सामान्य जुत्ता लगाएर जुम्लाको कठ्याङ्ग्रिँदो जाडोमा हिउँमा दौडको अभ्यास गर्छन् खेलाडीहरू

जुम्ला

तस्बिर स्रोत, Krishnamaya Upadhayay

    • Author, कृष्णमाया उपाध्याय
    • Role, जुम्ला

पश्चिमी न्यूनचापीय प्रणालीका कारण मध्यमाघमा जुम्लामा पनि हिमपात भयो। जिल्ला सदरमुकामामा अहिले बाक्लो हिउँ जमेका कारण जनजीवन केही प्रभावित भएको छ।

कठ्याङ्ग्रिने जाडोमा केही एथ्लेटिक्स खेलाडीहरूले भने आफ्नो अभ्यासलाई निरन्तरता दिइरहेका छन्।

खेलाडीलाई आवश्यक पर्ने खुराक र जाडो तथा गर्मीमा लगाउने लत्ताकपडाको अभाव भए पनि उनीहरूले निरन्तर अभ्यास गरिरहेको म्याराथन धावक तथा एथ्लेटिक्स प्रशिक्षक पनि रहेका हरिबहादुर रोकायाले बताएका छन्।

हिउँ परे पनि, पानी परे पनि केही नभनी आफूले कहिले खेल मैदानमा त कहिले जुम्लाका सडक तथा अग्ला डाँडामा पुगेर अभ्यास गर्दै आएको खेलाडीहरू बताउँछन्।

के भन्छन् खेलाडी

"अन्य ठाउँका खेलाडीले जस्तै सुविधा पाएको भए दौडलाई हामी अझ थप अगाडि बढाउन सक्ने थियौँ," धाविका राममाया बुढा भन्छिन्।

"के गर्ने कहिले हिउँ परेको समयमा लगाउने [राम्रो] जुत्ता हुँदैन! घरभन्दा टाढा आएर तालिम लिनुपर्ने भएकाले खान र बस्नको समेत समस्या भइरहेको छ। सरकारले तालिम गर्ने यस्ता ठाउँहरूमा खेलाडीलाई आवश्यक बास र खानाको व्यवस्था गर्नुका साथै जाडो र गर्मीमा लगाउने लत्ता कपडामा सहयोग गरिदिएको भए सजिलो हुन्थ्यो," उनी भन्छिन्।

कठ्याङ्ग्रिँदो जाडोमा खेलाडीहरू सामान्य अवस्थामा लगाइने जुत्ता लगाएर दौडमा सहभागी हुनुपरेको र आवश्यक पर्ने अन्य कपडाहरू नभए पनि उपलब्ध कुरामा चित्त बुझाएर तालिम दिइरहेको प्रशिक्षक हरिबहादुर रोकाया बताउँछन्।

जुम्ला

तस्बिर स्रोत, Krishnamaya Upadhayay

"जुम्लाको चिमारामालिका, चेरेलेक, डाँफेलेकजस्ता अग्लाअग्ला डाँडामा लगेर खेलाडीलाई अभ्यास गराइरहेको छु। तर के गर्ने? खेलाडीलाई आवश्यक पर्ने खानाको खुराक नपुग्दा गाह्रो हुँदो रहेछ," रोकाया भन्छन्।

अन्य ठाउँको भन्दा यहाँको हावापानी खेलाडीका लागि "एकदमै राम्रो भएकाले" यहाँ अभ्यास गरेका खेलाडीले स्वदेश तथा विदेशमा प्रतिस्पर्धा गर्न सक्ने उनको भनाइ छ।

कति छन् खेलाडी

कर्णाली खेलकुद क्लब दर्ता गरेर हरेक वर्ष नयाँनयाँ खेलाडी उत्पादन गर्दै आएका रोकायाले अहिले ३५ जनालाई निरन्तर अभ्यास गराउँदै आएको बताएका छन्।

उनको क्लबमा कर्णाली प्रदेशका विभिन्न जिल्लाका खेलाडीहरूले अभ्यास गरिरहेका छन्।

जुम्लाजस्ता हिमाली जिल्लाका खेलाडीहरू थाईल्यान्ड, सिङ्गापुर, भारत र हङ्‌कङ लगायतका देशमा गएर उपाधि हात पार्न सफल भए पनि उनीहरूका लागि "गाँस, बास र कपासको समस्या" अझै कायम रहेको कर्णाली खेलकुद क्लबका अध्यक्ष सरोज शाही बताउँछन्।

त्यहाँबाट देशभित्र र बाहिर हुने म्याराथन तथा अल्ट्रा-म्याराथन प्रतियोगितामा खेलाडीहरू गइरहेका छन्।

तर खेलाडीहरू अब्बल भए पनि कतिपय अवस्थामा आर्थिक अभावका कारण उनीहरूलाई प्रतियोगितामा पठाउन नपाएको तीतो अनुभव अध्यक्ष शाहीको छ।

जुम्ला

तस्बिर स्रोत, Krishnamaya Upadhayay

कस्ता छन् अरू चुनौती

खेलकुद क्षेत्रमा अगाडि बढ्नका लागि धेरै जोखिम मोल्नुपर्ने भए पनि खेलाडीको जीवनबीमा समेत नहुँदा समस्या परेको हरिबहादुर रोकाया बताउँछन्।

"जुम्लाजस्तो हिमाली जिल्लामा हिउँ तथा पानी र अग्लाअग्ला डाँडामा गएर अभ्यास गर्नुपर्छ, तर कति बेला के हुन्छ थाहा हुँदैन। त्यसको लागि बीमा अनिवार्य हुनुपर्ने हो। हामी आफैँले गर्न सक्ने अवस्था छैन," उनको दुखेसो छ।

राज्यले खेलाडीको गाँस, बास, कपास र अन्य सुविधाको व्यवस्था गर्न सकेमा स्वदेश तथा विदेशमा गएर नेपालको नाम राख्न सक्ने खेलाडी उत्पादन गर्न अप्ठ्यारो नहुने उनको धारणा छ।

"मैले तालिम दिएका धेरै खेलाडीहरू नेपाली सेना, भारतीय सेना तथा अन्य अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगितामा सहभागी भएर आफूलाई अब्बल साबित गरिरहेको हुनाले खेलाडी उत्पादन गर्न समस्या छैन। तर उनीहरूलाई टिकाउन भने समस्या छ," उनले थपे।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, मौसमसम्बन्धी एपबारे तपाईँले जानुपर्ने कुरा