बलोचिस्तान कहाँ छ, पाकिस्तान र इरानबीच किन चर्कियो तनाव

बलोचिस्तान

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, इरानले पाकिस्तानसँगको सीामामा क्षेप्यास्त्र आक्रमण गरेपछि बलोचिस्तानमा सुरक्षा व्यवस्था बढाइएको छ
    • Author, फरहत जावेद
    • Role, बीबीसी उर्दू, बलोचिस्तान

पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त बलोचिस्तान स्रोतका हिसाबले सबैभन्दा धनी भएर पनि देशकै सबैभन्दा कम विकसित प्रान्त हो।

बलोचिस्तान नामले एउटा प्रान्तलाई मात्रै नभएर अफगानिस्तान समेत समेटिएको ठूलो क्षेत्रलाई जनाउँछ।

विगत केही सातामा पाकिस्तान र इरान दुवैले यस क्षेत्रमा रहेका लडाकुहरूलाई निसाना बनाएर एकअर्काका सीमामा हमला गरे।

दुई देशबीच बढ्दो द्वन्द्व बुझ्नका लागि पृथक् सांस्कृतिक र ऐतिहासिक पहिचान बोकेको बलोचिस्तान के हो भनेर यहाँ चर्चा गरिएको छ।

बलोचिस्तान कहाँ छ र यो किन महत्त्वपूर्ण छ?

बलोचिस्तानको सबैभन्दा ठूलो भूभाग दक्षिणपश्चिमी पाकिस्तानमा पर्छ।

यो प्रान्तले पाकिस्तानको कूल भूभागको ४१ प्रतिशत भाग गटेको छ। तर देशको २४ करोड जनसङ्ख्यामध्ये यो ठाउँमा जम्मा छ प्रतिशत मानिस मात्रै बसोबास गर्छन्।

यहाँको इतिहास गृहयुद्ध, आतङ्कवाद र मानवाधिकार उल्लङ्घनका घटनाहरूका कारण धूमिल छ।

बलोचिस्तानको सीमा अस्थिरताको सामना गरिरहेको इरान, तालिबानको नियन्त्रण रहेको अफगानिस्तानसँगै अरब सागरको तटीय क्षेत्रसँग पनि जोडिएको छ।

बलोचिस्तान

यो क्षेत्रको नाम यहाँ सयौँ वर्षदेखि बसोबास गर्दै आएका बलोच आदिवासीहरूको नामबाट रहेको हो। बलोचहरू पश्तुनहरूपछि सबैभन्दा धेरै जनसङ्ख्या भएका आदिवासी हुन्। कैयौँ बलोचहरू छिमेकी इरान र अफगानिस्तानका प्रान्तहरूमा पनि बस्दै आएका छन्।

ग्यास र खनिज पदार्थजस्ता प्राकृतिक स्रोतका हिसाबले बलोचिस्तान पाकिस्तानको सबैभन्दा धनी प्रान्त हो। चीनको अनुदानमा बनिरहेको अर्बौँ लगानीको परियोजना ‘चाइना पाकिस्तान इकोनोमिक करिडोर’ पनि यही क्षेत्रमा छ।

यो परियोजना चिनियाँ राष्ट्रपति सी जिन्पिङले अघि सारेको 'बेल्ट एन्ड रोड इनिशटिभ'को एक अङ्ग हो। यसअन्तर्गत ओमानको खाडीनजिक ग्वादरमा बन्ने बन्दरगाह महत्त्वपूर्ण 'चेकपोइन्ट' बन्ने ठानिएको छ।

यो प्रान्तमा चीनले पनि खानीसम्बन्धी परियोजनाहरू सञ्चालन गरिरहेको छ।

साथै ग्वादरमा चीनले बनाउँदै गरेको अन्तर्राष्ट्रिय विमानस्थलको पाकिस्तानका विद्रोही समूहहरूले खरो विरोध गर्दै आएका छन्।

बलोचिस्तानमा बन्दै गरेको तामा र सुनका लागि विश्वकै सबैभन्दा ठूलो खानी हुने भनिएको ‘रेको डिग’मा क्यानडाको खानी सञ्चालन गर्ने कम्पनी ‘ब्यारक गोल्ड’को ५० प्रतिशत स्वामित्व छ।

यहाँ जारी अशान्तिको कारण के हो?

इरानी क्षेप्यास्त्र

तस्बिर स्रोत, Reuters

पाकिस्तान र इरान दुवैतर्फ रहेका स्थानीय समूहहरू बलोचिस्तानको स्वायत्तताको माग गर्दै दशकौँदेखि सङ्घर्ष गरिरहेका छन्।

दुई देशबीचको ताजा तनाव ज्यानुअरी १६ मा इरानले पाकिस्तानमा आक्रमण गरेपछि सुरु भएको हो। इरानी भूमिबाट भएको आक्रमणमा दुई बालबालिका मारिएको पाकिस्तानले बताएको छ।

इरानी भूमिमा दुई वटा क्षेप्यास्त्र प्रहार गरेर पाकिस्तानले त्यसको बदला लियो। इरानका अनुसार त्यसमा नौ जनाको मृत्यु भयो।

इरानले आफ्नो देशविरुद्ध सक्रिय रहेको जैश अल-अदल लडाकु समूहलाई लक्षित गरेर उक्त आक्रमण गरिएको दाबी गरेको छ।

पाकिस्तानले भने इरानमा रहेका दुई वटा लडाकु समूहहरू बलोचिस्तान लिबरेशन आर्मी र बलोचिस्तान लिबरेशन फ्रन्टका मानिसहरू लुकेर बसेको स्थानमा हमला गरिएको जनाएको छ।

पाकिस्तानले सन् १९८० पछि पहिलो पटक इरानी भूमिमा आक्रमण गरेको हो।

गाजामा लडाइँ चर्किँदै गएका कारण मध्यपूर्वमा जारी तनावबीच दुई देशबीच द्वन्द्व देखिएको हो।

इरानले पाकिस्तानमा मात्रै आक्रमण गरेको भने होइन। उसले एकै दिन इराक र सिरियाका विभिन्न स्थानमा पनि आक्रमण गरेको थियो।

पाकिस्तानको बलोचिस्तान प्रान्तका प्राकृतिक स्रोतहरूमा अत्यधिक दोहन भइरहेको बताइन्छ र यो क्षेत्रमा द्वन्द्वको प्रमुख कारण पनि यही विषय हो।

विशेष गरी बलोचहरूले यहाँको स्रोतको सरकारले अत्यधिक दोहन गरेको तर विकासलाई ध्यान नदिएको आरोप लगाउने गरेका छन्।

हजारौँ बेपत्ता भएको ठाउँ

इस्लामाबादस्थित पाकिस्तानी विदेश मन्त्रालयको भवन

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, इस्लामाबादस्थित पाकिस्तानी विदेश मन्त्रालयको भवनमा खटिएका एक सुरक्षाकर्मी

यहाँ पाकिस्तान सरकारविरुद्ध र स्वतन्त्र राज्यको माग गर्दै ब्रिटिश भारतीय उपनिवेशबाट पाकिस्तान स्वतन्त्र भएदेखि नै सशस्त्र विद्रोह हुँदै आएको छ।

यहाँ सन् १९५० को दशक देखि १९७० को दशकसम्म विद्रोह चलेको भए पनि त्यसपछिका वर्षहरूमा विद्रोह केही शान्त भएको थियो।

तर सन् २००३ मा पाकिस्तानमा सेनाको समर्थनमा परबेज मुसर्रफको शासन सुरु भएपछि द्वन्द्व फेरि बढ्यो।

उनले बलोचिस्तानका विद्रोहीविरुद्ध चलाएको अभियानमा बलोचहरूका नेता नवाब अकबर खान बुग्ती मारिएको विषय निकै विवादास्पद पनि बन्यो।

यस क्षेत्रमा पाकिस्तानी सेना र गुप्तचर निकायहरूले रक्तपातपूर्ण दमन अघि बढाउँदा हजारौँ मानिसहरू बेपत्ता भएको, नियन्त्रणमा लिइएको र कैयौँको ज्यान जाने गरी यातना दिइएको बताइन्छ।

पाकिस्तानले भने यस्ता आरोपको खण्डन गर्दै आएको छ।

भोइस अफ बलोच मिसिङ पर्सन्स (भीबीएमपी) नामक संस्थाका अनुसार बलोचिस्तानबाट ७,००० जना मानिसहरू बेपत्ता भएका थिए। तर बेपत्ता पारिएका व्यक्तिहरूको खोजीका लागि गठन गरिएको आयोगले सन् २०२३ को अक्टोबरसम्म बेपत्ता मानिसहरूको सङ्ख्या ४५४ मात्रै रहेको जनाएको छ।

पाकिस्तानका अन्तरिम प्रधानमन्त्रीले हालै बीबीसीसँगको अन्तर्वार्तामा बलोचिस्तानबाट ५० जना मात्रै बेपत्ता भएको र आयोगले सार्वजनिक गरेको विवरण “अतिशयोक्ति” भएको बताएका थिए।

यसमध्ये केही मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहँदा इस्लामाबादमा महिला र पीडित परिवारका सदस्यहरूको ठूलो समूहले विरोध प्रदर्शन गरिरहेका छन्।

बलोचिस्तानमा कुनकुन विद्रोही सङ्गठन सक्रिय छन्?

बलोचिस्तान

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

बलोचिस्तान प्रान्तमा कैयौँ विद्रोही समूहहरू भए पनि दुइटा समूह सबैभन्दा धेरै सक्रिय छन्। ती बीएलएफ र बीएलए हुन्।

यी समूहहरू पाकिस्तानी भूमिमै रहेर पाकिस्तानविरुद्ध गतिविधि गरिरहेको दाबी गरिएको छ। तर पाकिस्तानले भने दुवै सङ्गठनले इरान र अफगानिस्तानमा लुकेर गतिविधि गरिरहेको दाबी गर्दै आएको छ।

पाकिस्तानले इरानको सरकारले यी समूहका नेता र विद्रोहीहरूलाई आश्रय दिएको आरोप लगाएको छ। इरानले भने यस्तो आरोप अस्वीकार गर्दै आएको छ।

पाकिस्तानले बलोचिस्तानमा सक्रिय कतिपय समूहलाई भारतले पनि आर्थिक सहयोग गर्दै आएको दाबी गरेको छ। तर भारतले पनि यस्तो दाबीको खण्डन गर्ने गरेको छ।

पछिल्ला दुई वर्षमा पाकिस्तान सरकारले बीएलए र पाकिस्तानी तालिबान टीटीपीबाट भएको भनिएका संयुक्त आक्रमणबारे गहिरो चिन्ता व्यक्त गरेको छ।

टीटीपी अफगानिस्तान-पाकिस्तान सीमामा सक्रिय सशस्त्र इस्लामिक अतिवादी समूहहरूको छाता सङ्गठन हो।

बलोचिस्तान लिबरेशन आर्मी कस्तो सङ्गठन हो?

बलोच विद्रोहीहरू

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, सन् २०१५ मा बलोचिस्तान लिबरेशन आर्मीका केही विद्रोहीहरूले सरकारसामु आत्मसमर्पण गरेका थिए

बीएलए पाकिस्तानको सत्तालाई चुनौती दिने विद्रोही सङ्गठन हो। यूके र अमेरिकालगायत कैयौँ पश्चिमा देशहरूले यो समूहलाई ‘अन्तर्राष्ट्रिय आतङ्कवादी सङ्गठन’ मानेका छन्।

पछिल्ला वर्षहरूमा बीएलएले आक्रमणहरू तीव्र बनाएको छ। उसको निसाना पाकिस्तानी सुरक्षा निकायहरूबाट मोडिएर बलोचिस्तानमा सञ्चालित परियोजनामा कार्यरत चिनियाँ नागरिकहरूप्रति लक्षित हुन थालेको देखिएको छ।

अरू विद्रोही समूहसँग धेरै समानता भए पनि बीएलएफले चाहिँ बलोचिस्तानका ग्यास परियोजनाहरू, पूर्वाधारहरू र सुरक्षा चौकीहरूलाई निसाना बनाउँदै आएको छ।

यो समूहले सन् २०११ देखि पाकिस्तानी सुरक्षा निकाय, विदेशी कामदार, सरकारी मानिसहरू र पत्रकारमाथि आक्रमण गर्दै आएको छ।

सन् १९६४ मा सिरियामा स्थापना भएको बीएलएफ सुरुमा इरानी बलोच विद्रोहमा संलग्न भयो।

इरानी बलोचहरूले त्यहाँको सरकारविरुद्ध विद्रोह गरेका थिए।

पाँच वर्षको द्वन्द्वपछि इरानको शाहविरुद्ध जारी विद्रोह वार्तामार्फत् अन्त्य भयो।

लगत्तै अन्य बलोच सङ्गठनहरूसँगै बीएलएफ पनि पाकिस्तान सरकारविरुद्ध उत्रियो।

यी सङ्गठनहरूले सन् १९७० दशकदेखि अफगानिस्तानमा शरण लिएर गतिविधि गर्दै आइरहेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।