इरानको गोप्य निकाय जसले 'विरोधी सेलिब्रिटीलाई दण्डित गरिरहेको छ'

टरानी अलिदुस्ती

तस्बिर स्रोत, TARANEH ALIDOOSTI VIA INSTAGRAM

तस्बिरको क्याप्शन, अभिनेत्री टरानी अलिदुस्तीलाई हिजाबबिनाको फोटो पोस्ट गरेको र प्रदर्शनको नारा देखाएको आरोपमा पक्राउ गरिएको थियो।
    • Author, पर्हम गोवादी
    • Role, बीबीसी पर्सिअन

इरानले गत वर्ष हालको सरकार विरोधी प्रदर्शनलाई साथ दिने सेलिब्रिटीहरूलाई दण्ड दिनका लागि एक गोप्य समिति बनाएको कुरा बीबीसीले हेर्न पाएको चुहिएका दस्ताबेजहरूले देखाएको छ।

२२ सेप्टेम्बरको मितिमा जारी गरिएको एक पत्रमा अस्थिरता सुरु भएको छ दिनमै उक्त समितिले १४१ जना चर्चित व्यक्तिहरूको सूची अर्थ मन्त्रालयलाई पठाएको देखिन्छ।

जसमा मन्त्रालयलाई उनीहरूको कर फिर्तीको अनुसन्धान गर्न उनीहरूविरूद्ध कुनै स्पष्ट नपारिएको कदम चाल्न भनिएको छ।

उक्त सूचीमा प्रसिद्ध फुटबल खेलाडी अली दायी र शीर्ष अभिनेत्री टरानी अलिदुस्ती समेत छन्।

त्यहाँ पछिल्ला सात महिनामा आधारभूत स्वतन्त्रताको माग गरिरहेका प्रदर्शनकारीहरूको मागलाई समर्थन गर्ने कैयौँ कलाकार, खेलाडी र सोसल मिडियामा प्रभावशाली व्यक्तिहरूले आर्थिक प्रतिबन्ध, यात्रा प्रतिबन्ध वा हिरासत झेलिरहेका छन्। 

लाइन
लाइन

प्रदर्शन

महसा अमिनीको १६ सेप्टेम्बरमा हिरासतमा मृत्यु भएपछि देशव्यापी रूपमा इरानमा प्रदर्शन चर्किएको थियो।

तेहरानमा 'नैतिकता निगरानी गर्ने प्रहरी'ले "अनुपयुक्त ढङ्गले" हिजाब लगाएको भन्दै उनलाई पक्राउ गरेको थियो।

देशभरि भएको सुरक्षा कारबाहीमा सयौँ मानिसहरूको मृत्यु हुनुका साथै हजारौँलाई पक्राउ गरिएको थियो।

प्रदर्शनकारीलाई विदेशीले उक्साएका 'दङ्गाकारी' भनिएको थियो।

बीबीसी पर्सिअनले मध्यपूर्वका जासुसी स्रोतहरूमार्फत् प्राप्त गरेका तीनवटा दस्ताबेजमा सेलिब्रिटीहरू सरकारी धारणाभन्दा बाहिर गएर नबोलून् भन्नका लागि कसरी सरकारले छिट्टै र सङ्गठित रूपमा कदम चालेको छ भन्ने देखिन्छ।

२२ एप्रिलको पत्रमा "सेलिब्रिटी कार्यदल"को निर्णय भनिएको छ र त्यसको प्रमुखको रूपमा संस्कृति तथा इस्लामिक मार्ग निर्देशन सम्बन्धी मन्त्री मेहदी इस्माइलीलाई देखाइएको छ।

उनी गम्भीर मानवअधिकार उल्लङ्घनका लागि युरोपेली सङ्घबाट प्रतिबन्धहरू खेपेका व्यक्ति हुन्।

उक्त पत्रमा अर्थ मन्त्रालयलाई १४१ जना चर्चित व्यक्तिको कर फिर्तीबारे हेर्न निर्देशन दिइएको भनिएको छ।

जसमा ती व्यक्तिहरूले अस्थिरता फैलाउन महत्त्वपूर्ण भूमिका खेलेको समितिले ठानेको भन्दै "कानुन बमोजिम रोकको आशा गरेको" जनाइएको छ।

अली दायी र टरानी अलिदुस्तीसहित उक्त सूचीमा फिल्म निर्माताहरू अस्गर फर्हादी, पेगर हाङगरानी, मनिजे हिक्मत, बर्जु अर्जोमान्द र शाहिन समदपोर तथा पूर्व टेलिभिजन प्रस्तोता इस्सन करामी छन्।

अस्गर फर्हादी

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, गतवर्ष इरानमा प्रदर्शन सुरु भएयता ओस्कारविजेता फिल्मनिर्माता अस्गर फर्हादी स्वदेश फर्किएका छैनन्

सो पत्रले उनीहरूले सामना गरेको 'रोक'को विस्तृत विवरण खुलाएको छैन तर उनीहरूमध्ये एक जनाले बीबीसी पर्सिअनलाई भनेका छन्: "इन्स्टाग्रामका प्रभावशाली प्रयोगकर्ताहरूलाई दिइएको चेतावनीमा यदि उनीहरूले प्रदर्शनहरूलाई समर्थन गरिरहे भने उनीहरूका अनलाइन गतिविधिबाट हुने आम्दानीमा कर लगाइने भनिएको छ जुन उल्लेख्य रकम हुन आउँछ।"

अन्य दुई जनाले प्रदर्शनलाई साथ दिएपछि आफ्ना ब्याङ्क खाता रोकिएको पुष्टि गरेका छन्।

लाइन
लाइन

'सेलिब्रिटी समिति'

२६ सेप्टेम्बरको मिति लेखिएको अर्को "अति गोप्य" लेखिएको दस्ताबेजले "सेलिब्रिटी कार्यदल"लाई नाम परिवर्तन गरेर "सेलिब्रिटी समिति" राखेको छ।

त्यसले उक्त समितिको जिम्मेवारीहरू समेत विभाजन गरिएको जनाएको छ। जसअन्तर्गत संस्कृति तथा गुप्तचरी मन्त्रालयले "कलाकार, गायक र मिडियाकर्मी"लाई हेर्ने भनिएको छ।

र खेलकुद मन्त्रालय र रेभोलुस्नरी गार्ड्सको गुप्तचरी निकायले खेलाडीहरूलाई हेर्नेछ।

उक्त दस्ताबेजले सेलिब्रिटीसम्बन्धी कुनै पनि निर्णय "कम खर्च र अस्थिरता नियन्त्रणका लागि अधिकतम फाइदा हुने र सत्ताको सिद्धान्तहरूलाई सहायता पुग्ने गरी गर्नुपर्ने" जनाइएको छ।

१ नोभेम्बरको लेखिएको तेस्रो दस्ताबेजले कतारमा भएको विश्वकपअघि कसरी फुटबल खेलाडिहरूसँग व्यवहार गर्ने भन्ने उल्लेख गरिएको छ र त्यसमा प्रशिद्ध खेलाडी र प्रशिक्षकको सम्पत्ति रोक्का गर्नुपर्ने भनिएको छ।

उक्त दस्ताबेजका अनुसार सो समिति अभिनेत्री फतिम मोतामेद-अर्याको "बारम्बारको जोडबल"युक्त कार्यले क्रुद्ध भएको जनाएको छ।

र उसले तेहरानको अभियोजनकर्ताको कार्यालयलाई "तत्काल अभियोग लगाउन र उनको मुद्दालाई प्राथमिकतासाथ एजेन्डामा राख्न भनेको छ।"

ती अभिनेत्रीले हिजाब नलगाईकनै आफ्ना तस्बिरहरू पोस्ट गरेकी थिइन र एक भिडिओमा हिजाब लगाएका महिलाहरू देखाइएको सरकारी भिडिओमा राखिएकोमा कडा शब्दमा निन्दा गरेकी थिइन्।

उक्त दस्ताबेजले रेभोलोस्नरी गार्ड्सका एजेन्टहरूलाई अभिनेत्री कतायुन रिआहीलाई पक्राउ गर्न समेत अनुमति दिइएको लेखेको छ।

रिआई उक्त प्रदर्शनको समर्थनमा हिजाब हटाउने सुरुवाती अभिनेत्रीमध्ये थिइन् जसलाई २० नोभेम्बरमा देशको एक उत्तरी सहरबाट पक्राउ गरिएको बताइएको थियो।