ओलिम्पिक्स: जापान किन टोक्यो ओलिम्पिक्स रद्द गर्न चाहन्न?

तस्बिर स्रोत, EPA
- Author, एन्ड्रियास इलमर
- Role, बीबीसी न्यूज
टोक्यो ओलिम्पिक्स गर्न दुई महिनाभन्दा केही बढी समय मात्र बाँकी रहँदा महामारीका कारण प्रतियोगिता रद्द गर्नुपर्ने आवाज दिनदिनै चर्को बन्दै गइरहेको छ।
त्यसो भए जापानले किन आयोजना रद्द गर्नेबारे कुरा गरिरहेको छैन?
जवाफ देखे सुनिए जस्तो त्यति सहज छैन?
जापानका लागि अवस्था खासै राम्रो देखिँदैन।
राजधानी टोक्यो र अन्य तीन मुख्य क्षेत्रहरूमा सङ्क्रमित हुनेहरूको सङ्ख्या बढेसँगै त्यहाँ कोरोनाभाइरस सम्बन्धी आपत्कालीन व्यवस्था लम्ब्याइएको छ।
तर अझै खेलहरू रद्द गर्ने विषयमा कुनै शब्द उच्चारण गरिएका छैन।
यद्यपि स्वास्थ्य विज्ञहरूका विचार र आम धारणा भने सरकारविरूद्ध छन्।
जापानमा गरिएका हालैका मत सर्वेक्षणमा त्यहाँका ७० प्रतिशत मानिसहरू ओलिम्पिक्स अघि नबढोस् भन्ने चाहन्छन्।

तस्बिर स्रोत, Reuters
तर अन्तर्राष्ट्रिय ओलिम्पिक्स कमिटी आईओसी भने उक्त विशाल आयोजना हुने कुरामा दृढ देखिन्छ।
गत वर्षकै गर्मी याममा आयोजना हुनुपर्ने ओलिम्पिक्स भएरै छाड्ने र त्यो सुरक्षित रूपमा हुने भन्नेमा कुनै सन्देह नराख्न जापानले लामो समयदेखि भन्दै आएको छ।
यसै साताको शुरूमा भने प्रधानमन्त्री योशिहिदे सुगा पहिलोपटक उपस्थित भएर व्यक्त आम दबावलाई सम्बोधन गर्ने प्रयास गरे।
उनले सरकारले 'ओलिम्पिक्सलाई पहिले नरोक्ने' भन्दै त्यस्तो निर्णयको अधिकार अन्तत: आईओसीसँग हुने बताए।
त्यसो भए खेलहरू रद्द गर्ने शक्ति वास्तवमा कोसँग छ र के ओलिम्पिक्स साँच्चिकै रद्द हुन सक्छ?
आयोजना कसरी रद्द हुनसक्छ?

तस्बिर स्रोत, Reuters
आईओसी र आतिथ्य गर्ने शहर टोक्योबीचको सम्झौता स्पष्ट छ: रद्दका विषयमा त्यहाँ एउटा बुँदा छ र त्यसले आईओसीलाई मात्र रद्द गर्ने विकल्प दिएको छ, आतिथ्य गर्ने शहरलाई होइन।
अन्तर्राष्ट्रिय खेलकुदका एक जना वकिल अलेक्जान्ड्र मिगल मेस्ट्रेले बीबीसीलाई भने- त्यसो किनभने ओलिम्पिक्स खेल आईओसीको 'विशेष सम्पत्ति' हो। र 'एकाधिकारप्राप्त' निकायका हैसियतमा उक्त सम्झौता समेत आईओसीले तोड्न सक्छ।
रद्द गर्ने औचित्यका लागि देखाइएको एउटा कारणमा - युद्ध वा नागरिक अस्थिरताबाहेक - "यदि आईओसीले सहभागीहरूको सुरक्षा गम्भीर रूपमा जोखिममा पर्ने ठानेमा वा असफल हुने देखिएका तर्कसङ्गत धरातल देखिएमा जेसुकै कारण।"
र एउटा मत चाहिँ महामारी त्यस्तै एउटा जोखिमका रूपमा देखिएको भन्ने छ।
ओलिम्पिक्सको बडापत्रमा समेत आईओसीले 'खेलाडीहरूको स्वास्थ्य' सुनिश्चित गर्नुपर्ने र 'सुरक्षित खेल' प्रवर्द्धन गर्नुपर्ने उल्लेख गरिए तापनि आईओसी अगाडि बढ्न प्रतिबद्ध देखिएको मेस्ट्रेले बताए।
त्यसोभए के जापानले आईओसीविरूद्ध गएर एक्लै आयोजना रद्द गर्न सक्छ?
युनिभर्सिटी अफ मेलबर्नका प्राध्यापक ज्याक एन्डरसनले बीबीसीलाई भने, "आतिथ्य गर्ने शहरसँग गरिएका सम्झौताका विभिन्न बुँदामध्ये यदि जापानले एकतर्फी रूपमा सम्झौता रद्द गरेमा त्यसको ठूलो जोखिम र क्षति स्थानीय आयोजक समितिलाई पर्नेछ।"
कानुन व्यवसायीहरूले त्यस्तो सम्झौताको अर्थ त्यसमा सहमत हुँदा नै टोक्योले बुझेको थियो तर महामारीको परिदृश्य यसरी आउला भन्ने उसले ठानेको थिएन।
"पात्रोमा ओलिम्पिक्स सबैभन्दा ठूलो खेलसम्बन्धी आयोजना हो। जापान र आईओसीका लागि अर्बौँ रकम प्रसारण प्रायोजनका रूपमा दाउमा लागेको छ। यो विशाल आयोजना भएकाले सबै पक्षका लागि सम्झौताका दायित्वले बाँधेको छ," उनले भने।
त्यसर्थ व्यवहारिक अवस्थामा हुन सक्ने भनेको सम्झौताका संरचनामै बाँधिएर जापानले आईओसीसँग मिलेर त्यस आयोजनाबाट हात झिक्नु हो।
यदि त्यस्तो भयो भने त्यहाँनिर बिमाको कुरा आउँछ- आईओसीको बिमा छ, स्थानीय आयोजक कमिटीको पनि बिमा छ र कैयौँ प्रसारकहरू र प्रायोजकहरूको समेत बिमा हुनेछ।
"सुरक्षित अवस्था के हुनेछ भने यदि ओलिम्पिक्स रद्द भएमा बिमा तिरिने खालको त्यो सबैभन्दा ठूलो आयोजना हुनेछ, त्यसमा कुनै सन्देह छैन," प्राध्यापक एन्डरसन भन्छन्।
तर बिमाले अप्रत्यक्ष रूपमा भएका खर्चहरू भने सायदै भुक्तान गर्न सक्नेछ। उदाहरणका लागि पर्यटकहरू आउने ठानेर होटल र रेस्टुराँजस्ता क्षेत्रमा देशभर भएका लगानीलाई नै लिँदा हुन्छ।
आलोचना
अहिलेको अवस्थामा खेलका अनिश्चितता कायमै छन्।
अहिलेसम्म यो निकै कठिन बाटो बन्यो। गत वर्ष नै हुनुपर्ने आयोजना सारियो। ओलिम्पिक्स टर्चको दौडाहा पटक पटक रोकियो, अन्तर्राष्ट्रिय प्रशंसकहरू आउन पाउने छैनन् र अहिले त अझ खाली मैदानमा हुने प्रतिस्पर्धाहरू समेत अनिश्चित छन्।

तस्बिर स्रोत, Getty Images
केही खेलाडीहरूले यसबारे मुख खोल्दै सहभागी नहुने सङ्केत गरेका छन्।
सहभागी हुनेका लागि ओलिम्पिक्स उनीहरूको खेल जीवनकै मानक हुनु कारण छ। जसका लागि उनीहरूले बर्सौँ अभ्यास गरेका हुन्छन्।
जापानकै सबैभन्दा प्रसिद्ध खेलाडी टेनिस च्याम्पियन नाओमी ओसाका पनि यस बहसमा संलग्न भएकी छन्।
यसै साता उनले भनिन्, "निश्चय नै ओलिम्पिक्स होस् भन्ने चाहन्छु। तर मलाई लाग्छ यहाँ धेरै महत्त्वपूर्ण घटनाहरू भइरहेका छन्, खासगरी गत वर्ष यता। मलाई लाग्छ यो मानिसहरूलाई जोखिममा पार्नु हो।"
यसै साताको शुरूमा अमेरिकाको फिल्ड एन्ड ट्र्याक टिमले जापानमा आफ्ना ओलिम्पिक्स अघिका तालिम शिविरहरू सुरक्षाका कारण देखाउँदै रद्द गरेको थियो।
यो पैसाको कुरा मात्र होइन अर्कोवर्ष हिउँदे ओलिम्पिक्स क्षेत्रीय प्रतिस्पर्धी चीनले बेइजिङमा आयोजना गर्दैछ। जसले गर्दा पनि कतिपयले जापान निकै अगाडि बढेर खेलहरू आयोजना गरेरै छाड्ने ठान्छन्।
जापानले पछिल्लोपटक सन् १९६४ मा ओलिम्पिक्सको आतिथ्य गरेको थियो। र त्यसबेला त्यसलाई दोस्रो विश्वयुद्धपछिको पुर्नउत्थान र पुनर्निर्माणका रूपमा हेरिएको थियो।

तस्बिर स्रोत, Getty Images
सन् २०२०/२१ को टोक्यो ओलिम्पिक्सलाई समेत लामो समयको आर्थिक सङ्कुचन, सुनामी र फुकुसिमा आणविक विपद्पछिको पुनर्उत्थानको विशेष महत्त्वको रूपमा लिइएको प्राध्यापक एन्डरसन व्याख्या गर्छन्।
आधुनिक ओलिम्पिक्सको इतिहासमा यसअघि सन् १९१६, १९४० र १९४४ मा तिनै पटक दुई विश्वयुद्धका कारण खेलहरू रद्द गरिएका छन्।
यसपटक आईओसीले रद्दबारे कुरा गर्न पनि नचाहिरहँदा धेरैले २३ जुलाईमा आयोजना साँच्चिकै भएर छाड्ने ठानिरहेका छन्।
तर त्यसको स्वरूप र आकार भने अझै अस्पष्ट छ।








