इरानमा महँगी बढ्दा देशभरि आक्रोश, अमेरिका र पूर्वयुवराजको समर्थन

तेहरानमा अर्थतन्त्र खस्किँदै गएको भन्दै विरोधप्रदर्शनमा तेहरानको सडकमा भेला भएका व्यापारीहरू

तस्बिर स्रोत, EPA

    • Author, पार्हम गोबादी

इरानी मुद्रा रिआल अहिलेसम्मकै कमजोर अवस्थामा पुगेपछि र महँगी चर्किएपछि इरानको राजधानी तेहरानबाट सुरु भएका विरोधप्रदर्शन र हडताल देशका अन्य सहरमा पनि हुन थालेका छन्।

रिआलको मूल्य अमेरिकी डलरको तुलनामा न्यूनतम बिन्दुमा झरेपछि व्यापारीहरूले गत आइतवार तेहरानस्थित ग्र्यान्ड बजार बन्द गरेका थिए।

त्यसपछि आक्रोशको ज्वाला देशका अरू सहरमा पनि फैलियो। कराज, हामेदान, केशम, मलार्द, इस्फहान, केर्मान्शाह, शिराज र याज्द सहरमा विरोधप्रदर्शन भएको देखिएको छ। बीबीसी पर्सियनले ती सहरबाट प्राप्त भिडिओहरू वास्तविक भएको पुष्टि गरेको छ। ती सहरमा प्रदर्शनकारीहरूलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रयोग गरेको देखिएको छ।

इरान सरकारले विरोधप्रदर्शन भएको स्वीकार गर्दै "चर्को स्वरमा विरोध भयो भने पनि आफूले धीरतापूर्वक सुन्ने" बताएको छ।

राष्ट्रपति मसूद पेजेश्किआनले आन्तरिक मामिलामन्त्रीलाई प्रदर्शनकारीहरूका "प्रतिनिधिहरूसँग" वार्ता गर्ने आफूले निर्देशन दिएको जानकारी सामाजिक सञ्जाल 'एक्स' मार्फत् दिएका छन्। वार्ताबाट समस्या समाधान गर्न र जिम्मेवारीपूर्वक कार्य गर्न सकिने उनको धारणा छ।

राष्ट्रपतिले इरानको केन्द्रीय ब्याङ्कका गभर्नर मोहम्मद्‌रेजा फार्जिनको राजीनामा स्वीकार गर्दै भूतपूर्व अर्थमन्त्री अब्दोल्नासेर हेम्मातीलाई उक्त पदमा नियुक्त गरेका छन्।

सत्ताच्युत राजाका छोराको पक्षमा नाराबाजी

तस्बिर खिचाउँदा क्यामरातिर हेर्दै रेजा पह्लवी

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, इरानका पूर्वयुवराज रेजा पह्लवी अमेरिका बस्दै आएका छन्

विश्वविद्यालयका विद्यार्थीहरू पनि विरोधप्रदर्शनमा सहभागी भएका छन्। उनीहरूले देशको सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईलाई "तानाशाह" भन्दै उनीविरुद्ध 'मुर्दाबाद'को नारा लगाए।

केही प्रदर्शनकारीहरूले पूर्वराजा शाह मोहम्मद रेजा पह्लवीका छोराको पक्षमा पनि नारा लगाए। इरानमा सन् १९७९ मा इस्लामिक क्रान्तिका बेला राजा सत्ताच्युत भएका थिए।

अहिले संयुक्त राज्य अमेरिकामा निर्वासनमा बस्दै आएका पूर्वयुवराज रेजा पह्लवीले इरानमा आन्दोलित मानिसहरूको पक्षमा प्रतिक्रिया व्यक्त गरेका छन्।

तेहरानस्थित विदेशी मुद्रा सटही गर्ने स्थानबाहिर हिँड्दै मानिसहरू

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, इरानमा मुद्रास्फीति निरन्तर बढ्दै आएको छ

"म तपाईँहरूको पक्षमा छु। जित हाम्रै हुने छ किनभने हाम्रो उद्देश्य न्यायसङ्गत छ, किनभने हामी एकताबद्ध छौँ," सामाजिक सञ्जाल 'एक्स'मा उनले लेखेका छन्।

"यो सत्ता शक्तिमा कायम हुन्जेल देशको आर्थिक स्थिति निरन्तर खस्किँदै जाने छ," उनले लेखेका छन्।

इरानका केही स्थानमा सरकार र सर्वोच्च नेताप्रति समर्थन व्यक्त गर्दै र्‍यालीहरू निस्किएका छन्।

इरानको झण्डा बोकेर र्‍यालीमा सहभागी भएका मानिसहरूले अमेरिका र इजरेलको विरोध गर्दै नाराबाजी गरेका थिए।

अमेरिकाको प्रतिक्रिया

दक्षिणी इरानमा सरकारको पक्षमा निकालिएको एउटा र्‍यालीमा सहभागी दुई धर्मगुरुहरू कुराकानी गर्दै, उनीहरूमध्ये एक जनाले इरानको र अर्काले प्यालेस्टाइनको झण्डा बोकेका छन्

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, दक्षिणी इरानमा सरकारको समर्थनमा पनि जुलुस निस्किएको छ

अमेरिकाको विदेश मन्त्रालयले फारसी भाषामा सञ्चालन गर्ने 'एक्स' खातामा इरानमा जारी विरोधप्रदर्शनप्रति आफ्नो समर्थन रहेको जनाएको छ।

उक्त पोस्टमार्फत् अमेरिकाले प्रदर्शनकारीहरूको "साहसको प्रशंसा" गर्दै वर्षौँदेखिका विफल नीतिहरू र आर्थिक अव्यवस्थापछि "सम्मान र अझ राम्रो भविष्य" खोज्नेहरूको पक्षमा आफू उभिएको जनाएको छ।

सोमवार फ्लोरिडामा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूबीच भएको भेटवार्तामा इरान छलफलको एउटा प्रमुख विषयवस्तु भएको विवरणहरू आएका छन्।

उक्त भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा ट्रम्पलाई के उनी इरानमा सत्ता परिवर्तन गर्ने पक्षमा छन् भनेर सोधिएको थियो। तर उनले त्यसको उत्तर दिएनन्।

"उनीहरू धेरै समस्या खेप्दै छन् - अत्यधिक महँगी, उनीहरूको अर्थतन्त्र ध्वस्त छ, उनीहरूको अर्थतन्त्र पटक्कै राम्रो छैन। अनि मानिसहरू खुसी छैनन् भन्ने मलाई थाहा छ," ट्रम्पले भने।

इरानले बलिस्टिक क्षेप्यास्त्र निर्माण वा परमाणुअस्त्र कार्यक्रम फेरि बिउँत्यायो भने अमेरिका इरानमा फेरि ठूलो आक्रमण गर्ने पक्षमा भएको चेतावनी पनि उनले दिए।

गत जुन महिनामा इजरेल र इरानबीच १२ दिन लडाइँ भएको थियो।

त्यस बेला अमेरिकाले इरानस्थित यूरेनिअम संवर्धन गर्ने मुख्य स्थलहरूमा हवाई आक्रमण गरेको थियो।

इरानले आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि भएको दाबी गर्दै आएको छ।

ट्रम्पको टिप्पणीबारे प्रतिक्रिया व्यक्त गर्दै मङ्गलवार इरानी राष्ट्रपति पेजेस्किआनले "दमन गर्ने खालको जस्तोसुकै खालको आक्रामक कार्य"को पनि इरानले "कठोर र पछुतो गराउने गरी" प्रतिकार गर्ने चेतावनी दिए।

लडाइँका बेला इजरेलले इरानमा विरोधप्रदर्शन चर्कियोस् र सत्ता ढलोस् भन्ने चाहेको इरानका सर्वोच्च नेताले बारम्बार बताउँदै आएका छन्।

"उनीहरू सडकमा विद्रोहको बीउ रोप्न चाहन्थे।.... तर जनताहरू शत्रुले चाहेको कुराबाट अलिकति पनि प्रभावित भएनन्," खामेनेईले गत सेप्टेम्बरमा भनेका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।