बाघ गणना: के नेपालमा संख्या बढ्ला?

तस्बिर स्रोत, Hari Bhadra Acharya
हरेक चार वर्ष नेपालमा बाघको राष्ट्रिय सर्वेक्षण गर्ने कार्यक्रम अन्तर्गत यो वर्ष पनि सरकारले बाघको गणनाको काम जारी रहेको अधिकारीहरूले बताएका छन्।
खासगरी तराईका पाँचवटा राष्ट्रिय निकुञ्ज र आसपासको राष्ट्रिय वन क्षेत्रमा बाघको संख्या निर्धारणका लागि अनुगमन निरीक्षण गर्ने गरिएको छ।
अनुगमन निरीक्षणको क्रममा प्रत्येक वर्ष बाघको संख्यामा वृद्धि भए पनि चुनौती रहेको पर्सा राष्ट्रिय निकुञ्जले जनाएको छ ।
सन् २००८/०९ को तथ्यांक अनुसार नेपालमा १ सय २१ वटा बाघ थिए।
अनुमान
त्यसपछि सन् २०१३ मा गरिएको गणना अनुसार बाघको संख्या नेपालभरी १ सय ९८ थियो।
सन् २०२२ सम्ममा नेपालमा बाघको संख्या २ सय ५० पुर्याउने लक्ष्य सहित ट्रयापिङ क्यामेरा जडान गरी देशभरीका निकुञ्जमा बाघ गणनाको काम शुरू भएको अधिकारीहरू बताउँछन्।
राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले भने, "विगतमा भएका दुईवटा गणना अनुसार अनुगमनका क्रममा बाघको संख्या बढेको पाइएको थियो र यो वर्ष पनि संख्या बढ्ने अनुमान गरिएको छ।"
बाघको संख्या थाहा पाउन निकुञ्जमा क्यामरालगायतका विभिन्न प्रविधि अपनाइने गरेको अधिकारीहरू बताउँछन्।
चुनौती
राष्ट्रिय निकुञ्जमा बाघको संख्यामा वृद्धि भएसंगै चुनौती पनि उत्तिकै थपिने आचार्यको तर्क छ।
"बाघको संख्या बढ्दै गयो भने बाघ वन क्षेत्रबाट बाहिर जानसक्ने चुनौती पनि उत्तिकै बढ्छ। यदि हामीले वासस्थान सुधारको क्रियाकलाप गर्न सकेनौं भने बाघलगायत अरू बन्यजन्तुको संख्या घट्ने सम्भावना पनि उत्तिकै रहन्छ।"
बाघ गणनाको लागि निकुञ्ज कर्मचारी, वन कर्मचारी, वन्यजन्तु प्राविधिज्ञ, नेपाली सेना तथा मध्यवर्ती क्षेत्रका बासिन्दालाई परिचालन गरिएको निकुञ्ज कार्यालयले जनाएको छ।
बाघको संख्या वृद्धिका लागि बाघको वासस्थान, आहारा व्यवस्थापन, संरक्षण लगायतका विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको निकुञ्ज प्रमु्ख आचार्यले बताए ।
अहिलेको गणना कार्यक्रम अन्तर्गत पर्सा र चितवनमा गणना सकिसकेको छ।
बाँकी तीनवटा राष्ट्रिय निकु्ञ्ज र त्यहाँ वरपरका वन क्षेत्रमा पनि गणना सकेर आउँदो बैशाख महिनामा बाघको संख्या घोषणा गर्ने बताइएको छ।








