के अमेरिका र साझेदार राष्ट्रले इजरेल र इरानबीच हुन सक्ने लडाइँ रोक्न सक्लान्

जो बाइडन र बेन्जमिन नेतन्याहू

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, इरानबाट प्रहार गरिएका क्षेप्यास्त्र नष्ट पार्न अमेरिकाले इजरेललाई सघाउँदै संयमित हुन आग्रह गरेको छ
    • Author, जेरमी बोअन
    • Role, बीबीसी अन्तर्राष्ट्रिय सम्पादक

इजरेलको युद्धसम्बन्धी मन्त्रिपरिषद्ले इरानविरुद्ध आफूले चाल्न सक्ने कदमबारे कुरा गर्दा पुरानै शैली अवलम्बन गरेको छ - आफूले उपयुक्त ठानेको समयमा र आफ्नै तरिकाले जबाफ दिने।

अक्टोबर ७ मा हमासले इजरेलमा अप्रत्याशित आक्रमण गरेपछि उक्त 'वार क्याबिनेट'मा संलग्न भएका विपक्षी नेता बेनी गान्ट्सले इजरेल र पश्चिमा साझेदारबीच एकता कायम हुनुपर्नेमा जोड दिएका छन्।

"इरानविरुद्ध इजरेल, इरानविरुद्ध विश्व। यस्तो हुनुपर्छ। इजरेलको सुरक्षाका लागि हामीले यस्तो रणनीतिक उपब्धिबाट फाइदा लिनुपर्छ।"

गान्ट्सका शब्दमा इरानको कुनै ठाउँमा इजरेलले आक्रमण गर्ने वा इरानभित्र खुलेरै धावा बोल्न सक्ने सम्भावनालाई अस्वीकार गरेको देखिँदैन। (इजरेलले इरानी पारमाणविक योजनालाई लक्ष्य बनाएर बारम्बार साइबर आक्रमण गरेको छ तथा अधिकारी र वैज्ञानिकहरूको हत्या गराएको छ।)

यद्यपि अमेरिकी राष्ट्रपति जो बाइडनले धनी पश्चिमा राष्ट्रहरूको समूह 'जीसेभन' को बैठक बोलाएर खोजेको कूटनीतिक प्रतिक्रियाका लागि समय हुन सक्छ।

इजरेलले दमास्कसस्थित इरानी कूटनीतिक नियोगमा दुई साताअघि हवाई हमला गरेपछि मध्यपूर्वमा युद्ध फैलिन सक्ने गरी तनाव चुलिएको हो।

छ महिनाअघि हमासले इजरेलमा गरेको हमलाको जबाफ दिन इजरेलले गाजामा सैन्य कारबाही थालेपछि सो क्षेत्र अशान्त छ।

एप्रिल १ मा सिरियाको राजधानीमा भएको उक्त कारबाहीमा एक वरिष्ठ सैन्य कमान्डर, उनका सहायक र अन्य सहयोगीहरूको ज्यान गएको थियो।

दमास्कस घटनाको अर्थ

सिरियामा गरिएको उक्त हमलाबारे इजरेलले अमेरिकासँग समन्वय गरेको थिएन।

इजरेलले इरानको इस्लामिक रेभलूशनरी गार्ड्स कोर (आईआरजीसी)का शीर्ष कमान्डरहरूको हत्या सम्भावित जोखिमको मूल्याङ्कन गरेरै गरेको हुनुपर्छ।

कूटनीतिक नियोगको कार्यालयमा वरिष्ठ सैन्य अधिकारीहरू भएकोले उक्त भवनलाई सजिलै लक्ष्यमा परेको इजरेलको तर्क छ। अझ महत्त्वपूर्ण कुरा के हो भने इरानले उक्त हवाई आक्रमणलाई आफ्नो भूमिमाथि भएको आक्रमणका रूपमा लियो।

त्यसैले दमास्कस घटनालगत्तै इरानले जबाफ दिन लागेको स्पष्ट भइसकेको थियो।

इरानको सन्देश घुमाउरो थिएन, देशका सर्वोच्च नेता आयातोल्लाह खामेनेईको स्पष्ट भाषामा इजरेललाई जबाफ दिने बताएका थिए।

इजरेल, अमेरिका र तिनका साझेदार राष्ट्रले प्रशस्त चेतावनी पाएका थिए। गृहराज्यको भ्रमणमा भएका जो बाइडनले गृहराज्य डेलवेरबाट ह्वाइटहाउस फर्किन पनि भ्याएका थिए।

इरानले सुपरसोनिक बलिस्टिक क्षेप्यास्त्र नभई कम गतिका ड्रोन प्रयोग गरेर आक्रमण थालेको थियो। ती ड्रोनहरू लक्ष्यनजिक पुग्नुअघि दुई घण्टाजति रेडारमा देखा परेका थिए।

इरानले प्रहार गरेको क्षेप्यास्त्र

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, इरानले प्रहार गरेका अधिकांश क्षेप्यास्त्रलाई आकाशमै नष्ट गरिएको इजरेलको दाबी छ

सोचेभन्दा ठूलो आक्रमण

सबैभन्दा कटु सम्बन्ध रहेको शत्रुपक्षबाट इजरेलमाथि भएको यो हमला धेरैले सोचेभन्दा ठूलो थियो। त्यसैले पनि धेरै इजरेलीहरू आफ्नो तर्फबाट जबाफ दिइनुपर्छ भन्ठान्छन्।

पटक इरानले पहिलो पटक आफ्नो भूमिबाट इजरेलाई लक्ष्य बनाएर ड्रोन, क्रूज र बलिस्टिक क्षेप्यास्त्रजस्ता सयौँ अस्त्र प्रहार गर्‍यो। तीमध्ये सबैजसोलाई शक्तिशाली हवाई प्रतिरक्षा प्रणालीले रोकिदियो।

त्यस्तो प्रणालीमा इजरेल आफैँ सक्षम छ। अमेरिका, यूके र जोर्डनले पनि उसलाई सघाए।

खास गरी अमेरिकाले रातभरि ठूलो साथ दियो।

राष्ट्रपति बाइडनले इजरेलको सुरक्षा गर्ने वचन दोहोर्‍याए।

त्यसको बदलामा अमेरिकाले इजरेलबाट संयम खोजेको छ। बाइडनले इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूलाई स्पष्ट सन्देश दिएका छन्।

"इरानी हमलालाई विफल पारिएको छ, इजरेलले जितेको छ। त्यसैले इरानी भूमिमा सैन्य हमला गरेर तनाव बढाउने काम नगर।"

एक वरिष्ठ पश्चिमा कूटनीतिज्ञले मसँगको कुराकानीमा अवस्था बिग्रिन नदिन यतिखेर एउटा रेखा कोर्न आवश्यक छ।

तेहरानको आशा

इरानको झण्डा र क्षेप्यास्त्र प्रहार गर्ने लन्चर

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, इरानले वर्षौँदेखि आफ्नो रकेट र क्षेप्यास्त्रमा ठूलो खर्च गर्दै आएको छ

त्यस्तो रेखा कोरियोस् भन्ने चाहना इरानको पनि हो। उसले दमास्कसमा भएको इजरेली हमलाको जबाफ दिइएको बताएको छ। आफूमाथि फेरि आक्रमण भए मात्र स्थिति अझ बिग्रिने उसको भनाइ छ।

दमास्कस घटनाको दुई सातामा देखा परेको सङ्कट र जोखिमपछि इरानी पक्ष साम्य हुन खोजेको देखिन्छ।

इरानले सम्भवतः आफूले गराएकोभन्दा बढी क्षति हुन्छ भन्ठानेको थियो। अथवा इजरेललाई प्रत्याक्रमण गर्न कम कारण दिने योजना उसको योजना हुनुपर्छ।

दमास्कसमा इजरेलले हमला गर्दा इरानले आफ्नो प्रतिरोधात्मक सैन्य सामर्थ्य गुमाएको अनुभव गरेको थियो। ऊ त्यो फेरि प्राप्त गर्न चाहन्थ्यो। तेहरानले प्रहार गरेका सबैजसो क्षेप्यास्त्र र ड्रोन इजरेल र उसका साझेदारले बीचमै रोकिदिएपछि अब उसका लागि त्यो कठिन हुन सक्छ।

यो इजरेलमा गरिएको पूर्ण आकारको आक्रमण भने होइन। इरानले वर्षौँदेखि रकेट र क्षेप्यास्त्र प्रयोग गर्ने फौजलाई सुदृढ बनाइरहेको थियो।

उसले अन्य कैयौँ अस्त्र प्रयोग गर्न सक्थ्यो। उसले लेबननमा रहेको हिज्बुल्लाह लडाकुहरूलाई पनि पूर्ण स्वरूपको आक्रमणमा सहभागी गराउन सक्थ्यो। तर इरानले त्यसो गरेन।

रकेट र क्षेप्यास्त्रहरू भएका लेबननको लडाकु तथा राजनीतिक समूह हिज्बुल्लाह इरानको सबैभन्दा बलियो साझेदार हो।

नेतन्याहूलाई केही राहत

इरानको हमलासँगै गाजाको विषय ओझेल पर्दा इजरेलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहू केही खुसी भएका हुन सक्छन्।

गाजामा विकसित भइरहेको भयावह मानवीय अवस्था अनि युद्ध गरेर बन्धक छुटाउने र हमासलाई सखाप पार्ने उनको उद्देश्यमा आफू विफल भएको बेलामा यसले उनलाई केही राहत दिन सक्छ।

गाजामा इजरेलले गरेको नाकाबन्दीका कारण भोकमरी हुन सक्ने अवस्था तथा बाइडन र नेतन्याहूबीच उत्पन्न विभाजनमा केही दिनअघिसम्म अन्तर्राष्ट्रिय ध्यान केन्द्रित थियो। तर यतिखेर उनीहरू एकताको कुरा गरिरहेका छन्।

नेतन्याहूले आफूलाई दृढ र उपयुक्त नेताका रूपमा प्रस्तुत गर्न सक्छन्। इजरेलभित्रै कैयौँ विरोधीहरूले उनलाई पदबाट हटाउन खोजेका छन्। यद्यपि उनी जनताको संरक्षकका रूपमा प्रस्तुत हुन सक्छन्।

उनीहरूका अनुसार अक्टोबर ७ अघि नेतन्याहूको उत्ताउला तथा कमजोर नीतिहरूका कारणले गर्दा नै हमासले इजरेल कमजोर रहेको आकलन गर्‍यो।

इजरेलले दमास्कसमा रहेको इरानी कूटनीतिक नियोगमा दुई साताअघि हमला गरेयता मध्यपूर्वमा युद्ध चर्कने अवस्था बनेको हो।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, इजरेलले दमास्कसमा रहेको इरानी कूटनीतिक नियोगमा दुई साताअघि हमला गरेपछि मध्यपूर्वमा युद्ध चर्किने अवस्था बनेको हो

अमेरिका मध्यपूर्वमा पूर्ण आकारको युद्ध फैलिन सक्ने अवस्था रोक्ने उपाय खोज्दै छ। त्यो अहिले पनि फेरिएको छैन।

इरानको कूटनीतिक नियोगमा इजरेली हमला र इजरेलमाथि इरानी आक्रमणसँगै दुवै पक्षले "खतराका रेखा" नाघेका छन्। केही दक्षिणपन्थी इजरेलीहरूले तत्काल जबाफ दिनुपर्ने माग गरेका छन् र उनीहरूबाट त्यस्तो माग भइरहने छ।

जीसेभनका कूटनीतिज्ञहरूको भूमिका उक्त क्षेत्रलाई विनाशकारी र बृहत्तर द्वन्द्वतर्फ धकेलिन नदिनु हुने छ।

हमासले इजरेलमा हमला गरेपछि छ महिनामा त्यस्तो अवस्था सुस्तरी नै भए पनि नराम्रो दिशातिर गएको छ।

प्रत्याक्रमण नगर्न बाइडनले दिएको सुझाव यदि इजरेलले मान्यो भने मध्यपूर्वले राहत महसुस गर्न सक्छ। यद्यपि खतरनाक अध्यायको अन्त्य भइसकेको सुनिश्चित भइसकेको छैन।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।