नेपाल खेलकुद: अब्बल भएर पनि किन खेल्न पाउँदैनन् खेलाडी

मन्डेकाजी श्रेष्ठ
    • Author, निरञ्जन राजवंशी
    • Role, काठमान्डू

छनौट प्रतियोगिता जितेर टोक्यो ओलिम्पिक २०२० का लागि छानिएर पनि खेल्न नपाएका धावक गोपीचन्द्र पार्की पछिल्ला उदाहरण मात्रै हुन, नेपालका अब्बल खेलाडीहरू छनौट भएर पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाएका घटनाहरू थुप्रै छन्।

पार्कीको जस्तो जानै नपाउने मात्रै होइन, नेपाली खेलाडीहरू विदेशी भूमि र खेल मैदानबाटै लज्जित भएर फर्कन परेको छ।

कतिपय खेलाडीहरूले त्यो दुखबाट गुज्रिएपछि खेल्न नै छोडेका उदाहरण पनि छन्।

यस्ता घटनाहरूमा कारण जे जस्तो भए पनि खेलाडीहरूलाई ललाईफकाई गरेर विषय सामान्यीकरण गर्ने बानी पदाधिकारीहरूमा परिसकेको खेलाडीहरू बताउँछन्।

'हामी रुँदै नेपाल फर्कियौँ'

सन् २०१० मा बाङ्ग्लादेशको ढाकामा सम्पन्न ११ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिताका बेला पनि त्यस्तै भयो।

करातेबाट १५ खेलाडीको छनौट गरेर बन्द प्रशिक्षण थाइल्यान्ड पठाइयो।

तर पाँच जना खेलाडी अन्तिम अवस्थामा हटाइयो र एक महिना ब्याङ्ककमा प्रशिक्षण लिएका खेलाडीहरू काठमान्डू फर्किनुपर्‍यो।

ती पाँचमध्ये एक खेलाडी मन्डेकाजी श्रेष्ठ भन्छन्, "ढाका उड्ने बेलामा हामीलाई भनियो कि तिमीहरूको कोटा काटिएको छ, अब खेल्न पाउँदैन। हामी रुँदै नेपाल फर्कियौँ।"

त्यो घटनाले खेलाडीहरू यति दुखी भए कि कति खेलाडीले खेल नै छोडे।

श्रेष्ठले भने त्यसलाई 'इख' को रूपमा लिए र १३ औँ दक्षिण एशियाली खेलकुदमा उनले दुई वटा स्वर्ण पदक जिते।

सोही खेलकुदाका लागि छानिएका बक्सिङका दीपक महर्जनमाथि पनि त्यस्तै घटना दोहोरियो।

आयोजकले तौल हटाइएको भन्दै उनलाई पनि थाइल्यान्डबाटै नेपाल फर्काइयो।

पछि उनले चीनको ग्वाङझाउमा भएको १६औँ एशियाली खेलकुदमा नेपालका लागि कांस्य पदक जिते।

गोपीचन्द्र पार्की
तस्बिरको क्याप्शन, छनौट प्रतिस्पर्धाबाट छानिएर आठ महिना लामो कडा प्रशिक्षण गरे पनि गोपीचन्द्र पार्कीले ओलिम्पिक्स खेल्न पाएनन्

एशियाली खेलकुद काण्ड

सन् २०१४ मा दक्षिण कोरियामा भएको १७ औँ एशियाली खेलकुदको घटना त झन् दुखद थियो।

कराते टोलीको बन्द प्रशिक्षण जापानमा राखिएको थियो। जापानबाटै खेलाडीहरू दक्षिण कोरिया पुगे।

तर त्यहाँ दुई जना खेलाडीहरू गङ्गा अधिकारी र चञ्चला दनुवारले खेल्न पाएनन्।

किनकि उनीहरूको स्थानमा नेपाल ओलिम्पिक कमिटीले अर्कै दुई खेलाडीको नाम पठाएको थियो।

त्यति बेला नेपाल कराते महासङ्घ राष्ट्रिय मान्यता र अन्तर्राष्ट्रिय मान्यता गरी दुई चिरामा विभक्त थियो।

कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडी छनोट राष्ट्रले गर्ने गर्छ। एशियाली खेलकुद जस्तो ठूलो प्रतियोगितामा त राष्ट्रिय खेलकुद परिषद्ले छुट्टै छनौट समिति नै गठन गरेको हुन्छ।

तर त्यति बेला अन्तर्राष्ट्रिय मान्यताप्राप्त कराते महासङ्घले आफ्नै ढङ्गले खेलाडी दक्षिण कोरिया लगेको थियो।

खेल स्थलमा पुगेपछि मात्र यो विषय सार्वजनिक भयो।

गङ्गा र चञ्चलाले खेल्न पाएनन्। उनीहरूको स्थानमा अनुपमा थापा मगर र विमला तामाङले प्रतिस्पर्धा गरे।

चञ्चला दनुवार
तस्बिरको क्याप्शन, कराते खेलाडी चञ्चला दनुवार मैदानमा पुगेर पनि खेल्न पाइनन्

'जीवरभर नबिर्सने क्षण'

मैदानमा एकै देशका दुई टोली पुग्दा देशकै बेइज्जत त भयो नै, घर झगडा अन्तर्राष्ट्रिय रूपमा समेत छरपस्ट भयो।

त्यहाँ पुगेर खेल्न नपाएका खेलाडी दनुवारको पीडा त अझ दोहोरो थियो।

उनको स्थानमा खेलेकी विमलाले कांस्य पदक जितिन्, जुन नेपालले सो प्रतियोगितामा जितेको एक मात्र पदक थियो।

चञ्चलालाई आफूले जित्ने पदक अरूले खोसेको जस्तो महसुस भयो।

एक त खेल्न नपाउनुको पीडा त्यसमाथि पदक जित्दा पाउने उपलब्धि मानसम्मान सबै गुमेको चोट लिएर उनी नेपाल फर्किइन्।

दनुवार भन्छिन्, "त्यो क्षण जीवनभर बिर्सिन सक्दिन। आफूले खेल्नुपर्ने खेल अरूले खेलेको टुलुटुलु हेर्नु पर्दा मलाई के भयो होला।"

कोरियाबाट फर्केपछि दक्षिण एशियाली खेलकुदमा स्वर्ण जितेकी अधिकारीले सक्रिय खेल जीवन नै त्यागिदिइन्।

खेल जीवन जारी राखेकी दनुवारले १३ औँ दक्षिण एशियाली खेलकुदमा रजत पदक जितिन्।

खेलकुद

तस्बिर स्रोत, RSS

किन यस्तो हुन्छ?

नेपाली खेलकुदमा एउटा भनाइ नै छ विमानस्थल पुगेर विमानमा नउडुन्जेलसम्म सहभागिता निश्चित हुँदैन।

कोरियाको घटना त त्योभन्दा पनि डरलाग्दो थियो। यस्तो घटना हुनुको प्रमुख कारण खेलकुदमा हुने राजनीतिलाई मानिन्छ।

सङ्घका पदाधिकारीहरू बीचको झगडा, राजनीतिक स्वार्थ र खेल शक्ति निकायहरूको सङ्घर्षले यस्ता घटना दोहोरिने गरेको देखिन्छ।

नेपाल ओलिम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषद्बीच बेलाबेलामा हुने झगडा नौलो विषय होइन।

स्वार्थ पूर्ति गर्नकै निम्ति एउटै प्रकृतिको दुई खेल सङ्घ गठनको विवाद अझै कतिपय खेलमा छ।

सङ्घका पदाधिकारीहरू बिचको मनमुटावले पनि बेलाबेलामा समस्या देखिँदै आएको छ।

यी समस्यामा भने अन्ततः खेलाडीहरू पीडित हुँदै आएका छन्।

खेलाडीहरूको मेहनत, उनीहरूको प्रतिभा र आत्मसम्मानको राजनीतिका अगाडि गौण बन्ने गरेको बताउँछन् एथलेटिक्सका पूर्व प्रमुख प्रशिक्षक सुशील नरसिंह राणा।

उनी भन्छन्, "आफ्नो स्वार्थको लागि उनीहरू जे पनि गर्ने गरेको देखिन्छ। खेलाडीहरूको बारेमा सोच्ने फुर्सत उनीहरूलाई कहाँ छ र। "

अन्य कारण के छन्?

खेलाडी

तस्बिर स्रोत, RSS

योग्य खेलाडीहरू खेल्नबाट वञ्चित हुनाका अन्य कारणहरू पनि देखिन्छ।

नेपाली खेलकुदमा खेलाडीहरूले स्पष्ट बुझेको पहिलो कारण के हो भने बजेटको व्यवस्था गर्न नसक्ने भएपछि अधिकांश खेल सङ्घले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता नै जनाउँदैन।

कतिपय खेलमा खेलाडी त छनौट भएर पनि 'बजेट अभाव' कै कारण खेल्न पाउँदैनन्।

कतिपय खेलाडीहरूले भने आफ्नै निजी खर्चमा खेल्न बाध्य भएका छन्।

त्यसो गरिँदा अब्बल खेलाडीले अवसर गुम्ने र औसत खेलाडीले मौका पाउने गरेको देखिन्छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, विश्व कीर्तिमान राख्ने खेलाडीहरू के खान्छन्?

अधिकांश सङ्घहरूमा भने मन पर्ने खेलाडीलाई ध्यान दिँदा वा मन नपर्ने खेलाडीहरूलाई पन्छाउने क्रममा योग्य खेलाडीहरू खेल्नबाट वञ्चित हुने गरेको देखिन्छ।

पदाधिकारीहरूले आफूलाई मन पर्ने एउटा तौल वा इभेन्ट छान्दा राम्रा खेलाडीहरू खेल्नबाट वञ्चित हुने गर्छ।

अझ रोचक विषय के हो भने नेपालमा पदाधिकारी मात्र होइन प्रशिक्षक र खेलाडी समेत यो दौडमा सामेल छन्।

१३ औँ सागमा पनि खेल हुनु अन्तिम समयसम्म कतिपय खेलका खेलाडीहरू कुन तौलबाट खेल्ने निश्चित थिएन।

कतिपय खेलाडीहरू 'आफू खेल्न पाउँ' भनी फाइल बोकेर राखेप वा मन्त्रालय चाहरिरहेको देखिएको थियो।

खेलाडी र पदाधिकारी

तस्बिर स्रोत, COURTESY: NOC

पदाधिकारीको सामान्यीकरण

जस्तो घटना भए पनि खेलाडीहरूलाई दुई चार दिन ललाईफकाई गरेर विषय सामान्यीकरण गर्ने बानी पदाधिकारीहरूमा परिसकेको खेलाडीहरू बताउँछन्।

सन् २०१० ढाका जान नपाएपछि आफूहरूलाई पनि झुटो आश्वासन दिएर फकाएको कराते खेलाडी श्रेष्ठको अनुभव छ।

उनले भने, "खेल्न वञ्चित भएपछि तत्कालीन राखेप सदस्यसचिव हरि चौधरीले हामीलाई त्यसलगत्तै चीनको ग्वाङझाउमा हुने एशियाली खेलकुदमा सहभागिता गराउने वाचा गर्नुभयो। हामी फुरुङ्ग भयौँ तर हामीलाई त्यहाँ पनि लगिएन।"

टोक्यो ओलिम्पिक छुटेपछि पार्कीलाई पनि त्यस्तै आश्वासन दिएको उनले बताए, "सबै सरहरुले अबको राम्रो अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्न पठाउने भन्नु भएको छ।"

तर नेपाल ओलिम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले ओलिम्पिक खेलाडीहरूको लागि गरिएको पत्रकार सम्मेलनमा भनिसकेका छन्, " हामीले केही वाचा गरेका छैनौँ। उनलाई सान्त्वना मात्र दिएका हौँ।"

यद्यपि यति धेरै घटना भइसक्दा पनि विगतबाट पाठ सिकेर खेलाडी सहभागिता सुनिश्चित गर्ने तर्फ भने सम्बन्धित निकायहरूले कदम चालेको छैन।

उदाहरणको लागि कोरिया काण्ड भएको सात वर्ष बितिसक्दा पनि नेपाल कराते महासङ्घको विवाद हल भएको छैन।

यस्तै घटना फेरि कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा दोहोरिन सक्ने सम्भावना कायम नै छ।