इरानी सैन्य कमान्डर कासिम सुलेमानीको चिहान नजिकै विस्फोटन, कैयौँको मृत्यु

इरान

तस्बिर स्रोत, ANADOLU

इरानको रिभोलुशनरी गार्डस्‌का जनरल कासिम सुलेमानीको चौथो स्मृति दिवसका दिन उनको चिहान नजिकै भएका दुईवटा विस्फोटनमा १०० जना भन्दा बढी मारिएको त्यहाँका सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

इरानको राष्ट्रिय प्रसारकले अन्य कैयौँ घाइते भएको जनाएको छ।

सुलेमानीको स्मृति दिवसमा केरमन सहरको साहेब अल-जमान मस्जिद नजिकै कार्यक्रम भइरहेको थियो।

केरमन प्रान्तको आकस्मिक सेवाका प्रमुखले ती विस्फोटहरू बमका कारण भएको जनाएका छन्।

अनलाइनमा साझा गरिएका भिडिओहरूमा भुईँमा कैयौँ शवहरू छरिएका देखिन्छन्।

'आतङ्ककारी हमला'

इरान

तस्बिर स्रोत, Reuters

इरानको सरकारी प्रसारकले उद्धृत गरेका केरमन प्रान्तका उप-गभर्नरले उक्त हमला "आतङ्कवादी आक्रमण"का कारण भएको बताएका छन्।

भिडिओहरूमा सडकहरूमा शव र एम्बुलेन्सतर्फ मानिसहरू दौडिरहेका देखिन्छ।

कसले उक्त विस्फोट गराएको हो भन्ने यकिन भएको छैन र कुनै पनि समूहले तत्कालै त्यसको जिम्मा लिएको छैन।

तर पछिल्ला वर्षहरूमा इस्लामिक स्टेट र अन्य सुन्नी जिहादी समूहहरूले उक्त देशका शिया मस्जिदहरूमा घातक आक्रमण गरेको बताएका छन्।

स्थानीय अधिकारीहरूले रिमोटबाट विस्फोट गराइएको बताएका छन्।

सामाजिक सञ्जालहरूमा राखिएका भिडिओ फुटेजमा सुलेमानीको मृत्युको चौथो स्मृतिसभामा सहभागी हुन सयौँ इरानीहरू कब्रिस्तानतर्फ गइरहेको देखिन्छ।

सुलेमानीको चिहानमा भने क्षति नपुगेको भिडिओहरूमा देखिन्छ।

सुलेमानी कसरी मारिएका थिए?

सन् २०२० मा छिमेकी इराकमा अमेरिकी ड्रोन हमलामा मारिएका सुलेमानी

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, सन् २०२० मा छिमेकी इराकमा अमेरिकी ड्रोन हमलामा सुलेमानी मारिएका थिए

पूर्व अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको निर्देशनमा सुलेमानी मारिएका थिए।

सन् २०२० मा छिमेकी इराकमा अमेरिकी ड्रोन हमलामा उनको ज्यान गएको थियो।

सुलेमानीलाई इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईपछि सबैभन्दा शक्तिशाली व्यक्तित्वका रूपमा हेरिन्थ्यो।

रिभोलुशनरी गार्ड्सको विदेशमा कारबाही गर्ने शाखा क्विड फोर्सका कमाण्डरको रूपमा उनी उक्त क्षेत्रभरि इरानी नीति लागु गर्ने एक प्रमुख व्यक्ति थिए।

उनी क्विड फोर्सका गोप्य अभियानहरू चलाउने र उसका सहयोगी सरकार तथा हमास र हिजबुल्लाहलगायत सशस्त्र समूहहरूलाई सहयोग गर्ने कार्यमा क्रियाशील रहेको बताइन्थ्यो।

उनले ती समूहहरूलाई रकम, अस्त्र, गोप्य जानकारी र अन्य खाले सहयोग गर्ने गर्थे।

सन् २०२० मा उनको हत्याको आदेश दिने तत्कालीन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सुलेमानीलाई "विश्वकै एक नम्बर आतङ्ककारी" भनेका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।