सन्दीप लामिछाने: जबरजस्ती करणी आरोपबारे 'अनुसन्धान जारी' रहेको प्रहरीको भनाइ र आफ्नो सम्पर्कमा नरहेको क्यानद्वारा स्पष्ट

तस्बिर स्रोत, Getty Images
नेपाली राष्ट्रिय क्रिकेट टिमबाट निलम्बित पूर्व कप्तान सन्दीप लामिछाने हाल "आफ्नो औपचारिक सम्पर्कमा नरहेको" नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ भने नेपाल प्रहरीले "उनीमाथिको अनुसन्धान जारी रहेको" बताएको छ।
लामिछानेविरुद्ध नाबालिगमाथि जबरजस्ती करणीको आरोपसहित उजुरी परेकोमा गत गत भदौ २३ गते काठमाण्डू जिल्ला अदालतले उनीमाथि "थप अनुसन्धान गर्न" पक्राउ पुर्जी जारी गरेको थियो।
लामिछानेको आधिकारिक फेसबुक पेजमा आइतवार उनीमाथि लागेको आरोपबारे खण्डन गर्दै एउटा स्टाटस लेखिएपछि त्यसबारे फेरि चर्चा भइरहेको छ।
उक्त फेसबुक पेज र त्यसमा लेखिएका विवरणको बीबीसीले स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन भने लामिछाने निकटसँगको सम्पर्क प्रयासमा पनि बीबीसी सफल हुन सकेन।
प्रहरी के भन्छ?
लामिछानेमाथि लागेको आरोपको अनुसन्धानबारे बीबीसीले नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी टेकप्रसाद राईलाई सोधेको थियो।
उनले उक्त प्रकरणमा "कानुन अनुसार आवश्यक अनुसन्धान र प्रक्रियाहरू" अघि बढिरहेको बताए।
तर पछिल्लो विवरणबारे जानकारी लिन उनले उक्त घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाण्डूसँग सम्पर्क गर्न भने।
त्यसपछि बीबीसीले परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक भरतबहादुर बोहरालाई त्यसबारे सोधेको थियो।
बोहोराले बीबीसीसँग भने, "प्रहरीले उनीबारे प्ररम्भिक अनुसन्धान जारी राखेको छ। थप कुरा चाहिँ उनी पक्राउ परेपछि अघि बढ्छन्।"
बोहराका अनुसार प्रहरीलाई लामिछाने अहिले नेपाल बाहिर नै रहेको जानकारी छ।
तर उनलाई नेपाल फर्काउने प्रक्रियाहरू "समय भएपछि" अघि बढाइने बोहराले बताए।
प्रहरी अधिकारीहरूले पक्राउ पुर्जी जारी भएको ३५ दिनपछि पनि उनी नेपाल नआएको अवस्थामा अन्तर्राष्ट्रिय सहयोगमा उनलाई स्वदेश झिकाउनेबारे कुराकानी भइरहेको बताएका छन्।
क्यान के भन्छ?
आफूमाथि आरोप लागेपछि सुरुमा सम्पर्कमा आएका लामिछाने त्यसपछि हाल आफ्नो सम्पर्कमा नरहेको नेपाल क्रिकेट सङ्घ क्यानका अधिकारीहरूले हाम्रा खेल संवाददाता निरञ्जन राजवंशीलाई बताएका छन्।
"सन्दीप अहिले औपचारिक रूपमा क्यानसँग सम्पर्कमा छैनन्," क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले भने।
सुरुमा क्यानले लामिछानेलाई कानुनी सहयोग चाहिएमा त्यसका लागि पनि सहयोग गर्ने भनेको थियो।
तर अहिले उनी सम्पर्कमा नै नरहेकाले त्यसबारे खासै छलफल नभएको अधिकारीहरूको भनाइ छ।
लामिछानेको फेसबुकमा के लेखिएको छ?
बीबीसीले आधिकारिकता पुष्टि गर्न नसकेको तर लामिछानेको आधिकारिक फेसबुक पेजबाट सार्वजनिक भएको विवरणमा "आफूमाथि एकलौटी रूपमा झूटा आरोपसहित जाहेरी दिइएको" उल्लेख छ।

तस्बिर स्रोत, facebook/Sandeep Lamichhane
त्यसमा लेखिएको छ, "… मेरो नाउँमा वारेन्ट जारी भएको समाचार र मविरुद्ध परेको जाहेरी सार्वजनिक हुनुले मलाई मानसिक रूपमा विक्षिप्त बनायो, के गर्ने के नगर्ने भन्ने सोच्न सक्ने अवस्था मेरो रहेन।"
"यी सब कुराले मलाई एकातिर मानसिक असर गर्यो भने अर्कोतिर म बिरामी अवस्थाबाट गुज्रिन पर्यो र मानसिक तनाव र स्वास्थ्य खराबीको कारणले मैले मलाई आइसोलेशनमा राखेर बसेको छु।"
त्यसमा आफू क्रमश: स्वस्थ बन्दै गरेको पनि उल्लेख छ।
उक्त विवरणमा थप लेखिएको छ, "…. जति सक्दो चाँडो नेपाल फर्किएर म विरुद्धको झूट्टा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छु।"
लामिछानेमाथि लागेको आरोप के हो?
उनीमाथि एक नाबालिगलाई पटकपटक जबरजस्ती करणी गरेको आरोपमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार पीडित भनिएकी किशोरी १७ वर्षकी छिन् र उनले आफन्तको सहयोगमा गत भदौ २१ गते गौशाला प्रहरी कार्यालय उजुरी दिएकी थिइन्।
जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि गत भदौ २३ गते नै क्यानको कार्य सम्पादन समितिको निर्णय भन्दै उनलाई राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन गरेको थियो।








