इरान विद्यालय: विष हमला गरेर 'केही मानिस छात्राहरूलाई विद्यालय जानबाट रोक्न चाहन्छन्'

Parents protesting outside the Qom governor's office

तस्बिर स्रोत, IRNA

    • Author, मर्यम अफ्शाङ
    • Role, बीबीसी पर्सियन

इरानमा कम्तीमा ६५० जना छात्राहरूलाई विद्यालय जानबाट रोक्न जानाजान निशाना बनाएर विष दिइएको हुनसक्ने एक वरिष्ठ सरकारी अधिकारीले अन्ततः स्वीकार गरेका छन्।

त्यस्तो घटनामा कुनै पनि छात्राको ज्यान गएको छैन तर दर्जनौँलाई सास फेर्न गाह्रो हुने, वाक् वाक् लाग्ने, रिँगटा लाग्ने र बेस्सरी थाकेको अनुभव हुने जस्ता समस्याहरू सहित अस्पताल भर्ना गर्नु परेको छ।

"घटनाक्रमलाई विचार गरेर हेर्दा केही मानिसहरू सबै विद्यालयहरू खास गरी छात्राहरूको विद्यालय बन्द गर्न चाहन्छन्," इरानका उपस्वास्थ्य मन्त्री युनेस पानाहीले २६ फेब्रुअरीमा आयोजित एक पत्रकार सम्मेलनमा बताएका थिए।

हालसम्म यस घटनाका सम्बन्धमा प्राप्त सरकारी टिप्पणीमा देशको महान्यायाधिवक्ता कार्यालयले फौजदारी अनुसन्धान सुरु गरेको र यो 'जानाजान गरिएको हुनसक्ने' घटना भएको बताइएको थियो।

विगत तीन महिनादेखिको समयमा विद्यालय जाने छात्राहरूले बिरामी पर्नुअघि सुन्तलाको वा कुहिएको माछाको जस्तो गन्ध आएको अनुभव भएको बताएका थिए।

"यी घटनामा प्रयोग भएका केमिकलहरू सैन्य अस्त्र स्तरका छैनन् र सजिलै बजारमा पाइने खालका छन्," डा पानाहीले भने।

"विद्यार्थीहरूलाई कुनै जटिल प्रकारको उपचार आवश्यक रहेको देखिँदैन त्यसैले सबै जना यस विषयमा शान्त रहन आवश्यक छ।"

'मेरी छोरीको रक्षा तिम्रो दायित्व'

ती अधिकारीले पछि आफ्नो वक्तव्यलाई 'गलत रूपमा बुझिएको' भनेर बताएका थिए।

जुन हालसम्म कुनै दोषी फेला पार्न नसकिएको र सार्वजनिक रूपमा चर्को आक्रोश व्यक्त भइरहेको यो विषयलाई कसरी सम्बोधन गर्ने भन्नेबारे सरकारी अधिकारीहरूमाझ मतभेद रहेको छ भन्ने सङ्केत हो।

एक धार्मिक शहर कोम ठूलो सङ्ख्यामा छात्राहरूलाई विष दिइएको घटनाको केन्द्रमा छ तर त्यस्ता आक्रमण इरान भरी नै विभिन्न आठ शहरहरूमा भएका छन्।

A protest outside the governor's office in Qom

तस्बिर स्रोत, IRNA

विष दिइएको पहिलो घटना सन् २०२२ को नोभेम्बर महिनाको ३० तारिखमा भएको थियो जुन बेला कोमस्थित नुर प्राविधिक विद्यालयका १८ जना विद्यार्थीलाई विषको असर देखिने लक्षणहरूसहित अस्पताल लगिएको थियो।

त्यसयता छात्राहरू पढ्ने उक्त प्रान्तका १० वटा भन्दा बढी विद्यालयहरूलाई निशाना बनाइएको छ।

फेब्रुअरी महिनाको मध्यमा कोमको गभर्नरको कार्यालयबाहिर १०० जनाभन्दा बढी मानिसहरूले विरोध प्रदर्शन गरेका थिए।

"मेरा बालबालिकाको रक्षा गर्ने तिम्रो दायित्व हो। मेरा दुई छोरीहरू छन्," सामाजिक सञ्जालमा चर्चित एउटा भिडिओमा एक पिता कराइरहेको सुन्न सकिन्छ, "र, मसँग तिनीहरूलाई विद्यालय नपठाउने बाहेक अरू विकल्प छैन।"

चिन्तित आमाको चित्कार

विरोध प्रदर्शनको सोही घटनामा अर्की एक महिला भन्छिन्, "यो युद्ध हो।"

"तिनीहरूले कोममा अवस्थित छात्राहरूको विद्यालयमा यस्तो गरेका छन् र हामीलाई जबरजस्ती घरमा नै राख्न चाहन्छन्। तिनीहरू हाम्रा छोरीहरू घरमा नै बसिरहुन् भन्ने चाहन्छन्। "

केही अभिभावकहरूले विष दिइएको घटनापछि तिनका बालबालिका हप्तौँसम्म बिरामी परेका बताएका छन्।

अस्पतालको अर्को भिडिओमा एक किशोरी लट्ठिएको अवस्थामा बेडमा पल्टिरहेको देख्न सकिन्छ र उनको साथमा उनकी आमा देखिन्छिन्।

ती चिन्तित आमा भन्छिन्, "सबै प्रिय आमाहरू म एक आमा हुँ र मेरो छोरी अस्पतालमा यस्तो अवस्थामा छिन्, उनको हात खुट्टा कमजोर भएका छन्।"

"मैले चिमोट्दा पनि उनलाई केही अनुभव हुँदैन। कृपया आफ्ना बालबालिकालाई विद्यालय नपठाउनुहोस्।"

धार्मिक आस्थाको केन्द्र

यी हमलाहरू कोममा केन्द्रित देखिन्छन् जुन शिया मुस्लिमका धार्मिक नेताहरूको गृह क्षेत्र हो। ती नेताहरू उक्त इस्लामिक गणतन्त्रको मेरुदण्ड हुन्।

तर गत सेप्टेम्बरमा कपाल ढाक्ने पोसाक नलगाएको भन्ने अभियोगमा प्रहरी हिरासतमा राखिएकी एक कुर्द युवती माहसा अमिनीको मृत्यु भएपछि उर्लेको विरोध प्रदर्शनपछि ती धार्मिक नेताहरूको शक्तिले चुनौतीको सामना गरिरहनु परेको छ।

केही इरानीहरूले साना छात्राहरूमाथि भइरहेका विष आक्रमण त्यही सरकार विरोधी ठूलो स्तरका प्रदर्शनको बदला त होइन भनेर आशङ्का समेत व्यक्त गरिरहेका छन्।

केहीले यी हमलाहरूलाई अफगानिस्तानको तालिबान र नाइजेरियाको उग्रवादी इस्लामिक समूह बोको हरामको नक्कल गर्न खोज्ने धार्मिक कट्टरपन्थीहरूको काम हुनसक्ने अनुमान पनि गरेका छन्।

तिनीहरूले अभिभावकहरूलाई डरधम्की देखाएर आतंकित तुल्याइ तिनका छोरीहरूलाई विद्यालय पठाउनबाट रोक्ने प्रयास गर्ने गरेका छन्।

इरानका एकजना उपराष्ट्रपति मोहम्मद अली अब्ताहिले इन्स्टाग्राममा एउटा प्रश्न लेख्दै भनेका छन्, "के अब बोको हराम इरानमा पनि आएको हो?"

ति सुधारवादी राजनीतिज्ञले सावधान तुल्याउँदै भनेका छन् "कट्टरपन्थीहरूले सरकार र धर्मबीचको सीमालाई आफ्नो कार्यको पक्षमा हुने गरी व्याख्या गर्नेछन्।"

आलोचनाको बेवास्ता

इरानी सत्ताले परम्परागत रूपमा नै महिलाहरूमाथिका प्रतिबन्धहरूको आलोचनालाई खारेज गर्दै आएको छ। उदाहरणका लागि टाउको ढाक्ने पोशाक हिजाब अनिवार्य लगाउनु पर्ने नियमसम्बन्धि विवाद।

बरू बदलामा उसले देशका विश्वविद्यालयमा अध्ययन गर्ने महिलाहरूक सङ्ख्यामाथि भने गर्व प्रदर्शन गर्ने गर्छ।

तर यदि साना बालिकाहरूले विद्यालय शिक्षा पूरा गर्न पाएनन् भने तिनीहरूले कलेजमा गएर पढ्ने भन्ने कुरा त सपना मात्रै हुनेछ।

कोमको गभर्नरसँगको बैठकमा आफूलाई दुई दुई पटक विष दिइएको बताउने एकजना छात्राको भनाइले सरकारी अधिकारीहरूका तर्फबाट आउने अभिव्यक्ति कति अस्पष्ट र अन्योलकारी हुने गर्छ भन्ने कुरालाई उजागर गरेको छ।

"ती अधिकारीहरू हामीलाई भन्छन् सबै कुरा ठिकठाक छ हामीले अनुसन्धान गरेका छौँ भनेर। तर मेरा पिताले मेरो विद्यालयमा सोधपुछ गर्दा उनलाई त्यहाँको सिसिटिभि एक हप्तादेखि काम नलाग्ने भएको र यस विषयमा केही अनुसन्धान गर्न नसकिने भनेर जवाफ दिइएको छ," ती छात्राले बैठकका क्रममा बताइन्।

" र आइतबार म जब दोस्रो पटक विष हमलामा परेँ विद्यालयका प्रिन्सिपलले भने 'उनलाई मुटुको समस्या छ त्यसैले उनलाई अस्पताल भर्ना गरिएको छ' भनेर। तर मलाई मुटु रोग छैन।"