ड्रोन हमलामा तीन अमेरिकी सैनिकको मृत्यु, इरान संलग्न भएको आरोप

अमेरिकी सैन्य शिविर

तस्बिर स्रोत, PLANET LABS/AP

तस्बिरको क्याप्शन, आक्रमणमा परेको सैन्य शिविरलाई अमेरिकी अधिकारीहरूले 'टावर २२' भबन्ने गरेका छन्

जोर्डनस्थित अमेरिकी शिविरमा भएको ड्रोन आक्रमणमा परी तीन अमेरिकी सैनिकको मृत्यु भएको छ। उक्त शिविर सिरियाको सीमानजिकै छ।

अमेरिकाले "इरानबाट समर्थनप्राप्त चरमपन्थी लडाकु समूहहरूले" आक्रमण गरेको दाबी गरेको छ।

अमेरिकी राष्ट्रपति जो बाइडनले प्रतिशोध लिने चेतावनी दिएका छन्। “हामीले यसको प्रतिक्रिया दिने छौँ,” उनले भने।

उक्त घटनामा दर्जनौँ सैनिक घाइते भएका छन्।

इरानले उक्त घटनामा आफू संलग्न नरहेको दाबी गरेको छ।

Map

हमासले गत अक्टोबर ७ मा इजरेलमा आक्रमण गरेपछि यो क्षेत्रमा हवाई आक्रमणमा परेर अमेरिकी सैनिकहरूको मृत्यु भएको पहिलो पटक हो।

यस क्षेत्रका अन्य अमेरिकी शिविरमा आक्रमण भएको भए पनि आइतवारअघिसम्म मानवीय क्षति नभएको अमेरिकी सेनाले जनाएको छ।

कसले गर्‍यो आक्रमण?

इस्लामिक रेजिस्टन्स इन इराक नामक समूहले उक्त आक्रमण आफूले गराएको दाबी गरेको छ।

यो समूह सन् २०२३ को अन्त्यतिर देखा परेको हो। यो इरानसँग सम्बन्ध भएका र इराकमा सक्रिय लडाकु समूहहरूको छाता सङ्गठन हो।

ड्रोन

तस्बिर स्रोत, EPA

यसअघि अमेरिकी सैनिकहरूलाई लक्ष्य गरिएका अरू तीनवटा आक्रमणमा पनि आफू संलग्न भएको दाबी इस्लामिक रेजिस्टन्स इन इराकले गरेको छ।

एउटा विज्ञप्ति जारी गर्दै उक्त समूहले सिरिया र जोर्डनस्थित तीनवटा अमेरिकी सैन्य शिविर र भूमध्यसागरस्थित इजरेली तेल खानीको संरचनामा आफूले आक्रमण गरेको जनाएको छ।

इरान के भन्छ?

इरानले अमेरिका र ब्रिटेनले दोषारोपण गरे जस्तो आक्रमणमा संलग्न भनिएको समूहलाई आफूले सहयोग नगरेको दाबी गरेको छ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले "प्रतिरोध समूहहरूले प्यालेस्टिनीहरू वा आआफ्ना देशको रक्षा कसरी गर्ने" भन्ने विषयमा "गरेको निर्णय प्रक्रियामा" इरान संलग्न नभएको बताएका छन्।

उनका अनुसार इरानप्रति लक्षित आरोप "यो क्षेत्रको वास्तविकता उल्ट्याउने निश्चित राजनीतिक उद्देश्यले लगाइएको" उनले इरानी सरकारी समाचार संस्था आईआरएनएलाई बताएका छन्।

अमेरिका के भन्छ?

बाइडनले अमेरिकी शिविरमा आक्रमण गर्नेहरूलाई "हामीले चाहेको बेला र तरिकाले उत्तरदायी" बनाइने बताएका छन्।

ह्वाइट हाउसका अनुसार राष्ट्रपति बाइडनलाई अमेरिकी रक्षामन्त्री लोयड अस्टिन र अरू अधिकारीले आइतवार बिहान उक्त घटनाबारे जानकारी दिएका थिए।

बाइडन

तस्बिर स्रोत, Reuters

बाइडनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “जिल र म अनि सम्पूर्ण अमेरिकीहरू उक्त अन्यायपूर्ण आक्रमणमा ज्यान गुमाएका हाम्रा योद्धाहरूको शोकमा तिनका परिवार र साथीहरूसँगै छौँ।”

परिवारलाई जानकारी गराउने औपचारिक प्रक्रिया पूरा नभइसकेका कारण मृत सैनिकहरूको नाम सार्वजनिक गरिएको छैन।

“मध्यपूर्वमा गए राति हाम्रा लागि निकै कठिन रात रह्यो। हामीले तीन वीर गुमाएका छौँ,” साउथ क्यारोलाइना भ्रमणको क्रममा अमेरिकी राष्ट्रपति बाइडनले भने।

अमेरिकी अधिकारीहरूका अनुसार कम्तीमा ३४ सैनिकको मस्तिष्कमा सम्भावित चोटको जाँच भइरहेको छ भने अन्य केहीलाई थप उपचारका लागि उद्धार गरिएको छ।

अधिकारीहरूका अनुसार सैनिकहरूको आवासीय क्षेत्रमा ड्रोन आक्रमण भएको थियो। त्यो पुष्टि भयो भने धेरै सैनिक हताहत हुनुको कारण स्पष्ट हुने छ।

सिरयाको सीमानजिकै पूर्वोत्तर जोर्डनस्थित रुक्बनमा रहेको सैन्य शिविरमा आख्रमण भएको यूएस सेन्ट्रल कमान्ड र राष्ट्रपति बाइडनले बताएका थिए।

पछि अमेरिकी अधिकारीहरूले उक्त स्थान 'टावर २२' भएको जानकारी दिए।

पानी जहाज

तस्बिर स्रोत, INDIAN NAVY

तस्बिरको क्याप्शन, हूथीको क्षेप्यास्त्र आक्रमणका कारण यूकेसँग सम्बन्धित एक ट्याङ्करमा आगो लागेको थियो

अन्य अखडामा पनि आक्रमण

अमेरिकी अधिकारीहरूले अक्टोबर १७ यता गत डिसेम्बरसम्म मात्रै इराक र सिरियामा रहेका अमेरिकी शिविरमा ९७ पटक आक्रमण भएको बताएका छन्।

इराकमा एउटा ड्रोन हमलामा तीन अमेरिकी सैनिक घाइते भएपछि गत महिना अमेरिकाले इरानबाट समर्थनप्रा्त समूहहरूमाथि आक्रमण गरेको थियो।

ज्यानुअरीको सुरुमै बग्दादमा अमेरिकाले गरेको प्रत्याक्रमणमा एक लडाकु नेता मारिएका थिए।

एबीसी न्यूजमा आइतवार प्रसारित यसअघि नै लिइएको अन्तर्वार्तामा एक वरिष्ठ अमेरिकी अधिकारीले उक्त क्षेत्रमा द्वन्द्व बढाउने अमेरिकी उद्देश्य नभएको बताएका छन्।

इरानसमर्थित हूथी विद्रोहीहरूले व्यावसायिक पानीजहाजहरूमा आक्रमण गर्न थालेपछि अमेरिकी गठबन्धनका सैनिकहरू पछिल्लो समय रेड सीमा पनि तैनाथ भएका छन्।

यमनमा आश्रय लिएर आफ्नो गतिविधि सञ्चालन गरिरहेको हूथी विद्रोही समूहले गाजामा इजरेलले गरिरहेको सैन्य कारबाहीका बेला हमासको समर्थन गर्न जहाजमाथि आक्रमण गरिएको जनाएको छ।

अमेरिकी सेनाले यस्ता “गैरकानुनी गतिविधिको गाजामा भइरहेको युद्धसँग कुनै सम्बन्ध नरहेको” यसअघि बताएको थियो।

अमेरिकाको सेन्ट्रल कमान्डले हूथी समूहको आक्रमणका कारण ४० देश प्रभावित भएको जनाएको छ।

केही साताअघि हूथी समूहलाई यमनतिर पठाइएका इरानमा निर्मित हतियारहरू खोस्न अमेरिकाले कारबाही गरेको थियो। त्यस क्रममा सोमालियाको तटीय क्षेत्रमा हराइरहेका दुई अमेरिकी सैनिकको मृत्यु भएको ठानिएको छ।

ती सैनिक अमेरिकी जलसेनाका विशेष तालिमप्राप्त नेभी सील थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।