नेपाल: बाघ बढे, दोबर बनाउन कति सम्भव

तस्बिर स्रोत, .
चार वर्षपछि पाटे बाघको संख्या अढाई सय पुर्याउने सरकारको लक्ष्य पूरा हुने दिशामा नेपाल अग्रसर देखिएको बाघ विज्ञहरूले बताएका छन्।
राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण विभागले पनि चार वर्षअघि र आज सार्वजनिक गरिएको बाघ गणनाको तथ्याङ्क हेर्दा लक्ष्य पूरा गर्न सकिने ठानेको छ।
तर लक्ष्य पुरा गर्न बाघको संख्या धेरै बढ्नुपर्ने अवस्था नरहे पनि भएकै बाघको संरक्षणका लागि वासस्थान र उनीहरूको आहारा लगायतमा ध्यान दिनुपर्ने संरक्षणविद्हरूले औंल्याएका छन्।
बाघ पाइने विश्वभरका १३ वटा राष्ट्रले सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा बाघको जनसंख्या बढाउनेबारे आ-आफ्नो प्रतिबद्धता जनाएका थिए।
लक्ष्य
नेपालले बाघको संख्या १ सय २१ बाट सन् २०२२ मा २ सय ५० पुर्याउने लक्ष्य घोषणा गरेको थियो।
त्यसयता पहिलोपटक सन् २०१४ मा सार्वजनिक भएको बाघको संख्या १ सय ९८ पुगेकोमा सन् २०१७ मा बाघको तस्बिर र तथ्यांकको विश्लेषणका आधारमा गरिएको बाघको गणनाले त्यो संख्या लक्ष्य नजिक देखाएको छ।
आज संरक्षण दिवसका अवसरमा सार्वजनिक गरिएको उक्त गणनाबारे राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले भने, "४ हजार फोटोहरूलाई विश्लेषण गर्दा एकअर्कासँग नमिल्ने भन्ने २ सय ९ वटा पर्यो। अब यो तथ्याङ्क विश्लेषण गर्दा २२१ देखि २७४ को बीचमा हाम्रो बाघहरू हुनसक्छ भन्ने आकलन गर्दा पाटे बाघको संख्या २ सय ३५ को अनुमान गरिएको छ।"
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त
सुझाव
पाँच निकुञ्जमध्ये पर्सामा १८, चितवनमा ९३, बाँकेमा २१, बर्दियामा ८७ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ वटा बाघ पाइएका छन्। विगत चार वर्षमा ३७ वटा बाघ बढेको आकलन गरिएकोले अबको चार वर्षमा लक्ष्य पूरा गर्न जम्मा १५ वटा बाघको थपिनु पर्ने देखिन्छ।
त्यसका लागि बढ्दो जनसंख्या र शहरीकरण चुनौतीपूर्ण रहेको बताउँछन् बाघबारे विद्यावारिधि गरेका चिरञ्जिबीप्रसाद पोखरेल बताउँछन्।
उनले भने, "मानव र वन्यजन्तुको द्वन्द्वको कुरा, चोरी शिकारी रोकथाम गर्न र जनावरको स्वास्थ्यसम्बन्धी विभिन्न रोगको अनुसन्धानजस्ता विषयमा ध्यान दिनुपर्ने चुनौती छ।"
सबैभन्दा बढी बाघ चितवनमा देखिए पनि यो गणनामा संख्या घटेको छ। पोहोर चितवनमा आएको बाढी त्यसको कारण हुनसक्ने भन्दै विज्ञहरूले त्यसतर्फ ध्यान दिनुपर्ने सुझाएका छन्।









