हमासले इजरेलमा घातक आक्रमण गर्ने शक्ति कसरी जुटायो

तस्बिर स्रोत, Telegram
- Author, अब्देल्अली रगाद, रिचर्ड इर्भिन-ब्राउन, बेनडिक्ट गार्मन, सीन सेडन
- Role, बीबीसी अरबिक र बीबीसी भेरिफाई
'एकताको सङ्केत'
सन् २०२० को डिसेम्बर २९ मा हमासका सबै समूहका नेता इस्माइल हानियाले गाजाका विभिन्न सशस्त्र गुटहरूबीच "बलियो सन्देश र एकताको सङ्केत" को रूपमा 'स्ट्रङ पिलर' छद्म नाम दिइएको चारमध्ये पहिलो सैन्य अभ्यास गर्ने घोषणा गरे।
हमास गाजाको सबैभन्दा शक्तिशाली सशस्त्र समूह थियो। अन्य १० प्यालेस्टिनी समूह पनि सम्मिलित गठबन्धन हमास प्रमुख घटक थियो। ती लडाकु समूहहरू युद्धको खेलजस्तो अभ्यासमा सहभागी भए। त्यसलाई "संयुक्त अपरेशन कक्ष"ले निगरानी गरेको थियो।
गाजाका सशस्त्र गुटहरूसँग एउटा केन्द्रीय कमान्डअन्तर्गत समन्वय गर्न सन् २०१८ मा उक्त संरचना बनाइएको थियो।
सन् २०१८ अघि हमासले प्यालेस्टिनी इस्लामिक जिहाद (पीआईजे) सँग समन्वय गरेको थियो। पीआईजे गाजाको दोस्रो ठूलो सशस्त्र गुट हो। ब्रिटेन र अन्य देशमा उक्त सङ्गठनलाई हमासलाई जसरी नै प्रतिबन्धित आतङ्कवादी सङ्गठनका रूपमा हेरिन्छ।
पहिलाका द्वन्द्वमा पनि हमासले अरू समूहहरूसँग मिलेर लडाइँ गरेको थियो।
तर २०२० को अभ्यासलाई धेरै समूह एकजुट भएको प्रमाणको रूपमा प्रचारबाजी गरियो।
हमास नेताले पहिलो अभ्यासले सशस्त्र समूहहरूको "स्थायी तत्परता" प्रतिबिम्बित गरेको बताएका थिए।

तस्बिर स्रोत, Telegram
तीन वर्षमा गरिएका चारवटा संयुक्त अभ्यासमध्ये सन् २०२० को अभ्यास पहिलो थियो। विभिन्न सामाजिक सञ्जालहरूमा ती सबैसँग सम्बन्धित भिडिओहरू छन्।
सन्देश आदानप्रदान गर्ने एप टेलिग्राममा प्रेषित फुटेजका अनुसार ‘स्ट्रङ पिलर’ अभ्यासमा सहभागी भएका पीआईजेसहित १० वटा लडाकु समूहलाई टाउकोमा बाँध्ने पट्टी र चिह्नका आधारमा बीबीसीले स्पष्टसँग पहिचान गरेको छ।
अक्टोबर ७ को आक्रमणपछि पाँचवटा समूहले उक्त योजनामा आफूहरू सहभागी भएको जनाउ दिनेगरी भिडिओ पोस्ट गरेका छन्। अन्य तीन समूहले आफू सहभागी भएको भन्दै लिखित विज्ञप्ति जारी गरेका छन्।
अक्टोबर ७ मा इजरेलबाट गाजामा बन्धक बनाएर लगेका दर्जनौँ महिला र बालबालिका फेला पार्न हमासमाथि दबाव बढ्दै जाँदा ती समूहहरूको भूमिकाबारे चासो बढेको थियो।
प्यालेस्टिनी इस्लामिक जिहाद, मुजाहिदीन ब्रिगेड र अल-नासेर सलाह अल-दीन ब्रिगेड नामक समूहले त्यस दिन इजरेली बन्धकहरू आफूले लगेको दाबी गरेका छन्।
गाजामा अस्थायी सङ्घर्षविराम लम्ब्याउने प्रयास हमासले ती बन्धकको खोजी गर्नुमा निर्भर रहेको बताइएको थियो।
ती समूहको विचारधारामा विविधता छ। कुनै कट्टरपन्थी इस्लामिस्ट छन् भने कुनै तुलनात्मक रूपमा धर्मनिरपेक्ष छन्। तर इजरेलविरुद्ध हिंसात्मक युद्ध गर्ने तत्परता सबैमा देखिन्छ।

हमासका विज्ञप्तिहरूले बारम्बार गाजाका विभिन्न सशस्त्र समूहबीच एकता हुनुपर्ने कुरामा जोड दिएका थिए। हमासले सबै समूह संयुक्त अभ्यासमा समान साझेदार रहेको बताउने गरेको भए पनि इजरेलमा आक्रमण गर्ने योजनामा आफूले नै मुख्य भूमिका निर्वाह गर्यो।
पहिलो अभ्यासको एउटा भिडिओमा मुकुन्डो लगाएका कमान्डरहरू बङ्करमा अभ्यास गरिरहेको देखिन्छ। भिडिओमा उक्त सैन्य अभ्यासको आरम्भ रकेट प्रहारबाट भएको देखिन्छ।
भिडिओमा सशस्त्र लडाकुहरू इजरेली झण्डा अङ्कित नक्कली ट्याङ्कमाथि चढेको, चालकलाई कब्जामा लिएर घिसार्दै बन्दी बनाएको र भवनहरूमा छापा मारेको अभ्यास गरेको पनि देखिन्छ।
अक्टोबर ७ को आक्रमणका क्रममा खिचिएका भिडिओ र प्रत्यक्षदर्शीहरूका बयानका आधारमा इजरेली सैनिकहरूलाई नियन्त्रणमा लिन र गैरसैनिक नागरिकहरूलाई निसाना बनाउन यी दुवै रणनीति त्यो दिन प्रयोग भएको हामी थाहा पाउँछौँ। उक्त आक्रमणमा झन्डै १,२०० जनाको ज्यान गएको थियो भने अनुमानित २४० जनलाई बन्धक बनाइएको थियो।
संसारलाई सन्देश
दोस्रो ‘स्ट्रङ पिलर’ अभ्यास लगभग एक वर्षपछि भयो।
हमासको सशस्त्र मोर्चाको आधिकारिक नाम इज्जेदिन अल-कासम ब्रिगेड हो। त्यसका कमान्डर अयमान नोफलले भनेअनुसार डिसेम्बर २६, २०२१ मा गरिएको अभ्यासको उद्देश्य "प्रतिरोधी गुटहरूको एकतालाई पुष्टि" गर्नु थियो।
उनले त्यस बेला उक्त अभ्यासले "गाजाको सीमामा पर्खाल र इन्जिनियरिङ उपायले उनीहरूको सुरक्षा गर्दैन भनेर शत्रुलाई सन्देश दिने" बताएका थिए।
संयुक्त सैन्य अभ्यास "गाजानजिकैका बस्तीको मुक्तिको आभास गराउन" गरिएको हमासको अर्को विज्ञप्तिमा उल्लेख छ। उक्त समूहले इजरेली बस्तीलाई त्यसरी सङ्केत गर्ने गरेको छ।

सन् २०२२ को डिसेम्बर २८ मा फेरि सैन्य अभ्यास भयो।
लडाकुहरूले भवनहरू भत्काएको अनि नक्कली सैन्य शिविरमा ट्याङ्कहरूलाई नियन्त्रणमा लिएको देखिने प्रचारमुखी तस्बिरहरू उक्त अभ्यासपछि सार्वजनिक भए।
इजरेलमा ती अभ्यासबारे जानकारी थियो। त्यसैले त्यहाँका गुप्तचर निकायहरूले त्यस्ता गतिविधिलाई निगरानी गरेका थिएनन् भनेर सोच्च सकिँदैन।
इजरेल डिफेन्स फोर्सेस आईडीएफले हमासको तालिमलाई छिन्नभिन्न पार्न यसअघि हवाई आक्रमण गरेको थियो। इजरेली सेनाले एप्रिल २०२३ मा पहिलो पटक 'स्ट्रङ पिलर' अभ्यास गरिएको क्षेत्रमा हवाई आक्रमण गरेको थियो।

आक्रमणको केही साताअघि गाजाको सीमानजिकै निगरानीका लागि खटेका महिला सैनिकहरूले ड्रोनको असामान्य गतिविधि देखिएको सूचना दिएको बताइएको छ। हमासले उस्तै परिदृश्य बनाएर अवलोकन पोस्टहरू नियन्त्रणमा लिने तालिम गरिरहेको चेतावनी पनि उनीहरूले दिएका थिए।
तर इजरेली सञ्चारमाध्यमका अनुसार ती विवरणहरूलाई बेवास्ता गरिएको थियो।
गाजामा काम गरेका आईडीएफका भूतपूर्व सहायक कमान्डर ब्रिगेडियर जेनरल अमिर अविवीले बीबीसीसँग भने, "उनीहरूले त्यस्तो प्रशिक्षण गरिरहेकोबारे धेरै गुप्तचरी जानकारीहरू थिए। भिडिओहरू नै सार्वजनिक रूपमा उपलब्ध छन्। अनि [इजरेलसँगको] तारबारबाट केही सय मिटरको दूरीमा मात्र त्यसो भइरहेको थियो।"
तर उनका अनुसार सैन्य अभ्यासबारे सचेत भए पनि इजरेली सेनाले "उनीहरू केका लागि तालिम लिइरहेका छन् भन्ने वास्ता गरेनन्"।
आईडीएफले नोफललाई "सफाया" गरिएको जानकारी अक्टोबर १७ मा दियो। गाजा युद्धका क्रममा मारिने उनी पहिलो वरिष्ठ हमास सैन्य नेता हुन्।
आँखैअगाडि बेवास्ता
ती अभ्यासलाई यथार्थपरक बनाउन हमासले यथासम्भव प्रयास गरेको थियो।
सन् २०२२ मा लडाकुहरूले इरेज नाकाबाट २.६ किलोमिटर टाढा निर्मित एउटा नक्कली इजरेली सैन्य शिविरमा आक्रमण गर्ने अभ्यास गरेका थिए।
गाजा र इजरेलको बीचमा अवस्थित इरेज नाकामा आईडीएफको नियन्त्रण छ।
तालिमका भिडिओदेखि आकाशबाट खिचिएका तस्बिरहरूमा देखिने भौगोलिक विशेषताहरूका आधारमा बीबीसी भेरिफाईले उक्त ठाउँ गाजाको सुदूर उत्तरमा रहेको पत्ता लगाएको छ। त्यो ठाउँ सीमामा बनाइएको तारबारबाट केवल ८०० मिटरको दूरीमा छ। सन् २०२३ को नोभेम्बरसम्म उक्त ठाउँ 'बिङ म्याप्स' मा देखिन्छ।

उक्त तालिम केन्द्र एउटा इजरेली अवलोकन टावर र अर्को अवलोकन संरचनाबाट १.६ किलोमिटरको दूरीमा थियो। इजरेलले लाखौँ डलर खर्च गरेर सुरक्षाका लागि त्यस्ता संरचनाहरू बनाएको छ।
उक्त नक्कली सैन्य शिविर जमिनको सतहमा केही मिटर खनेर बनाइएको छ। त्यसैले गस्तीका क्रममा इजरेली पक्षले त्यसलाई नदेखेको हुन सक्छ।
तर विस्फोटन हुँदा धुवाँ पक्कै देखिएको हुनुपर्थ्यो। त्यसमाथि आईडीएफलाई हवाई निगरानी गर्न सिपालु मानिन्छ।
हमासले भवनहरूमा आक्रमण गर्ने, बन्दुक देखाएर बन्धक बनाउने र सुरक्षा अवरोधहरू नष्ट गर्ने अभ्यासका लागि उक्त स्थान प्रयोग गर्यो।

बीबीसी भेरिफाईले भूउपग्रहबाट प्राप्त तस्बिर र सार्वजनिक रूपमा उपलब्ध अन्य जानकारी प्रयोग गरेर गाजाका विभिन्न नौ स्थानमा बनाइएका १४ वटा प्रशिक्षणस्थल पत्ता लगाएको छ।
हमासको तालिम संयुक्त राष्ट्रसङ्घीय सहायता निकायको वितरण केन्द्रबाट १.६ किमिभन्दा कम दूरीमा दुई पटक भएको थियो।
अनि त्यो स्थान डिसेम्बर २०२२ मा उक्त राष्ट्रसङ्घीय निकायले प्रकाशित गरेको एउटा आधिकारिक भिडिओको पृष्ठभूमिमा पनि देखिन्थ्यो।
जल, स्थल र आकाश

तस्बिर स्रोत, Telegram
सन् २०२३ को सेप्टेम्बर १० मा ‘संयुक्त समिति कक्ष’ले आफ्नो टेलिग्राम च्यानलमा गाजातर्फको तारबारको छेउमा सैन्य पूर्वाधारको निगरानी गरिरहेका सैनिक पोसाक लगाएका मानिसहरूको तस्बिर प्रकाशित गर्यो।
त्यसको दुई दिनपछि चौथो 'स्ट्रङ पिल' सैन्य अभ्यास भयो। अनि अक्टोबर ७ भित्र अभूतपूर्व आक्रमणमा प्रयोग हुने सबै रणनीतिको पूर्वाभ्यास गरियो।
त्यतिबेला खिचिएका भिडिओमा लडाकुहरूलाई अर्को महिना दक्षिणी इजरेलमा घुम्दा प्रयोग गरिएका सेता टोयटा पिकअप ट्रकहरूमा चढेको देखिन्छ।
प्रचारबाजीका लागि बनाइएको उक्त भिडिओमा नक्कली भवनहरूभित्र छिरेर बन्दुकधारीहरूले गोली हानिरहेको देखिन्छ। त्यसमा डुङ्गा र गोताखोरहरू प्रयोग गरेर समुद्री तटमा आक्रमण गर्ने तालिम लिएको पनि देखिन्छ। इजरेलले अक्टोबर ७ मा हमासका डुङ्गाहरूलाई आफ्नो तटमा पुग्न नदिइएको दाबी गरेको छ।

हमासले मोटरसाइकल र प्याराग्लाइडरहरू प्रयोग गरी दिइएको तालिमलाई ‘स्ट्रङ पिलर’ अन्तर्गत प्रचार गरेन।
अक्टोबर ७ को तीन दिनपछि हमासले पोस्ट गरेको एउटा भिडिओमा मोटरसाइकलहरूलाई पार गराउन तारबार र अवरोधहरू भत्काइएको देखिन्छ। दक्षिणी इजरेलस्थित बस्तीहरूसम्म पुग्न प्रयोग उनीहरूले त्यस्तो रणनीति अवलम्बन गरेका थिए। हामीले त्यसअघि देखा परेका त्यस्तै भिडिओको वास्तविकता जाँच गरेका छैनौँ।
अक्टोबर ७ सम्म लडाकुहरूले प्याराग्लाइडिङका साधन प्रयोग गरेको भिडिओ सार्वजनिक भएको थिएन। आक्रमणको दिन सार्वजनिक गरिएको तालिमको एउटा पुरानो भिडिओमा बन्दुकधारीहरू दक्षिणी गाजामा रफाहको उत्तरमा पर्ने एउटा हवाई मैदानमा अवतरण गरिरहेको देखिन्छ।
बीबीसी भेरिफाईले त्यो भिडिओ सन् २०२२ को अगस्ट २५ भन्दा केही अघि खिचिएको पत्ता लगाएको छ। त्यो भिडिओ 'ईगल स्क्वाड्रन' नाम दिइएको फाइलमा कम्प्युटरमा राखिएको थियो। हमासले आफ्नो हवाई विभागलाई 'ईगल स्क्वाड्रन' भन्ने गर्छ। त्यसबाट आक्रमणमा प्याराग्ल्याइडर प्रयोग गर्ने योजना वर्षौँअघि बनेको सङ्केत पाइन्छ।
अप्रत्याशित
अक्टोबर ७ अघि आईडीएफका केही कमान्डरलाई उद्धृत गर्दै प्रकाशित विवरणहरूका अनुसार गाजा स्ट्रिपमा झन्डै ३०,००० हमास लडाकु थिए। त्यतिबेलासम्म हमासले साना समूहबाट केही हजार लडाकु तान्न सक्ने ठानिएको थियो।
अन्य गुटको समर्थनबिना पनि हमास प्यालेस्टिनी सशस्त्र समूहहरूमध्ये सबैभन्दा शक्तिशाली हो। गुटहरूलाई एकजुट गराउने यसको उद्देश्य कम्तीमा सङ्ख्या बढाउने मात्र नभएर गाजाभित्र व्यापक समर्थन जुटाउने प्रयाससँग जोडिएको देखिन्छ।
आईडीएफले अक्टोबर ७ को आक्रमणमा १,५०० लडाकुहरूले भाग लिएको अनुमान गरेको थियो। टाइम्स अफ इजरेलले यस महिनाको सुरुमा जनाएअनुसार आईडीएफले अहिले उक्त सङ्ख्या ३,००० जति भएको ठानेको छ।
सङ्ख्या जतिसुकै भए पनि उक्त आक्रमणमा गाजामा भएका लडाकुहरूको कुल सङ्ख्याको सानो भाग मात्रै सहभागी भएको हो। आक्रमण वा ‘स्ट्रङ पिलर’ अभ्यासमा भाग लिने साना समूहका लडाकुहरूको सही सङ्ख्या प्रमाणित गर्न सम्भव छैन।
आक्रमणको तयारीका क्रममा हमासले विभिन्न समूहबाट समर्थन जुटाएको भए पनि अन्तिम योजना हमासलाई मात्र थाहा भएको लेबननको सेनाका भूतपूर्व ब्रिगेडियर जेनरल हिशाम जाबेर बताउँछन्। उनी अहिले सेन्टर फर मिडल ईस्ट स्टडीज एन्ड रिसर्चमा सुरक्षा विश्लेषक छन्।
"सम्भवतः [उनीहरूले] अन्य गुटहरूलाई त्यसै दिन सहभागी हुन आग्रह गरेका थिए," उनी भन्छन्।
किङ्स कलेज लन्डनमा प्रतिरक्षा विषय प्राध्यापन गर्ने एन्ड्रियास क्रीगले बीबीसीसँग भने, "योजना केन्द्रीकृत भए पनि कार्यान्वयन विकेन्द्रीकृत थियो। प्रत्येक टोलीले योजनालाई उपयुक्त देखेअनुसार कार्यान्वयन गर्यो।"
आफूले हमासभित्रका मानिसहरूसँग पनि कुरा गरेको दाबी गर्दै उनीहरू इजरेलको सुरक्षा कमजोरीबाट अचम्ममा परेको उनको बताउँछन्। उनको आकलनअनुसार लडाकुहरूले अफलाइन कुराकानी गरेर इजरेली निगरानी प्रविधिलाई छलेका थिए।
यूरोपिअन काउन्सिल अन फरेन रिलेशन्सका मध्यपूर्व विशेषज्ञ ह्यू लोभाटका अनुसार संयुक्त अभ्यासका बारेमा थाहा पाए पनि इजरेल त्यसबारे "गलत निष्कर्ष" निकालेको थियो।
इजरेलीहरूले प्यालेस्टिनी क्षेत्रमा अर्धसैनिक समूहहरूले गतिविधिलाई "ठूलो आकारको आक्रमणको सङ्केत" नभई "नियमित" गतिविधि ठानेका थिए।
यस लेखमा उठाइएका विषयबारे सोध्दा आईडीएफले आफूहरू "अहिले आतङ्कवादी सङ्गठन हमासबाट उत्पन्न खतरा हटाउनमा केन्द्रित रहेको" र कुनै पनि सम्भावित विफलताको बारेमा "आउँदा चरणमा सम्बोधन गरिने" बताएको छ।
इजरेलले अक्टोबर ७ भएको नरसंहारलाई रोक्ने अवसर खेर फालेको हो कि होइन भनेर औपचारिक रूपमा विचार गर्न वर्षौँ लाग्न सक्छ।
इजरेलको सेना, गुप्तचर सेवा र सरकारमा यसको प्रभाव तरङ्ग उत्पन्न गराउन सक्छ।
पोल ब्राउन, कुमार मलहोत्रा र अब्दिरहिम सईदबाट थप रिपोर्टिङ
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








