कोरोना भाइरस: खेल प्रतियोगिता ठप्प, भविष्य अनिश्चित

अनु अधिकारी

कोरोनाभाइरसको जोखिम कम गर्न गरिएको लकडाउनका कारण नेपालका एक दर्जन ठूला खेल प्रतियोगिताहरू स्थगित भएका छन्।

दक्षिण एसियाली खेलकुद प्रतियोगिताको सफल आयोजना र त्यसमा नेपाली खेलाडीहरुले प्राप्त गरेको सफलताले खेलकुदतर्फ आम चासो बढेको बेला कोरोनाभाइरस प्रकोपले ब्रेक लगाइदिएको छ।

विश्वकै खेल गतिविधिहरू ठप्प भएको बेला नेपालको अवस्था पनि त्यस्तै भएको छ।

विश्वकप छनोटका खेलहरूदेखि ओलिम्पिक्स तयारीसम्म अनि चर्चित क्रिकेट खेलाडीहरू समावेश हुने घरेलु प्रतियोगिता र विश्व क्रिकेट लिग २ सम्मका खेलहरू स्थगित भएका छन्।

नवौँ राष्ट्रिय खेलकुदको तयारीदेखि राष्ट्रिय योजनाहरू पनि रोकिएका छन्।

फुटबल

कोरोनाभाइरस सङ्क्रमणको खतराका कारण नेपालमा सक्रिय खेलको सूचीमा रहेको फुटबलका इभेन्ट्सहरु सबैभन्दा बढी प्रभावित भएको देखिएको छ।

फुटबलको महत्वपूर्ण अन्तर्राष्ट्रियदेखि राष्ट्रिय प्रतियोगिताहरू समेत प्रभावित भएका छन्।

सागका लागि पुनर्निर्माण गरिएको काठमान्डूको दशरथ रङ्गशालामा सन् २०२२ को विश्वकप छनोट अन्तर्गत नेपालले खेल्ने तय भएको तीनवटा खेल रोकियो।

नेपालले पहिलो खेल चैत्र १३ गते चाइनिज ताइपेईसँग र त्यसको पाँच दिन पछाडि चैत्र १८ गते अस्ट्रेलियासँग दोस्रो खेल खेल्ने तय थियो। तेस्रो खेल भने आगामी वर्ष जेठ २२ गते जोर्डनसँग खेल्ने तालिका छ।

शहिद स्मारक 'ए' डिभिजन लिग टुङ्ग्याएर काठमाण्डू बाहिर हुने नकआउट फुटबल चलिरहेकै बेला कोरोनाभाइरस सङ्क्रमणको प्रभाव बढ्यो।

आधा दर्जन गोल्डकप फुटबल प्रतियोगिता स्थगित भए भने काठमान्डूमा सञ्चालन भइरहेको शहीद स्मारक 'बी' डिभिजन लिग पनि बीचमै रोकिन पुग्यो।

चैत्रको अन्तिम साता हुने 'सी' डिभिजन लिग र पहिलो सातादेखि हुने निश्चित भएको महिला राष्ट्रिय फुटबल लिग शुरू हुनै पाएन।

बाँसबारी क्लब

आगामी बैशाखबाट अखिल नेपाल फुटबल सङ्घ एन्फाले नयाँ प्रतियोगिताको रूपमा शुरू गर्न लागेको 'राष्ट्रिय लिग' पनि योजनामै तुहिएको छ।

एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा भन्छन्, "कोरोनाभाइरसबाट छुटकारा नपाएसम्म अर्को योजना बनाउने कुरै भएन। हामी अब फिफा, एएफसी र राष्ट्रिय खेलकुद परिषदको निर्णय हेरेर मात्र कार्यक्रम बनाउनेछौँ।"

एन्फा अधिकारीहरूका अनुसार अब राष्ट्रिय लिगको योजना रद्द हुने सम्भावना धेरै छ।

कोरोनाभाइरसको असरका कारण आगामी दिनमा एन्फाले नपाउने अन्तर्राष्ट्रिय सहयोगमा समेत असर पर्ने चिन्ता बढेको छ।

क्रिकेटको पनि उस्तै

चैत्र १ गते कीर्तिपुर क्रिकेट मैदानमा विश्व क्रिकेटका चर्चित खेलाडी क्रिस गेल र अन्य अन्तर्राष्ट्रिय क्रिकेट खेलाडीहरूले खेल्ने तय थियो।

तर त्यसअघि नै सरकारले देशको सम्पूर्ण खेलकुद गतिविधि स्थगित गर्न भनेपछि एभरेस्ट प्रिमियर लिग इपीएल क्रिकेट प्रतियोगिता रोकियो।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट राष्ट्रको मान्यता पाएको नेपालले घरेलु भूमिमा धेरै खेलहरू खेल्ने कार्यक्रम थियो।

तर आइसीसी विश्व क्रिकेट लिग २ का दुईवटा खेल स्थगित हुँदा राष्ट्रिय क्रिकेट टोलीले त्यो मौकाका लागि कुर्नु पर्ने भयो।

एप्रिलमा नामिबियामा स्कटल्याण्ड सम्मिलित त्रिदेशीय श्रृङ्खला र जुलाईमा स्कटल्याण्डमा नामिबिया सम्मिलित त्रिदेशीय क्रिकेट खेल रद्द भएका छन्।

ओलिम्पिक

जापानमा हुने टोक्यो ओलिम्पिक एक वर्ष धकेलिएसँगै विभिन्न आठ खेलका १६ जना खेलाडीहरूको छनोट अभिलाषा र अभ्यासमा असर परेको छ।

नेपाल ओलिम्पिक कमिटीको छात्रवृत्तिमा प्रशिक्षण लिइरहेका छ खेलाडी र 'वाइल्ड कार्ड' पाउने सम्भावना भएका अरू अभ्यासमा थिए।

ती सबै अभ्यास हालका लागि स्थगित भएको छ।

कराते खेलाडी अनु अधिकारी भन्छिन्, "यो कठिन समय हो। तर अभ्यासका लागि थप समय जुरेको भन्दै यसलाई सकारात्मक रूपमा लिएकी छु।"

सीप्यान
तस्बिरको क्याप्शन, गत वर्षका सीप्यान अवार्डका विजेता

पुरस्कारको रकम सहयोग

क्रिकेट खेलाडीहरुको संस्था सीप्यानले हरेक वर्ष प्रदान गर्ने सीप्यान क्रिकेट अवार्ड आयोजन गर्न नसक्ने भएपछि अवार्डमा खर्च हुने रकम नेपाल सरकारले खडा गरेको कोभिड १९ सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा गरिदिने बताएको छ।

सीप्यानका अध्यक्ष मनिषराज पाण्डेले जनाए अनुसार पाँच विधाका पुरस्कार राशीसहित चार लाख ६२ हजार रुपैयाँ जम्मा गरिएको छ।

नवौँ राष्ट्रिय खेलकुद अनिश्चित

गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुदको आयोजनाका लागि एक वर्ष समय बाँकी छ।

खेलकुद पुर्वाधारको दृष्टिकोणमा बलियो भएकोले पुर्वाधारको समस्या गण्डकी प्रदेशमा हुने देखिँदैन।

पौडी पोखरी मात्र गण्डकी प्रदेशमा निर्माण हुन बाँकी खेलकुद पुर्वाधार हो।

गण्डकीको ११ वटै जिल्लामा नवौँ राष्ट्रिय खेलकुदको आयोजना गर्ने योजना बनाएको राष्ट्रिय खेलकुद परिषद्‌ले पूर्वाधार निर्माणका योजनाहरू स्थगित गरेको छ।