इरानका कट्टरपन्थी धर्मगुरु इब्राहिम रइसीको राष्ट्रपतिसम्मको यात्रा

तस्बिर स्रोत, EPA
इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनेईका निकट मानिने कट्टरपन्थी धर्मगुरु इब्राहिम रइसी गत जुनमा इरानको राष्ट्रपति चुनिए।
६० वर्षीय रइसीले बिहीवार पदभार ग्रहण गरेका छन्।
उनले बाहिरिँदै गरेका राष्ट्रपति हसन रुहानीका पालामा अनुभव गरिएको आर्थिक समस्या समाधान गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने सबैभन्दा उपयुक्त पात्रका रूपमा आफूलाई प्रस्तुत गरेका छन्।
उनी यसअघि देशको न्यायालयका प्रमुख थिए र उग्र-कट्टरपन्थी राजनीतिक विचार प्रकट गर्थे।

तस्बिर स्रोत, Anadolu Agency via Getty Images
कैयौँ इरानी र मानवअधिकारकर्मी सन् १९८० ताका राजनीतिक बन्दीको सामूहिक हत्यामा उनको संलग्नता रहेको भन्दै उनीतिर औँला सोझ्याउँछन्।
रइसी सन् १९६० मा इरानको दोस्रो ठूलो सहर तथा देशको सबैभन्दा पवित्र शिया मुस्लिम मस्जिद अवस्थित भएको स्थान मश्हादमा जन्मिएका थिए।
आफूलाई शिया परम्परामा पैगम्बर मोहम्मदको वंशक्रममा आएको रूपमा चिनाउन रइसी कालो पगरी लगाउँछन्।
उनले आफ्ना पिताको पदचाप पछ्याउँदै १५ वर्षको उमेरमा पवित्र कुम सहरमा एउटा मदरसामा भर्ना हुन गएका थिए।
विद्यार्थी कालमा उनी पश्चिमा शक्तिको साथ पाएका त्यहाँका राजाविरुद्ध प्रदर्शनमा सहभागी भएका थिए।

तस्बिर स्रोत, Getty Images
आयातोल्लाह रुहोल्लाह खामेनेईको नेतृत्वमा सञ्चालित उक्त इस्लामिक क्रान्तिले अन्तत: सन् १९७९ मा इरानी शाहलाई शक्तिच्युत गरिदिएको थियो।
क्रान्तिपछि उनी न्याय क्षेत्रमा जोडिए र कैयौँ सहरहरूमा अभियोजकको भूमिकामा रहे।
त्यसबेला उनलाई आयातोल्लाह खामेनेईले प्रशिक्षित गरेका थिए। खामेनेई सन् १९८१ मा इरानको राष्ट्रपति चुनिए।
रइसी २५ वर्षको उमेरमै तेहरानको उप-अभियोजक बनेका थिए।
त्यसबेला उनी सन् १९८८ मा बनाइएको एउटा गोप्य इजलासमा रहेका चारमध्ये एकजना न्यायाधीश रहेका थिए।
उक्त इजलासलाई पछि "मृत्यु समिति" भनेर चिनियो।
उक्त इजलासमा पहिले नै जेल सजाय पाइसकेका हजारौँ राजनीतिक कैदीबन्दीहरूमाथि पुन: सुनुवाइ गरियो।
त्यसमध्ये अधिकांश पिपुल्स मुजाहिद्दीन अर्गनाइजेसन अफ इरान (पीएमओआई) भनेर पनि चिनिने वामपन्थी विपक्षी समूह मुजाहिद्दीन-ए-खल्क (एमईके) का कार्यकर्ता रहेका थिए।

तस्बिर स्रोत, AFP
उक्त इजलासले कति जनलाई मृत्युदण्ड दिने निर्णय गर्यो भन्ने यकिन जानकारी छैन।
तर मानव अधिकारकर्मीहरू त्यसबेला पाँच हजार पुरुष र महिलाहरूलाई मृत्युदण्ड दिइएको र उनीहरूलाई एउटा अज्ञात स्थलमा पुरिएको बताउँछन्।
उनीहरूका भनाइमा त्यो मानवताविरुद्धको अपराध हो।
इरानका नेताहरूले उक्त मृत्युदण्डलाई अस्वीकार गरेका छैनन् तर त्यसबारे उनीहरूले विस्तृत रूपमा जानकारी दिएका छैनन्। त्यस्तै उनीहरूले त्यसको कानुनी आधार पनि स्पष्ट गरेका छैनन्।
रइसीले ती मृत्युदण्डहरूमा आफ्नो भूमिकाप्रतिको आरोपलाई बारम्बार अस्वीकार गर्दै आएका छन्।
तर उनले पूर्व सर्वोच्च नेता आयातोल्लाह खामेनेईको फतवा अर्थात् धार्मिक आदेशद्वारा त्यसलाई उचित ठहर्याइएको थियो भनेका छन्।
पाँच वर्षअघि सन् १९८८ को एउटा भिडिओ फुटेज बाहिरिएको थियो।

तस्बिर स्रोत, Getty Images
त्यसमा रइसीसहित न्यायक्षेत्रका अन्य कैयौँ सदस्यहरू र उप-सर्वोच्च नेता आयातोल्लाह हुसेन अली मोन्टाजेरी (१९२२-२००९) सँग बैठक गरिरहेको देखिन्छ।
त्यसमा मोन्टाजेरीले उक्त मृत्युदण्डलाई वर्णन गर्दै "इस्लामिक रिपब्लिकको इतिहासकै सबैभन्दा ठूलो अपराध" भनेको सुनिन्छ।
त्यसको एक वर्षपछि सर्वोच्च नेताका उत्तराधिकारी मोन्टाजेरीले आफ्नो पद गुमाए र अहिलेका सर्वोच्च नेता आयातोल्लाहा अलि खामेनेईले त्यसबेलाका सर्वोच्च नेताको मृत्युपछि उत्तराधिकार पाए।
रइसीले तेहरानको अभियोजनकर्ताको भूमिका निभाए र त्यसपछि स्टेट इस्पेक्टोरेट अर्गनाइजेसनको प्रमुख बने।
उनी इरानको सर्वोच्च न्यायालयका पहिलो उप-प्रमुख हुन्। सन् २०१४ मा उनी इरानको महाअभियोजक नियुक्त भएका थिए।
त्यसको दुई वर्षपछि आयातोल्लाह खामेनेईले उनलाई इरानको सबैभन्दा महत्त्वपूर्ण र सबैभन्दा धेरै सम्पत्ति भएको धार्मिक फाउन्डेसन अस्तान-ए-कुद्स रजाभीको संरक्षक चयन गरे।
उक्त निकायले कैयौँ मस्जिदहरू र धेरै च्यारिटी संस्थाहरूको व्यवस्थापन गर्छ।

तस्बिर स्रोत, AFP
अमेरिकाका अनुसार निर्माण, कृषि, ऊर्जा, टेलिकम र वित्तिय क्षेत्रमा यसको ठूलो लगानी छ।
सन् २०१७ मा उनले राष्ट्रपतिको निर्वाचनमा उम्मेद्वारी दिएर धेरैलाई अचम्मित पारे।
तर उनका सहकर्मी धर्मगुरु रुहानीले ठूलो मत अन्तरले दोस्रो कार्यकालका लागि ५७ प्रतिशत मत ल्याएर चुनाव जिते।
त्यसबेला रइसीले ३८ प्रतिशत मत ल्याएर हारेका थिए।
सन् २०१९ मा इरानी सर्वोच्च नेताले उनलाई न्यायालयको प्रमुख चयन गरे।

तस्बिर स्रोत, Anadolu Agency via Getty Images
त्यसको अर्को साता उनी एसेम्बली अफ एक्पर्ट भनिने आगामी सर्वोच्च नेता चयन गर्ने एउटा ८८ सदस्यीय निकायको उपाध्यक्ष चुनिए।
न्यायालयको प्रमुखका रूपमा उनले लागूऔषधसम्बन्धी अपराधमा मृत्युदण्डलाई घटाउने गरी सुधार गरेका थिए।
इरान चीनपछि धेरै मृत्युदण्ड दिने देशमा पर्छ।
उसले दोहोरो नागरिकता भएका वा विदेशमा स्थायी बसोबास अनुमति पाएका इरानीहरूलाई जासुसीको आरोपमा पक्राउ गर्ने र कारबाही गर्ने कुरालाई जारी राखेको छ।

तस्बिर स्रोत, EPA
भूतपूर्व अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०१९ मा मानव अधिकारको विषयलाई उठाएर उनीमाथि प्रतिबन्ध लगाएका थिए।
रइसीले भ्रष्टाचार नियन्त्रण र इरानको आर्थिक समस्या हल गर्ने आफू सबैभन्दा उपयुक्त पात्र भएको रूपमा प्रस्तुत गरेका थिए।
तर उनी विजयी निर्वाचनमा अन्य कैयौँलाई उम्मेदवार हुन रोकिएको थियो।
पहिलो चरणमा उनले ६२ प्रतिशत मत पाएका थिए।
यद्यपि त्यहाँ मात्र ४९ प्रतिशत मत खसेको थियो। इरानी इस्लामिक क्रान्तियताकै त्यो सबैभन्दा न्यून मतदान हो।
रइसीको निजी जीवनबारै कमैमात्र जानकारी सार्वजनिक भएको छ।
उनकी पत्नी जमिलेह चाहिँ तेहरानको शाहिद बेहेश्ती विश्वविद्यालयमा अध्यापन गराउँछिन्।
उनीहरूका दुई वयस्क छोरीहरू छन्।








