विश्वकप लीग-२ खेलमा नेपालद्वारा स्कटल्यान्ड पराजित

क्रिकेट

तस्बिर स्रोत, Courtesy: CAN

कीर्तिपुर क्रिकेट मैदानमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले फेरी एकपटक विशाल लक्ष्य पछ्याउन सफल भएको छ।

आइसीसी विश्वकप क्रिकेट लीग-२ शृङ्खला अन्तर्गत शुक्रवार नेपालले च्याम्पियन स्कटल्यान्डलाई तीन विकेटले पराजित गरेको हो।

चार दिनअगाडि मात्र नेपालले नामिबियाले दिएको २८५ रनको विशाल स्कोरलाई पहिलोपटक पछ्याउँदै २ विकेटको जित हासिल गरेको थियो।

शुक्रवार भने टोलीले २७५ रनको लक्ष्य पूरा गरेको हो।

शुक्रवार टस हारेर पहिले ब्याटिङ पाएको स्कटल्यान्डले पूरा ५० ओभर खेल्दै २७४ रन बनाएको थियो।

जवाफमा नेपालले कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीको धैर्यपूर्ण ब्याटिङको मद्दतले लक्ष्य पूरा गर्‍यो।

विश्वकप लीग-२ मा नामिबिया-स्कटल्यान्ड सम्मिलित शृङ्खला अन्तर्गत नेपालले पाएको यो लगातार दोस्रो जित हो।

यो जितसँगै नेपालले शृङ्खलाको २६ खेलबाट २२ अङ्क जोड्न सफल भएको छ र टोली छैटौँ स्थानमा छ।त्यति नै खेल खेलेको यूएईको २७ अङ्क छ।

एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन १२ खेलमध्ये ९ खेल जित्नुपर्ने अवस्थामा नेपालले महत्त्वपूर्ण जित हात पारेको हो।

शृङ्खलामा नेपालले नामिबिया र स्कटल्यान्डसँग घरेलु मैदानमा बाँकी २ खेल खेल्नेछ।

त्यसपछि यूएईको भ्रमणमा ४ खेल र त्यहाँबाट फर्केर कीर्तिपुरमा फेरी ४ खेल खेल्ने तालिका छ।

नेपालको जितका उतारचढाव निकै रोमाञ्चक देखिएको थियो।

ठूलो लक्ष्य भेटाउनुपर्ने चुनौती पाएको नेपालले सुरुआतमा एकपछि अर्को विकेट गुमाउन पुग्यो।

खेलको तेस्रो ओभरमा नै कुशल भुर्तेल (१६ रन) र ज्ञानेन्द्र मल्ल (४ रन) आउट हुँदै नेपालले दुई विकेट गुमाएको थियो।

स्थिति सम्हालिन नपाउँदै पाँचौँ ओभरमा ओपनर आसिफ शेख (९ रन) र नवौँ ओभरमा कप्तान रोहित पौडेल(६ रन) पनि बाहिरिएसँगै नेपाल ७७-५ को खराब स्थितिमा थियो।

यस्तोमा कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीले छैटौँ विकेटका लागि १०० रनको महत्त्वपूर्ण साझेदारी गरेपछि नेपाल खेलमा फर्किन सफल भयो।

एक दिवसीयमा अहिलेसम्मकै उत्कृष्ट खेल पस्केका अलराउण्डर मल्लले सो क्रममा ६७ बलमा ८१ रन बनाए जसमा ९ चौका र ४ छक्का सामेल छ।

क्रिकेट

तस्बिर स्रोत, Courtesy: CAN

उनलाई राम्रो साथ दिएका ऐरीले नेपाललाई खेल नजिताएसम्म क्रिजमा डटिरहे।

अविजित ८५ रन बनाएका उनले ८ चौका र एक विशाल छक्का प्रहार गरेका थिए।

त्यसबाहेक गुलशन झाले १७ रन जोडे। मल्ल आउट भएपछि आएका सोमपाल कामीले अविजित २४ रन बनाए। उनले विजयी चौका प्रहार गरे।

red line
red line

नेपालको बलिङ

क्रिकेट

तस्बिर स्रोत, Courtesy: CAN

यसअघि टस जितेर फिल्डिङ रोजेको नेपालले विपक्षी खेलाडीहरूको एकपछि अर्को विकेट लिएर सुखद सुरुआत गरे पनि अन्ततः रन भने रोक्न सकेन।

आइसीसी क्रिकेट विश्वकप लीग-२ मा माइकल लिस्कले संयमित ब्याटिङ गर्दै शानदार शतक बनाएपछि स्कटल्यान्डसँगको खेल जित्न नेपालले २७५ रनको लक्ष्य पाएको थियो।

कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले टस जितेर फिल्डिङ रोज्दै स्कटल्यान्डलाई ब्याटिङको निम्तो दिएको थियो। लिस्कको १०७ रनको मद्दतमा स्कटल्याण्डले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २७४ रन बनायो।

सातौँ नम्बरमा ब्याटिङ गरेका लिस्कले अन्तिमसम्म टिकेर ८५ बल खेल्दै ३ चौका र ९ छक्का मद्दतमा अविजित १०७ रन बनाए ।

स्पिनरहरू कुशल मल्ल, सन्दीप लामिछाने, कुशल भुर्तेलले लगातार विकेट लिँदा स्कटिस टोली सुरुमा दबावमा परेको थियो।

स्पिनरहरू सन्दीप लामिछाने र कुशल मल्लले कीर्तिपुर क्रिकेट मैदानको बिहानीको समयमा स्कटल्यान्डका प्रमुख खेलाडीहरूलाई छिटो छिटो पवेलियन फर्काएका थिए।

मल्लले क्रिस्टोफर म्याकब्रिज र कप्तान रिची बेरिङटोनलाई आउट गरेका थिए भने लामिछानेले टोमस म्याकन्टोस र म्याथ्यु क्रसलाई एलबीडब्लूको धरापमा पारेका थिए।

यी चार खेलाडी आउट हुँदा स्टकल्यान्ड १७ औँ ओभरमा ६४ रनमा सीमित भएको थियो।

२४ ओभरमा ६ विकेट गुमाएर एक समय १११ रनको दयनीय अवस्थामा पुगेपछि पाहुना टोली सस्तैमा समेटिने अनुमान गरिएको थियो।

तर सातौँ नम्बरमा ब्याटिङ गर्न आएका माइकल लिस्कले धैर्यपूर्ण ब्याटिङ गर्दै शतकीय पारी खेलेपछि स्कटल्यान्डले स्कोर बोर्डमा चुनौतीपूर्ण स्कोर बनाउन सफल भयो।

लिस्कले पूरै ओभर खेलेर अविजित १०७ रन बनाए। यो उनको करिअरको पहिलो एक दिवसीय शतक पनि थियो। जसका लागि उनले ८५ बल खेल्दै ३ चौका र ९ छक्का प्रहार गरे।

उनले सातौँ विकेटका लागि ज्याक जर्भिससँग मिलेर ८१ रनको साझेदारी गरेका थिए।

नेपालका लागि लामिछानेले ३ विकेट लिए। पार्ट टाइम स्पिनर कुशल भुर्तेलले ६ ओभर बलिङ गर्दै एक विकेट लिएका थिए। दीपेन्द्र सिंह ऐरीको नाममा पनि एक विकेट रह्यो।

 खेलाडी परिवर्तन

नेपालले शुक्रवारको खेलका लागि स्पिनर ललित राजवंशीलाई बेन्चमा राखेर उनको स्थानमा तीव्र गतिका बलर गुलशन झालाई टिममा समावेश गरेको थियो।

तेज गतिका बलर झा बाँया हाते ब्याटर हुन्। नामिबिया विरुद्धको पहिलो खेलमा राजवंशीले ६ ओभर बलिङ गर्दा विकेट लिन असफल भएका थिए।

त्यस्तै स्कटल्यान्डले पनि नामिबियाको खेलमा शतक प्रहार गरेका प्रमुख खेलाडी जर्ज मुन्शेलाई टिममा समावेश गरेन भने काइल कोट्जर र शफ्यान शरिफलाई पनि बेन्चमा नै राखिएको थियो।