उमर बिन लादेन र ओसामाको कुकुरको वास्तविक कथा

तस्बिर स्रोत, Reuters
"मुस्लिम समुदायमा कुकुरहरू वर्जित भए पनि मेरा श्रीमान् ओसामा बिन-लादेनले युरोपबाट स्याफायर र जाएर नामका दुई वटा जर्मन शेफर्ड कुकुर ल्याएका थिए। उमरले मलाई खार्तुममा बुवाले ती कुकुरहरूलाई स्याहार गरिरहेको कुरा सुनाउँदा म छक्क परेँ। अचम्मको कुरा किन भने उहाँ इस्लामको अनुयायी हुनुहुन्थ्यो, जसमा मुस्लिमहरूलाई कुकुरहरूबाट टाढा रहन भनिएको छ।’’
नजवा बिन लादेनले ‘ग्रोइङ अप बिन लादेनः ओसामाज वाइफ एन्ड सन टेक अस इनसाइड देअर सेक्रेट वर्ल्ड’ नामक पुस्तकमा यो कुरा लेखेकी हुन्।
ओसामा बिन-लादेनकी प्रथम श्रीमती नजवाले सन् २०१५ मा आफ्नो छोरा उमर बिन लादेन र लेखक जीन स्यासनसँग मिलेर यो पुस्तक लेखेकी थिइन् जसको अध्याय १७ मा ओसामाको कुकुरप्रतिको प्रेमपछि के भयो भन्ने उल्लेख छ।
नजवाले थप लेखेकी छन्, "एउटा कुकुर चोरी हुँदा निकै दुःख लागेको थियो। तर अर्को कुकुरलाई केही रहस्यमय रोग लागेका कारण उसको अकस्मात् मृत्यु भयो।"
यो पुस्तक प्रकाशित भएको सात वर्षपछि उमर बिन लादेनले ‘द सन’ पत्रिकालाई दिएको अन्तर्वार्तामा पिता ओसामा बिन-लादेनले कुकुरमा रासायनिक हतियार परीक्षण गरेको दाबी गरेका थिए ।
सन् २०११ मा पाकिस्तानमा अमेरिकी सेनाको कारबाहीमा ओसामा बिन-लादेनको मृत्यु भएपछि बिन-लादेनका सहयोगीहरूले रासायनिक हतियारको परीक्षण गरेको दाबी गर्ने थुप्रै रिपोर्टहरू आएका छन्।
यसमा उमरले भने, ‘‘मैले यो देखेको थिएँ।’’
"उनीहरूले यसलाई मेरो कुकुरमा परीक्षण गरेका थिए र म यसमा खुसी थिइनँ। म ती सबै खराब सम्झनाहरू बिर्सन चाहन्छु। यो गाह्रो छ। तपाई हरेक समय योसँग जुझ्नुहुन्छ।"
जब उमर आफ्नो बुबा र परिवारसँग अफगानिस्तानमा बस्थे, उनीसँग बबी नामको आफ्नै कुकुर थियो। त्यो कुकुरलाई उनले ‘गार्ड डग’को तालिम दिएका थिए। यो पुस्तकमा उल्लेख छ कि "त्यो कुकुरको छिट्टै मृत्यु भयो र त्यसको कारण कसैलाई थाहा थिएन।"
को हुन् उमर बिन लादेन
सन् २०१० को ज्यानुअरी महिनाको एक चिसो रातमा ओसामा बिन-लादेनका चौथो छोरा उमरले न्यूयोर्क टाइम्सले सर्वाधिक बिक्री हुने लेखकका रूपमा सूचिकृत गरिसकेका खोज पत्रकार गाइ लसनलाई दमास्कसको नाइट क्लबमा प्रवेश गर्न आग्रह गरे।
‘रोलिङ स्टोन’ म्यागेजिनको कभर स्टोरी 'ओसामाज सन: द डार्क, ट्विस्टेड जर्नी अफ उमर बिन लादेन' मा गी लसनले लेखेका छन्, "जमिनको सतह भन्दा तल रहेको बारमा मधुरो बत्ती बलेको थियो जहाँ एक दर्जन अरब पुरुषहरूले ह्विस्की पिएर पोल-डान्स हेरिरहेका थिए। मदिरारहित पदार्थ पिउँदै त्यहाँ उमरले भने, ‘‘रुसी महिलाहरू निकै सुन्दर हुन्छन्, पुतली जस्तै।"
गी लसन र उमर बीचको यो भेटको समयमा ओसामा बिन-लादेन जीवित थिए। उनी कहाँ लुकेर बसेका थिए कसैलाई थाहा थिएन। त्यस बेला उनी विश्वका सबैभन्दा बढी खोजी भइरहेका आतङ्कवादी थिए जसलाई अमेरिकाले लामो समयदेखि खोजिरहेको थियो।
धेरै वर्ष पहिले जब ओसामा बिन-लादेन अफगानिस्तानको तोराबोरा पहाडमा आफ्नो परिवारसँग बसिरहेका थिए त्यस बेला किशोरावस्थामा रहेका उमर पनि उनीहरूसँगै थिए।
निकट रहने सबैलाई थाहा थियो कि ओसामाले उमरलाई 'ग्लोबल जिहाद' को लागि आफ्नो उत्तराधिकारीको रूपमा रोजेका थिए।
तर ओसामा बिन-लादेन सन् २००१ मा अमेरिकामा हमलाको योजना बनाएर विश्वमै सर्वाधिक खोजिएका व्यक्ति बान्नुअघि नै उमर बिन लादेनले आफ्नो बुबाको घर छोडेका थिए।
हाल ४१ वर्षका रहेका उमर बिन लादेन खासमा आफ्ना बुबासँग सन् १९९१ देखि १९९६सम्म सुडानमा बसेका थिए।
ओसामाले साउदी अरब छोड्नु परेका कारण उनीहरू त्यहाँ बसेका थिए। पछि उमरले आफूले अल-कायदाको प्रशिक्षण शिविरमा हतियारको तालिम लिएको स्वीकार गरेका थिए।
उमरले आफ्नो जीवनी ‘ग्रोइङ अप बिन लादेनः ओसामाज वाइफ एन्ड सन टेक अस इनसाइड देअर सेक्रेट वर्ल्ड’ मा लेख्छन्, "मैले अल-कायदा छोडेँ किनभने मैले नागरिकहरूलाई मार्ने कुरा आफूसँग जोडेर हेर्न सकिनँ। म त्यहाँबाट निस्कन चाहन्थेँ तर मेरा पिता म जाने कुराबाट खुसी हुनुहुन्थेन। यद्यपि उहाँले पनि मलाई बिदा दिनुभयो (अलबिदा) भन्नुभयो)।"
यसपछि उमर बिन लादेन साउदी अरब गए र व्यापारमा लागे। त्यसपछि सन् २००६ मा उनले युरोप जाने सोच बनाए।
उमरको व्यक्तिगत जीवन

तस्बिर स्रोत, ELISABETTA A. VILLA/GETTY IMAGES
यो सबै कुराकानीबीच उमरको विवाह र सम्बन्ध विच्छेद भइसकेको थियो र उनका एक छोरा पनि थिए।
बीबीसी वानले सन् २००६मा तयार पारेको रिपोर्टका अनुसार त्यही वर्ष उनले इजिप्टमा बेलायती नागरिक जेम्स फेलिक्स-ब्राउनलाई भेटे जो उमर भन्दा २४ वर्ष जेठी थिइन् र उनका पाँच नातिनातिना थिए।
दुवैले त्यहीँ विवाह गरे। पछि उनकी श्रीमतीको नाम पनि जेना राखियो र त्यसपछि जेद्दामा केही महिना बिताएपछि उनीहरू ब्रिटेन गए।
उमरले आफ्नो पुस्तकमा लेखेका छन्, "युरोप जान, नागरिकता लगायतका कुराहरूमा केही कठिनाइहरू थिए। तर हाम्रो विवाहपछि जीवनले नयाँ बाटो पायो।"
समाचार एजेन्सी एपीले सन् २००८मा गरेको रिपोर्टमा लेखिएको थियो: "उमर शान्तिका लागि काम गर्न चाहन्छन्, अरू केही होइन"।
यस क्रममा उमरले केही अन्तर्वार्ता पनि दिए जसमा बिन लादेन परिवार र आपसी सम्बन्धका बारेमा थप जानकारी दिइएको थियो ।
उमर अहिले आफ्नी श्रीमती जेनासँग फ्रान्सको नोम्यान्डीमा बस्छन् र उनी एक व्यावसायिक चित्रकार हुन्।
बुबा ओसामाका बारेमा उमर के भन्छन्
ब्रिटेनको ‘द सन’ पत्रिकालाई हालसालै दिएको अन्तर्वार्तामा उमरले भने, ‘‘मे २, २०११ मा अमेरिकी सेनाले मेरो बुवालाई पाकिस्तानको सुरक्षित मानिने घरमा मारेको सुन्दा म कतारमा थिए।’’
अमेरिकाले बुबाको शव समुन्द्रमा फ्याँक्यो भन्ने आफूलाई नलाग्ने उमर बताउँछन्।
"उनीहरूले मेरो बुबालाई के गरे मलाई थाहा छैन। उनीहरू भन्छन् कि उनीहरूले शव समुन्द्रमा फ्याँकिदिए। तर मलाई विश्वास लाग्दैन। मलाई लाग्छ कि उनीहरूले शव मानिसहरूलाई देखाउनका लागि अमेरिका लगेका छन्," उनले भने।
आफ्नो बुबाको बारेमा उमरले विगतमा भनेका थिए, "उनी एक असल पिता थिए। तर हाम्रो बाटो अलग अलग थियो।"








