जब इरानको सरकारी टेलिभिजनमा अचानक मुकुन्डोको तस्बिर देखियो

ह्याक

तस्बिर स्रोत, IRINN

इरानको सरकारी टेलिभिजनको प्रसारणको बीचमै शनिवार अचानक समाचार बुलेटिन अवरुद्ध भयो।

त्यसको साटो सर्वोच्च नेताको विरोध जनाउनेगरी तस्बिर प्रसारित गरियो।

एउटा मुकुन्डो देखा पर्‍यो। अनि लगत्तै आगोको लप्काहरूका माझ सर्वोच्च नेता अली खामेनीको तस्बिर देखियो।

कसले गर्‍यो ह्याक?

समाचार प्रसारण ह्याक गर्ने समूहले आफूलाई 'अदालत अली' वा अलीको न्याय भनेर चिनाएको छ।

यो घटना त्यतिखेर भएको छ जतिखेर इरानमा भएका ताजा विरोध प्रदर्शनहरूका क्रममा सुरक्षा फौजद्वारा चलाइएको गोलीका कारण तीनजना मारिएका छन्।

एक २२ वर्षीया इरानी कुर्द महिला माहसा अमिनीलाई कपाल राम्ररी नढाकेको भन्दै नैतिकता प्रहरीले पक्राउ गरेको थियो।

पक्राउ परेको तीन दिनपछि सेप्टेम्बर १६ मा ती महिलाको हिरासतमै मृत्यु भएपछि इरानमा अभूतपूर्व रूपमा विरोध प्रदर्शन भइरहेका छन्।

ह्याक गरेर विरोध

शनिवार स्थानीय समय साँझ ६ बजेको टेलिभिजन समाचार बुलेटिनमा सर्वोच्च नेताले बोलिरहेको दृश्य अचानक अवरुद्ध भएको थियो।

लगत्तै सर्वोच्च नेताको तस्बिरमा निशाना बनाइएको अनि अमिनी तथा हालै विरोध प्रदर्शनका बेला मारिएका तीनजना अन्य महिलाको तस्बिरसहितको दृश्य प्रसारित भयो।

दृश्यको सँगै लेखिएको क्याप्सनमा 'सामेल हौँ, जागौँ' तथा 'तिम्रो पञ्जाबाट हाम्रा युवाको रगत चुहिरहेको छ' जस्ता नारा देखिन्थे।

केही सेकेन्डमै ती दृश्य हटे अनि टेलिभिजन प्रसारण फेरि जारी रह्यो।

ह्याक

तस्बिर स्रोत, BBC Persian/Screenshot

दुर्लभ प्रदर्शन

इरानमा त्यसरी आयातोल्लाह अली खामेनीविरुद्ध विद्रोहको प्रदर्शन अत्यन्तै दुर्लभ ठानिन्छ। इरानभित्र उनी पूर्ण शक्तिशाली छन्।

तर अमिनीको मृत्युपश्चात् खुला रूपमा केही विरोध भएका छन्।

शनिवार नै सामाजिक सञ्जालमा भिडिओहरू देखा परे जसमा राष्ट्रपति इब्राहिम रइसीको भ्रमणका बेला तेहरानको एक विश्वविद्यालयमा महिला विद्यार्थीहरूले उनलाई फर्कन नारा लगाइरहेको देखिन्छ।

सनान्दाजमा शनिवार दुईजना मारिएका छन्। तीमध्ये एकजना पुरुष पनि थिए जसले प्रदर्शनकारीहरूको समर्थनमा गाडीको हर्न बजाएका कारण गोली खानु पर्‍यो।

सरकारी समाचार एजेन्सी इर्नाका अनुसार सनान्दाजमा 'प्रति क्रान्तिकारीहरू'द्वारा एक पुरुष मारिएको प्रहरी अधिकारीले बताएका छन्।

शुक्रवार इरानको फोरेन्सिक मेडिसिन अर्गनाइजेशनले अमिनीको मृत्यु मस्तिष्कमा अक्सिजनको कमी वा सेरेब्रल हाइपोक्सियाका कारण अङ्गहरू क्षतिग्रस्त भएपछि भएको जनाएको छ।

उनको परिवार तथा प्रदर्शनकारीहरूले चाहिँ उनको मृत्यु टाउकोमा चोट पुग्नेगरी गरिएका प्रहारबाट भएको बताएका थिए।

मानव अधिकार समूहहरूका अनुसार सेप्टेम्बर १७ मा सुरु भएयताका विरोध प्रदर्शनका क्रममा १५० जनाको ज्यान गइसकेको छ।

राजधानी तेहरानका बजारसहित कैयन् शहरमा प्रदर्शनकारीहरूको समर्थनमा पसलहरू बन्द गरिएका छन्। कतैकतै प्रहरीका बुथमा आगजनी गरिएका छन् र सुरक्षा फौज धपाइएका छन्।

व्यापारी समुदायलाई आफ्ना समर्थक ठान्ने इरानका नेताहरूलाई यसरी तेहरानका बजारहरूमा समेत भएका विरोध प्रदर्शनले निकै चिन्ता बढाइदिनेछ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'म इरान पुगेँ भने श्रीमान्‌ले मारिदिन्छन्'