टी२० अन्तर्राष्ट्रिय क्रिकेट: नेपालले आयोजक ओमानलाई छ विकेटले हरायो

तस्बिर स्रोत, .
चार देशीय टी२० क्रिकेट श्रृङ्खलाको पहिलो खेलमा नेपालले घरेलु टोली ओमानलाई छ विकेटले पराजित गरेको छ।
टी२० विश्वकपको छनोट प्रतियोगिताको अगाडि दुवै टोलीको परीक्षणको रूपमा रहेको खेलमा नेपालले ब्याटिङ र बलिङ दुवैमा अब्बल प्रमाणित गर्दै ओमानलाई पछि पारेको हो।
नेपालको जीतमा तीव्र गतिका बलर अभिनाश बोहराको कसिलो बलिङ र दीपेन्द्रसिंह ऐरीको ब्याटिङ महत्त्वपूर्ण रह्यो।
टस जितेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३५ रन बनाएको थियो।
जवाफमा नेपालले १९.३ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। ऐरीले ५३ बल खेल्दै अविजित ७३ रन बनाएका थिए।
शरद भेषवाकर चार रनमा अविजित रहे भने आरिफ शेखले २५, आसिफ शेखले १४ र ज्ञानेन्द्र मल्लले १३ रन बनाए।
नेपाली प्रशिक्षक पुबुदु दशानायकेले खेलाडीहरूलाई प्रयोग गर्ने क्रममा ओपनिङ जोडीमा प्रदीप ऐरी र आसिफ शेखलाई खेलाएका थिए।
यस्तै उनले कुशल भुर्तेल र करण केसीलाई बेन्चमा राख्दै सागर ढकाल र विवेक यादवलाई पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने मौका दिएका थिए।
नेपालले खेलमा सात जना बलर प्रयोग गरेको थियो।
ओमानको औसत इनिङ
यसअघि टस हारेर ब्याटिङ पाएको ओमानको इनिङलाई कप्तान जिशान मकसुदले सम्हाल्ने काम गरेका थिए।
१० औँ ओभरसम्म ५८-४ को धरमराएको स्थितिमा पुगेको ओमानलाई कप्तान मकसुदले पाँचौँ विकेटका लागि नदिमसँग मिलेर ६१ रनको दरिलो साझेदारी गरेका थिए।
तीव्र गतिका बलर बोहराले तेस्रो ओभरको अन्तिम बलमा ओपनर कश्यप प्रजापतिलाई ११ रनमा बोल्ड आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाए ।
प्रमुख खेलाडी जतिन्दर सिंहलाई १३ रनमा आरिफ शेखले आउट गरेका थिए।
त्यो सँगै खेलमा नेपाल हाबी भएको थियो।
नेपालका लागि अभिनाश बोहराले ३ तथा कप्तान लामिछाने, आरिफ शेख र कमलसिंह ऐरीले १/१ विकेट लिए।
विश्वका आठौँ कान्छा कप्तान
लामिछाने टी२० अन्तर्राष्ट्रिय खेलमा कप्तानी गर्ने विश्वका आठौँ कान्छा खेलाडी बनेका छन् ।
शुक्रवार उनी २१ वर्ष १९३ दिन पुगेको छ।
टी२० अन्तर्राष्ट्रिय सबैभन्दा कान्छो उमेरका मलेसियाका विकेटकिपर विरनदीप सिंहको नाम छ।
उनले सन् २०१९ मा २० वर्ष १ ९० दिन पुगेको बेला भानुआतु विरुद्ध कप्तानी गर्दै सो कीर्तिमान राखेका थिए ।
लामिछाने आठौँ नम्बरमा आउँदा न्यूजिल्याण्डका केन विलियम्सन र पाकिस्तानका बाबर आजम भने पछि धकेलिएका छन्।
विलियम्सनले २१ वर्ष ३२८ दिनमा र आजमले २५ वर्ष १९ दिनमा कप्तानीमा डेब्यु गरेका थिए।
दुई खेलाडीको डेब्यु
ओमानको खेलमा नेपालबाट दुई खेलाडी विवेक यादव र सागर ढकालले राष्ट्रिय टोलीमा प्रवेश पाए।
बायाँ हाते स्पिनर ढकाल नेपाली टोली ओमान यात्रामा निस्कनु अघिल्लो दिन मात्र टिममा १७ औँ खेलाडीका रूपमा प्रवेश गरेका थिए।
वसन्त रेग्मी र शक्ति गौचनको अनुपस्थितिमा स्पिनरहरूको अभाव खट्किएको महसुस गरेपछि प्रशिक्षक दशानायकेले उनलाई अन्तिम समयमा टिममा समावेश गरेका थिए।
एभरेस्ट प्रिमियर लीग ईपीएलमा ढकाल प्रतियोगिताको उत्कृष्ट खेलाडी चुनिएका थिए।
उक्त प्रतियोगितामा उनले चितवन टाइगर्सलाई च्याम्पियन बनाउने क्रममा ७ खेलमा १४ विकेट लिएका थिए।
जुन दशानायकेले भैरहवा ग्लाडियटर्सको प्रशिक्षकका रूपमा ढकाललाई नियालिरहेका थिए।
आक्रामक युवा अलराउण्डर विवेक यादव पनि पछिल्लो समय घरेलु क्रिकेटमा चम्किएका प्रतिभा हुन्।
ईपीएलमा पोखरा राइनोजलाई फाइनलमा पुर्याउन उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए।
प्रतियोगिताको फाइनलमा यादवले ४५ बलमा ५३ रन बनाएर आफ्नो प्रभाव देखाएका थिए।








