पाटे बाघ गनियो तर तथ्याङ्क खै?

पाटे बाघ

तस्बिर स्रोत, Chitawan National Park

अन्तर्राष्ट्रिय बाघ दिवसको अवसर पारेर आइतवार सार्वजनिक गर्ने भनिएको पाटे बाघको तथ्याङ्क विभिन्न कारण देखाउँदै सार्वजनिक गरिएन।

बाघ गणनाले बाघको संख्या बढ्ने ठानिएको थियो।

तर पछिल्लो समयमा गरिएको गणनाबाट संख्या घट्ने भएपछि त्यसको विश्लेषण गर्न बाँकी रहेको भन्दै तथ्याङ्क सार्वजनिक नगरिएको बताइएको छ।

नेपालको पर्सा राष्ट्रिय निकुञ्जदेखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसम्म १० महिना लगाएर बाघ गणना गरिएको थियो।

विश्लेषण बाँकी

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काका अनुसार बाघको सङ्ख्या घटेको कारणले तथ्याङ्क सार्वजनिक नगरिएको भने होइन।

उनी भन्छन्, "गणनाको विश्लेषण बाँकी रहेकाले तथ्याङ्क सार्वजनिक गर्न नसकिएको हो, अन्य कुनै कारणले होइन।"

उनका अनुसार नेपाल र भारतको सीमाक्षेत्रको बाघको विश्लेषण गर्न बाँकी छ।

बाघ गणनामा करिब १० करोड रुपैयाँ खर्च भएको थियो। प्रत्येक पाँच वर्षमा पाटे बाघको गणना गरिदैँ आएको छ।

सन् २०१३ को गणनाअनुसार नेपालमा एक सय ९८ वटा बाघ थिए।

पछिल्लो गणनामा चितवनमा सङ्ख्या घटेको अनुमान विज्ञ र प्राविधिक सम्मिलित टोलीले जानकारी दिएको अधिकारीहरूले जनाएका छन्।

कहाँ कति?

नेपालमा बाघ बढ्ने अनुमान अधिकारीहरूको थियो।

सन् २०१३ को गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा १२०, बर्दिया राष्ट्रिय निकुञ्जमा ५०, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७, पर्सा राष्ट्रिय निकुञ्जमा ७ र बाँके राष्ट्रिय निकुञ्जमा ४ वटा थिए।

सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर पार्ने उद्देश्य पूरा हुने बाघविज्ञ चिरञ्जिवी पोखरेलको आकलन छ।

पाँच वर्षमा ३३ वटा बाघ विभिन्न प्राकृतिक कारणले मरेका छन्।

बाघ गणना 'क्यामेरा ट्रयापिङ्' प्रविधिमार्फत् गरिन्छ। गणनामा प्रयोग गरिएका १२ सयवटा क्यामेराले आठ हजारवटा तस्वीरहरू खिचेका थिए।

अडिओ क्याप्शन सुरु हुँदैछ, साना स्तनदारी जनावरको संरक्षणबारे चिन्ता