टोक्यो ओलिम्पिक्स २०२०: गोपीचन्द्र पार्की प्रकरण; खेलाडीमाथि किन हुन्छ बारम्बार अन्याय

गोपीचन्द्र पार्की
    • Author, निरञ्जन राजवंशी
    • Role, काठमान्डू

छोरा गोपीचन्द्र पार्कीले टोक्यो ओलिम्पिक २०२० खेल्न नपाउने थाहा पाएदेखि मनु पार्कीको आँसु रोकिएको छैन।

सुदूरपश्चिमको धनगढी गौरीपुरकी उनलाई एउटै चिन्ता छ: ओलिम्पिकमा छनोट भएको खबर छाती चौडा पार्दै सुनाउँदा खुसीले फुरुङ्ग देखिएको छोराको मुहार कस्तो होला?

हुन त १३औँ दक्षिण एशियाली खेलकुदका स्वर्ण विजेता गोपीचन्द्र पार्कीले आफू कमजोर नभएको बताए।

तर उनले पीडा लुकाउन भने सकेका छैनन्। टोलाएका आँखा अनि हाँसो हराएको उनको अनुहारमा पीडा स्पष्ट देखिन्छ।

उनी अधैर्य देखिन्छन्। बसेको स्थान फेरिरहन्छन्। च्यापुको मास्क वरिपरि खोज्छन् अनि मोबाइलको भनेर टिभीको रिमोट बोक्छन्।

उन भन्छन्, "म अहिले ज्युँदो लास जस्तै भएको छु। यो पीडा शब्दमा बयान गर्न सक्दिन।"

छनोट प्रतिस्पर्धाबाट छानिएर आठ महिना लामो कडा प्रशिक्षण गरेपछि उनलाई भनियो, "प्राविधिक कारणले तिम्रो नाम ओलिम्पिकमा छानिएन। अब अर्कै खेलाडी जानेछ।"

"एउटा खेलाडीको लागि योभन्दा ठूलो पीडा के होला? अपमान के होला?"

खेलाडीहरू मात्र होइन, नेपाली खेलकुदका जानकारहरू यो घटनालाई स्तब्धपूर्ण भनिरहेका छन्।

ओलिम्पियन तथा नेपाल एथलेटिक्स सङ्घका पूर्वअध्यक्ष रघुराज वन्तले भने, "म ७२ वर्षको भएँ। खेलकुदमा लागेकै ५० वर्षभन्दा बढी भयो। तर यो जतिको दुखद क्षण मैले कहिल्यै महसुस गरिन्।"

गोपीचन्द्र पार्की

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, गोपीचन्द्र पार्कीले सन् २०१९ मा दक्षिण एशियाली खेलकुद अन्तर्गत ५,००० मिटर दौडमा स्वर्ण पदक जितेका थिए

यसले नेपाली खेलकुदको वास्तविक बिग्रँदो तस्बिर उदाङ्ग भएको र खेलाडीको भावनामाथि हुने गरेको खेलबाड देखाएको उनी बताउँछन्।

नेपाली खेलकुदमा खेलाडीलाई यसरी 'भद्दा मजाक' बनाइएको यो पहिलो घटना भने होइन।

सन् २०१४ मा दक्षिण कोरियामा भएको एशियाली खेलकुदमा कराते खेलाडीले खेल मैदानमा पुगिसकेको अवस्थामा अर्को खेलाडी खेलाइएको थियो।

घटना के हो?

नेपाल एथलेटिक्स सङ्घले टोक्यो ओलिम्पिक २०२० का लागि एथलेटिक्स खेलाडी छनोट गर्न नेपालगन्जमा भएको म्याराथन प्रतियोगितालाई मान्यता दियो।

त्यसैको विजेता बन्दै आठ महिना अगाडि गोपीचन्द्र पार्की छानिएको भनियो।

त्यसयता पार्की म्याराथन धावक वैकुण्ठ मानन्धरले राखेको दक्षिण एशियाली कीर्तिमान भङ्ग गर्ने लक्ष्यका साथ प्रशिक्षण गरिरहेका थिए।

तर ओलिम्पिक खेलाडीहरू बन्द प्रशिक्षण राख्दा पार्कीको नाम टोक्यो ओलिम्पिकमा नभएको हल्ला फैलियो।

ओलिम्पिक जाने खेलाडीहरूलाई बन्द प्रशिक्षणमा राखिएको होटेलमा उनलाई बोलाइएन।

हल्ला फैलिएको भोलिपल्ट नेपाल ओलिम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल एथलेटिक्स सङ्घका अध्यक्ष राजीवविक्रम शाह र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले संयुक्त विज्ञप्ति जारी गर्दै पार्की ओलिम्पिकमा नभएको जानकारी गराइयो।

विज्ञप्तिमा पार्कीको नाम दर्ता नहुनुको कारणबारे भनिएको छ: "सहभागिता सुनिश्चित गर्नका लागि सम्बन्धित खेलको अन्तर्राष्ट्रिय महासङ्घको प्राविधिक कमिटीबाट निर्णय हुने हुँदा म्याराथनको हकमा कोटाभन्दा धेरै आवेदन परेको हुँदा म्याराथन नभई १०० मिटर दौडमा कोटा छुट्टाएको जानकारी प्राप्त भएको छ।"

साथै पार्कीको स्थानमा १०० मिटर दौडकी खेलाडी सरस्वती चौधरीको नाम पठाइसकिएको पनि विज्ञप्तिमा जनाइएको छ।

त्रुटिको आशङ्का

गोपीचन्द्र पार्की

तर कतिपयले यसमा सम्बन्धित निकायबाट गम्भीर त्रुटि हुँदा नै पार्कीको अवसर गुम्न पुगेको बताइरहेका छन्।

म्याराथनमा सिधा छनोट हुन आयोजकले २ घण्टा ११ मिनेट ३० सेकेन्डको 'क्वालिफाइङ टाइम' तोकिएको छ।

त्यसबाहेक लन्डन म्याराथनजस्ता ठुला म्याराथनका विजेताहरूले सिधै ओलिम्पिक खेल्न पाउने व्यवस्था छ।

त्यसपछि बचेको कोटामा मात्र नेपालजस्ता देशका खेलाडीहरू पर्ने गर्छन्।

तर यसका निम्ति बारम्बार पत्राचार गरिरहनुपर्ने नेपाल एथलेटिक्स सङ्घका पूर्व महासचिव सुनिल राजवंशी बताउँछन्।

उनले भने, "१०० मिटर दौड मात्रै हो जसमा सजिलै नाम स्वीकृत हुन्छ। बाँकी कोटाका लागि बारम्बार पत्राचार गरिरहनुपर्छ। रियो ओलिम्पिक २०१६ मा पनि हामीले ५,००० मिटर र १५,००० मिटरमा सहभागी गराएका हौँ।"

"तर एक पटक नाम पठाएर चुपचाप बसे कोटा पाइन्छ भन्ने हुँदैन। त्यसको बारम्बार 'फलो अप' गरिरहनै पर्छ।"

राजवंशीले भने- "मलाई शङ्का छ, त्यो [पार्कीको सहभागिता] विषयमा फलो अप गरिएन।"

एक अर्कालाई दोषारोपण

तर एथलेटिक्स सङ्घका अध्यक्ष शाहले पत्राचारको सम्पूर्ण प्रक्रिया ओलिम्पिक कमिटीले गर्ने हुनाले यसमा आफ्नो केही भूमिका नभएको बताए।

उनले भने, "ओलिम्पिक कमिटीले खेलाडीको नाम पठाएपछि हामीलाई अन्तर्राष्ट्रिय एथलेटिक्स महासङ्घले सो खेलाडी हो कl होइन भनेर सोध्छ। हाम्रो भूमिका त्यसको जवाफमा 'वी कन्फर्म' लेख्ने बाहेक अरू केही हुन्न।"

विषय बिग्रिसकेपछि ओलिम्पिक कमिटीले अन्तिम समयमा खबर गरेकोमा पनि शाहले आपत्ति जनाए।

शाहले भने, "हामीलाई जुन २५ तारिखमा मात्र खबर दियो। त्यति बेलासम्म धेरै ढिला भइसकेको रहेछ। ओलिम्पिक कमिटीलाई मेरो प्रश्न यही हो कि सङ्घलाई यति ढिलो जानकारी किन?"

तर ओलिम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले भन्छन्, "खेलाडीको विषयमा अन्तर्राष्ट्रिय महासङ्घले सम्बन्धित सङ्घलाई जानकारी गराएको हुन्छ।"

"एथलेटिक्स सङ्घलाई पनि यसबारे जानकारी नै होला। हामीले प्रयास भने अन्तिम समयसम्म गरेकै हौँ।"

गोपीचन्द्र पार्की

तस्बिर स्रोत, RSS

छात्रवृत्ति पनि पाएन एथलेटिक्सले

त्यसो त एथलेटिक्स सङ्घ र ओलिम्पिक कमिटी बीचको सम्बन्ध पहिल्यैदेखि राम्रो नभएको खबर पनि चर्चामा आएको छ।

टोक्यो ओलिम्पिकका लागि आयोजकले सम्भावना बोकेका खेलाडीहरूलाई ओलिम्पिक छात्रवृत्ति प्रदान गरेको थियो।

एक खेलाडीले मासिक ५०० अमेरिकी डलर पाउने सो छात्रवृत्तिमा विभिन्न सात खेलका १२ खेलाडी परे।

तर ओलिम्पिक खेल्ने निश्चित भएका एथलेटिक्स खेलाडीले भने सो छात्रवृत्ति पाएनन्।

मासिक ५०० अमेरिकी डलर खेलाडीको प्रशिक्षणको लागि राम्रो रकम हो।

त्यस सन्दर्भमा ओलिम्पिक कमिटीले एथलेटिक्स सङ्घले नाम नदिएकोले एथलेटिक्स खेलाडी नपरेको बताउँदै आएको छ।

तर एथलेटिक्स सङ्घका अध्यक्ष शाहले ओलिम्पिकले एथलेटिक्सलाई त्यो कोटा नियतवश नदिएको बताउँछन्।

उनले भने, " हामीलाई कोटा दिएकै छैन। कुनै मेल आएकै छैन। यो हामीलाई बदनाम गराउने खेल मात्र हो।"

उनले थपे, "ओलिम्पिकमा एथलेटिक्स प्रशिक्षक को लैजाने भन्ने तय पनि ओलिम्पिक कमिटीले नै गर्‍यो। सङ्घले दिएको नाम स्वीकारेन। यस्ता धेरै कुराहरू छन्।"

ओलिम्पिक महासचिव श्रेष्ठ भन्छन्, "सबै सङ्घहरूले जानकारी पाउने तर एथलेटिक्स सङ्घले नपाउने भने हुनै सक्दैन। यसमा गल्ती सङ्घकै हो। हाम्रो नियत केही छैन।"

यी सबै घटनाहरूले अन्ततः पार्कीको विषय प्रभावित भएको हुनसक्ने कतिपयले ठानेका छन्।

कारबाहीको माग

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले पदाधिकारीहरूले नेपाली खेलाडीको बारम्बार अवमूल्यन भएको भन्दै सो घटनाको भर्त्सना गरेको छ।

सङ्घका अध्यक्ष दीपक श्रेष्ठले भने, "गल्ती कसको हो? सरकारले यो विषयको छानबिन गरोस्।"

"दोषीमाथि कारबाही नभएसम्म खेलाडी माथि यस्तो अन्याय दोहोरिनै रहनेछन्।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, महामारीबीच ओलिम्पिक्सका लागि गौरिका सिंहको तयारी