नेपाली क्रिकेट टोलीले के ओडीआई मान्यता जोगाउन सक्ला

नेपाली क्रिकेट टोली
    • Author, निरञ्जन राजवंशी
    • Role, काठमाण्डू

नेपाली क्रिकेट अहिले मैदानबाहिर र मैदानभित्र दुबै ठाउँमा अप्ठ्यारो अवस्थामा देखिन्छ।

नेपाल टी-२० लीगका कारण सिर्जित विषम परिस्थितिका कारण मैदानबाहिर नेपाल क्रिकेट सङ्घ विवादित र आलोचित छ। बेथितिले अस्तित्व नै धरापमा पर्न सक्नेसम्मको परिस्थिति बनेको देखिन्छ।

नाबालिग बलात्कारको आरोपमा मुद्दा खेपिरहेका खेलाडी सन्दीप लामिछानेलाई मुद्दाको छिनोफानो नै नभई राष्ट्रिय टोलीमा स्थान दिँदा सङ्घ थप विवादित बनेको छ।

मैदानभित्र देखा परेका चुनौती झन् गम्भीर प्रकृतिका छन्।

एकदिवसीय अन्तर्राष्ट्रिय 'ओडीआई' राष्ट्रको मान्यता नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा प्राप्त गरेको अहिलेसम्मकलै ठूलो सफलताको हो। तर अहिले नेपाल त्यसलाई जोगाउने कठिन चुनौतीको सँघारमा छ।

राष्ट्रिय टोलीले यो महिना आईसीसी विश्वकप लीग २ अन्तर्गत तीनवटा त्रिकोणात्मक शृङ्खलामा १२ वटा एकदिवसीय खेल खेल्नेछ।

ती खेलमध्ये कम्तीमा नौ खेल जित्न नसके नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता धरापमा पर्नेछ।

यदि ओडीआई मान्यता जोगाउन नसके नेपाली क्रिकेटले आईसीसीबाट पाउने ठूलो सहयोग रकम गुमाउनुका साथै राष्ट्रिय क्रिकेट टोलीको लागि अवसरका अरू ढोकाहरू पनि बन्द हुनेछन्।

नेपाली टोलीका खेलहरू कहिले?

नेपालले सन् २०१८ मा ओडीआई राष्ट्रको मान्यता पायो।

त्यससँगै नेपालले सात राष्ट्र सम्मिलित 'विश्वकप लीग २ शृङ्खला' खेल्ने अवसर पायो।

सन् २०१८ देखि २०२२ सम्म चार वर्षको अवधिमा नेपाली टोलीले नौवटा शृङ्खलामा कुल ३६ एकदिवसीय खेल खेल्न पायो। त्यसलाई नेपाली क्रिकेटको विकासको लागि ठूलो अवसरका रूपमा लिइन्छ।

आईसीसी लीग २ अङ्कतालिका

यसबीचमा नेपालले २४ वटा खेल खेल्न भ्याइसकेको छ।

कोरोनाभाइरस महामारीका कारण अवरुद्ध खेल आयोजना आईसीसीसीले एक वर्ष थप गर्दै विश्वकप लीग २ को समयावधि २०२३ को फेब्रुअरीसम्मलाई तोकेपछि बाँकी खेल खेल्न अहिले हतारोमा कार्यक्रम बनेको देखिन्छ।

त्यसैले फेब्रुअरी महिनामा नेपालले तीन शृङ्खलामा सहभागी भएर लगातार १२ खेल खेल्नुपर्नेछ।

नेपालले स्कटल्यान्ड र नामिबिया सम्मिलित पहिलो चार खेलको शृङ्खला कीर्तिपुर मैदानमा फागुन २ देखि ९ गतेसम्म खेल्नेछ।

त्यसपछि टोलीले संयुक्त अरब इमिरेट्स (यूएई)मा फागुन १५ देखि २२ गतेसम्म युएई र पपुवा न्युगिनी सम्मिलित शृङ्खला खेल्नेछ।

लगत्तै सोही राष्ट्रिय टोली स्वदेश फर्किनेछ र दुई दिनको आरामपछि फेरि फागुन २५ देखि चैत्र २ गतेसम्म अन्तिम शृङ्खला खेल्नेछ।

नेपाली क्रिकेट टिम

ओडीआई खेलमा नेपालको सम्भावना कस्तो?

लीग २ का सात राष्ट्रहरू स्कटल्यान्ड, ओमान, नामिबिया, अमेरिका, यूएई, नेपाल र पपुवा न्यूगिनी हुन्।

सात राष्ट्रमध्ये शीर्ष तीनमा रहने टोली जिम्बावेमा हुने विश्वकप २०२३ को छनोट खेलमा पुग्नेछ।

कुन ४६ अङ्कका साथ शीर्ष स्थानमा रहेको स्कटल्यान्डले त्यसका लागि आफ्नो स्थान सुरक्षित गरिसकेको छ।

दोस्रो र तेस्रो स्थानमा क्रमशः ओमान (४४) र नामिबिया (४२) छन्। चौथो स्थानमा अमेरिका (३५) र पाँचौँमा यूएई (२७) छन्।

शीर्ष पाँच स्थानमा पर्ने टोलीको एकदिवसीय राष्ट्रको मान्यता कायम रहनेछ।

छैटौँ र अन्तिम स्थानमा रहने दुई टोली भने तल झर्नेछन् र तिनको एकदिवसीय मान्यता पनि धरापमा पर्नेछ।

लीग २ मा नेपाल १८ अङ्कका साथ छैटौँ स्थानमा छ।

नेपालपछि अन्तिम स्थानमा रहेको पपुवा न्यूगिनीको पाँच अङ्क मात्र छ।

red line
यो पनि पढ्नुहोस्
red line

शीर्ष पाँचमा नपरे ओडीआई मान्यता कसरी जोगिन सक्छ?

यद्यपि एकदिवसीय मान्यता पुनः प्राप्त गर्न र लीग २ को अर्को शृङ्खला खेल्न तथा एकदिवसीय मान्यता पाउन झरेको दुई टोलीलाई अर्को एउटा मौका भने दिइएको छ।

त्यसअनुसार लीग २ को शीर्ष तीन स्थानमा नपरेका चार राष्ट्रले आईसीसी विश्वकप च्यालेन्ज लीग प्लेअफ खेल्नेछन्।

त्यसमा दोस्रो डिभिजनको आईसीसी विश्वकप च्यालेन्ज लीगका शीर्ष दुई टोली राखेर छवटा टोलीबीच प्रतिस्पर्धा हुनेछ।

विश्वकप च्यालेन्ज लीगबाट क्यानडा र जर्सी छनोट भइसकेका छन्।

लीग २ का चार टोलीको छिनोफानो सबै राष्ट्रको ३६ खेलपछि मात्र तय हुनेछ।

तर ३६ खेल खेलिसकेको अमेरिका भने प्लेअफमा खेल्ने निश्चित भइसकेको छ।

प्लेअफका शीर्ष दुई टोलीले एकदिवसीय मान्यता पुनर्प्राप्ति गर्नेछन् भने विश्वकप छनोट क्वालिफायरमा पनि खेल्ने मौका पाउनेछन्।

नेपाली क्रिकेट टिम

यसमा ओडीआई जोगाउने अर्को मौका पनि हुनेछ।

क्यानका क्रिकेट म्यानेजर विनोद दास भन्छन्, "यदि लीग २ का शीर्ष पाँचमै रहेका दुई टोली प्लेअफ फाइनलमा पुगेमा त्यसपछि तेस्रो र चौथो स्थानमा रहने राष्ट्रको ओडीआई जोगिनेछ। यद्यपि यी विषयमा आइसीसीले लिखित केही भनेको छैन।"

नेपाली क्रिकेटका चुनौती के हुन्?

नेपालको पहिलो प्रयास भने लीग २ को शीर्ष पाँचभित्र रहनु नै हुनेछ।

त्यसको लागि नेपालले अहिले खेल्ने १२ खेलमध्ये कम्तीमा नौ खेलमा जित हात पार्नुपर्नेछ।

राष्ट्रिय टोलीका पूर्वखेलाडी सञ्जम रेग्मी भन्छन्, "वर्तमान परिस्थितिमा नेपाली क्रिकेटको अवस्था हेर्दा यो अत्यन्त मुस्किल छ। "

पछिल्लो समय नेपालले लीग २ का महत्त्वपूर्ण खेलहरू गुमाएसँगै नेपालको ओडीआई हैसियत गुम्ने चिन्ता बढ्न थालिसकेको थियो।

राष्ट्रिय टोलीका खेलाडीहरूको वरीयता विवाद, कप्तान परिवर्तन, खेलाडीहरूबीच देखिएको बेमेल, प्रशिक्षकहरूको छोटो नेपाल बसाइले टोलीको प्रदर्शनमा नकारात्मक प्रभाव परेको देखिएको थियो।

यस्तोमा स्कटल्यान्ड र नामिबियाको पछिल्लो लीग २ भ्रमणमा नेपालले राम्रो परिणाम ल्याउन नसकेपछि अहिले अन्तिम खेलहरूमा नेपाल दबावमा पर्न गएको हो।

red line
यो पनि पढ्नुहोस्
रेड लाइन

स्कटल्यान्ड भ्रमणमा नेपालले जम्मा एक खेल मात्र जितेपछि प्रशिक्षक पुबुदु दशानायकेले राजीनामा दिएका थिए।

कप्तान सन्दीप लामिछाने नाबालिग बलात्कार अभियोगमा थुनामा परेपछि रोहित पौडेलको कप्तानीमा गएको नामिबिया भ्रमणमा नेपालले एउटा पनि खेल जित्न सकेन।

नेपालले स्कटल्यान्डसँग दुवै खेल हार्‍यो। नामिबियासँग एक खेल वर्षाका कारण अनिर्णित भयो भने अर्को खेलमा नेपाल पराजित भयो।

उक्त नतिजापछि नयाँ भारतीय प्रशिक्षक मनोज प्रभाकरले नामिबिया भ्रमणलगत्तै राजीनामा दिए।

पूर्वकप्तान समेत रहेका विनोद दास भन्छन्, "नेपाल दबावमा छ, तर कमजोर भने छैन। स्कटल्यान्ड र नामिबिया भ्रमणमा खेलाडीहरूले जित्न सक्ने थुप्रै खेलहरू गुमाए।"

"तर पछिल्लो वर्षमा खेलाडीहरूले पर्याप्त खेल खेल्ने मौका पाएका छन्। त्यसको फाइदा लीग २ मा हुनसक्छ।"

अबका १२ मध्ये आठ खेल कीर्तिपुर मैदानमा खेलिने भएकाले नेपाली टोलीलाई घरेलु मैदानको लाभ हुनसक्छ।

यद्यपि नेपाली टी-२० लीगमा भएको फिक्सिङ प्रकरणपछि दर्शकहरूको उपस्थिति कस्तो होला अहिले नै भन्न सकिन्न। दर्शकहरूको समर्थनले खेलाडीहरूको मनोबल फरक पर्न सक्ने आकलन गरिएको छ।

नेपाली क्रिकेट टोली कस्तो छ?

नेपाली क्रिकेट टोलीका प्रशिक्षक

यसपालिको राष्ट्रिय टोलीमा केही नयाँपन भए पनि खेलाडी छनोटको विषयमाथि प्रश्न उठेको छ।

धरौटीमा छुटेका सन्दीप लामिछानेलाई राष्ट्रिय टोलीमा राखिएकाले नेपाल क्रिकेट सङ्घको चर्को आलोचना भएको छ।

पूर्वस्पिनर सञ्जम रेग्मीका अनुसार नेपाली टोलीले एकदिवसीय जोगाउने आशा स्पिनरहरुको प्रदर्शनमा निर्भर हुनेछ।

उनी भन्छन्, " कीर्तिपुर र दुबईको विकेट उस्तै हो। बिहानीपख केही समयबाहेक पूरा खेलमा स्पिनरहरू हाबी हुनैपर्छ। म भन्छु जितको सूत्रधार स्पनिरहरू नै हुनेछन्। उनीहरू नचलेमा गाह्रो हुनेछ।"

नेपाली स्पिनरको मुख्य अस्त्र सन्दीप लामिछाने हुन्। ललितनारायण राजवंशी र दीपेन्द्र सिंह ऐरी टोलीका अरू भरपर्दा खेलाडी हुन्। पहिलो पटक टोलीमा बायाँहाते स्पिनर सूर्य तामाङलाई राखिएको छ।

नेपालको स्थिति कठिन भइसकेको अवस्थामा र टोलीमा "म्याच जिताउने क्षमता भएका" बलरको अभाव रहेकोले क्यानले सबै आलोचना सहेर भए पनि लामिछानेलाई राष्ट्रिय टोलीमा राखेको अनुमान खेलविज्ञहरूको छ।

रेड लाइन
यो पनि हेर्नुहोस्
red line

ब्याटिङको समस्या अर्कोतिर छँदै छ।

भाइरल ज्वरोको कारण मध्यक्रमका भरपर्दा अलराउन्डर आरिफ शेख टिममा छैनन्।

उनको स्थानमा सन्दीप जोरालाई राखिएको छ। कप्तान रोहित पौडेलको टीममा भीम सार्की पनि फर्किएका छन्।

मोन्टी देशाई नेपाली टोलीका प्रशिक्षक छन्। लीग २ का तीन खेलमा तेस्रो प्रशिक्षकका रूपमा यी अनुभवी प्रशिक्षकले नेपाली खेलाडीलाई नजिकबाट चिनेकोले राम्रो गर्न सक्छन् भन्ने कतिपयको अनुमान छ।

देशाईले आफ्नो पहिलो काम नेपालको एकदिवसीय मान्यता जोगाउनु रहेको बताइसकेका छन्।

त्यसका उनले बनाउने योजना र रणनीतिको परिणाम अर्को सातादेखि देखा पर्न थाल्नेछ।

नेपाली क्रिकेट अहिले खुकुरीको धारमा छ।

त्यसबाट पार पाउन र नेपाली क्रिकेटलाई सुरक्षित स्थानमा अवतरण गर्न खेलाडीहरूले विद्यमान बेथिति, विवाद र दर्शकमा देखिएको निराशा अनि टोलीभित्र देखा परेको 'सामूहिक भावना' को कमीलाई बिर्साउनेगरी निकै राम्रो प्रदर्शन गर्नु आवश्यक देखिन्छ।