भोटेकुकुर: लेकका गोठमा भेडाबाख्रालाई सुरक्षा दिने कुकुरको माग बढ्यो

- Author, रबिना बोहरा
- Role, बागलुङ
बागलुङको उच्च पहाडी क्षेत्रका भेडीगोठमा कुरुवाका रूपमा पालिने भोटेकुकुरको माग अहिले सहरबजारमा बढ्न थालेको छ।
बागलुङको निसीखोला, ढोरपाटन लगायतका क्षेत्रमा वषौँदेखि भोटेकुकुर गोठमा राख्ने चलन छ। तिनले सयौँ भेडाबाख्राको सुरक्षा गर्छन्।
बागलुङबाट बर्सेनि भोटेकुकुरका ३००-४०० वटा छाउरा अरू जिल्लाका मानिसले किनेर लग्ने गरेको स्थानीय बासिन्दाहरूको अनुमान छ। तर यसको आधिकारिक तथ्याङ्क भने पाइँदैन।
भोटेकुकुरमा त्यस्तो के विशेषता छ र सहरमा पनि तीनको माग बढिरहेको छ? जानकारहरूका भनाइमा भोटेकुकुर रिसाहा स्वभावको तर कर्तव्यपरायण र बफादार हुन्छ।
जङ्गली जनावरसँग पनि भिड्छ
लेक र उच्च पहाडी क्षेत्रमा जङ्गलमा भेडीगोठ हुने भएकाले साहसिलो मानिने भोटेकुकुरलाई कुरुवाका रूपमा राख्ने गरिएको निसिखोला गाउँपालिका-४ झिवाखोलाका हुतराज पौडेलले जानकारी दिए।
उनले आफ्ना ९०० वटाजति भेडाबाख्राको रेखदेख गर्न पाँचवटा भोटेकुकुर पालेका छन्। मानिसले जतिबेला पनि भेडाबाख्रा हेरेर बस्न नसक्ने भएपछि कुकुरकै जिम्मामा छाडिदिने गरेको उनी बताउँछन्।
"कुकुरले दिनभरि खर्क र रातभरि गोठमा बसेरै भेडाबाख्राको सुरक्षा गर्छन्," पौडेलले भने, "जङ्गली जनावरसँग डराउँदैनन्। बाघभालूलाई पनि लखेट्छन्, समाउँछन्। राति नचिनेको मान्छे गएमा आक्रमण पनि गर्छन्।"
बागलुङको पश्चिम क्षेत्रमा सबै भेडाबाख्रापालकले भोटेकुकुर पनि पालेका छन्। वर्षमा एक पटक जन्मिने भोटेकुकुरमा छाउराछाउरी १० हजार देखि ५० हजार रुपैयाँसम्ममा विक्री हुने गरेको पौडेलको भनाइ छ।

कतिपय मानिसहरूले सुरक्षाका लागि पशुपालन फार्म तथा गोठका निम्ति त कतिपयले सोखका लागि पाल्न किन्ने गरेका छन्।
स्थानीय बासिन्दाहरूका अनुसार त्यहाँबाट बुटवल, पोखरा, काठमाण्डू, गुल्मी, पाल्पा लगायतका ठाउँमा भोटेकुकुर किनेर लग्ने गरिएको छ।
वर्षमा पाँचदेखि सातवटा छाउराछाउरी विक्री गर्ने गरेका निसीखोला गाउँपालिका-६ भलकोटका कुशल बुढाले बढ्दो मागका कारण अब भोटेकुकुरको व्यावसायिक पालन गर्ने योजना बनाएका छन्।
मूल्य ५० हजारसम्म
किनबेच हुनुअघि कुकुरले बच्चा जन्माउँदा तिनलाई दूध पुग्दैन भन्ने चिन्ता हुन्थ्यो। तर अहिले महँगोमा बेच्न सकिने भएपछि स्थानीय बासिन्दाहरू कुकुरपालनतर्फ आकर्षित बनेका हुन्।
तर स्थानीय तहले त्यसलाई प्रोत्साहित गर्न कुनै चासो नदेखाएको उनीहरूको गुनासो छ।
ढोरपाटन नगरपालिकाका पानबहादुर विक भन्छन्, "बच्चा पाइहाल्यो भने त किनेर लगिहाल्छन्, एउटै कुकुरलाई ५० हजार रुपैयाँमा विक्री हुन थालेपछि यो त दुहुनो भैँसीबराबर भएको छ।"
ढोरपाटन नगरपालिका वडा नम्बर ७ बोबाडका खड्क अदैले आफूले पालेको माउ भोटेकुकुर ५० हजार रुपैयाँमा विक्री भएको बताए।
उनी भन्छन्, "अहिले भोटेकुकुरका बच्चा तथा माउ खोज्न मानिसहरू दिनहुँ गाउँमै आउने गर्छन्, बच्चा केही सस्तोमा तर माउ महँगोमा बेच्ने गरेका छौँ।"
जानकारहरूका अनुसार नेपाल र भारतको उत्तरी भूभाग, तिब्बत र मङ्गोलियामा पाइने कुकुरको जातमा पर्ने भोटेकुकुरको टाउको ठूलो र जीउ अजङ्गको अनि स्वभाव रिसाहा र आक्रामक हुन्छ।
कस्ता छन् विशेषताहरू?
विशेषज्ञहरू यो जातको कुकुर धेरै इमानदार र बफादार स्वभावको हुने भएकाले विश्वमा नै विशिष्ट मानिने बताउँछन्।
भोटेकुकुर सामान्यतया जङ्गली जनावरसँग नडराउने खालको हुन्छ।
भेटरिनरी अस्पताल तथा पशुसेवा केन्द्र बागलुङका पशुचिकित्सक अनन्त कोइरालाले एउटा भोटेकुकुरले पूरै गाउँ नै थर्कनेगरी भुक्न सक्ने बताए।
धेरै चिसो हुने क्षेत्रमा पालिने यो कुकुरको माग सहरबजारमा भए पनि धेरै गर्मी हुने ठाउँमा ती धेरै समय नबाँच्ने डा.कोइरालाको भनाइ छ। उच्च क्षेत्रमा भोटे कुकुरको आयु १८-२० वर्ष हुन्छ।
"धेरै नै चिसो ठाउँमा बस्ने यो कुकुरलाई तराई क्षेत्रमा लग्यो भने त्यहाँ तापक्रम नमिल्दा समस्या हुन्छ, त्यसैले गर्मी ठाउँमा कम बाँच्छन्," उनले भने।
मङ्सिरदेखि माघ महिनासम्म कुकुरले बच्चा जन्माउने समय भएकाले यसलाई थप व्यावसायिक रूपमा लैजाने सोच समेत बनाएको स्थानीयवासीले बताएका छन्।
यो पनि हेर्नुहोस्














