इरान: एक महिनादेखि सरकारविरोधी प्रदर्शन जारी, सुरक्षाकर्मीसँग फेरि हिंसात्मक झडप

महिलाको प्रदर्शन

तस्बिर स्रोत, Twitter

सरकारविरोधी प्रदर्शन चर्किँदै गएको इरानी सहर जेहेदानमा निरन्तर झडपहरू भएका छन्।

एकजना वरिष्ठ प्रहरी अधिकारीले एउटी किशोरीको बलात्कार गरेको आरोपपछि सुरु भएको प्रदर्शनमा २०० जनाभन्दा बढीको मृत्यु भइसकेको छ।

सामाजिक सञ्जालमा प्रेषित भिडिओहरूमा प्रदर्शनकारीहरूमाथि सुरक्षाकर्मीले गोली चलाएको देख्निन्छ।

शुक्रवारको झडपमा एक जनाको मृत्यु भएको र १४ जना घाइते भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएको छ।

सरकारलाई गम्भीर चुनौती

प्रहरी हिरासतमा एक कुर्दिश युवतीको मृत्यु भएपछि इरानमा थप उग्र प्रदर्शनहरू भएका छन्।

दङ्गा फैलिएकाले सरकारलाई गम्भीर चुनौती खेप्नुपरेको छ।

बीबीसी पर्सियन सेवालाई प्राप्त भिडिओहरूमा भवनका भुइँमा रगतले लेखिएको देखिन्छ भने प्रदर्शनकारीहरूले त्यहाँका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनेईको "मृत्यु" को कामना गर्दै चिच्याएको सुनिन्छ।

अर्को भिडिओमा एक बालक घाइते भएको देखिन्छ र प्रदर्शनकारीहरूले १२ वर्षका बच्चालाई पनि गोली हानिएको भन्दै कराएको सुनिन्छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, महसा अमिनीप्रति ऐक्यबद्धता जनाउँदै मन्त्रमुग्ध नाचेकी यी महिला

कसरी सुरु भयो विरोध?

इरानमा विगत छ सातायता चलिरहेको प्रदर्शन दशकौँ पछिको सबैभन्दा ठूलो हो।

हिजाब नलगाएको आरोपमा पक्राउ परेकी २२ वर्षकी कुर्दिश-इरानी मूलकी महसा अमिनीको गत महिना प्रहरी हिरासतमा मृत्यु भएपछि प्रदर्शन सुरु भएको थियो।

प्रहरीले टाउकोमा लट्ठी प्रहार गरेका कारण उनको मृत्यु भएको विवरण आएको छ। तर प्रहरीले त्यस्तो आरोप अस्वीकार गर्दै उनको हृदयाघातका कारण मृत्यु भएको दाबी गरेको छ।

प्रहरीले आफ्नो दाबी पुष्टि गर्ने प्रयासमा एउटा भिडिओ पनि सार्वजनिक गरेको छ जसमा अमिनी प्रहरीचौकीमा ढलेको देखिन्छ।

महिलाको प्रदर्शन

तस्बिर स्रोत, Twitter

तर उक्त भिडिओ र उनी अचेत भएको देखिने तस्बिरहरूले सर्वसाधारण नागरिकहरू थप क्रोधित बनायो।

सबैभन्दा पहिलो प्रदर्शन उनको अन्तिम संस्कारसँगै सुरु भएको थियो। त्यहाँ महिलाहरूले आफ्नो हिजाब निकालेर अमिनीप्रति ऐक्यबद्धता जनाएका थिए।

त्यसपछि प्रदर्शन बढ्दै गयो र थप स्वतन्त्रतासहित सरकार परिवर्तनका मागहरू पनि उठेका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, इरानमा आन्दोलन चर्किँदा काबुलमा नाराबाजी

महिलाको भूमिका के छ?

महिलाहरूले आफ्नो हिजाब आगोमा जलाएको र सार्वजनिक स्थलमा केश काटेर विरोध जनाएको भिडिओहरूमा देख्न सकिन्छ।

प्रदर्शनमा सहभागी महिलाहरूले "महिलाको स्वतन्त्र जीवन"को नारा लगाएका छन् भने सर्वोच्च नेता आयातोल्लाह अलि खामेनेईलाई तानाशाहको सङ्ज्ञा दिँदै उनलाई मृत्युदण्ड दिनुपर्ने माग गरेका छन्।

हिजाबबारे यसअघि पनि केही महिलाहरूले प्रदर्शन गर्दै आएका थिए। तर त्यस्तो विरोध दबाइने गरिएको थियो।

अहिलेको स्तरमा यसअघि कहिल्यै प्रदर्शन भएको थिएन।

प्रदर्शनमा ऐक्यबद्धता जनाउँदै स्कुले विद्यार्थीहरूले पनि विद्यालयका मैदान र सडकमा प्रदर्शन गरेका छन्।

महिलाले उठाएका मागमा समर्थन जनाउँदै पुरुष र किशोरहरू पनि प्रदर्शनमा सहभागी भएका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कुनै देशलाई तह लगाउन प्रतिबन्धहरू कति प्रभावकारी

प्रशासनको प्रतिक्रिया कस्तो छ?

प्रशासनले बल प्रयोग गरेर प्रदर्शन दमन गर्ने प्रयास गरिरहेको छ।

गत महिना विरोधप्रदर्शन दबाउन सहभागी दुई प्रहरी अधिकारीहरूलाई बर्खास्त गरिएको घोषणापछि पनि जेहेदानको सडकमा शुक्रवार प्रदर्शन भयो।

सर्वोच्च नेता आयातोल्लाह अलि खामेनेईले इरानसँग शत्रुतापूर्ण सम्बन्ध रहेका अमेरिका र इजरेल अहिले इरानमा दङ्गा फैलाउन संलग्न भएको आरोप लगाएका छन्। तर आलोचकहरूले त्यस्तो आरोप अनुचित भएको बताएका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, इरानमा लुकीलुकी हेभी मेटल सङ्गीतमा लागेका छन् केही महिला

अहिलेसम्म कति जनाको मृत्यु भयो?

बीबीसी तथा अन्य स्वतन्त्र सञ्चारमाध्यमलाई इरानमा समाचार सङ्कलन गर्न रोक लगाइएको छ। त्यसैले त्यहाँको सरकारी सञ्चारमाध्यममा आएका दाबीको स्वतन्त्र पुष्टि गर्न कठिन छ।

सामाजिक सञ्जाल प्रयोगकर्ता र अन्य मानवाधिकारकर्मीहरूले त्यहाँबाट तस्बिर पठाउँदै आएका छन्। तर प्रशासनले इन्टरनेट र टेलिफोन सेवा समेत अवरुद्ध गर्दै आएको छ।

नर्वेमा कार्यालय रहेको इरान ह्यूमन राइट्सका अनुसार अहिलेसम्म २३४ जना सरकारी सुरक्षाकर्मीको हातबाट मारिएका छन्। तीमध्ये २९ जना बालबालिका रहेको उक्त संस्थाले जनाएको छ।

सुरक्षानिकायले शान्तिपूर्ण प्रदर्शनमा भेला भएका मानिसको हत्या भएको आरोप अस्वीकार गर्दै आए पनि कतिपय भिडिओहरूमा उनीहरूले हतियार चलाएको प्रत्यक्ष देख्न सकिन्छ।

महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि इरानबाहिर पनि विरोध भएको छ

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

तस्बिरको क्याप्शन, महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि इरानबाहिर पनि विरोध भएको छ

पहिला भएका विरोधप्रदर्शनसँग कस्तो तुलना?

इरानमा राष्ट्रपतीय निर्वाचनमा विवाद भएपछि सन् २००९ मा दशौँ लाख मानिसहरू विरोधप्रदर्शनमा सहभागी भएका थिए।

यद्यपि उक्त प्रदर्शन केही सहरहरूमा मात्र सीमित थियो र त्यसको नेतृत्व त्यहाँको मध्यमवर्गले मात्र गरेको थियो।

आर्थिक मन्दीका कारण यहाँ सन् २०१७ र २०१९ मा पनि ठूला प्रदर्शनहरू भएका थिए। तिनमा पनि काम गरेर खाने वर्ग मात्रै सहभागी भएको थियो।

अहिले चलिरहेको प्रदर्शनमा चाहिँ समाजका सबै वर्ग र उमेर समूहका मानिसहरूको सहभागिता छ। जारी प्रदर्शन दर्जनौँ सहरहरूमा फैलिसकेको छ।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'म इरान पुगेँ भने श्रीमान्‌ले मारिदिन्छन्'