इजरेल र इरानसँग कति हतियार छन्, सैन्य शक्ति कसको बढी छ

इरानका सर्वोच्च नेता अलि खामेनेई र इजरेलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, इरानका सर्वोच्च नेता अलि खामेनेई र इजरेलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू
    • Author, आरिफ शमिम
    • Role, बीबीसी न्यूज उर्दू र बीबीसी न्यूज पर्सिअन

(सन् २०२४ एप्रिल १९ मा प्रकाशित यो सामग्रीमा अद्यावधिक सूचना समावेश गरी सन् २०२५ जुन १३ मा पुनः प्रकाशित गरिएको छ।)

इजरेलले इरानका परमाणु कार्यक्रम स्थलहरूमा आक्रमण गरेको इजरेली डिफेन्स फोर्सेज् (आईडिएफ)ले बताएको छ। त्यसक्रममा राजधानी तेहरानमा विस्फोटहरू सुनिएका छन्।

इजरेली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफ्नो देशको कदम 'आवश्यक परेजति कैयौँ दिन' चल्ने बताएका छन्।

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेइले हमला गरेर इजरेलले उसको 'नीच स्वभाव' प्रकट गरेको भन्दै उक्त देशले 'आफ्नो निम्ति दुर्भाग्य निम्त्याएको र त्यो अवश्यम्भावी रहेको' प्रतिक्रिया दिएका छन्।

'हमला गरेर इजरेलले आफ्नो निम्ति दुर्भाग्य निम्त्याएको र त्यो अवश्यम्भावी रहेको' इरानी सर्वोच्च नेताले बताएको समाचार संस्था रोएटर्सले उल्लेख छ।

मध्यपूर्वका यी दुई देशबीच यदि ठूलै युद्ध भयो भने कुन पक्षको अवस्था कस्तो देखिएला?

को बलियो छ

इरानी क्षेप्यास्त्र

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, इरानी सेनासँग क्षेप्यास्त्र भण्डार र प्रहार गर्ने सामर्थ्य छ

तल प्रस्तुत विषयका आधारमा बीबीसीले दुवै देशको सैन्य सामर्थ्यको विश्लेषण गर्न खोजेको छ। तर दुवै देशसँग लुकाएर राखिएको अरू विशेष सामर्थ्य पनि हुन सक्छ।

इन्टर्न्याश्नल इन्स्टिट्यूट फर स्ट्रटीजिक स्टडीज (आईआईएसएस)ले दुवै देशका सेनाको गोलाबारी गर्न सक्ने क्षमताको तुलना गरेको छ।

आधिकारिक र खुल्ला स्रोतबाट उपलब्ध विवरण प्रयोग गर्दै यथासम्भव मिल्दो सङ्ख्या गणना गरिएको छ।

स्टक्होम इन्टर्न्याश्नल पीस रिसर्च इन्स्टिट्यूटजस्ता अरू संस्थाहरूले त्यसबारे आकलन गरेका छन्। तर तथ्याङ्क सार्वजनिक नगर्ने देशहरूसँग सम्बन्धित अनुमानित सङ्ख्या भिन्न हुन सक्छ।

यद्यपि पीस रिसर्च इन्स्टिट्यूट ओस्लो (पीआरआईओ) का निकोलस मार्शका अनुसार विश्वभरि कुनै देशको सैन्य शक्तिको मूल्याङ्कन गर्न आईआईएसएसलाई अग्रणी मानिन्छ।

इरान र इजरेलको तुलना

आईआईएसएसका अनुसार इजरेलले रक्षा क्षेत्रमा इरानले भन्दा बढी खर्च गर्छ। त्यसो हुँदा सम्भावित द्वन्द्वमा उसलाई ठूलो शक्ति मिल्छ।

आईआईएसएसका अनुसार सन् २०२२ र २०२३ मा इरानको प्रतिरक्षा बजेट ७.४ अर्ब डलर थियो भने इजरेलको त्यसको दोबरभन्दा बढी अर्थात् १९ अर्ब डलर थियो।

इजरेलको जीडीपी अर्थात् कुल गार्हस्थ्य उत्पादनसँगको तुलनामा उसको रक्षा खर्च पनि इरानको भन्दा दोबर छ।

एफ-३५ लाई निकै उन्नत विमान मानिन्छ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, एफ-३५ लाई निकै उन्नत विमान मानिन्छ

प्रविधिमा को अगाडि

आईआईएसएसको विश्लेषण अनुसार इजरेलसँग लडाइँमा पठाउन ३४० वटा सैन्य विमान छन्। यसबाट उसको निसाना बनाएर हवाई आक्रमण गर्ने क्षमता देखिन्छ।

इजरेलसँग लामो दूरीमा आक्रमण गर्न सक्ने एफ-१५ जेट विमानहरू, रेडार छल्न सक्ने एफ-३५ जेट विमानहरू र चाँडो आक्रमण गर्न सक्ने हेलिकप्टरहरू छन्।

आईआईएसएसको अनुमानअनुसार इरानसँग लडाइँमा प्रयोग गर्न सकिने ३२ वटा विमान छन्। इरानसँग भएका जेटहरू सन् १९६० को दशकदेखिका हुन्।

तर पीआरआईओका निकोलस मार्श ती पुराना विमानमध्ये कति वटा प्रयोग हुन सक्ने अवस्थामा छन् भन्ने स्पष्ट नभएको बताउँछन्। किनभने तिनको मर्मत गर्न पार्टपुर्जा पाउन निकै कठिन छ।

'टप गन' चलचित्रमा देखाइएको एफ-१४ विमान

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, यूएस नेभीले झन्डै २० वर्षअघि एफ-१४ टमक्याट प्रयोग गर्न छोडेको भए पनि इरानमा अझै प्रयोगमा छन्

आइरन डोम र एरो

‘आइरन डोम’ र ‘एरो’ इजरेली प्रतिरक्षा प्रणालीका मेरुदण्ड हुन्।

मिसाइल इन्जिनियर युजि रुबिन ‘इजरेल मिसाइल डिफेन्स अर्गनाइजेशन’का संस्थापक हुन्। अहिले उनी ‘जेरुसलेम इन्स्टिट्यूट फर स्ट्रटीजिक एन्ड सिक्युअरटी’मा वरिष्ठ अनुसन्धानकर्ता छन्।

'आइरन' डोम तथा विदेशी साझेदारहरूको सहयोगमा इरानले प्रहार गरेका क्षेप्यास्त्रहरू नष्ट पारिएको देख्दा आफूलाई निकै सुरक्षित अनुभूति भएको उनले बीबीसीलाई बताए।

“मलाई निकै सन्तोष र खुसी लाग्यो... लक्ष्यविरुद्ध यो निकै विशिष्ट छ। यो छोटो दूरीको क्षेप्यास्त्र प्रतिरक्षा हो। अरू प्रणालीमा योजस्तो केही कुरा हुँदैन।”

आइरन डोम क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली

तस्बिर स्रोत, Amir Cohen / Reuters

तस्बिरको क्याप्शन, इजरेलले आइरन डोम क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली प्रयोग गरेर इरानबाट प्रहार गरिएका अधिकांश ड्रोन र क्षेप्यास्त्र आकाशमै नष्ट पारिएको दाबी गरेको छ

इरान र इजरेल कति टाढा छन्?

इजरेल इरानभन्दा २,१०० किमि टाढा छ।

‘डिफेन्स आई’ का सम्पादक टिम रेप्लीका अनुसार इजरेलले इरानमा आक्रमण गर्ने मुख्य तरिका भनेको क्षेप्यास्त्र प्रहार गरेरै हो।

इरान र इजरेल देखिने नक्सा

इरानको क्षेप्यास्त्र कार्यक्रमलाई पूरा मध्यपूर्वमा सबैभन्दा ठूलो र विविधतायुक्त मानिन्छ।

सन् २०२२ मा यूएस सेन्ट्रल कम्यान्डका जेनरल केनथ मक्कन्जीले इरानसँग “३,००० वटाभन्दा बढी बलिस्टिक क्षेप्यास्त्र” भएको बताएका थिए।

इजरेलले विभिन्न देशबाट क्षेप्यास्त्र आयात गर्ने गरेको ‘सीएसआईएस मिसाइल डिफेन्स प्रोजेक्ट’ ले औँल्याएको छ।

इरानले प्रहार गरेको क्षेप्यास्त्र

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, एप्रिल १३ शनिवार राति इरानले इजरेललाई लक्षित गरी ३०० वटाभन्दा बढी क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको थियो

इरानी क्षेप्यास्त्र र ड्रोन

इरानले सन् १९८० देखि १९८८ सम्म इराकसँग लडाइँ गर्‍यो। त्यस बेलादेखि नै उसले आफ्ना क्षेप्यास्त्र प्रणाली र ड्रोनमा सुधार गर्न निकै मेहनत गरेको छ।

इरानले छोटो र लामो दूरीमा प्रहार गर्ने मिल्ने क्षेप्यास्त्र र ड्रोन बनाएको छ। तीमध्ये केही भर्खरै इजरेलमा आक्रमण गर्न प्रयोग भए।

हूथी विद्रोहीहरूले साउदी अरबतिर प्रहार गरेका क्षेप्यास्त्रहरूको निर्माण इरानमा भएको निष्कर्ष विज्ञहरूले गरेका छन्।

सिरियाको राजधानीस्थित इरानी कूटनीतिक नियोगमा देखिएको भग्नावशेष

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, एप्रिल १ मा सिरियाको राजधानीस्थित इरानी कूटनीतिक नियोगमा हवाई आक्रमण हुँदा इरानी सैन्य अधिकारीहरूको ज्यान गएको थियो

‘सजाय’ दिन लामो दूरीको हमला

'डिफेन्स आई'का टिम रिप्ली इजरेलले इरानसँग स्थलयुद्ध गर्ने सम्भावना निकै कम देख्छन्। "इजरेलको ठूलो सामर्थ्य भनेको उसको हवाई शक्ति र नियन्त्रित अस्त्रहरू हुन्। त्यसैले उसले इरानका मुख्य निसानामा हवाई हमला गर्ने सम्भावना रहन्छ," उनी भन्छन्।

रेप्लीका अनुसार इजरेलले हवाई हमला गरेर इरानी अधिकारीहरूको हत्या र तेल केन्द्रहरूलाई ध्वस्त पार्न सक्छ।

क्षेप्यास्त्र

"यसको मुख्य ध्येय 'सजाय' दिनु हो...। इजरेली सैन्य र राजनीतिक नेताहरूले प्रायः यो शब्द प्रयोग गर्छन्। त्यो उनीहरूको दर्शनको एउटा अङ्ग हो। इजरेलमा हमला गर्नुअघि शत्रुलाई दुई पटक सोच्न बाध्य पार्ने गरी त्यस्तो धारणा व्यक्त भइरहेको हुन्छ।"

विगतमा हवाई हमला गरेर उच्च पदस्थ इरानी सैनिक र नागरिकहरूको ज्यान लिइएको छ।

एप्रिल १ मा सिरियाको राजधानी दमास्कसस्थित इरानी कूटनीतिक नियोगमा भएको हमला त्यस्तोमध्येको एक हो। त्यही घटनापछि इजरेलमा तेहरानले आक्रमण गरेको हो।

इजरेलले सिरियाको घटना वा इरानी अधिकारीहरूलाई निसानामा पारिएका कैयौँ घटनाको जिम्मेवारी लिएको छैन। तर उसले त्यसलाई अस्वीकार समेत गर्ने गरेको छैन।

इस्लामिक रेभलूशनरी गार्ड कोर (आईआरजीसी) का स्पीडबोटहरू

तस्बिर स्रोत, IRGC handout / Reuters

तस्बिरको क्याप्शन, इरानको इस्लामिक रेभलूशनरी गार्ड कोर (आईआरजीसी) का स्पीडबोटहरू अबु मुसा टापुमा अभ्यासका क्रममा

जलसेना

इरानको पुरानो हुँदै गएको जलसेनासँग २२० वटा पानीजहाज छन्।

त्यसको तुलनामा इजरेलसँग ६० वटा मात्र रहेको आईआईएसएसको विवरणमा देखिन्छ।

साइबर हमला

इजरेलसँग ६० वटा नौसैनिक पानीजहाज रहेको बताइन्छ

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, इजरेली जलसेनासँग ६० वटा पानीजहाज रहेको बताइन्छ

साइबर हमलामा इरानले भन्दा इजरेलले गुमाउन सक्ने कुरा धेरै छ।

इरानको प्रतिरक्षा प्रणाली प्राविधिक रूपमा इजरेलको भन्दा कमजोर छ। त्यसैले इजरेली सेनामाथि हुने विद्युतीय हमलाले धेरै नै हानि पुर्‍याउन सक्छ।

इजरेल सरकारको न्याश्नल साइबर निर्देशनालयले भनेको छ: “साइबर हमलाको शक्ति यसअघिको भन्दा निकै उच्च छ, कम्तीमा तीन गुणा उच्च। अनि त्यस्तो हमला इजरेलको हरेक क्षेत्रमा भइरहेको छ। युद्धका बेला इरान र हिज्बुल्लाह (लेबननी सैन्य तथा राजनीतिक सङ्गठन) बीचको सहकार्य ब।”

उक्त निकायका अनुसार हमासको नेतृत्वमा अक्टोबर ७ मा हमला भएयता सन् २०२३ को अन्त्यसम्ममा ३,३८० वटा साइबर हमला भएका छन्।

इरानको सिभिल डिफेन्स अर्गनाइजेशनका प्रमुख ब्रिगेडिअर जेनरल गोलम्रेजा जलालीले हालैको संसदीय निर्वाचनअघिको महिनामा इरानले झन्डै २०० वटा साइबर हमलालाई विफल पारिदिएको थियो।

डिसेम्बरमा इरानका तेलमन्त्री जावद औजीले एउटा साइबर हमलाले देशभरिका तेल केन्द्रहरूमा अवरोध पुर्‍याएको जनाएका थिए।

सन् २००८ मा इरानी राष्ट्रपति महमुद अहमदिनेजाद

तस्बिर स्रोत, Iranian government / Getty Images

तस्बिरको क्याप्शन, सन् २००८ मा इरानका तात्कालिक राष्ट्रपति महमुद अहमदिनेजादले नतान्जस्थित परमाणुकेन्द्रमा यूरेनियम उत्पादन बढाउने घोषणा गरेका थिए

परमाणुअस्त्र प्रयोग हुने डर

इजरेलसँग परमाणुअस्त्र भएको ठानिन्छ। तर उसले त्यसबारे सुनियोजित रूपमा अस्पष्टता राखेको छ।

इरानसँग परमाणुअस्त्र भएको ठानिँदैन।

आफूमाथि आरोप लागेको भए पनि तेहरानले आफ्नो नागरिक परमाणु कार्यक्रमलाई परमाणुअस्त्रसम्पन्न राष्ट्र बन्न प्रयोग नगरेको दाबी गर्दै आएको छ।

भूगोल र जनसङ्ख्या

इरान इजरेलभन्दा निकै ठूलो देश हो। इरानको जनसङ्ख्या झन्डै आठ करोड ९० लाख छ भने इजरेलको एक करोडजति छ।

इरानसँग इजरेलमा सेवामा भएका सैनिकको सङ्ख्याभन्दा झन्डै छगुना बढी सैनिक छन्।

आईआईएसएसका अनुसार इरानसँग छ लाख र इजरेलसँग एक लाख ७० हजार सैनिक छन्।

इरानले इजरेलमाथि क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेपछि मृतसागरको किनारमा देखिएको एउटा बलिस्टिक क्षेप्यास्त्रको भग्नावशेष

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, इरानले इजरेलमाथि क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेपछि मृतसागरको किनारमा देखिएको एउटा बलिस्टिक क्षेप्यास्त्रको भग्नावशेष

इरानले कसरी प्रतिकार गर्ला

तेल अभिभ यूनिभर्सिटीसँग आबद्ध मध्यपूर्व अनुसन्धानकर्ता गर्ने डा एरिक रोन्ड्स्कीले इरानले हमला गर्दा उच्च स्तरको सतर्कता जारी गरेर इजरेलले विफलताको जिम्मेवारी लिएको छ।

छिमेकी देशहरूमा रहेका इरानसमर्थित लडाकुहरूले नियमित रूपमा इजरेली स्वामित्वमा रहेका स्थानमा हमला गर्दै आएका छन्। अनि उनीहरूमाथि इजरेलले जबाफी हमला पनि गर्दै आएको छ।

'जेन्स्' स्थित मध्यपूर्वसम्बन्धी प्रतिरक्षाविज्ञ जेरेमी बिनीले इजरेलले तत्कालै जबाफ दिने सम्भावना नरहेको बताउँछन्।

"बदला नै लिन चाहे भने पनि उनीहरूसँग कैयौँ विकल्प छन्। जस्तो, लेबनन र सिरियाका ठाउँहरूमा बमबारी गर्ने।"

बिनी परम्परागत शैलीको पूर्ण आकारको युद्ध हुने सम्भावना देख्दैनन्।

"सेना लड्न जाँदैन, जलसेना लड्न जाँदैन। उनीहरू (इरान र इजरेल) एकअर्काभन्दा निकै टाढा छन्।"

"हामी दुवै पक्षसँग भएको लामो दूरीमा प्रहार गर्ने क्षमता र अर्को पक्षको हवाई प्रतिरक्षा क्षमता भएको अवस्था नियाल्दै छौँ। हामीले गत शनिवार र आइतवार इरानको लामो दूरीको प्रहारविरुद्ध इजरेलको प्रतिरक्षा देख्यौँ।"

इजरेलले इरानमाथि आक्रमण गर्दा सिरिया, जोर्डन र इराकजस्ता अन्य सार्वभौम देशहरूको हवाई क्षेत्र उल्लङ्घन समेत गर्नुपर्ने औँल्याए।

यद्यपि इजरेलले इरानभित्रबाटै गोप्य रूपमा कार्य गर्न सक्ने सेवा विकास गरेको छ।

इरानले हूथी विद्रोहीहरूलाई ड्रोन आपूर्ति गरेको आरोप खेप्नुपरेको छ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, इरानले हूथी विद्रोहीहरूलाई ड्रोन आपूर्ति गरेको आरोप खेप्नुपरेको छ

‘इरान कार्ड’

मध्यपूर्व मामिलाका विज्ञ तारिख सुलेमनले बीबीसी उर्दूसँग कुरा गर्दै लडाइँ चर्किने सम्भावना नरहेको बताए।

तर इजरेलको संसद् र मन्त्रिपरिषद्‌मा युद्ध चाहने सदस्यहरू रहेको उनी औँल्याउँछन्। त्यसो हुँदा इजरेली प्रधानमन्त्रीलाई इरानमाथि कारबाही गर्न दबा‍व परेको छ।

"आफूलाई राजनीतिक रूपमा कमजोर महसुस गर्दा नेतन्याहू 'इरान कार्ड' प्रयोग गर्छन्।"

इजरेलको हीब्रू यूनिभर्सिटीले गरेको एक सर्वेक्षणमा झन्डै तीनचौथाइ इजरेली जनताले आफ्नो देशको सुरक्षा गठबन्धन र साझेदारीमा असर गर्ने भए इरानमा जबाफी कारबाही गर्न नहुने बताएका छन्।

उक्त विश्वविद्यालयको विज्ञप्तिका अनुसार उक्त सर्वेक्षण इन्टरनेट र टेलिफोनका माध्यमबाट १४ र १५ एप्रिलमा गरिएको थियो। त्यसमा यहुदी र अरब इजरेली समुदायका कुल १,४६६ महिला र पुरुष सहभागी थिए।

सन् २०२३ को १९ नोभेम्बरमा हुथी लडाकुहरूले ब्रिटिश स्वामित्वको जापानीहरूद्वारा सञ्चालित पानीजहाज कब्जा गरेका थिए

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् २०२३ को १९ नोभेम्बरमा हूथी लडाकुहरूले ब्रिटिश स्वामित्वमा रहेको र जापानीहरूद्वारा सञ्चालित पानीजहाज कब्जा गरेका थिए

इजरेल र इरानबीच चलेको छद्मयुद्ध के हो

अहिलेसम्म इजरेल र इरानले औपचारिक रूपमा युद्ध भएको छैन। तर उनीहरू अनौपचारिक द्वन्द्वमा संलग्न छन्।

इरानसहित अन्य देशमा महत्त्वपूर्ण इरानी व्यक्तिहरूको मृत्यु हुने गरी आक्रमण हुँदा त्यस्ता घटना इजरेलले गराएको ठानिन्छ। इरानले भने इजरेललाई 'प्रोक्सी' अर्थात् अरू कुनै पक्षमार्फत् आक्रमण गर्छ।

लेबननस्थित सैन्य तथा राजनीतिक समूह हिज्बुल्लाह इरानको सबैभन्दा ठूलो प्रोक्सी बनेर लड्ने गर्छ। हिज्बुल्लाहलाई साथ दिएको कुरा इरानले अस्वीकार पनि गरेको छैन।

इरानले गाजामा हमासलाई त्यसै गरी साथ दिन्छ। दशकौँदेखि इजरेलतर्फ रकेट हमला गरिरहेको हमासले अक्टोबर ७ को भीषण हमला गराएको हो।

इजरेल र पश्चिमा शक्तिहरूका विश्वासमा इरानले हमासलाई अस्त्र, गोलाबारुद र प्रशिक्षण प्रदान गरेको थियो।

इरानी प्रोक्सीको रूपमा यमनका हुथीहरू समेत देखिन्छन्

तस्बिर स्रोत, Houthi militants handout / EPA

तस्बिरको क्याप्शन, इरानी प्रोक्सीको रूपमा यमनका हुथीहरू समेत देखिन्छन्

अर्को इरानी प्रोक्सी यमनका हूथी लडाकुहरू हुन्। साउदी अरबका अनुसार हूथीहरूले साउदी अरबमाथि प्रहार गरेका क्षेप्यास्त्ररू इरानमा बनेका हुन्।

इरानसमर्थित समूहहरूसँग इराक र सिरियामा समेत उल्लेख्य शक्ति रहेको पाइन्छ।

इरानले सिरियाली सरकारलाई साथ दिन्छ र सिरियाली भूमिबाट समेत इजरेलमा हमला गर्ने गरेको बताइन्छ।

अहमन खवाजा, कार्ला रोश, रेजा सबेटी र क्रिस प्याट्रिजबाट अतिरिक्त रिपोर्टिङ

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।