अफगानिस्तान: तालिबान, अलकायदा र इस्लामीक स्टेट बीचको भिन्नता के-के हुन्

तालिबान लडाकु

तस्बिर स्रोत, Getty Images

अफगानिस्तानको सत्तामा तालिबान आउँदा विश्वभरका जिहादीहरूले उत्सव मनाए। यमनसहित केही देशमा खुसियाली मनाइयो भने सोमालियामा मिठाई बाँडियो।

दक्षिण एशियामा भने इस्लाम अतिवादी समूहहरूले आफ्नो दृढतासामु पश्चिमा सैन्य शक्तिको हार भएको भन्दै अनलाइनमा बधाई साटासाट भयो।

कतिपय विज्ञहरू अब मध्यपूर्व एशियामा जिहादीहरूको युग सुरु हुने चिन्ता व्यक्त गरिरहेका छन्।

पछिल्ला वर्षहरूमा निकै कमजोर भए पनि सक्रिय अलकायदा र इस्लामीक स्टेट आईएससँग आबद्ध समूहहरूबाट खतरा देखिएको बताइन्छ।

अमेरिकासँगको सम्झौतामा तालिबानले पश्चिमा देशहरूमाथि निशाना बनाउने कुनै पनि अतिवादी समूहलाई आश्रय नदिने बताए पनि अलकायदासँग तालिबानको सम्बन्ध अझै निकटकै छ।

अलकायदाको समेत प्रतिद्वन्द्वी आईएसका लागि चाहिँ अब आफ्नो उपादेयता प्रदर्शन गर्नुपर्ने दबाव हुनसक्ने कतिपय विज्ञहरू बताउँछन्।

आईएस खोरासानले आफ्नो उपस्थिति देखाउने समय खर्च नगरी अगस्त २६ मा काबुल विमानस्थल बाहिर आक्रमण गर्‍यो। यो समूहको अब हमलामा १३ अमेरिकी सैनिक सहित १७० जना मारिए।

तर कट्टरपन्थी विचारधाराबाहेक यी तीन समूह के कारण फरक छन् त?

"तालिबान अफगानिस्तानको सबैभन्दा महत्त्वपूर्ण खेलाडी हो। अलकायदा आफ्नो सञ्जाल पुन: निर्माण गर्न प्रयासरत अन्तर्राष्ट्रिय जिहादी समूह हो। इस्लामीक स्टेट पनि उस्तै नै हो तर यो अलकायदा र तालिबान दुवैको घातक दुस्मन हो," न्युयोर्कस्थित सोपान सेन्टरका सुरक्षा विश्लेषक कोलिन क्लर्क भन्छन्।

इस्लामीक स्टेट इराक र सिरियामा सक्रिय छ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, इस्लामीक स्टेट इराक र सिरियामा सक्रिय छ

कहाँबाट भयो उदय?

अलकायदा र तालिबान दुवै सन् १९८० को अन्त्यतिर अफगानिस्तानमा सोभियत सङ्घको आक्रमणविरुद्ध प्रतिकार र सन् १९९० को सुरुतिर अफगानिस्तानमा देखिएको आन्तरिक द्वन्द्वसँगै उदय भएका हुन्।

आईएस त्यसको वर्षौँपछि सन् २००३ मा अमेरिकाले इराकमाथि आक्रमण गरेपछि अलकायदाकै स्थानीय शाखाको अवशेषहरूबाट विस्तार भएर बनेको समूह हो।

सन् २००७ मा इराकमा अमेरिकी फौज थपिएपछि निकै वर्षसम्म हराएको यो समूह सन् २०११ पछि फेरि देखिन थाल्यो।

अलकायदा साउदी अर्बपति ओसामा बिन लादेनले सन् १९८० को अन्त्यतिर स्थापना गरेका थिए।

अङ्ग्रेजीमा अलकायदाको अर्थ आधार वा सञ्जाल भन्ने हुन्छ। यो समूहले सोभियत फौजविरुद्ध लडिरहेका मुस्लिम समूहका लागि आवश्यक हतियार र बन्दोबस्तीका सामग्री मिलाउने सञ्जालको काम गर्‍यो।

बिन लादेनले विश्वभरका मुस्लिम धर्मालम्बीलाई अलकायदामा भर्ना गरे।

ओसामा बिन लादेन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, ओसामा बिन लादेन

अफगानिस्तानबाट सोभियत फौज फिर्ता भएसँगै पाश्तो भाषामा "विद्यार्थीहरू" भनेर बुझिने तालिबानको उदय सन् १९९० को सुरुतिर उत्तरी पाकिस्तानमा भएको हो।

सुन्नी इस्लामको कट्टरपन्थी समूहको रूपमा आफूलाई प्रचार गरेको पाश्तो आन्दोलन सुरुमा साउदी अरबबाट प्रायोजित धार्मिक गोष्ठीहरूमा देखा पर्‍यो।

तालिबानले सुरुमा आफू सत्तामा पुगेपछि पाकिस्तान र अफगानिस्तानबीच फैलिएको पाश्तुन क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने र शरिया कानुनको कठोर नियमहरू लागु गर्ने वाचा गरेको थियो।

दक्षिण पश्चिमी अफगानिस्तानबाट तालिबानले आफ्नो प्रभाव निकै छिटो विस्तार गर्‍यो कि सन् १९९६ मा उनीहरूले राष्ट्रपति बुरानुद्धिन रब्बानीको सरकारलाई अपदस्त गर्दै राजधानी काबुल कब्जा गरे।

भिडिओ क्याप्शन सुरु हुँदैछ, आईएस विद्रोहीको अन्तिम किल्ला स्थलको विशेष भिडिओ

त्यसको दुई वर्षमा उनीहरूले अफगानिस्तानको ८० प्रतिशत क्षेत्र आफ्नो नियन्त्रणमा लिइसकेका थिए।

त्यस बेलासम्म अलकायदा बन्दोबस्तका सामान मिलाउने सञ्जालभन्दा माथि उठिसकेको थियो।

अलकायदा विश्वव्यापी महत्त्वाकाङ्क्षा सहितको जिहादी सङ्गठनमा परिणत भयो। आफूलाई गरेको सहयोगप्रति कृतज्ञ तालिबानले बदवालमा अलकायदालाई अफगानिस्तानमा स्वागत गर्‍यो।

इराकमा विदेशी फौजसँग प्रतिवादमा खरो उत्रिएको अलकायदा बिस्तारै विश्वव्यापी आकाङ्क्षा लिएर अघि बढ्यो। सन् २००६ मा इस्लामीक स्टेट इराक सहितका अतिवादी समूहहरूलाई समेट्दै यो समूह सन् २०११ बाट युद्धग्रस्त सिरियातर्फ अघि बढ्यो।

इस्लामको व्याख्या

पाकिस्तानमा मुलसमानहरू

तस्बिर स्रोत, Getty Images

तालिबान, अलकायदा र आईएसबीचको साझा विशेषता भनेको यी तीनै वटा समूह सुन्नी इस्लामका कट्टरपन्थी समूह हुन्।

"यी तीनै वटा समूह सामाजिक र राजनीतिक जीवनलाई धार्मिक जीवनसँग अलग गर्न नसकिने विश्वास गर्छन्," लन्डनस्थित किङ्स कलेजका प्राज्ञ मिसेल ग्रोपि भन्छन्।

"आस्थाको निम्ति हुने हिंसा उनीहरूका लागि जायज हो र यो उनीहरूको कर्तव्य पनि हो। जो लड्दैन, ती यी समूहका नजरमा खराब मुसलमान हो," उनले बीबीसीसँग भने।

आफूहरू खतरामा परेका बेला लेखिएका उनीहरूका पवित्र ग्रन्थहरूको व्याख्याबाट यो धारणा बुझ्न सकिने ग्रोपि बताउँछन्।

बहुसङ्ख्यक मुसलमानहरूले यस्ता हिंस्रक सिद्धान्तहरू अस्वीकार गर्दै आएका छन्।

"उनीहरूका भनाइमा धर्मको सुरुवातमा, धर्म खतरामा परेको समयमा र लडाइँको बेला मात्रै यो सही थियो," उनी थप्छन्।

धार्मिक मान्यतामा उनीहरूको दृष्टिकोण समान रहे पनि अतिवादमा यी तिनै समूहहरू फरक रहेको उनीहरूको लक्ष्यबाट प्रस्ट हुन्छ।

कतिपय विज्ञहरूका बुझाइमा यो नै अलकायदा, आईएस र तालिवानबीचको मुख्य भिन्नता हो।

लक्ष्य के हो?

तालिबान लडाकु

तस्बिर स्रोत, Getty Images

तालिबानको चासो अफगानिस्तानमा मात्रै सीमित रहे पनि अलकायदा र आईएसको विश्वव्यापी आकाङ्क्षा छ।

सन् १९९० को दशमा अफगानिस्तानको सत्तामा तालिबान पुग्दा शरिया कानुन अभ्यासमा ल्यायो।

महिलाहरूका लागि कडा नियमहरू लागु गर्नुका साथै साथै सार्वजनिक स्थानमा फाँसी दिने, कोर्रा हान्ने र अङ्गभङ्ग बनाउनेजस्ता कठोर सजाय तालिबान शासनमा दिइयो।

त्यही अवस्था दोहोरिने डरले तालिबानले अफगानिस्तान कब्जा गर्नासाथ धेरै मानिसहरूलाई देश छोडेर बाहिरिन बाध्य गर्‍यो।

वासिङ्टनस्थित जर्जटाउन विश्वविद्यालयका मध्यएसिया आतङ्कवाद विज्ञ ड्यानियल बाइमन अलकायदा र आईएस अझै कट्टर भएको बताउँछन्।

"तालिबान चाहिँ विगतको आदर्श मुस्लिम देशमा अफगानिस्तानलाई फर्काउन चाहन्छ," बाइमन भन्छन्।

अलकायदा र आईएसबीच केही महत्त्वपूर्ण कुरामा मतभेद भए पनि दुवैको चाहना विश्वभर मुस्लिम राज्य बनाउने रहेको बाइमनको बुझाइ छ।

"आईएस अहिले नै मुस्लिम राज्य बनाउने पक्षमा छ भने तालिबान चाहिँ त्यसका लागि जिहादी र मुसलमान समुदाय अझै तयार भई नसकेको बुझाइ राख्छ," उनी भन्छन्।

शत्रु को हुन्?

अमेरिकी पूर्वराष्ट्रपति जर्ज डब्ल्यु बुसले सन् २००१ मा अफगानिस्तानमाथि आक्रमण गर्न आदेश दिएका थिए

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अमेरिकी पूर्वराष्ट्रपति जर्ज डब्ल्यु बुसले सन् २००१ मा अफगानिस्तानमाथि आक्रमण गर्न आदेश दिएका थिए

तालिबान, अलकायदा र आईएकका केही साझा र केही फरक शत्रुहरू छन्।

अमेरिका र पश्चिमा देशहरू प्रमुख साझा शत्रु हुन् भने त्यसका सहयोगीहरू र राज्यलाई धर्मसँग अलग गरेका देशहरू पनि उनीहरूका साझा शत्रु हुन्।

"आईएस सुरु देखिनै अलकायदाभन्दा हिंस्रक हो। यसले पश्चिमा देशहरूका अतिरिक्त विचारधारा नमिल्ने मुस्लिमहरूसँग पनि लडाइँ गर्‍यो," बाइमन भन्छन्।

अलकायदाले अमेरिकालाई मुख्य शत्रु माने पनि आईएसले सिया र मध्यपूर्वका अन्य धार्मिक अल्पसङ्ख्यक समुदायमाथि पनि आक्रमण गर्दै आएको छ।

बाइमनका अनुसार अलकायदा सिया समुदायमाथि आक्रमण गर्नुलाई स्रोत र साधनको क्षति र निकै अतिवादी काम ठान्छ।

किङ्स कलेजका प्राज्ञ ग्रोपिका अनुसार तालिबान सत्तामा आएपछि उसको आईएससँग थप दुरी बढेको छ।

आईएसले तालिबानलाई पश्चिमा सेना फिर्तीका लागि सहमति गरेको भन्दै द्रोहीको सङ्ज्ञा दिएको छ।

तर विज्ञहरूका अनुसार आईएसको अफगानिस्तान शाखा र तालिबान तेस्रो समूहको माध्यमबाट नजिक जोडिएका छन्।

अफगानिस्तानको हतियारधारी हक्कानी समूह तालिबान र आईएस दुवैसँग नजिक रहेको उनीहरूको बुझाइ छ।

काम गर्ने तरिकमा के फरक छ?

अलकायदाले सन् २००१ मा अमेरिकामा आतङ्ककारी हमला गरेको थियो

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अलकायदाले सन् २००१ मा अमेरिकामा आतङ्ककारी हमला गरेको थियो

अलकायदा ९/११ आक्रमण भनेर चिनिने सन् २००१ मा अमेरिकाको न्युयोर्क आक्रमणका कारण चिनिन्छ।

अलकायदा मध्यपूर्वस्थित इस्लामका पवित्र क्षेत्रहरू र साउदी अरबबाट अमेरिकालाई फर्काउन चाहन्छ।

बाइमनका अनुसार आईएस चाहिँ थप हिंसात्मक गतिविधिबाट उसका शत्रुहरूलाई तर्साउन चाहन्छ।

उसले आम नरसंहार, सार्वजनिक स्थलमा हत्या र बलात्कार जस्ता गतिविधिबाट स्थानीय मानिसहरूलाई आतङ्कित बनाउँदै आफूमा समाहित गर्ने कोसिस गर्छ।

सन् २०१४ देखि २०१७ को बीचमा इराक र सिरियाका धेरै क्षेत्र आफ्नो नियन्त्रणमा लिएको आईएसले त्यसयता पश्चिमा कुर्दिस र रुससमर्थित सिरियाली फौजसँग हार बेहोरिरहेको छ।

सन् २०१९ मा सिरियामा आधार क्षेत्रमा पनि हार बेहोरेपछि यो समूह अदृश्य सञ्जालमा सीमित भए पनि अझै चुनौतीको रूपमा रहेको छ।

भर्ना लिने प्रक्रिया

काबुलमा आक्रमण

तस्बिर स्रोत, Getty Images

तालिबान, अलकायदा र आईएस तीनै समूहले स्थानीय मानिसहरूबाट आफ्नो सङ्गठनमा भर्ना लिन्छन्।

जिहादले धर्मलाई शुद्धीकरण गर्ने भन्दै उनीहरू आफ्नो अभियानमा लाग्न मानिसहरूलाई उत्प्रेरित गर्छन्।

विश्वव्यापी महत्त्वाकाङ्क्षा लिएका अलकायदा र आईएसले चाहिँ मध्यपूर्वको आफ्नो सीमाभन्दा बाहिरबाट पनि मानिसहरू भर्ना लिएका छन्।

प्राज्ञ ग्रोपिका अनुसार इन्टरनेटको शक्तिलाई उपयोग गर्दै इराक र सिरियाका उसको क्षेत्रमा अन्यत्रबाट पनि मानिसहरू ल्याउन आईएस निकै सफल छ।

बाइमनका अनुसार आईएसले सामाजिक सञ्जालको माध्यमबाट पश्चिमा देशहरूमा रहेका मानिसहरूलाई समेत परिचालन गरी उनीहरूकै देशमा आक्रमणका योजना बनाउन निकै प्रभावकारी प्रयासहरू गरेको छ।

सन् २०१५ को प्यारिस हमला यसैको एक उदाहरणमध्ये एक हो।

फ्रान्सको शान्ति खलबल्याउने इराक वा सिरियाको युद्ध क्षेत्रबाट परिचालित आक्रमणमा १३० जना मारिएका थिए।