आईपीएल २०२२: लिलामीको पहिलो दिन ठूलो रकममा बिक्ने यी हुन १० खेलाडी

आईपीएल

तस्बिर स्रोत, ANI

इन्डियन प्रीमीयर लीग (आईपीएल)को १५औ संस्करणका लागि खेलाडीहरूको पहिलो दिनको अक्शन वा लिलामी पूरा भएको छ।

शनिवार १० टोलीले कुल ७४ खेलाडी खरिद गरेका छन्।

पहिलो दिनको अक्शनमा विकेटकिपर ब्याट्सम्यान ईशान किशन सबैभन्दा महँगा खेलाडी बनेका छन्।

उनलाई आफ्नो टोलीमा सामेल गर्न कैयौँ टोलीले बोली लगाएका थिए। अन्ततः उनलाई १५.२५ करोड (भारतीय रूपैँया) अर्थात् २४ करोड चालीस लाख नेपाली रुपैँयामा मुम्बई इन्डियन्सले खरिद गर्‍यो।

ब्याट्सम्यान बाहेक भारतीय बलरहरूमाथि पनि विभिन्न टोलीले व्यापक भरोसा देखाएका छन्। ईशान किशन पछि बलर दीपक चाहर सबैभन्दा महँगो साबित भए।

उनलाई चेन्नई सुपर किङ्सले १४ करोड भारुमा खरिद गर्‍यो।

अनक्याप्ड अर्थात् राष्ट्रिय टोलबाट खेल्न नपाएका खेलाडीमध्ये आवेश खानले बाजि मारेका छन्।

७० लाख रूपैँयामा दिल्ली क्यापिटल्सका लागि खेल्ने खानलाई यसपालि लखनउ सुपर जायन्टसले १० करोड खर्च गर्‍यो।

अर्का अनक्याप्ड खेलाडी शाहरूख खान र राहुल तेवतिया पनि ९-९ करोडमा विके।

खानलाई पञ्जाबले खरिद गरेको हो। यस अघिको संस्करणमा पनि उनी पञ्जाबका लागि खेल्थे।

उता तेवतियालाई भने गुजरात टाइटन्सले खरिद गरेको छ।

अर्का अनक्याप्ड खेलाडी राहुल त्रिपाठीलाई सनराइजर्स हैदराबादले ८.५० करोडमा किन्यो।

भारतीय खेलाडीहरूकै वर्चस्व

लिलामीको सुरुवात भारतीय क्रिकेट टोलीका ओपनीङ्ग ब्याटस्म्यान शिखर धवनबाट सुरु भएको थियो।

उनलाई पञ्जाब किङ्गसले ८.२५ करोडमा किन्यो। उनको बेस प्राइस अर्थात् आधार मूल्य दुई करोड थियो।

लिलामी अघि नै अर्का श्रेयस अय्यर माथि सबैले आँखा लगाएका थिए। तर बाजी भने कोलकाता नाइट राइडर्सले मार्‍यो। उनको बेस प्राइस दुई करोड थियो।

दिल्ली, बेङगलोर र कोलकाताले बोली लगाएका उनलाई १२.२५ करोडमा आफ्नो टोलीमा कोलकाताले भित्र्यायो।

कोलकाताले नीतीश राणामाथि पनि भरोसा देखायो। उसले राणालाई ८ करोडमा खरिद गर्‍यो।

सर्वाधिक महँगा १० खेलाडी को हुन्

  • ईशान किशन - १५.२५ करोड, मुम्बई इन्डियन्स
  • दीपक चाहर - १४ करोड, चेन्नई सुपर किङ्स
  • श्रेयस अय्यर - १२.२५ करोड, कोलकाता नाइट राइडर्स
  • निकोलस पूरन - १०.७५ करोड, सनराइजर्स हैदराबाद
  • शार्दुल ठाकुर - १०.७५ करोड, दिल्ली क्यापिटल्स
  • वनिन्दु हसरङ्गा - १०.७५ करोड, रोयल च्यालेन्जर्स बेङ्गलोर
  • हर्षल पटेल - १०.५ करोड, रोयल च्यालेन्जर्स बेङ्गलोर
  • प्रसिद्ध कृष्णा - १० करोड, राजस्थान रोयल्स
  • लोकी फर्ग्युसन - १० करोड, गुजरात टाइटन्स
  • आवेश खान - १० करोड, लखनउ सुपर जायन्ट्स

गैर भारतीय खेलाडी पनि चम्किए

  • तीव्र गतिका बलर लोकी फर्ग्युसनलाई गुजरात टाइटन्सले १० करोडमा किनेको छ।
  • वेस्ट इन्डीजका निकोलस पूरनलाई सनराइजर्स हैदराबादले १०.७५ करोडमा किन्यो।
  • श्रीलङ्काका वनिन्दु हसरङ्गालाई रोयल च्यालेन्जर्स बेङ्गलोरले १०.७५ करोडमा आफ्नो टोलीमा भित्र्याएको छ।
  • मिचेल मार्शका लागि दिल्लीले ६.५० करोड खर्च गर्‍यो।
  • फाफ डु प्लेसिलाई रोयल च्यालेनजर्स ब्याङ्गलोरले ७ करोडमा आफ्नो टोलीमा सामेल गरायो।
  • दक्षिण अफ्रिकी खेलाडी कगीसो रबाडा ९.२५ करोडमा पञ्जाबसँग अनुबन्धित भए। पञ्जाबले नै जोनी बेयरस्टोलाई ६.४७ करोडमा किन्यो।
  • यस पटक अस्ट्रेलियाली ब्याट्सम्यान डेभिड वार्नरलाई दिल्लीले आफ्नो टोलीमा सामेल गराउन सफल भयो। त्यसका लागि उसले ६.२५ करोड खर्चियो।
  • राजस्थान रोयल्सले ८.५ करोडमा शीम्रन हेटमायर, लखनउको टोलीले ८.७५ करोडमा वेस्ट इन्डीजका अलराउन्डर जेसन होल्डर अनि ७.२५ करोडमा कोलकाताले अस्ट्रेलियाली तीव्र गतिका बलर प्याट कमिङ्गसलाई भित्र्याए।