सन्दीप लामिछाने: जबरजस्ती करणीको आरोपमा 'थप अनुसन्धान गर्न अदालतद्वारा पक्राउ पुर्जी जारी' - प्रहरी

नेपाल प्रहरीले बिहीवार साँझ फेसबुकमा जारी गरेको एक सूचनामा राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि जबरजस्ती करणीको आरोपसहित उजुरी परेकोमा थप अनुसन्धान गर्नका लागि काठमाण्डू जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको जनाइएको छ।
उनीमाथि एक नाबालिगलाई पटकपटक जबरजस्ती करणी गरेको आरोपमा अनुसन्धान भइरहेको यसअघि नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी टेकप्रसाद राईले जानकारी दिएका थिए।
प्रवक्ता राईका अनुसार जाहेरी परेको प्रहरी कार्यालय गौशाला र जिल्ला प्रहरी परिसर काठमाण्डूले संयुक्त रूपमा अनुसन्धान अगाडि बढाएका छन्।
राई भन्छन्, "बढीमा २५ दिनभित्र प्रहरीले अनुसन्धान पूरा गरेर अदालत समक्ष पेस गर्नेछ।"
जिल्ला प्रहरी परिसर काठमाण्डूका प्रवक्ता एसपी दिनेश मैनाली प्रविधिसँग जोडिएका प्रमाणहरू कानुनबमोजिम सङ्कलन गर्ने काम भइरहेको बताउँछन्।
"पक्राउ पुर्जी जारी भएको अवस्थामा थप अनुसन्धान कसरी गर्ने भन्ने अब प्रहरीले क्रमश: निर्णय गर्दै जानेछ।"

जिल्ला प्रहरी परिसर काठमाण्डूले बुधवार प्रकाशित गरेको विज्ञप्तिमा "प्रहरी वृत्त गौशालामा त्यस्तो जाहेरी परेको र त्यसपछि उक्त घटनाबारे अनुसन्धान भइरहेको" जनाइएको छ।
उक्त आरोपका सन्दर्भमा लामिछानेले कुनै प्रतिक्रिया दिइसकेका छैनन्।
बीबीसीले पनि उनी र उनका एजेन्टसँग प्रतिक्रिया लिने प्रयत्न गरिरहेको छ।
घटना भदौ ५ र ६ गते भएको प्रहरीले जनाएको छ।
लामिछाने अहिले लीग क्रिकेट खेल्न विदेशमा छन्। उनलाई प्रतिभाशाली लेग स्पिनर मानिन्छ।
के भन्छ प्रहरी?
प्रहरीका अनुसार पीडित भनिएकी किशोरी १७ वर्षकी भएको र उनको विस्तृत स्वास्थ्य परीक्षण गराइएको छ।
ती किशोरीका आफन्तका तर्फबाट भदौ २१ गते उक्त उजुरी दायर भएको थियो।
प्रहरीले विभिन्न किसिमका प्रविधि प्रयोग गरेर जिल्ला प्रहरी परिसर काठमाण्डू र प्रहरी वृत्त गौशालाले संयुक्त रूपमा खटिएको प्रहरी टोलीले सूक्ष्म रूपमा थप अनुसन्धान भइरहेको जनाएको छ।

कहाँ छन् सन्दीप लामिछाने?
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामिछाने मैत्रीपूर्ण टी-२० र एक दिवसीय शृङ्खलाका लागि नेपालको नेतृत्व गर्दै केन्या पुगेका थिए।
टी-२० शृङ्खलामा जित दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका उनी त्यसपछि क्यारिबीअन लीग खेल्नका लागि जमैका पुगेका छन्।
लामिछाने सन् २०२१ को डिसेम्बरमा नेपालको कप्तानमा नियुक्त भएका थिए।
लामिछाने पहिलो पटक सन् २०१९ मा क्यारिबीअन प्रीमिअर लीग (सीपीएल) को खेलाडी बोलकबोल प्रक्रिया (अक्शन) मा महँगो मूल्यमा सकारिएका थिए।
उनले भारत, क्यारिबीअन, अस्ट्रेलिया, अफगानिस्तान, बाङ्ग्लादेश र पाकिस्तानका लीगमा खेलेका छन्।








