घाँटीमा जीपीएस झुन्ड्याएर 'सिकार गर्दैछन्' शे-फोक्सुन्डो निकुञ्जमा दुई हिउँचितुवा

तस्बिर स्रोत, DNPWC/WWF Nepal
- Author, सुरेन्द्र फुयाल
- Role, बीबीसी न्यूज नेपाली
एक महिनाअघि घाँटीमा 'स्याटलाइट जीपीएस कलर' जडान गरिएका शे-फोक्सुन्डका दुई भाले हिउँचितुवा केही सातायता धेरै सक्रिय भएका र निकुञ्जको उत्तरी भेगमा विचरण गरिरहेको संरक्षण अधिकारीहरूले बताएका छन्।
भूउपग्रहमा आधारित 'स्याटलाइट जीपीएस कलर'ले संरक्षणकर्मीलाई ती हिउँचितुवाको अवस्थिति थाहा पाउन निकै सजिलो बनाइदिएको छ।
ती हिउँचितुवाले हिँडडुल गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अधिकारीहरूले काठमाण्डूबाटै कम्प्युटरमा निरन्तर निगरानी गरिरहेका छन्।
उनीहरूका अनुसार ती हिउँचितुवाले विगत एक महिनाको अवधिमा शे-फोक्सुन्डो क्षेत्रमा निकै लामो दूरी पार गरेका छन्।
जेदोरोङ र सामलिङ नाम दिइएका ती दुई हिउँचितुवा ४,००० मिटर आसपासको उचाइमा रहेको र शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा उनीहरूको स्वाभाविक प्राकृतिक विचरण जारी रहेको विभागका इकोलजिस्ट हरिभद्र आचार्यले बीबीसी न्यूज नेपालीलाई बताए।
उनले भने, "दुवै हिउँचितुवा अहिले समातिएको स्थानबाट निकै पर पुगिसकेका छन्।"
"जेदोरोङ उसलाई समातेर छोडिएको चार्कार्बो भन्ने ठाउँबाट निकै उत्तरतर्फ पुगेको छ। साम्लिङ पनि समातिएको साम्लिङ गुम्बा क्षेत्रबाट पश्चिमोत्तरतिर पुगेको देखिएको छ।"

ती दुवै हिउँचितुवा वयस्क हुन्। 'स्याटलाइट जीपीएस कलर' जडान गर्ने बेला जेबोरोङको तौल ३८ किलोग्राम र सामलिङको ३३ किलोग्राम थियो।
संरक्षणकर्मीले दुवै भाले स्वस्थ र सुन्दर रहेको बताएका थिए।
शे-फोक्सुन्डोमा हिउँचितुवाको अध्ययन किन
शे-फोक्सुन्डो नेपालकै सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो।
डोल्पा र मुगुको ३,५५५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको त्यो निकुञ्जको हिमाली तथा पठार क्षेत्र "आहारविहारका हिसाबले हिउँचितुवाका लागि सबैभन्दा उपयुक्त वासस्थान प्रमाणित भएको" विभागको भनाइ छ।

तस्बिर स्रोत, DNPWC/WWF Nepal
त्यहाँ झन्डै ४० वर्षअघि अमेरिकी वन्यजन्तु जीवशास्त्री डा. रोड्नी ज्याक्सनले हिउँचितुवाहरूको घाँटीमा रेडियो कलर नामक उपकरण जडान गर्दै 'देख्नै कठिन हुने र दुर्लभ' ती जीवको आहारविहारबारे वैज्ञानिक अनुसन्धान गरेका थिए।
सन् १९८१ देखि १९८५ सम्म शे-फोक्सुन्डोको माथिल्लो डोल्पोमा गरिएको अनुसन्धानको क्रममा उनले हिउँचितुवाको प्रमुख आहाराको रूपमा रहेका नाउर (सेतो रङको हिमाली भेडो जस्तो जनावर) र घोरलको सङ्ख्या निकै धेरै पाएका थिए।
त्यसका आधारमा उनले शे-फोक्सुन्डोमा सयौँको सङ्ख्यामा हिउँचितुवा हुन सक्ने अनुमान गरेका थिए।
नेपाल विश्वका हिउँचितुवा पाइने १२ देशहरू मध्येको एक हो। तर नेपालमा हिउँचितुवाबारे अझै पर्याप्त वैज्ञानिक अध्ययन अनुसन्धान हुन सकेको छैन।
हालैका वर्षहरूमा भूउपग्रहमा आधारित अनुगमन र हिउँचितुवालाई फोटो खिच्ने पासो (क्यामरा ट्र्याप) मा पार्ने प्रयास भएपनि हिउँचितुवा विचरण गर्ने उच्च हिमाली क्षेत्रमा राष्ट्रिय स्तरको सर्भे वा अध्ययन हुन सकेको छैन।
नेपालमा हिउँचितुवा कति?
हिउँचितुवा संरक्षणका हिसाबले नेपालको हिमालय क्षेत्रलाई तीन भागमा विभाजन गरिएको छ।
- कञ्चनजङ्घा, सगरमाथा र रोलवालिङआदि हिमालसहितको पूर्वी हिमालय क्षेत्र
- लाङ्टाङ, गणेश हिमाल, मनास्लु र अन्नपूर्ण धौलागिरीआदि सहितको मध्यक्षेत्र
- धौलागिरिभन्दा पश्चिमको कान्जिरोबा र अपि साइपाल हिमाल आदि सहितको पश्चिम हिमालय क्षेत्र
ती सबै स्थानमा गरी नेपालको हिमालय क्षेत्रमा करिब ३०० देखि ४०० को हाराहारीमा हिउँचितुवा रहेको अनुमान गरिएको छ।
अपि नाम्पा र शे-फोक्सुन्डो निकुञ्जसहितको भेगमा ती दुर्लभ एवं संरक्षित जीवको सङ्ख्या सबैभन्दा बाक्लो रहेको अनुमान गरिएको छ।
त्यसपछिको बाक्लो सङ्ख्या मध्यहिमाली भेगमा रहेको ठानिन्छ। त्यहाँ ६ देखि २४ वटा हिउँचितुवा रहेको अनुमान छ।
सबैभन्दा कम हिउँचितुवा रहेको ठानिएको पूर्वी हिमालयमा १३ देखि २१ हिउँचितुवा रहेको आकलन छ।
'स्याटलाइट जीपीएस' अनुगमनको फाइदा के?
यसअघि सन् २०१३ देखि २०१५ सम्म नेपालका संरक्षण अधिकारीहरूले पूर्वी हिमालयको कञ्चनजङ्घा क्षेत्रका चार हिउँचितुवाको घाँटीमा 'स्याटलाइट जीपीएस कलर' जडान गरेका थिए।

तस्बिर स्रोत, KCAP
त्यस क्रममा नेपालका हिउँचितुवा भारतको सिक्किम आउजाउ गर्नुका साथै तिब्बतको चोमोलोङ्मा संरक्षण क्षेत्रसम्म पुगेर फर्किएको पाइएको थियो।
त्यो प्रयासको एक संरक्षण साझेदार संस्था विश्व वन्यजन्तु कोषका नेपाल प्रतिनिधि डा. घनश्याम गुरुङले बीबीसी न्यूज नेपालीसँग भने, "कञ्चनजङ्घाको एउटा हिउँचितुवाले तिब्बत गएर फर्किँदा करिब २,००० किलोमिटरको यात्रा पूरा गर्यो।"
"शे-फोक्सुन्डका हिउँचितुवाबाट पनि हामीले त्यस्तै महत्त्वपूर्ण तथ्य थाहा पाउने अपेक्षा गरेका छौँ।"
उनले भने, "हिउँचितुवाको वासस्थान, विचरण क्षेत्र र आहारविहारबारे पनि नयाँ तथ्य पत्ता लाग्न सक्छ। हिमाली भेगमा पिउने पानीको स्रोत र मुहानबारे पनि जानकारी पाउन सक्छौँ। त्यसबाट जलवायु परिवर्तनका विषयमा अध्ययन गर्न सघाउ पुग्नेछ।"
जेदोरोङ र सामलिङ कहाँ छन्?
अहिले भने हिउँचितुवा जेदोरोङ र सामलिङ प्रकृतिमै रमाइरहेका पाइएका छन्।
राष्ट्रिय निकुञ्ज विभागका इकोलजिस्ट हरिभद्र आचार्यले भने, "जेबोरोङ केही दिन केही ठाउँमा रोकिएको छ। त्यहाँ ऊ सिकारका लागि रोकिएको हुनुपर्छ।"
"सामलिङ चाहिँ धेरै रोकिएको छैन। उनीहरू नजिक छैनन्। एकअर्काबाट निकै पर रहेका छन्।"
ती हिउँचितुवाको घाँटीमा अहिले जडित स्याटलाइट जीपीएस कलर १२ देखि १८ महिनासम्म रहने र त्यसपछि आफैँ घाँटीबाट खस्ने अधिकारीहरू बताउँछन्।
यो पहलमा विभिन्न संरक्षण संस्थाले हातेमालो गरेका छन्।
यसको लाभबारे आचार्य भन्छन्, "यो अध्ययन र अनुगमनले हामीलाई शे-फोक्सुन्डोका हिउँचितुवाबारे थप जानकारी पाउन सहयोग गर्नेछ। त्यसैका आधारमा हामीले भविष्यमा थप अध्ययन र संरक्षण प्रयास अघि बढाउन सक्छौँ।"








