टोक्यो २०२०: ओलिम्पिक्सका लागि दर्शक सङ्ख्या निर्धारण

ओलिम्पिक्स

तस्बिर स्रोत, EPA

स्वास्थ्य अधिकारीहरूको चेतावनीका बावजुद जापान २०२० ओलिम्पिक्सका खेलहरू हुने स्थानमा दश हजारसम्म जापानी प्रशंसकलाई सहभागी हुन दिइने भएको छ।

विदेशी दर्शकहरूमाथि पहिल्यै प्रतिबन्ध लगाइसकिएको छ तर आयोजकहरूका अनुसार खेल हुने स्थानको क्षमताभन्दा ५० प्रतिशत नाघ्न नदिई घरेलु दर्शकलाई उपस्थित हुन दिइनेछ।

दर्शकहरूलाई चिच्याउन अथवा ठूलो स्वरमा बोल्न दिइनेछैन र खेल स्थलमा हरेक समय मास्क लगाएको हुनुपर्छ।

ओलिम्पिक्स जुलाइ २३ तारिखबाट शुरू हुनेछ भने त्यसको एक महिनापछि अर्थात्‌ अगस्ट २४ तारिखबाट प्यारालिम्पिक्स शुरू हुनेछ।

नियमभित्र रहेर सञ्चालन

प्यारालिम्पिक्सको हकमा दर्शकहरूको सङ्ख्या जुलाइ १६ तारिखमा टुङ्गो लगाइने इन्टरन्याश्नल ओलिम्पिक कमिटी, इन्टरन्याश्नल प्यारालिम्पिक कमिटी, टोक्यो ओलिम्पिक्स २०२० आयोजक समिति, टोक्यो महानगर तथा जापानी सरकारद्वारा जारी संयुक्त वक्तव्यमा जनाइएको छ।

दर्शकविना खेलहरू सञ्चालन गर्नु कम जोखिमयुक्त र राम्रो विकल्प हुने भन्दै जापानका चिकित्साविद्‌हरूले दिएका सुझावसहितको प्रतिवेदन गत साता मात्र सार्वजनिक भएको थियो।

स्टेडियम

तस्बिर स्रोत, EPA

टोक्यो ओलिम्पिक्स २०२० आयोजक समितिका सभापति सिइको हाशिमोतोले भने, "दर्शकको सहभागितामा हुने घरेलु तथा अन्तर्राष्ट्रिय थुप्रै खेल प्रतियोगिता छन्।

"जनस्वास्थ्यका मापदण्डको पालना र सरकारी नियमभित्र रहेर दर्शकको उपस्थितिमा प्रतियोगिता गराउन सकिने हाम्रो विश्वास छ।"

"सारा विश्वले यही समस्या झेलिरहेको छ र यसबाट पार पाउन मिलेर हामीले काम गर्नुपर्छ," उनले थपे।

प्रतिनिधिमण्डलका सदस्य र प्रायोजकलाई आयोजकका रूपमा वर्गीकरण गरिने भएकोले दश हजार सङ्ख्यामा उनीहरू जोडिने छैनन्।

पुनर्विचार गर्न सकिने

कोरोनाभाइरस सङ्क्रमण बढेमा र जापानको स्वास्थ्य प्रणालीमाथि असर परेको खण्डमा थप प्रतिबन्धात्मक कदमबारे पाँच पक्षले पुनर्विचार गर्नेछन्।

त्यो भनेको खेलस्थलमा दर्शकको सङ्ख्या थप घटाउन सकिने कुरा हुन्छ।

ओलिम्पिक्सका कारण जापानमा कोरोनाभाइरस सङ्क्रमण बढ्न सक्ने चिन्ताहरू व्यक्त भइरहेका छन्।

त्यसलाई ध्यानमा राख्दै गत हप्ता मात्रै जापानी प्रधानमन्त्री योशिहिदे सुगाले रङ्गशाला जानुभन्दा टेलिभिजनमा खेलहरू हेर्न दर्शकहरूलाई प्रोत्साहित गरेका थिए।

प्रतियोगिता शुरू हुनुभन्दा पाँच हप्ताअघि आइतवार टोक्योमा आपत्‌कालीन अवस्था हटाइएको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, टोक्यो ओलिम्पिक्सः यस वर्षको खेललाई किन 'आत्मघाती अभियान' भनियो?