इरानमा जारी विरोधप्रदर्शन 'अभूतपूर्व' मानिनुका पाँच कारण

तस्बिर स्रोत, MAHSA / Middle East Images / AFP via Getty Images
इरानमा सरकारविरोधी प्रदर्शनहरू यो इस्लामिक गणतन्त्रको ४७ वर्षको इतिहासमा कहिल्यै नदेखिएको अवस्थामा पुगेको कैयौँ विज्ञ र प्रत्यक्षदर्शीहरूले बताएका छन्।
देशका विभिन्न सहरहरूमा मानिसहरू सडकमा उत्रिएका बेला अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यदि अधिकारीहरूले प्रदर्शनकारीमाथि दमन गरेमा "दुख्ने ठाउँमा निकै कडा प्रहार गर्ने" र अमेरिका "सहयोगका लागि तयार रहेको" चेतावनी दिएका छन्।
इरानी अधिकारीहरूले यस क्षेत्रमा अमेरिकी सहयोगीहरू र स्वार्थहरूमा आक्रमण गरेर जबाफ फर्काउने दृढता प्रकट गरेका छन्।
त्यसो भए यी विरोध प्रदर्शनहरू र विद्रोहबारे इरानी सरकारको प्रतिक्रिया विगतका प्रदर्शनहरूभन्दा कति फरक छन्?
आन्दोलनको व्यापकता

विज्ञहरू यस वर्षको विरोध प्रदर्शनको तह र विस्तार अभूतपूर्व भएको ठान्छन्।
समाजशास्त्रका अनुसन्धाता एलि खोर्स्यान्द्फर इरानका प्रमुख सहरहरूमा भएका प्रदर्शनहरू "धेरै मानिसले कहिल्यै नाम नसुनेको" साना सहरहरूमा पनि फैलिएको बताउँछिन्।
इरानमा यसअघि पनि विरोध प्रदर्शनहरू भएका छन्।
सन् २००९ मा 'हरित आन्दोलन'ले चुनावमा भएको भनिएको धाँधलीविरुद्ध मध्यम वर्गको विरोध प्रदर्शनको नेतृत्व गरेको थियो।
यद्यपि आकारमा ठूलो उक्त आन्दोलन प्रमुख सहरहरूमा मात्र केन्द्रित थियो।
सन् २०१७ र २०१९ मा भएका अन्य प्रमुख विरोध प्रदर्शनहरू कमजोर वा गरिबबहुल इलाकामा सीमित थिए।
सबैभन्दा तुलनात्मक पछिल्लो प्रदर्शन सन् २०२२ मा भएको थियो, जुन हिरासतमा २२ वर्षीया महसा अमिनीको मृत्यु भएपछि सुरु भएको थियो।
ती युवतीलाई इरानको आचार तथा व्यवहार निगरानी गर्ने प्रहरीले नियमानुसार हिजाब नलगाएको आरोपमा पक्राउ गरेको थियो।
ती विरोध प्रदर्शनहरू अमिनीको मृत्युपछि तीव्र रूपमा चर्किए तर कैयौँ समाचारहरूका अनुसार छ दिनपछि त्यो उच्च बिन्दुमा पुगेको थियो।
त्यसभन्दा फरक, अहिले भइरहेका विरोध प्रदर्शनहरू ठूला, व्यापक देखिन्छन् र डिसेम्बर २८ तारिखमा सुरु भएदेखि निरन्तर बढ्दै गएको देखिन्छ।
'तानाशाह मुर्दावाद'

तस्बिर स्रोत, Ameer Alhalbi/Getty Images
सन् २०२२ को विरोध प्रदर्शन जस्तै, अहिलेको विरोधको जरो कारण एक विशिष्ट खालको असन्तुष्टि हो, जुन तत्काल गम्भीर प्रणालीगत परिवर्तनको मागमा परिणत भएको छ।
"२०२२ मा महिलाको मुद्दाबाट आन्दोलन सुरु भएको थियो। तर त्यसमा अन्य असन्तुष्टि पनि प्रतिबिम्बित थिए… डिसेम्बर २०२५ को विरोध प्रदर्शन आर्थिकजस्तो देखिने मुद्दाहरूबाट सुरु भयो र निकै छोटो अवधिमा त्यसले साझा सन्देशहरू बोक्न पुगेको छ," खोर्स्यान्द्फरको भनाइ छ।
डिसेम्बरको अन्त्यमा, अमेरिकी डलरसँग इरानी रियालको विनिमय दरमा देखिएको तीव्र उतारचढावको प्रतिक्रियास्वरूप व्यापारीहरू तेहरानको मुख्य स्थानमा हडतालमा उत्रिए।
विरोध प्रदर्शनहरू देशको पश्चिमी भागको सबैभन्दा गरिब क्षेत्रहरूसम्म फैलिए। यद्यपि सन् २०२२ मा जस्तै इलम र लोरेस्तान प्रान्तहरू मुख्य केन्द्रबिन्दुमध्ये पर्छन्।
डिसेम्बरको अन्त्यसम्म पुग्दा, प्रदर्शनहरूले हजारौँ मानिसहरूलाई ताने किनकि मध्यम वर्गसमेतका लाखौँ इरानीहरू गम्भीर आर्थिक सङ्कट र तीव्र रूपमा बढ्दो मूल्यको सामना गर्न बाध्य छन्।
त्यसपछि सडकमा उत्रिएका प्रदर्शनकारीहरूले नारा लगाएका छन्, "तानाशाह मुर्दावाद!"
उनीहरूले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई र उनको नेतृत्वको सत्ताको विस्थापनको माग गरिरहेका छन्।

तस्बिर स्रोत, Getty Images
रेजा पह्लवी कारक?
सन् २०२२ को विरोध प्रदर्शन नेतृत्वविहीन जस्तो देखिन्थ्यो र निकै चाँडै अन्त्य भयो।
त्यसविपरीत, हालको प्रदर्शनको नेतृत्वमा केही व्यक्तिहरू छन् – जस्तै निर्वासित रेजा पह्लवी।
सन् १९७९ मा अपदस्थ भएपछि देश छाडेका राजा शाहका छोरा उनले टाढाबाट प्रदर्शनलाई आकार दिन वा नेतृत्व गर्न खोजिरहेका छन्।
यसले आन्दोलनकारीहरू लामो समयसम्म किन टिकिरहेका भन्ने कुरा आंशिक रूपमा चित्रण गर्न सक्छ।
हालको विरोध प्रदर्शनहरूमा, पह्लवीको फिर्तीको माग गरिएका नाराहरू पहिलेभन्दा बढी सुनिएका छन्।
पह्लवीले अमेरिकामा निर्वासनमा रहँदा आफूलाई इरानको शाह घोषणा गरेका थिए।
सडकमा नारा लगाउन उनले गरेको आह्वानलाई धेरैले व्यापक रूपमा शेअर गरेका छन्।
इरानभित्र रहेका युवाहरूले सामाजिक सञ्जालमार्फत् एकअर्कालाई प्रदर्शनमा जोडिन अप्रत्यक्ष रूपमा प्रोत्साहित गरेका छन्।
तेहरानजस्ता सहरहरूमा हालै भएका विरोध प्रदर्शनहरूको स्तरले पह्लवीको आह्वानको प्रभावकारिता प्रमाणित गर्न सहयोग गर्दछ।
परिणामस्वरूप एक परिचित विपक्षी व्यक्तित्वको उपस्थितिले वर्तमान सरकार ढलेमा एउटा सम्भावित विकल्प रहेको छ भन्ने कुराले प्रदर्शनकारीहरूलाई बलियो बनाएको विश्लेषकहरू बताउँछन्।
पह्लवीप्रतिको समर्थनको कुनै पनि झलकलाई राजतन्त्रको पुनर्स्थापनाको चाहना नै हो भन्ने अर्थ्याउन जरुरी नठान्नेहरू पनि छन्।
उनीहरूका अनुसार त्यो त धार्मिक शासनको कुनै किसिमको विकल्पको निम्ति विशेष रूपमा देशभित्र स्पष्ट, धर्मनिरपेक्ष विपक्षी व्यक्तित्वको अनुपस्थितिले निम्त्याएको छटपटीको अभिव्यक्ति हो।
हस्तक्षेप गर्ने ट्रम्पको धम्की

तस्बिर स्रोत, Chip Somodevilla/Getty Images
सन् २०२५ को विरोध प्रदर्शनलाई सन् २०२२ को प्रदर्शनभन्दा फरक पारेको अर्को पक्ष अमेरिका हो।
अघिल्लो प्रदर्शनभन्दा विपरीत यस वर्षको प्रदर्शनलाई ह्वाइट हाउसको समर्थन रहेको देखिन्छ।
ट्रम्पले प्रदर्शनकारीहरूको समर्थनमा सरकारमाथि आक्रमण गर्ने धम्की दिएका छन्, जुन पहिले कहिल्यै भएको थिएन।
सन् २००९ मा भएको राष्ट्रपति चुनावमा धाँधलीको विरोधमा भएको आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले "ओबामा, ओबामा, कि त उनीहरूसँग वा हामीसँग!" भन्ने नारा लगाएका थिए।
अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामाले पछि शासनमै छँदा सन् २००९ मै सडकमा उत्रिएका प्रदर्शनकारीहरूलाई उस बेला देखिने गरी आफूले समर्थन नगरेकोमा पछुतो व्यक्त गरेका थिए।
इरानका राष्ट्रपति मसुद पेजेस्कियानले प्रदर्शनलाई "इरानका शत्रुहरू"ले चलाएको बताएका छन्। यद्यपि उनका लागि मुद्दा यो हो कि हालैका वर्षहरूको तुलनामा उनको देशका साथीहरू कम छन्।
इरानी अधिकारीहरूले प्रमुख सहयोगीहरू गुमाएका छन् : सिरियाली राष्ट्रपति बशर अल-असदलाई अपदस्थ गरिएको छ र इजरेली सैन्य कारबाहीका कारण लेबननमा हिज्बुल्लाह पनि उल्लेखनीय रूपमा कमजोर बनेको देखिएको छ।

तस्बिर स्रोत, Morteza Nikoubazl/NurPhoto via Getty Images
युद्धको विरासत
सन् २०२२ को प्रदर्शनभन्दा विपरीत, यस वर्षको विरोध प्रदर्शनले इजरेलसँगको १२ दिने युद्ध र त्यसपछि इरानमा अमेरिका र इजरेलको आक्रमणको केही समयपछि आकार लिएको छ।
पत्रकार अब्बास अब्दी ती घटनाहरूले इरानी अधिकारीहरूलाई नागरिकहरूबीच एकता र एक प्रकारको ऐक्यबद्धता बनाउने अवसर सिर्जना गरेको तर सरकार त्यसको लाभ लिन विफल भएको विश्वास गर्छन्।
कतिपय विज्ञहरूले गत वर्ष सेनामाथि भएको ठूलो प्रहारले इरानीहरूको नजरमा देशको मुख्य सैन्य सङ्गठनको रूपमा रहेको इस्लामिक रेभलूशन गार्ड कोरको शक्ति र प्रतिष्ठा चकनाचुर पारिदिएको ठम्याइ सुनाउँछन्।
सन् २०२२ को प्रदर्शनको भावनालाई आधार बनाउँदै, खोर्स्यान्द्फरले हालको विरोध प्रदर्शनको दिगो परिवर्तन देखेकी छन् : तीन वर्ष पहिले सडकमा उत्रिएका महिलाहरूसँग अन्तर्वार्तामा, धेरैले उनलाई बताएका छन् कि उनीहरूको सबैभन्दा ठूलो उपलब्धि दमनकारी राज्यको त्रास हटाउनु हो।
(बीबीसी न्यूज पर्सिअन, बीबीसी ग्लोबल जर्नलिजम र मध्यपूर्व पत्रकार नेदा सानिजको रिपोर्टिङ तथा विश्लेषणका साथ)
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




