पाकिस्तानी सेनाद्वारा काबुल र कान्दहारमा हवाई हमला, कसरी सुरु भयो 'खुल्ला युद्ध'

तस्बिर स्रोत, AFP via Getty Images
पाकिस्तानी सेनाले अफगानिस्तानका दुई मुख्य सहर काबुल र कान्दहारमा शुक्रवार बिहान सबेरै हवाई आक्रमण गरेको पाकिस्तान सरकारका अधिकारीहरूले पुष्टि गरेका छन्।
अफगानिस्तानबाट पाकिस्तानी सैनिकहरूमाथि "बिनाकारण भएका हमलाहरूको जबाफ दिन" सैन्य कारबाही गरिएको दाबी पाकिस्तानी पक्षको छ। अफगान तालिबानले भने पाकिस्तानले पहिला आक्रमण गरेको आरोप लगाएको छ।
तनाव चुलिएपछि पाकिस्तानी प्रधानमन्त्रीले "आक्रामक महत्वाकाङ्क्षालाई दमन गर्ने सामर्थ्य" पाकिस्तानसँग भएको टिप्पणी गरेका छन् भने रक्षामन्त्रीले अफगान सत्तामा रहेको तालिबान सरकारसँग "खुला युद्ध" सुरु भएको घोषणा गरेका छन्।
"पाकिस्तानले प्रत्यक्ष र मित्रराष्ट्रहरूमार्फत् परिस्थितिलाई सामान्य राख्न सबै प्रयास गर्यो। कूटनीतिमा पनि संलग्न भयो," पाकिस्तानी रक्षामन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन्। "तर हाम्रो धैर्यको सीमा नाघिएको छ। अब यो हामी र तिमीहरूबीच खुल्ला लडाइँ हो।"
गत वर्ष दुई देशका सैनिकहरूबीच पटकपटक भिडन्त भएपछि पाकिस्तान र अफगानिस्तानबीच अक्टोबर महिनामा सङ्घर्षविराम गर्ने सहमति भएको थियो। तर त्यसपछि पनि सङ्घर्ष हुने क्रम भने रोकिएको छैन।
संयुक्त राष्ट्रसङ्घका महासचिव र राष्ट्रसङ्घीय मानवाधिकार आयोगका प्रमुखले दुवै देशलाई संयमित हुन र तनाव मत्थर पार्न आह्वान गरेका छन्।
इरानले पाकिस्तान र अफगानिस्तानबीच मध्यस्थता गर्ने प्रस्ताव अघि सारेको छ।
साउदी अरबको विदेश मन्त्रालयका अनुसार साउदी विदेशमन्त्रीले आफ्ना पाकिस्तानी समकक्षीलाई फोन गरेर अहिले विकसित घटनाक्रमका विषयमा र "तनाव घटाउने उपाय"बारे छलफल गरेको जनाएको छ। पाकिस्तानका विदेशमन्त्री अहिले साउदी अरबको औपचारिक भ्रमणमा छन्।
तालिबान के भन्छ
अफगान तालिबानका एक प्रवक्ताले पाकिस्तानी सैनिकहरूमाथि फेरि आक्रमण गरिएको सामाजिक सञ्जालमा लेखेका थिए। तर पछि उनले उक्त पोस्ट हटाए।
"हामीमाथि आक्रमण भयो भने हामी प्रतिकार गर्छौँ। तर हामी अहिले आफैँ भिडन्त सुरु गर्दैनौँ," तालिबान सेनाका एक प्रवक्ताले बीबीसीलाई बताए।
काबुलमा शुक्रवार सबेरै ठूला विस्फोटहरू भएका र गोली चलेको सुनिएको त्यहाँस्थित समाचारसंस्था एएफपीको टोलीले जनाएको छ।
तर ती स्थान अहिले शान्त रहेको स्थानीय अधिकारी र बासिन्दाहरूले बीबीसीलाई बताएका छन्।
कति जना हताहत भए

तस्बिर स्रोत, Anadolu via Getty Images
दुवै पक्षले अर्कोपट्टि ठूलो क्षति भएको दाबी गरेका छन्।
पाकिस्तानका प्रधानमन्त्रीका प्रवक्ता मोशर्रफ जाइदीले पाकिस्तानले गरेको कारबाहीमा १३३ अफगान तालिबानको मृत्यु भएको दाबी गर्दै २०० जनाभन्दा बढी घाइते भएका बताएका छन्।
काबुल, पाक्तिया र कान्दहारमा पाकिस्तानले शुक्रवार गरेका हवाई हमलामा "अझै धेरै मानिसहरू" हताहत भएको उनले 'एक्स'मा लेखेका छन्।
तर अफगान तालिबानका प्रवक्ता जबिहुल्लाह मुदाहिदले पाकिस्तानले गरेका हमलाहरूमा कोही पनि घाइते नभएको दाबी गरेका छन्।
तर दुवै पक्षले गरेका दाबी पुष्टि गर्न निकै कठिन छ।
अफगान तालिबानले केही दिनअघि पाकिस्तानले गरेका हवाई हमलाहरूमा कम्तीमा १८ जनाको मृत्यु भएपछि आफूले त्यसको जबाफ दिन "ठूलो कारबाही" गरेको बताएको छ। पाकिस्तानले भने सन्दिग्ध लडाकुहरूका शिविर र लुक्ने ठाउँलाई लक्ष्य गरिएको बताएको थियो।
तालिबान सेनाका प्रवक्ता मौलवी वाहिदुल्लाह मोहम्मदीले बिहीवार राति ८ बजे "प्रत्याक्रमणको कारबाही" गरिएको बताए।
तालिबानका प्रमुख प्रवक्ता जबिहुल्लाह मुजाहिदका अनुसार उक्त कारबाहीमा कैयौँ पाकिस्तानी सैनिकहरूको मृत्यु भएको छ भने तालिबानले अरूलाई पक्राउ गरेको छ। तर पाकिस्तानले उक्त दाबीको खण्डन गरेको छ।
पाकिस्तानी राष्ट्रपतिको चेतावनी

तस्बिर स्रोत, Getty Images
पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले अफगानिस्तानबाट तालिबानले गरेको आक्रमणको जबाफ दिएको भन्दै पाकिस्तानी सेनाको प्रशंसा गरेका छन्।
"हाम्रा सशस्त्र फौजको प्रतिक्रिया विस्तृत र निर्णायक छ," उनले सामाजिक सञ्जाल 'एक्स'मा लेखेका छन्।
"शान्तिलाई हाम्रो कमजोरी ठान्नेहरूले कडा जबाफ पाउने छन् अनि कोही पनि हामीबाट जोगिन सक्दैन।"
अर्को एउटा पोस्टमा जर्दारीले "हिंसाको योजना बनाउनेहरू, प्रोत्साहन र संरक्षण गर्ने कहाँ छन् भन्नेबारे पाकिस्तान पूर्ण जानकार" रहेको भन्दै त्यसका लागि जिम्मेवारहरूले परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले पनि पाकिस्तानी सेनाको प्रशंसा गर्दै पूरै राष्ट्र सेनाको पक्षमा उभिएको टिप्पणी गरेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



















