फागुन २१ को चुनावबारे तपाईँलाई के-के थाहा छ

जिल्लामा परिचालन हुनुअघि तयार अवस्थामा रहेका महिला सुरक्षाकर्मी

तस्बिर स्रोत, EPA

    • Author, विनिता दाहाल
    • Role, बीबीसी न्यूज नेपाली
  • पढ्ने समय: ५ मिनेट

भ्रष्टाचारविरुद्ध र सुशासनका लागि भन्दै जेन जी आन्दोलनपश्चात् बनेको अन्तरिम सरकारले गर्न लागेको प्रतिनिधिसभाको चुनावमा फागुन २१ गते बिहीवार मतदान हुँदै छ।

२०८४ का लागि निर्धारित आमचुनाव २०८२ मै हुन लाग्दा विगतमा भन्दा यस पटक मतदाताको सङ्ख्या बढेको छ भने सुरक्षा व्यवस्था पनि बढाइएको गृहमन्त्री ओमप्रकाश अर्यालले बताएका छन्।

चुनावपछि नयाँ निर्वाचित सरकार बन्ने छ र प्रतिनिधिसभा पनि नयाँ निर्वाचित सांसद्हरूसहित बन्ने छ। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वको अन्तरिम सरकारले गर्न लागेको चुनावका बारे जान्न पर्ने र रोचक केही विषयहरू हामीले यहाँ प्रस्तुत गरेका छौँ।

यो कस्तो चुनाव हो?

व्यवस्थापिका संसद्का दुई सदनमध्ये अहिले तल्लो सदन प्रतिनिधि सभाको चुनाव हुन लागेको हो।

प्रतिनिधि सभामा प्रत्यक्ष मतदान प्रणाली अन्तर्गत १६५ जना सदस्य निर्वाचित भएर आउने छन् भने ११० जना समानुपातिक प्रतिनिधित्वबाट छानिएर आउनेछन्।

प्रतिनिधि सभाले खासगरी सरकार निर्माण गर्ने, कानुन बनाउने, संसदीय अनुगमन गर्ने, बजेट पारित गर्ने र संवैधानिक निकायका पदाधिकारीको संसदीय सुनुवाइ गर्ने काम गर्छ।

मतदाता र उम्मेदवार कति र कस्ता छन्?

डोल्पाकाे शे-फोक्सुण्डो गाउँपालिकाका मतदान केन्द्रको गस्ती गर्न घोडामा जाँदै नेपाली सेना

तस्बिर स्रोत, RSS

निर्वाचन आयोगका अनुसार चुनावको अघिल्लो दिन फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने मतदाताको सङ्ख्या १ करोड ८५ लाख ३ हजार ६८९ रहेको छ।

त्यसमध्ये पुरुष मतदाता ९६ लाख ६३ हजार ३५८ रहेका छन् भने महिला मतदाता ९२ लाख ४० हजार १३१ रहेका छन्। त्यस्तै २०० जना अन्य रहेका छन्।

निर्वाचन आयोग अन्तर्गत ७० वटा जिल्ला निर्वाचन कार्यालय रहेका छन्।

यसपटक मुस्ताङबाट डोल्पा जाने बाटोमा पर्ने एउटा मतदान केन्द्रमा मत खसाल्न आउने गाउँमा जम्मा ३९ जना मतदाता रहेको आयोगले जनाएको छ।

ती मध्ये पनि जम्मा ४ जना मतदातामात्रै गाउँमा रहेको र उनीहरूका लागि चुनाव गराउन कम्तीमा २० जना जनशक्ति लाग्ने आयोगले जनाएको हो।

सरकारको प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्रांकित तृतीय श्रेणीको जिल्ला निर्वाचन अधिकारी ती निर्वाचन कार्यालयका प्रमुखका रूपमा रहनेछन्।

आयोगका अनुसार देशभरि ३,४८७ उम्मेदवार छन् भने ती मध्ये करिब १२०० भन्दा बढी व्यक्तिले कुनै पार्टीबाट नभई स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन्।

त्यस्तै ३,४८७ उम्मेदवारमध्ये २ हजार ५ सय ८९ पुरुष उम्मेदवार छन् भने चुनावी प्रतिस्पर्धामा जम्मा करिब १० प्रतिशत अर्थात् ३९१ जना महिला उम्मेदवार रहेका छन्।

नेपालको झण्डा रहेको मतदान पेटिको नमूनाको ग्राफिक्स

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, चुनावमा मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने आयोगले जनाएको छ

यसपालि चर्चामा को-को छन्?

भावी प्रधानमन्त्रीका सम्भावित अनुहार

तस्बिर स्रोत, Getty/Reuters/RSS

चुनावमा उम्मेदवार बनाएर उठाउने राजनीतिक दलहरूको सङ्ख्या ६८ वटा रहेको निर्वाचन आयोगले जनाएको छ।

यसपटक मुख्य प्रतिस्पर्धामा विगतमा सबैभन्दा ठूलो दल रहेका नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र (हाल विभिन्न दलहरू मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी) , राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा) नेपाल रहेका छन्।

यी मध्ये रास्वपा यसपटक दोस्रोचोटी प्रतिनिधि सभा चुनावमा उठ्दै छ। त्यसबाहेक कुलमान घिसिङको उज्यालो नेपाल पार्टी, हर्क साम्पाङको श्रम संस्कृति पार्टीलगायत दलहरू यसपालि पहिलोपटक निर्वाचनमा सहभागी भएका छन्।

यी पार्टीहरूमध्ये नेपाली कांग्रेसले विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापा, नेकपा एमालेले ११ औँ महाधिवेशनबाट पार्टीमा अध्यक्ष बनेका केपी ओली र राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रहे पनि उम्मेदवार तय गर्नुअघि उनको पार्टीमा बालेन वरिष्ठ नेताका रूपमा प्रवेश गरेका हुन्।

यसपटकको चुनावमा नेताहरूले चयन गरेका निर्वाचन क्षेत्रहरूलाई चासो पूर्वक हेरिएको छ।

नेपाली कांग्रेसका सभापति थापा आफूले बारम्बार जित्दै आएको काठमाण्डू क्षेत्र नम्बर ४ छोडेर सर्लाही-४ पुगेका छन्।

नेकपा एमालेका अध्यक्ष ओलीचाहिँ विगतदेखि आफ्नो बलियो पकड रहेको र एक पटक मात्रै हारेको क्षेत्र झापा पुगेका छन्।

उनीसँग यसपालि उक्त निर्वाचन क्षेत्रमा रास्वपा भर्खरै प्रवेश गरेका बालेनले प्रतिस्पर्धा गर्दैछन्।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड भने यसपालि रूकुम जिल्लामा चुनाव लड्न पुगेका छन्।

सहकारी ठगीको अभियोगमा विभिन्न अदालतहरूमा मुद्दा विचाराधीन रहेका रास्वपाका सभापित लामिछाने चितवनको क्षेत्र नम्बर २ मा पुन: उम्मेदवार बनेका छन्।

त्यहाँ उनको प्रतिस्पर्धी नेपाली कांग्रेसकी नेत्री मीना खरेल रहेकी छन्। यसअघि उक्त क्षेत्रमा लामिछानेले दुईपटक भारी मत ल्याएर विजयी भएका थिए।

दलहरूले प्रत्यक्ष तर्फ महिलाहरूलाई चुनाव लड्न थोरै सङ्ख्यामा मात्रै उम्मेदवार बनाएका छन्।

राजनीतिक विश्लेषकहरूले यसपालि विगतभन्दा फरक परिस्थितिमा समय अगावै हुन लागेको चुनावको परिणाम अनुमान गर्न निकै कठिन रहेको बताएका छन्।

दुईथरीका मतपत्रमा मत खसालेपछि परिणाम आउन कति समय लाग्छ

मतदान गर्दै गरेको प्रतिनिधि तस्बिर

तस्बिर स्रोत, EPA

चुनावमा मतदान गर्न जाने मतदाताले यसपटक प्रतिनिधि सभाको मात्रै निर्वाचन भएकाले दुईवटा मतपत्रमा मतदान गर्नुपर्नेछ।

एउटा उम्मेदवार र अर्को पार्टीका लागि मत दिनुपर्नेछ।

प्रत्यक्षतर्फ, सबैभन्दा बढी मत पाउने उम्मेदवार नै विजयी हुन्छ भने समानुपातिक तर्फ, मतदाताले राजनीतिक दललाई खसालेको मतको हिसाब गरेर पाएको कति मत बराबर एक सिट हुन्छ भन्ने तय हुन्छ।

त्यसका लागि आआफ्ना समानुपातिक उम्मेदवारहरूको सूची दलहरूले आयोगमा बुझाइसकेका छन्।

समावेशीकरणका साथै समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नका लागि समानुपातिक सिट सङ्ख्याको व्यवस्था संविधानले नै गरेको छ।

यसपटक निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचित १६५ सिटको मतपेटिका संकलन भएको २४ घण्टाभित्र निर्वाचन परिणाम सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रत्यक्ष र समानुपातिक दुवै तर्फको सबै मतपरिणाम फागुन २५ सम्म आइसक्ने बताएका छन्।

यसअघि २०७९ सालमा भएको चुनावमा अन्तिम परिणाम आउन दुई हप्ताभन्दा केही बढी समय लागेको थियो।

चुनावी सुरक्षाका लागि कति सुरक्षाकर्मी खटिएका छन्?

दाङको सदरमुकाम घोराही बजारमा प्रतिनिधि सभा निर्वाचनको सुरक्षार्थ खटिएका ज्वालादल गणका नेपाली सेनाकाे टाेली बख्तरबन्द गाडीमा गस्ती गर्दै

तस्बिर स्रोत, RSS

चुनावी सुरक्षाका लागि सम्भावित आपराधिक गतिविधि हुनसक्ने कुरालाई मध्यनजर गरी सुरक्षाकर्मीको सङ्ख्या बढाइएको गृहमन्त्रालयले जनाएको छ।

यसपटक निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीका करिब ७५ हजार र नेपाली सेनाका करिब ७९ हजार सैनिक खटिएका गृहमन्त्रालयले जनाएको हो।

त्यस्तै सशस्त्र प्रहरीका साढे ३४ हजारभन्दा केही बढी र निर्वाचन प्रहरीका रूपमा करिब एक लाख ३४ हजार सुरक्षाकर्मीहरू खटिएका अधिकारीहरूले बताएका छन्।

चुनावपछि सरकार कसरी बन्छ?

सिंहदरवार परिसरमा बन्दै गरेको संसद्को नयाँ भवन

तस्बिर स्रोत, EPA

चुनाव सकिएपछि जब निर्वाचन आयोगले अन्तिम परिणाम राष्ट्रपति समक्ष प्रस्तुत गर्छ तब उनले सरकार बनाउन आह्वान गर्छन्।

कुनै एउटै दलले एकल बहुमत अर्थात् २७५ मध्ये १३८ सिट ल्याए संविधानको धारा ७६(१) अनुसार सरकार निर्माण गर्ने दाबी गर्न पाउँछ।

तर त्यस्तो नभएको अवस्थामा उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको मिलिजुली सरकार बन्ने प्रक्रियामा जान्छ।

दुई वा दुई भन्दा बढी दल मिलेर प्रधानमन्त्रीका लागि अगाडि सारिएका व्यक्तिलाई राष्ट्रपतिले नियुक्त गर्नेछन्।

प्रधानमन्त्रीले एक महिनाभित्र संसद्‌बाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ। त्योसँगै सरकार निर्माणको प्रक्रिया सकिन्छ।

नवनिर्वाचित सांसद्हरूका लागि सिंहदरवारमा नयाँ भवन अहिले निर्माणाधीन अवस्थामा छ।

उक्त भवन सरकारले आफूहरूलाई चैत १ गते प्रतिनिधि सभाको बैठक बस्न मिल्ने गरी हस्तान्तरण गर्ने जानकारी दिएको संसद् सचिवालयले जनाएको छ।

भदौमा भएको नवयुवाहरूको आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संसद् भवनमा पनि आगजनी र तोडफोड भएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।