गौरीशंकर क्षेत्रमा हिउँचितुवा भेटिएपछि उत्साह, दुर्लभ हिमाली जन्तु संरक्षणका चुनौती के-के?

गौरीशंकर क्षेत्रमा 'क्यामेरा पासो'मा परेको हिउँचितुवा

तस्बिर स्रोत, NTNC-GCAP

तस्बिरको क्याप्शन, गौरीशंकर संरक्षण क्षेत्रकै रोलवालिङ उपत्यकामा पनि 'क्यामेरा ट्र्याप' जडान गरेर हिउँचितुवा र अन्य वन्यजन्तुबारे अध्ययन अनुसन्धानको क्रम अहिले चलिरहेको छ
    • Author, सुरेन्द्र फुयाल
    • Role, बीबीसी नेपाली सेवा

मध्य नेपालको गौरीशंकर संरक्षण क्षेत्रमा दुर्लभ हिउँचितुवा रहेका नयाँ प्रमाण फेला परेपछि नेपाली संरक्षणकर्मी तथा अधिकारीहरू निकै हौसिएका छन्।

तर हिमाली पर्यावरणीय स्वच्छताको प्रतीक मानिने त्यो प्रजातिको संरक्षणका लागि नेपालले अझै धेरै काम गर्न बाँकी रहेको तथ्य विज्ञहरूले औँल्याएका छन्।

गौरीशंकर संरक्षण क्षेत्रमा हालै पहिलो पटक दुर्लभ हिउँचितुवाको तस्बिर खिच्ने सफलता मिलेपछि विज्ञहरूले त्यो प्रजातिको दीर्घकालीन संरक्षणका लागि नेपालमा हिउँचितुवाबारे विस्तृत अध्ययन गर्नुपर्ने बताउँदै, नेपालले हिमाली सीमा जोडिएका चीन र भारतसँग सहकार्य गर्नु पर्ने सुझाव दिएका छन्।

राष्ट्रिय प्रकृति संरक्षण कोषको अगुवाइमा हालै गरिएको अनुसन्धानको क्रममा गौरीशंकर संरक्षण क्षेत्रको तामाकोसी नदीको शिरतिर अवस्थित लप्ची उपत्यकामा ४,०८७ मिटरको उचाइमा 'क्यामेरा ट्र्यापिङ्' (क्यामेराको पासो थापेर स्वचालित रूपमा वन्यजन्तुको तस्बिर खिच्ने विधि) को क्रममा एक हिउँचितुवाको फोटो खिचिएको थियो।

हिमालपारी तिब्बतको चुमोलङ्मा प्रकृति आरक्षसँग सीमा जोडिएको गौरीशंकर संरक्षण क्षेत्रले प्रसिद्ध गौरीशंकर हिमालदेखि पूर्व र पश्चिमका उच्च हिमाली क्षेत्रलाई समेटेको छ।

नेपालको हिमाली क्षेत्रमा पूर्वमा कञ्चनजङ्घादेखि पश्चिममा अपि नाम्पा संरक्षण क्षेत्रसम्म फैलिएका १२ वटा संरक्षित क्षेत्रहरूमा हिउँचितुवाको बासस्थानहरू रहेको विज्ञहरू बताउँछन्।

मनाङमा देखिएको एक हिउँचितुवा

तस्बिर स्रोत, NTNC/Tashi R Ghale

तस्बिरको क्याप्शन, नेपालका संरक्षित क्षेत्रहरूमा ३०० देखि ५०० हिउँचितुवाहरू रहेको अनुमान छ। जसका कारण हिउँचितुवा पाइने देशहरूको नक्सामा मङ्गोलिया र चीनपछि नेपालले महत्त्वपूर्ण स्थान ओगटेको छ

ती संरक्षित क्षेत्रहरूमा ३०० देखि ५०० हिउँचितुवाहरू रहेको अनुमान छ। जसका कारण हिउँचितुवा पाइने देशहरूको नक्सामा मङ्गोलिया र चीनपछि नेपालले महत्त्वपूर्ण स्थान ओगटेको छ।

तर नेपालमा अहिलेसम्म हिउँचितुवाको देशव्यापी अध्ययन भने भएको छैन।

हालैका वर्षमा नेपालमा गरिएको अनुसन्धानको क्रममा नेपालका हिउँचितुवा हिमाल पारि तिब्बत र हिमाली सीमा जोडिएको भारतको सिक्किमका उच्च भूभागमा समेत विचरण गर्ने गरेको प्रमाणित भइसकेको छ।

त्यसैले हिमाल वारिपारि ओहोरदोहोर गरिरहने हिउँचितुवाको "प्रभावकारी तथा व्यवहारिक संरक्षणका लागि" नेपालले चीनको तिब्बत र भारतको सिक्किम तथा उत्तराखण्डका संरक्षणकर्मीहरूसँग हातेमालो गर्नु पर्नेमा विज्ञहरूले जोड दिइरहेका छन्।

गौरीशंकर संरक्षण क्षेत्रमा अनुसन्धानमा परामर्शदाताको रूपमा खटिएका त्रिभुवन विश्वविद्यालयका जीवशास्त्री प्राध्यापक मुकेशकुमार चालिसेले बीबीसीसँग भने, "अन्तरसीमा बैठक भन्दै भोज-भतेर गरेर काम हुँदैन। परिणाम आउने गरी, स्थानीय बासिन्दाले हिउँचितुवा संरक्षणको लाभ पाउने गरी, आपसमा मिलेर काम गर्न ढिला हुन लागिसक्यो।"

गौरीशंकर क्षेत्रमा अहिले के हुँदैछ?

गौरीशंकर संरक्षण क्षेत्रमा हिउँचितुवा रहेको र तिनले याक, चौँरी र अन्य चौपाया खाइदिने गरेका विवरण यसअघि पनि संरक्षणकर्मीहरूले सुन्ने गर्दथे। तर हालै त्यहाँ एक हिउँचितुवाको तस्बिर खिचिएपछि त्यो फोटो गौरीशंकर क्षेत्रमा हिउँचितुवा विचरण गर्ने गरेको पहिलो वैज्ञानिक प्रमाण बन्न पुग्यो।

त्यसमा गुराँस र धूपिका रुख पाइने ओसिलो क्षेत्रमा हिउँचितुवा डुलिरहेको देखियो।

गौरीशंकर क्षेत्रमा संरक्षणकर्मीहरू क्यामेरा जडान गर्दै

तस्बिर स्रोत, NTNC-GCAP

तस्बिरको क्याप्शन, गौरीशंकर संरक्षण क्षेत्रको लप्ची उपत्यकाको ओसिलो क्षेत्रमा हिउँचितुवा डुलिरहेको तस्बिर 'क्यामेरा पासो'मा कैद भएको हो

त्यसपछि उत्साहित राष्ट्रिय प्रकृति संरक्षण कोषका अधिकारी तथा विज्ञहरूले अहिले त्यही क्षेत्रकै रोलवालिङ उपत्यकामा वन्यजन्तु ओहोरदोहोर गर्ने विभिन्न स्थानमा १२ वटा स्वचालित क्यामेराहरू जडान गरिसकेका छन्। उनीहरूले त्यहाँ थप हिउँचितुवा हुनसक्ने अनुमान गरेका छन्।

त्यो काममा खटिएका कोषका संरक्षण अधिकृत विष्णुप्रसाद पाण्डेले भने, "ती क्यामेराले हिउँचितुवा र अन्य जन्तुका थप नयाँ-नयाँ तस्बिर खिचिरहेको छन्। केही समयपछि हामीले ती क्यामेराले खिचेका तस्बिरहरू हेरेर विश्लेषण गर्नु पर्ने छ।"

तिनै तस्बिरका आधारमा गौरीशंकर क्षेत्रमा के, कति र कस्ता हिउँचितुवा हुन सक्छन् भनी थप आकलन गर्न सकिने जीवशास्त्री चालिसे बताउँछन्।

सन् १९८१ देखि १९८५ सम्म डोल्पाको शे-फोक्सुण्डो निकुञ्जको माथिल्लो डोल्पोमा हिउँचितुवाको विस्तृत अनुसन्धान गरेका अमेरिकी विज्ञ रोड्नी ज्याक्सनको टोलीले नाउर (सेतो रङको हिमाली भेडो जस्तो जनावर) को सङ्ख्या बाक्लो भएका स्थानमा हिउँचितुवाको घनत्व धेरै भएको पाएको थियो।

गौरीशंकर क्षेत्रको रोलवालिङ उपत्यकामा उपल्लो डोल्पामा जस्तो बग्रेल्ती नाउर नपाइएपनि त्यसक्षेत्रमा हिउँचितुवाले झारल, घोरल र अन्य वन्यजन्तुलाई आहारा बनाएर बाचिरहेको हुनसक्ने पाण्डेले बताए। त्यहाँको रोलवालिङ उपत्यकामा राखिएका स्वचालित क्यामेराहरू अब केही सातापछि निकाल्ने योजना छ।

हिउँचितुवा किन जोगाउने?

मनाङमा देखिएको एक हिउँचितुवा

तस्बिर स्रोत, NTNC/TASHI R GHALE

तस्बिरको क्याप्शन, हिमाली वा पर्वतीय खाद्यचक्रमा सबैभन्दा माथि रहने हिउँचितुवाले नाउर, झारल जस्ता जन्तुको सिकार गरी खाने गर्दछ। आहारा नपाउँदा याक, चौँरी र अन्य चौपायालाई सिकार बनाउने गरेको पाइएको छ

एउटा वयस्क हिउँचितुवाको तौल ५५ किलोसम्म हुन्छ। शिरदेखि पुच्छरसम्म १२ फिटसम्म लामो यो जीव दुई फिट जति अग्लो हुन्छ। बाक्लो भुत्लायुक्त हुने हिउँचितुवालाई स्वस्थ हिमाली पर्यावरणको प्रतीक मानिन्छ। हिमाली वा पर्वतीय खाद्यचक्रमा सबैभन्दा माथि रहने यो जन्तुले नाउर झारल जस्ता जन्तुको सिकार गरी खाने गर्दछ।

तर यदाकदा हिउँचितुवाले सानातिना याक,चौँरीलाई समेत आहारा बनाइदिन्छ।

त्यसले गर्दा हिमाली क्षेत्रका पशुपालक समुदाय र हिउँचितुवाबीच द्वन्द्व बढ्ने गरेको छ।

"आफ्ना चौपाया मारिएपछि हिमाली क्षेत्रका बासिन्दाले रिसको झोकमा हिउँचितुवालाई मारिदिने गरेका छन्। त्यसले गर्दा हिउँचितुवा संरक्षणमा चुनौती थपिएको छ," हिमाली पर्यावरणबारे अध्ययन गरेका विश्व वन्यजन्तु कोषका नेपाल प्रतिनिधि डाक्टर घनश्याम गुरुङले बीबीसीसँग भने।

"त्यसलाई घटाउनु पनि उत्तिकै आवश्यक छ।"

अन्तरदेशीय हातेमालो किन?

पश्चिम नेपालको अपि नाम्पा र शे-फोक्सुन्डो निकुञ्जसहितको भेग नेपालको हिउँचितुवाको सङ्ख्या सबैभन्दा बाक्लो रहेको क्षेत्र हो। भारत र चीनको तिब्बतसँग सीमा जोडिएको त्यो क्षेत्रमा मात्रै ३०० देखि ४०० हिउँचितुवा रहेको अनुमान छ।

त्यसपछिको बाक्लो सङ्ख्या अन्नपूर्ण र मनास्लु क्षेत्र सहितको हिमाली भेगमा रहेको ठानिन्छ। जहाँ ६ देखि २४ हिउँचितुवा रहेको अनुमान छ। तेस्रो स्थानमा सगरमाथा निकुञ्जदेखि पूर्वी हिमालयको कञ्चनजङ्घा क्षेत्रमा छ, जहाँ १३ देखि २१ हिउँचितुवा रहेको आकलन छ।

केही वर्षअघि कञ्चनजङ्घा क्षेत्रमा हिउँचितुवाको गतिविधि अनुगमन गर्न पटक पटक गरी, चार वटा हिउँचितुवाको घाँटीमा अवस्थिति पत्ता लगाउने 'जीपीएस' भनिने उपकरण जडित 'रेडियो कलर' लगाइएको थियो।

कञ्चनजङ्घा क्षेत्रमा बेहोस पारिएको हिउँचितुवाको घाँटीमा रेडियो कलर जडान गरिँदै।

तस्बिर स्रोत, KCAP

तस्बिरको क्याप्शन, कञ्चनजङ्घाका हिउँचितुवा चीनको तिब्बत र भारतको सिक्किम पुगेका प्रमाण फेला परेका थिए।

"त्यतिबेला यताका हिउँचितुवा भारतको सिक्किमसँम्म पुगेको भेटियो," विश्व वन्यजन्तु कोषका गुरूङले भने। "अर्को हिउँचितुवा त चीनको चुमोलङ्मा आरक्ष क्षेत्रसम्म पुगेको पाइयो। त्यसले हिमालय वारिपारि २,००० वर्ग किलोमिटर क्षेत्रमा हलचल गरेको पाइयो।"

हालै गौरीशंकरमा भेटिएको हिउँचितुवा पनि तिब्बतसँगको सीमावर्ती क्षेत्रमा भेटिएको हो। "त्यो पनि नेपालभित्रै बसिरह्न्छ भन्ने छैन। त्यो हिउँचितुवा सजिलै तिब्बत पुग्न सक्छ," कोषका संरक्षण अधिकृत पाण्डे भन्छन्।

"हिउँचितुवा हिमाली क्षेत्र वारपार गरिरहन्छन्। नेपालको एउटा संरक्षण क्षेत्रबाट तिब्बत पुगेको हिउँचितुवा फेरि नेपालको अर्को हिमाली क्षेत्रमा आइपुग्न पनि सक्छ।"

त्यसैले हिउँचितुवाको अनुगमन सहज छैन। समुद्र सतहदेखि ३,००० मिटर देखि ४,००० मिटरको उचाइमा विचरण गर्ने हिउँचितुवा यति दुर्लभ हुन्छ कि त्यसलाई विज्ञ तथा अनुसन्धानकर्ताहरूले समेत सजिलै भेट्टाउन सक्दैनन्।

सन् २००१ देखि सन् २००७ सम्म वर्षैपिच्छे हिउँचितुवाबारे अध्ययन गर्न लाङटाङ निकुञ्ज पुगेका जीवशास्त्री चालिसेले आफूले सन् २००७ मा मात्र पहिलो पटक एउटा हिउँचितुवा देख्न सफल भएको बताउँछन्।

"त्यो पनि निकै टाढा, दुरबिन लगाएर हेर्दा मात्रै देखियो," उनी भन्छन्।

अनुसन्धान र त्रिदेशीय हातेमालो

विज्ञहरूका अनुसार पछिल्लो समय नेपालका उत्तरी जिल्लाहरूमा पनि सडक र अन्य पूर्वाधारहरू बनाउने लहर नै चलेको छ। त्यसबाट स्थानीयबासिन्दालाई लाभ मिल्न थालेको छ।

"तर हिउँचितुवा पाइने क्षेत्रमा सडकहरू पुग्न थालेपछि ती जन्तुहरू तिब्बततिर पनि भौँतारिने क्रम बढेको हुन सक्छ," चालिसे भन्छन्।

गौरीशंकर क्षेत्रको रोलवालिङ उपत्यकामा जडित 'क्यामेरा पासो'

तस्बिर स्रोत, NTNC-GCAP

तस्बिरको क्याप्शन, गौरीशंकर क्षेत्रको रोलवालिङ उपत्यकामा जडित 'क्यामेरा पासो'। तस्बिरहरूको विश्लेषणपछि मात्र त्यो उपत्यकामा हिउँचितुवा भए-नभएको थाहा हुने छ

हिउँचितुवा संरक्षणप्रति औपचारिक रूपमा प्रतिबद्धता जनाउँदै आएको नेपालका अधिकारीहरू हिउँचितुवासम्बन्धी अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि नियमित रूपमा सहभागी हुँदै आएका छन्।

नेपालले हिउँचितुवा पाइने मध्य एशिया र हिमाली क्षेत्र आसपासका देशहरूको तर्फबाट बेला बेलामा संरक्षणमा अगुवाइ पनि गर्दै आएको छ।

तथापि नेपालमा हिउँचितुवाको यकिन सङ्ख्या वा तिनका प्रकार, सम्भाव्य उपप्रजाति र अन्य विशेषता पत्ता लगाउन अहिलेसम्म कुनै राष्ट्रियस्तरको अध्ययन वा गणना हुन सकेको छैन।

सन् १९८० को दशकको सुरुमा अमेरिकी अनुसन्धानकर्ता रोड्नी ज्याक्सनको टोली माथिल्लो डोल्पोमा गरेको अध्ययनलाई अहिलेसम्मकै सबैभन्दा विस्तृत अध्ययन मानिन्छ।

विश्व वन्यजन्तु कोषका नेपाल प्रतिनिधि डाक्टर घनश्याम गुरुङका विचारमा हिउँचितुवाको दीर्घकालीन संरक्षण गर्ने हो भने नेपालले सबभन्दा पहिले राष्ट्रियस्तरको हिउँचितुवा अध्ययन गर्नु पर्छ।

"त्यसको लागि हामी सहयोग गर्न तयार छौँ।"

"त्यसपछि चीन र भारतसँग 'ट्रान्सबाउन्ड्री कोअपरेशन' (अर्थात् अन्तरसीमा सहकार्य)को काम अघि बढाउनु आवश्यक छ। त्यसलाई तीव्रता दिन जरुरी छ। नत्र हिउँचितुवा संरक्षण गर्न सजिलो छैन," उनले भने।

नेपाल सरकार के गर्दैछ?

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काका अनुसार देशव्यापी हिउँचितुवा अध्ययनको सुझाव अहिले छलफलको क्रममा छ।

"यो निकै खर्चिलो र हिमाली क्षेत्रमा गर्नु पर्ने कठिन काम भएकोले के, कसरी अगाडि बढ्न सकिन्छ भनेर हामी छलफल गर्दैछौँ," उनले भने।

उनका अनुसार बाघ र गैँडा जस्ता दुर्लभ जन्तु जोगाउन भारतीय संरक्षणकर्मीसँग जुन स्तरको अन्तरसीमा सहकार्य र हातेमालो भइरहेको छ हिउँचितुवाको लागि त्यस्तो हुन सकेको छैन।

"चीनका संरक्षण अधिकारीहरूसँग बेला बखत बैठकहरू हुने गरे पनि भाषा, सञ्चारजस्ता कारणले हिउँचितुवाका विषयमा अझै त्यतिधेरै सहकार्य हुन सकेको छैन," उनले भने।