इजरेलले इरानमा 'क्षेप्यास्त्र प्रहार गरेको' अमेरिकी अधिकारीहरूको भनाइ

तस्बिर स्रोत, Getty Images
अमेरिकी अधिकारीहरूले एउटा इजरेली क्षेप्यास्त्र इरानमा प्रहार गरिएको बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजलाई बताएका छन्।
तर अमेरिकाको रक्षा मन्त्रालय र इजरेली सेनाले उक्त विषयमा टिप्पणी गर्न अस्वीकार गरेका छन्।
इरानी सरकारी सञ्चारमाध्यमहरूले मध्यइरानको इस्फहान प्रान्तस्थित अन्तर्राष्ट्रिय विमानस्थलनजिकै विस्फोटन सुनिएको अपुष्ट जानकारी पाएको उल्लेख गरेका छन्।
यद्यपि इरानी अधिकारीहरूले इरानमाथि 'क्षेप्यास्त्र आक्रमण' भएको विवरणको खण्डन गरेका छन्।
इरानी सञ्चारमाध्यमले तीनवटा इजरेली 'ड्रोन' हरूलाई हावामा नै नष्ट गरिएको र तिनबाट केही हानि नभएको भन्ने विवरणहरू दिएका छन्।
इस्फहान सामरिक महत्त्व भएको प्रान्त हो।
इरानी सरकारी सञ्चारमाध्यमहरूका अनुसार कैयौँ सहरमा उडान रद्द गरिएको थियो। तर केही घण्टापछि तेहरानस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थल भने फेरि खुलेको सरकारी समाचारसंस्था 'आईआरएनए'ले जनाएको छ।
इरानका सर्वोच्च नेता आयातोल्लाह खामेनेईको ८५औँ जन्मदिन पारेर यी हमलाहरू भएका हुन्।
गत शनिवार राति इरानले इजरेललाई लक्ष्य बनाउँदै ३०० वटाभन्दा बढी ड्रोन र क्षेप्यास्त्र प्रहार गर्दै पहिलो पटक सोझै आक्रमण गरेको थियो।
इजरेलले उक्त आक्रमणको जबाफ दिने बताएको थियो। त्यस बेलादेखि नै इरानमा उच्च सतर्कता छ।
इरानले इजरेलमा आक्रमण गर्नुअघि सिरियास्थित इरानी कूटनीतिक नियोगमा भएको घातक आक्रमणमा केही इरानी सैन्य अधिकारीहरूको मृत्यु भएको थियो। इरानले उक्त आक्रमण इजरेलले गराएको आरोप लगाउँदै प्रतिशोध लिने बताउँदै आएको थियो।
दुवै पक्षलाई संयुक्त राष्ट्रसङ्घ र विश्वका अरू देशका नेताहरूले संयमित हुन आग्रह गर्दै आएका छन्।

तस्बिर स्रोत, IRIB
इरानी अधिकारी के भन्छन्
इरानी पक्षका अनुसार इरानको प्रतिरक्षा प्रणालीले 'तीनवटा साना ड्रोन' नष्ट पारिदिएको छ।
इरानी सेनाका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै सञ्चारमाध्यमले इस्फहानमा कुनै क्षति नभएको विवरण दिएका छन्।

"हवाई प्रतिरक्षा प्रणालीले सन्दिग्ध वस्तुहरूलाई निसाना बनाउँदा इस्फहानमा सुनिएको ठूलो आवाज निस्किएको हो," उनले भनेका छन्।
इरानको न्याश्नल सेन्टर अफ साइबरस्पेसका प्रवक्ता होसेन डालिरियनले सामाजिक सञ्जाल 'एक्स'मा लेख्दै "देशको सीमाबाहिरबाट इस्फहान वा देशका अरू भागमा हवाई आक्रमण नभएको" दाबी गरेका छन्।
इजरेलले क्वाड्कप्टरहरू [साना ड्रोनहरू] उडाउने प्रयास गरेको तर तिनलाई आफूहरूले खसादिएको उनको दाबी छ।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार सम्भावित आक्रमणको प्रतिकार गर्न राति देशका विभिन्न स्थानमा हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारिएको थियो।
तर कतै क्षेप्यास्त्रले सोझै प्रहार गरेको वा विस्फोटन भएको विवरण प्राप्त नभएको उनीहरूले जनाएका छन्।
सरकारी प्रसारक आईआरआईबीले “विश्वस्त स्रोत”लाई उल्लेख गर्दै परमाणुकेन्द्रहरू “पूर्ण रूपमा सुरक्षित रहेको” जनाएको छ।
इस्फहान किन महत्त्वपूर्ण
इजरेली क्षेप्यास्त्र प्रहार भएको भनिएको इस्फहान इरानको राजधानी तेहरानभन्दा झन्डै ३५० किलोमिटर दक्षिणमा पर्छ।
त्यहाँ कैयौँ परमाणुकेन्द्रहरू छन्। त्यहाँ एउटा मुख्य सैन्य आधार र सामरिक महत्त्वका स्थलहरू छन्। तर अहिलेसम्म कतै क्षेप्यास्त्र लागेको जानकारी प्राप्त भएको छैन।
दक्षिणी सिरियामा रेडार केन्द्रहरूलाई निसाना बनाएको देखिने गरी विस्फोटन भएको विवरण आएका छन्।
इराकको राजधानी बग्दाद र दक्षिणको बलिल प्रान्तमा समेत विस्फोटन भएको विवरण प्राप्त भएको छ।

तस्बिर स्रोत, Reuters
भूतपूर्व अमेरिकी अधिकारी के भन्छन्
संयुक्त राज्य अमेरिकाका भूतपूर्व सहायक विदेशमन्त्री मार्क किमिटले इरानका लागि इस्फहानको महत्त्व र इजरेलले उक्त स्थानलाई आक्रमणको निसाना बनाउनुको कारणबारे बीबीसीसँग कुरा गरेका छन्।
"इरानको पारमाणविक कार्यक्रमका लागि इस्फहान धेरै हदसम्म केन्द्र हो - तालिम, अनुसन्धान र कसैकसैले भनेअनुसार पारमाणविक सामर्थ्यको विकासका लागि," उनले भने।
"यो त्यसैले इजरेलले निसाना बनाउने सम्भावित स्थान हो। इजरेलीहरूको ठूलो डर आजको क्षेप्यास्त्र आक्रमण हुन्छ भन्ने हैन बरु भोलि हुने [इरानको] पारमाणविक सामर्थ्य हो।"
अमेरिकी अधिकारीहरूले सीबीएसलाई इजरेली क्षेप्यास्त्र इरानमा प्रहार भएको बताए पनि त्यो कस्तो खालको प्रहार थियो, लक्ष्य कहाँ थियो र क्षेप्यास्त्र लक्ष्यमा पुग्यो कि पुगेन भन्ने खुलाएका छैनन्।
सुन र तेलको भाउ बढ्यो
अमेरिकी अधिकारीहरूले इरानमा इजरेली क्षेप्यास्त्र प्रहार भएको बताएपछि विश्व बजारमा खनिज तेल र सुनको मूल्य बढेको छ।
शुक्रवार बिहान एशियामा 'ब्रेन्ट' कच्चा तेलको मूल्य तीन प्रतिशतले बढेर प्रतिब्यारल ९० अमेरिकी डलर पुगेको छ भने सुनको मूल्य प्रतिआउन्स (झन्डै २८.३५ ग्राम) को २,४०० डलर पुगेको छ।
सुनको मूल्य अहिलेसम्मकै सर्वाधिक भएको हो।
इरान खनिज तेलको सातौँ ठूलो उत्पादक हो।
जापान, हङ्कङ र दक्षिण कोरियामा स्टक बजार ओरालो लागेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








