सन्दिग्ध इजरेली हमलामा इरानका दुई वरिष्ठ कमान्डर पनि मारिए, बदला लिने तेहरानको चेतावनी

वाणिज्य दूतावास

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, इरानी विदेशमन्त्री होसैन अमिरअब्दोल्लाहिअनले हमलालाई अन्तर्राष्ट्रिय महासन्धिहरूको उल्लङ्घन भनेका छन्

सिरियाको दमास्कसस्थित इरानी वाणिज्य दूतावास भवनमाथि इजरेलले गरेको सन्दिग्ध हमलाको कठोर जबाफ दिने तेहरानले चेतावनी दिएको छ।

हमलामा ११ जना मारिएका विवरणमा जनाइएको छ। तीमध्ये इरानको रिभोल्युश्नरी गार्ड्सका दुईजना वरिष्ठ कमान्डर पनि रहेका छन्।

रिभोल्युश्नरी गार्ड्सले विज्ञप्तिमार्फत् जनाएअनुसार मारिनेमा ब्रिगेडियर जेनरल मोहम्मद रेजा जाहेदी पनि छन्।

इरानी विदेशमन्त्री होसैन अमिरअब्दोल्लाहिअनले हमलालाई अन्तर्राष्ट्रिय महासन्धिहरूको उल्लङ्घन भनेका छन्।

तनाव चुलिने सङ्केत

दमास्कसको मेज्जेह जिल्लास्थित इरानी वाणिज्य दूतावास भवन हमलापछि धुजाधुजा भएको अनलाइनमा राखिएका भिडिओहरूमा देखिन्छ।

इरानको राजधानी तेहरानमा प्रदर्शनकारीहरूले इजरेलविरोधी नारा लगाउँदै इजरेली झन्डा जलाएका छन्।

जाहेदीको मृत्युका लागि इजरेल जिम्मेवार रहेको इरानले जनाएको छ जसलाई दुई देशबीच तनाव चुलिने एउटा सङ्केतको रूपमा हेरिँदै छ।

रेजा

तस्बिर स्रोत, Wikimedia

तस्बिरको क्याप्शन, मोहम्मद रेजा जाहेदी

इजरेली सेनाले विदेशी सञ्चारमाध्यमका रिपोर्टबारे प्रतिक्रिया नदिने बताएको छ।

ह्वाइट हाउसले राष्ट्रपति जो बाइडन विवरणहरूबारे “अवगत रहेको” जनाएको छ।

तर “निशाना र त्यसका लागि जिम्मेवार पक्षबारे” अमेरिकालाई थाहा हुन नसकेको ह्वाइट हाउसका एकजना प्रवक्ताले बताएका छन्।

दमास्कसमा सोमवार गरिएको हमलाको बदलामा उस्तै कदम चाल्ने अधिकार इरानसँग रहेको इरानी विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन्।

जबाफी कदमको सम्भावना

बीबीसीका मध्यपूर्व विश्लेषक सेबास्टिअन अशरका अनुसार पछिल्ला केही वर्षमा इजरेलले सिरियास्थित इरानी सम्बन्ध रहेका पूर्वाधारमाथि हमला गर्दै आएको छ। तर त्यस्ता हमलाको उसले विरलै जिम्मेवारी लिने गरेको छ।

उनी भन्छन्, “इजरेल र इरानको समर्थन रहेको हमासबीच युद्ध शुरू भएपछि यस्ता हमलाहरू बढेका छन्। तर यसले गम्भीर रूपमा तनाव चर्काउने देखिन्छ।”

उनका अनुसार इरानले जबाफी कदमका लागि समय लिन सक्छ र अनपेक्षित रूपमा उसले हमला गर्न सक्ने सम्भावना रहेको छ।

सिरियाली रक्षा मन्त्रालयका अनुसार इजरेली लडाकु विमानले इरानी वाणिज्य दूतावास रहेको भवनलाई निशाना बनाएको थियो।

सिरियाली हवाई प्रतिरक्षाले केही क्षेप्यास्त्रहरूलाई खसालिदिए। तर केही क्षेप्यास्त्रले भवनलाई ध्वस्त पारिदिएको सिरियाली रक्षा मन्त्रालयले उल्लेख गरेको छ।

भग्नावशेषबाट शवहरू निकाल्ने काम र घाइतेको उद्धार गर्ने कार्य भइरहेको मन्त्रालयले जनाएको छ।

फैसल मिक्दाद

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सिरियाली विदेशमन्त्री फैसल मिक्दाद

तर हताहत हुने व्यक्तिहरूको सङ्ख्या अथवा नामबारे उसले केही बताएको छैन।

हमलाको कडा निन्दा गरेका सिरियाली विदेशमन्त्री फैसल मेक्दादले “घृणित आतङ्कवादी हमला” को सङ्ज्ञा दिँदै त्यसमा “कैयौँ निर्दोष व्यक्ति मारिएका” बताएका छन्।

छुट्टै प्रसङ्गमा गाजामा एउटा हवाई हमलामा परी चारजना विदेशी सहायताकर्मी र उनीहरूका प्यालेस्टिनी चालक मारिएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।