कोरोना भाइरस: ओलिम्पिक सरेपछि 'विचलित' नेपाली खलाडीलाई मनोपरामर्श

अवाले

तस्बिर स्रोत, Awale /facebook

टोक्यो ओलिम्पिकमा छनोट हुन प्रयास गरिरहेका नेपाली खेलाडीहरू अहिले दोहोरो मारमा परेका छन्।

एक त कोरोनाभाइरस सङ्क्रमणबाट बच्न विश्वभर चालिएका प्रयासका क्रममा जापानमा यो वर्ष हुने टोक्यो ओलिम्पिक एकवर्ष पर धकेलियो।

अर्कोतर्फ लकडाउन अर्थात बन्दाबन्दीको अवस्थाका कारण खेलाडीहरूलाई आफ्नो शारीरिक तन्दुरुस्ती गुम्ने चिन्ता बढेको छ।

तसर्थ उनीहरूको तन्दुरुस्ती गुम्न नदिन पहल थालिएको छ।

स्वयम् खेलाडी, तिनका प्रशिक्षक, सम्बन्धित सङ्घ र नेपाल ओलिम्पिक कमिटीको पहलमा कामहरू भइरहेको बताइएको छ।

आर्चरीकी च्याम्पियन खेलाडी ज्ञानु अवाले भन्छिन्, "जर्मनीमा ओलिम्पिक छनोट प्रतिस्पर्धाको अन्तिम तालिका थियो। अब त्यो खेल कहिले हुने हो थाहा छैन। हामी साँच्चै नै विचलित भएका छौं। त्यसमा मनोपरामर्शले मद्दत पुग्ने आशा छ।"

प्रशिक्षण र परामर्श

अचानक भएको बन्दाबन्दीका बेला चुस्त रहन कतिपय खेलका प्रशिक्षकहरूले खेलाडीलाई घरमा नै बसेर गर्ने अभ्यासबारे सिकाएको बताउँछन्।

जुडो खेलका प्रशिक्षक देबु थापा भन्छिन्, "कुन समयमा, कसरी, कुन तरिकाले प्रशिक्षण गर्ने त्यो सबै तालिका बनाएर दिएकी छु। खेलाडीहरूले त्यही अनुरूप प्रशिक्षण गरिरहेका छन्।"

खेलाडीहरू प्रशिक्षक र ओलिम्पिक कमिटीले उपलब्ध गराएको प्रशिक्षण तालिका अनुसार नै घरमा प्रशिक्षण लिइरहेको बताउँछन्।

कराँतेकी अनु अधिकारी भन्छिन्, "ओलिम्पिक कमिटीले दिएको प्रशिक्षण तालिका छ। हाम्रा प्रशिक्षकले पनि प्रशिक्षणका बारेमा निर्देशन दिनुभएको छ। सो अनुरूप नै अभ्यास गरिरहेकी छु। आशा गरौँ समय धकेलिँदा त्यसले हामीलाई फाइदा नै पुग्छ। मनोपरामर्श पनि राम्रो लाग्यो।"

खेलाडीहरूलाई ओलिम्पिक पुग्न दिशानिर्देश गर्ने निकाय ओलिम्पिक कमिटीले पनि खेलाडीहरूको स्थिति बुझ्न पहल थालेको छ।

कमिटीले ओलिम्पिक खेल्ने उम्मेदवार खेलाडीहरूको दैनिक अभ्यास र लकडाउनका कारण उनीहरूको मनस्थितिमा पर्न सक्ने प्रभावबारे काम गर्न तीन सदस्यीय अनुगमन समिति बनाएको छ।

उक्त समितिमा ओलिम्पिक कमिटीका उपाध्यक्ष चतुरानन्द वैद्य, महासचिव निलेन्द्रराज श्रेष्ठ र कार्यकारी सचिव सुजन श्रेष्ठ छन्।

इन्द्र गुरुङ

तस्बिर स्रोत, Noc

तस्बिरको क्याप्शन, मनोपरामर्शदाता इन्द्र बहादुर गुरुङ भिडियो कन्फरेन्समा

उपाध्यक्ष वैद्य भन्छन्, "यो कठिन परिस्थिति हो। हामीले खेलाडीहरूसँगको भिडिओ सम्मेलनबाट सबै जानकारी लियौँ। उनीहरूको मनोबल उच्च पार्न मनोवैज्ञानिक परामर्शको काम थालिसकिएको छ। प्रशिक्षकहरूसँग समन्वय गरी प्रशिक्षणको अवस्था बुझ्दैछौँ। "

खेलाडीहरूलाई ओलिम्पिक कमिटी अन्तर्गतको स्पोर्टस साइकोलोजी कमिशनका प्रमुख इन्द्र बहादुर गुरुङले भिडियो कन्फरेन्सको माध्यमबाट दैनिक एक घण्टा कक्षा दिइरहेका छन्।

'विनिङ माइन्डसेट' अर्थात जित्ने मनस्थिति शीर्षकमा लिइएको उक्त कक्षामा खेलाडीहरू र तिनका प्रशिक्षकहरू सहभागी छन्।

सम्भावितहरू

नेपालबाट टोक्यो ओलिम्पिकमा सहभागी हुन ८ खेलबाट १४ खेलाडीहरूको नाम 'वाइल्ड कार्ड' का लागि सिफारिस गरिएको नेपाल ओलिम्पिक कमिटीले जनाएको छ।

वाइल्ड कार्ड भनेको सिधै छनोट हुन नसक्ने देशका खेलाडीहरूलाई ओलिम्पिक खेल्न मौका दिने वैकल्पिक बाटो हो। जसमा आयोजक राष्ट्र, सम्बन्धित अन्तर्राष्ट्रिय खेल सङ्घ र अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटी आइओसी गरी त्रिपक्षीय संयन्त्रको समन्वयमा खाली भएको स्थानमा योग्य खेलाडीहरूलाई छान्ने गरिन्छ।

हाल ओलिम्पिकमा पौडीकी गौरिका सिंह र एलेक्स शाह छनोट भइसकेका छन्। एथलेटिक्सबाट एक जना खेलाडी छनोट हुने निश्चित कोटा छ। त्यसबाहेक अन्य खेलका अधिकतम ६ खेलाडीसम्मले 'वाइल्ड कार्ड' पाउन सक्ने कार्यकारी सचिव श्रेष्ठ बताउँछन्।

त्यस मध्ये १२ खेलाडीहरू अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटी आइओसीले दिएको छात्रवृत्ति भित्र रहेर प्रशिक्षण लिइरहेका हुन्।

ओलिम्पिक कमिटीका अनुसार अहिले मनोपरामर्श एक हप्ताका लागि मात्र दिइनेछ। त्यसपछि लकडाउन लम्ब्याइने नलम्ब्याइने सरकारी निर्णय र मनोपरामर्शको आवश्यकता अनुसार निर्णय लिइनेछ।