ध नेपालको यो तेस्रो भेटमा तेस्रो हार हो।
यसअघि सन् २०१५ मा टी२० विश्वकप ग्लोबल छनोटमा नेपाल ८ विकेटले तथा २०१९ मा पाँच देश सम्मिलित टी२० आई श्रृङ्खलामा १३ रनले हारेको थियो।
यसै खेलमा एक विकेट लिएका नेपाली कप्तान सन्दीप लामिछाने टी२० क्रिकेटमा ५० विकेट लिने नेपालका प्रथम तथा २९ खेलको सो उपलब्धि हासिल गरी छरितो ५० विकेट लिने विश्वका तेस्रो खेलाडी बनेका छन्।
यद्यपि यो श्रृङ्खलाले नेपाली खेलाडीहरूलाई चार दिनपछि ओमानमै शुरू हुने टी२० विश्वकप छनोटका लागि राम्रो लय दिलाएको आशा गरिएको छ।
कसिलो बलिङ
नेपाली बलरहरूले आफ्नो भूमिका सही तरिकाले निर्वाह गर्दा आयरल्यान्डलाई बाँध्न सफल भएको थियो।
कमल सिंह ऐरीले डरलाग्दा ब्याटर पाउल स्टर्लिङलाई पहिलो ओभरमा बोल्ड गरेपछि नै आयरल्यान्डको विकेट पतन शुरू भएको थियो।
जितेन्द्र मुखियाले चौथो ओभरमा ग्यारेथ डेलानीलाई ९ रनमा, अनि अभिनाष बोहराले पाँचौ ओभरमा कप्तान एन्डी वालबर्नीलाई १९ रनमा आउट गरे।
त्यसपछि आयरल्यान्डको मध्यक्रमलाई ध्वस्त पार्ने जिम्मा दीपेन्द्र सिंह ऐरीले लिएका थिए।
उनले चार ओभरमा २१ रन खर्चेर चार खेलाडीलाई पवेलियनको बाटो देखाएपछि आयरल्यान्डको इनिङ खुम्चिन पुगेको थियो।
कप्तान लामिछानेले २८ रन बनाएर खेलिरहेका जर्ज डकरेलको विकेट लिए।
अधैर्य ब्याटिङ
ब्याटिङमा भने नेपालले अनावश्यक दबाव झेल्नुपर्यो।
कुशल भुर्तेल र आशिफ शेखले २६ रनको प्रारम्भिक साझेदारी गरेपछि नेपाल सहज विजयतिर अग्रसर देखिएको थियो।
भुर्तेल आउट भएपछि लोकेश बमलाई अगाडि ल्याइयो। तर एक चौका प्रहार गरेपछि उत्साहित उनी ठूलो शट प्रहार गर्ने क्रममा ६ रनमा आउट भए।
खेल सम्हालिरहेका शेख २२ रन बनाएर आउट भएपछि भने नेपालमाथि दबाव बढ्न थाल्यो।
तर ओमानमा राम्रो फर्ममा देखिएका दीपेन्द्र सिंह ऐरीले खेल सम्हाले।
ऐरी एउटा इन्डमा राम्ररी जमे पनि उनलाई अनुभवी खेलाडीहरू ज्ञानेन्द्र मल्ल र शरद भेषावकरले साथ दिन सकेनन्।
त्यसपछि दबावमा आएका ऐरी ठूलो शट खेल्ने क्रममा ३० बलमा २८ रन बनाएर आउट भए।
उनी आउट हुँदा खेल नेपाल ८८-६ को अवस्थामा थियो र चार ओभरको खेल बाँकी थियो।
त्यस्तो अवस्थामा खेल अगाडि बढाउन खोजेको कुशल मल्ल (९ रन) र कमल सिंह ऐरी (१३ रन)लाई सिम्मी सिंहले लगातार बलमा आउट गरेपछि नेपालको सम्भावना समाप्त भयो।
लामिछानेको ५० विकेट
नेपाली कप्तान सन्दीप लामिछाने टी२० क्रिकेटमा छरितो ५० विकेट लिने विश्वका तेस्रो खेलाडी बनेका छन्।
उनले २९ खेलबाट सो उपलब्धि हासिल गरेका हुन्।
१८औँ ओभरको पहिलो बलमा कुशल भुर्तेलले आयरल्याण्डका डकरेलको उक्त क्याच लिएका थिए।
यो उपलब्धिसँगै लामिछानेले अफगानिस्तानका रासिद खान र दक्षिण अफ्रिकाका इमरान ताहिरलाई पछि पारेका छन्।
छरितो ५० विकेट लिने खेलाडीमा श्रीलङ्काका अजन्था मेन्डिस शीर्ष स्थानमा छन्। उनले पाकिस्तानविरुद्ध २०१२ मा २६ खेलमा ५० विकेट लिएका थिए।
त्यस्तै २८ खेलमा ५० विकेट लिएर दोस्रो स्थानमा आयरल्याण्डका मार्क अडिर छन्। उनले गत वर्ष यो उपलब्धि हात पारेका थिए।
लामिछानेपछि चौथो स्थानमा रहेका दक्षिण अफ्रिकाका ताहिरले र पाँचौँ स्थानमा अफगानिस्तानका खान दुवैले ३१ खेलबाट ५० विकेट लिएका थिए।
त्यस्तै चर्चित खेलाडीहरु भारतका जसप्रित बुमराह (४१ खेल), युजभेन्द्र चहल (३४ खेल) र श्रीलङ्काका लसिथ मालिङ्गा (४४ खेल ) लामिछानेभन्दा पछि छन्।
खेलाडी परिवर्तन
प्रशिक्षक पुबुदु दशानायकेले तीनजना खेलाडी परिवर्तन गरेका छन्।
प्रारम्भिक ब्याट्सम्यानका रूपमा कुशल भुर्तेल टिममा फर्किएका छन्। स्वास्थ्यमा केही गडबडी भएको भनिएका कारण उनी शुरूका दुई खेलमा थिएनन्।
त्यस्तै दुई खेल खेल्न नपाएका अलराउन्डर कुशल मल्ल पनि टिममा समावेश गरिएको छ।
बलर अभिनाश बोहरा टोलीमा छन्। ओमानविरुद्ध ३ विकेट लिएका उनी यूएई विरुद्धको खेलमा थिएनन्।
यी तीन खेलाडी पहिलो ११ मा पर्दा यूएईविरुद्ध खेलेका साहब आलम, विवेक यादव र आरिफ शेख टिम बाहिर परेका छन्।
नेपालबाट करण केसी भने तीनवटै खेलमा प्लेइङ ११ मा पर्न सकेनन्। उनी पूर्णत फिट नभएकोले टिममा नराखिएको भनिएको छ।
चार देश सहभागी श्रृङ्खलाको पहिलो खेलमा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा यूएईसँग २५ रनले पराजित भएको थियो।
त्यस्तै आयरल्यान्ड र नेपाललाई लगातार खेलमा पराजित गरेको यूएईले अन्तिम दिन ओमानसँग पराजित भएको छ।








