सङ्घर्षविराम टुङ्गिएपछि इजरेल-हमास युद्ध निर्णायक चरणमा पुग्छ

प्यालेस्टिनी महिलाहरू

तस्बिर स्रोत, MOHAMMED SABER/EPA-EFE/REX/Shutterstock

    • Author, पोल एडम्स
    • Role, बीबीसी कूटनीतिक संवाददाता

गाजा सिटीमा इजरेलको सैन्य कारबाही सम्भवतः अन्तिम चरणमा पुग्न लागेको छ।

इजरेली बन्धक र प्यालेस्टिनी बन्दीहरू छुटाउन इजरेल र हमासले अस्थायी सङ्घर्षविराम गरेका छन्। यसबाट इजरेली सेनाको कारबाही चारदेखि नौ दिन रोकिने छ।

तर कति दिन भन्ने चाहिँ हमासले थप कति बन्धकलाई मुक्त गर्छ त्यसमा निर्भर हुन्छ।

सङ्घर्षविराम सकिएपछि इजरेलले गाजा सिटीमा आफ्नो नियन्त्रण कायम गर्ने लडाइँ फेरि सुरु हुने र त्यो थप सातदेखि १० दिन चल्ने इजरेली विज्ञहरूको धारणा छ।

तर इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले सङ्केत गरे जस्तै इजरेली सेनाको ध्यान दक्षिणी गाजा स्ट्रिपतिर पनि मोडियो भने के होला?

इजरेलले हमासलाई निमिट्यान्न पार्ने वाचा गरेको छ।

हमासका वरिष्ठ नेताद्वय याह्‍य सिन्वार र मोहम्मद डेफ हजारौँ लडाकुूसहित गाजा स्ट्रिपको दक्षिणी भागमा कतै बसिरहेको र उनीहरूसँग केही इजरेली बन्धकहरू पनि भएको हुन सक्ने इजरेलको विश्वास छ।

यदि इजरेलले गाजा स्ट्रिपको उत्तरी भागमा गरे जस्तै कारबाही दक्षिणमा पनि गर्ने निर्णय गर्‍यो भने अमेरिकासहितका पश्चिमा देशहरूको इजरेलप्रतिको सद्भावना के होला?

गाजा

तस्बिर स्रोत, AFP

अझ ठूलो मानवीय सङ्कटको डर

गाजा स्ट्रिपमा झन्डै २२ लाख मानिसको बसोबास छ। त्यसमध्ये ठूलो भाग गाजा स्ट्रिपको दुईतिहाइ क्षेत्रमा दक्षिणतिर सरेको छ। तीमध्ये अधिकांश घरबारविहीन र भयभीत छन्।

के गाजा स्ट्रिपमा अझ ठूलो मानवीय विपद् आइपर्न लागेको त छैन?

अल-मवासी भन्ने ठाउँको बलौटे मैदानमा पाल टाँगेर कष्टपूर्वक बसिरहेका सयौँ प्यालेस्टिनीहरूको दृश्यले त्यस्तो सङ्केत दिएको हुन सक्छ।

गाजामा हिउँद सुरु हुनुअघि वर्षा हुँदा बाढी आएको छ

तस्बिर स्रोत, GETTY IMAGES

तस्बिरको क्याप्शन, हिउँद सुरु हुनुअघि वर्षा हुँदा गाजामा बाढी आएको छ

प्यालेस्टिनीहरूका लागि काम गर्ने संयुक्त राष्ट्रसङ्घीय सहायता निकाय यूएनआरडब्ल्यूएका अनुसार अक्टोबर ७ को आक्रमणपछि गाजा स्ट्रिपमा झन्डै १७ लाख मानिसहरू विस्थापित भएका छन्।

तीमध्ये अधिकांशले गाजा स्ट्रिपको दक्षिणी क्षेत्रमा रहेका र पहिले नै खचाखच भरिएका शिविरमा आश्रय लिएका छन्।

संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले गाजाको बिग्रँदै गएको अवस्थाबारे निरन्तर कुरा गरिरहेका छन्।

दशौँ हजार मानिसहरू विद्यालय, अस्पताल र कतै पालमुनि आश्रय लिएर बसिरहेका छन्।

त्यहाँ हिउँदअघि वर्षा सुरु भएको छ र बाढीले अझ समस्या थपिदिएको छ।

अल-मवासीको चर्चा किन

केही सातादेखि इजरेली अधिकारीहरू एउटा समाधानको कुरा गरिरहेका छन्।

उनीहरूले भूमध्यसागरको किनारमा इजिप्टको सीमानजिक अवस्थित अल-मवासीलाई 'सुरक्षित क्षेत्र' का रूपमा प्रस्तुत गरिरहेका छन्। त्यो साँघुरो क्षेत्रमा प्रायः खेतीपाती गरिन्छ।

दुई साताअघि खान यूनिसनजिकैको सहरमा मानिसहरूलाई हवाई आक्रमणको बारेमा चेतावनी दिन आकाशबाट पर्चा खसालिएको थियो। उक्त पर्चामा मानिसहरूलाई पश्चिमतिर रहेको समुद्रतर्फ जान भनिएको थियो।

इजरेली सेनाका एक प्रवक्ताले गत बिहीबार सामाजिक सञ्जालबाट गाजाका जनतालाई भनेका छन्: "अल‍-मवासीमा तपाईँका प्रियजनको सुरक्षाको लागि उपयुक्त वातावरण छ।"

तर नजिकै युद्ध हुँदा २० लाखभन्दा बढी मानिसले त्यो सानो क्षेत्रमा शरण लिने कुरा सोच्नु कत्तिको यथार्थपरक छ? अल-मवासीको परिस्थिति कति उपयुक्त छ?

अल मवासीको नक्सा र गाजाबाट निस्किने निकासमार्ग

माथिको नक्सामा अल-मवासीमा कृषियोग्य केही जग्गा, ग्रीनहाउस र भत्किएका भवनहरू देख्न सकिन्छ।

अल-मवासी कत्रो छ भन्ने हामीलाई ठ्याक्कै थाहा छैन। तर इजरेलका अनुसार अल-मवासी २.५ किलोमिटर चौडा र चार किलोमिटरजति लामो छ।

प्यालेस्टिनी मामिला हेर्ने एउटा इजरेली निकायका पूर्वसल्लाहकार डा. माइकल मिल्श्टाइन अल-मवासी "सुन्दर र उपयोगी तर निकै सानो ठाउँ" भएको बताउँछन्।

तर सहायता संस्थाहरूको धारणा अल-मवासीप्रति त्यति उदार छैन।

"यो सानो भूभाग मात्र हो," यूएनआरएडब्ल्यूकी सञ्चारनिर्देशक जुलिएट टोमा भन्छिन्। "त्यहाँ बालुवा र खजुरका बोटबाहेक अरू केही छैन।"

तर आधारभूत सुविधा नभएको यो सानो ठाउँमा हजारौँ घरबारविहीन मानिसहरूलाई राख्ने प्रयास गरियो भने त्यो संयुक्त राष्ट्रसङ्घका लागि ठूलो मानवीय चुनौती बन्ने छ।

त्यहाँ कुनै अस्पताल छैन। त्यहाँ आपत्कालीन आश्रयस्थल बनाउन वा पाल टाँग्न पनि सहज छैन।

'विपत्तिको एउटा उपाय'

नैतिक रूपमा समेत यो ठूलो चुनौती बन्ने छ। गाजामा बसोबास गर्ने अधिकांश मानिस निकै अघि शरणार्थी बनेका प्यालेस्टिनीहरूका वंशज हुन्। इजरेलले सन् १९४८ मा निकालदिएपछि उनीहरू पालमा बस्न बाध्य भएका थिए।

गाजा स्ट्रिपमा पहिले नै आठवटा शरणार्थी शिविरहरू छन्। उक्त स्थान विगतका दशकामा व्यस्त र निकै भिड भएको सहर बनेको छ। संयुक्त राष्ट्रसङ्घ त्यहाँ फेरि अर्को शरणार्थी शिविर बनोस् भन्ने चाहँदैन।

इजरेली अधिकारीहरूले रफाह नाकाबाट १० किलोमिटर टाढा रहेको अल-मवासीमा मानवीय सहायता पुग्ने सुनिश्चितताको जिम्मेवारी सहायता संस्थाहरूको भएको बताउँछन्।

तर त्यो व्यवहारमा कसरी हुन्छ भन्ने कुरा उनीहरूले अहिलेसम्म भनेका छैनन्।

अमेरिकी अधिकारीहरूले इजरेलसँग थप सुरक्षित क्षेत्रको विषयमा छलफल गरिरहेको बताइएका छन्। गाजा स्ट्रिपको दक्षिणी छेउमा अवस्थित दहनिया पनि सम्भवतः त्यस्तो ठाउँ हुन सक्छ।

इजरेली बन्धकहरूलाई मुक्त गर्ने सम्बन्धमा इजरेल-हमासबीच शुक्रवारदेखि लागु भएको सम्झौताअनुसार इजरेलले प्रत्येक दिन राहत सामग्री भरिएका २०० वटा ट्रक गाजामा सुरक्षित रूपमा प्रवेश गर्न दिनुपर्छ। यो विगत केही सातामा गाजामा पुगेको राहत सामग्रीभन्दा धेरै हो।

गाजा

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, गाजामा लाखौँ मानिसहरू विस्थापित भएका छन्

तर नोभेम्बर १६ मा प्यालेस्टिनीहरूलाई मानवीय सहायता प्रदान गर्ने संयुक्त राष्ट्रसङ्घका १८ वटा निकाय र राहत कार्यमा संलग्न अन्य संस्थाका प्रमुखहरूले एक विज्ञप्तिमार्फत् इजरेलको योजनालाई पूर्ण रूपमा अस्वीकार गरेका थिए।

उक्त विज्ञप्तिमा भनिएको छ: "गाजाभित्र 'सुरक्षित क्षेत्र' सिर्जना गर्ने कुनै योजना यदि सबै पक्षको सहमतिबिना भयो भने हामी त्यसमा सहभागी हुने छैनौँ।"

संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले यस विषयमा सम्बन्धित पक्षहरू भनेर इजरेल, हमास र वेस्ट ब्याङ्कमा रहेको प्यालेस्टिनी प्राधिकरणलाई सङ्केत गरेका हुन्।

सामान लिएर गाजातिर जाँदै गरेका ट्रकहरू

तस्बिर स्रोत, MOHAMMED SABER/EPA-EFE/REX/Shutterstock

तस्बिरको क्याप्शन, चार दिनको अवधिमा भित्रिने सामग्री गाजाका लागि पर्याप्त नहुने सहायतासंस्थाहरूले बताउँदै आएका छन्

अल-मवासीको नाम नलिईकनै नोभेम्बर १६ को विज्ञप्तिले इजरेलको एकपक्षीय प्रस्तावले धेरैको ज्यान जोखिममा पार्न सक्ने चेतावनी दिएको थियो।

विज्ञप्तिमा हस्ताक्षर गर्नेमध्येका विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका महानिर्देशक डा टेड्रोस एड्हानोम गेब्रेयससले इजरेलको योजनालाई "विपत्ति निम्त्याउने उपाय" को सङ्ज्ञा दिएका थिए।

"आधारभूत पूर्वाधार र सुविधा नभएको सानो ठाउँमा क्षमताभन्दा बढी मानिस बस्न खोज्दा अप्ठ्यारो अवस्थामा रहेका मानिसको स्वास्थ्यमा जोखिम बढ्छ," उनले भनेका थिए।

हमासलाई पराजित गर्ने 'मानवीय तरिका'

इजरेली अधिकारीहरू खतराका लागि हमास जिम्मेवार रहेको तर उक्त समूहले त्यो कुरा वेवास्ता गरेको बताउँछन्। उनीहरूका अनुसार इजरेली सेनाले आक्रमण नगरेको एउटै क्षेत्र अल-मवासी हो।

इजरेली सेनाका अर्का प्रवक्ता रिचर्ड हेश्ट भन्छन, "यो भयानक हुने छ तर उनीहरू जीवितै रहने छन्।"

इजरेलका लागि यो सैन्य आवश्यकता बनेको छ।

गाजा सिटीमा हमास जसरी बसेको छ खान यूनिस र रफाहमा पनि हमासका पनि उक्त समूहका लडाकुहरू फैलिएका छन् र उनीहरूले त्यहाँ पूर्वाधार बनाएका छन्।

कुनै आक्रमण गर्नुअघि सर्वसाधारण मानिसलाई त्यहाँबाट बाहिर निकाल्नु हमासलाई पराजित गर्ने मानवीय तरिका भएको इजरेली पक्षको तर्क छ।

"आसन्न हिउँदे वर्षामा अल-मवासीमा बसोबास गर्नुपर्ने गाजावासीको अवस्था इजरेली जनता रुचाउँदैनन्। तर विकल्प के त?" इजरेलका भूतपूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार मेजर जेनरल याकोभ अमिड्रोर भन्छन्।

"हमासलाई हटाउने अरू कुनै तरिका कसैसँग छ भने हामीलाई बताउनुहोस्।"

इजरेललाई कस्तो दबाव पर्न सक्छ

जाडोमा सानो ठाउँमा क्षमताभन्दा बढी मानिस बस्दा उत्पन्न हुने समस्याले बढाउने र महिनौँसम्म कायम रहने सङ्कटका कारण गाजामा जारी इजरेली सैन्य अभियानबारे अन्तर्राष्ट्रिय जगत्को मौनबारे पक्कै पनि प्रश्न उठ्ने छ।

नाम उल्लेख नगर्ने सर्तमा एक पश्चिमी अधिकारीले मसँग भने, "यस क्षेत्रमा नयाँ स्थल कारबाही सुरु गर्दा ठूलो सङ्ख्यामा मानिसहरू हताहत र विस्थापित हुन्छन् जसबाट इजरेलप्रतिको अन्तर्राष्ट्रिय सहानुभूति कमजोर छ।"

गाजा

तस्बिर स्रोत, ANADOLU

"पश्चिमी देशहरूको धैर्य कहिलेसम्म हुन्छ भन्ने प्रश्न महत्त्वपूर्ण छ।"

हमासले अक्टोबर ७ मा गरेको भयानक आक्रमणपछि नेतन्याहू सरकारले पश्चिमा देशहरूमा रहेका आफ्ना सहयोगीहरूबाट निरन्तर सहानुभूति पाइरहेको छ।

यद्यपि त्यस्तो सहानुभूति असीमित नभएको र सङ्घर्षविरामको अवधि सकिएपछि फेरि सैन्य अभियान सुरु गर्दा संयमका लागि आह्वान गर्दै अन्तर्राष्ट्रिय स्तरमै आउने आवाज अझ ठूलो हुने कुरा इजरेली अधिकारीहरूलाई थाहा छ।

डेभिड क्यामरून र बेन्जमिन नेतन्याहू

तस्बिर स्रोत, No 10 Downing Street

"सङ्घर्षविराम सकिएपछि अन्तर्राष्ट्रिय दबावले त्यसलाई रोक्दैन भन्ने मेरो अपेक्षा छ," सन् २०२१ देखि २०२३ सम्म इजरेलको राष्ट्रिय सुरक्षा परिषद्को नेतृत्व गरेका डा. इयाल हुलाटा भन्छन्।

"प्रधानमन्त्री बेन्जमिन नेतन्याहूको सरकार यो दबावसँग झुक्दैन भन्ने मेरो अपेक्षा छ, इजरेली जनताले पनि आफ्ना नेताहरूबाट यही अपेक्षा गर्छन्।"

हिउँद आउनै लागेको छ। इजरेलले गाजामा सैन्य कारबाहीको अर्को चरणबारे विचार गरिरहेको छ तर सर्वसाधारण मानिसहरूलाई के गर्ने भन्ने कुनै सहमति हुन सकेको छैन।

गाजाका जनताले खेप्नुपरेको पीडा यस्तो अवस्थामा तत्काल नटुङ्गिने देखिन्छ। सम्भवतः त्यो पीडा अझ बढ्ने छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।