इजरेल-हमास सहमतिबारे हामीलाई के थाहा छ

तस्बिर स्रोत, Reuters
इजरेल र हमास लडाकु समूहबीच चार दिन सङ्घर्षविराम गर्दै गाजामा बन्धक बनाएर राखिएका ५० जनालाई मुक्त गर्ने सहमति बिहीवार बिहान १० बजेदेखि सुरु हुने ठानिएको थियो। तर एक वरिष्ठ इजरेली अधिकारीले बन्धकहरू शुक्रवारअघि नछुट्ने बताएका छन्।
उक्त सहमतिअनुसार इजरेली जेलबाट १५० प्यालेस्टिनी महिला र किशोरकिशोरी पनि मुक्त हुने छन् भने गाजामा मानवीय सहायता बढाइने छ।
अमेरिकी राष्ट्रपतिले उक्त सहमतिबाट बन्धकहरूको "अवर्णनीय पीडा" अन्त्य हुने टिप्पणी गरेका छन्।
जो बाइडनले त्यसबाट "निर्दोष प्यालेस्टिनी परिवारहरूको दुःख कम हुने" जनाएका छन्।
इजरेल सरकारले हमास लडाकु समूहलाई "निमिट्यान्न पार्ने" र २०० जनाभन्दा बढी बन्धकलाई फिर्ता ल्याउने उद्देश्यसहित सुरु भएको युद्ध सम्पन्न गर्ने कुरा दोहोर्याएको छ। गत अक्टोबर ७ मा हमासले इजरेलमा अप्रत्याशित आक्रमण गर्दा १,२०० जनाको मृत्यु भएको थियो। तीमध्ये १० नेपाली नागरिक पनि थिए।
इजरेल, संयुक्त राज्य अमेरिका र अन्य पश्चिमा शक्तिराष्ट्रहरूले हमासलाई आतङ्ककारी सङ्गठन मानेका छन्। हमास र इजरेलबीच भएको सहमतिबाट डेढ महिनादेखि इजरेली सेनाले गाजामा गरिरहेको कारबाहीबाट केही राहत पाउने विश्वास तिनको छ।
गाजास्थित अधिकारीहरूले इजरेली हवाई तथा स्थल कारबाहीमा परी १४,००० जनाभन्दा बढीको मृत्यु भएको जनाएका छन्।
अहिले मुक्त हुन सक्ने बन्धक को हुन्?
वार्ता चलिरहँदा इजरेलको गठबन्धन सरकारले बुधवार बिहान सबेरै प्रस्तावित सहमतिलाई पारित गर्यो।
इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूको कार्यालयले चार दिन "लडाइँ रोकिने" र त्यस अवधिमा ५० महिला र बालबालिका मुक्त हुने घोषणा गर्यो।
थप बन्धकलाई मुक्त गर्न हमासलाई प्रोत्साहित गर्दै इजरेली प्रधानमन्त्रीको कार्यालयले "थप १० बन्धकलाई छोडिए एक दिनले सङ्घर्षविराम लम्बिने" जनायो।
उक्त प्रस्तावलाई बन्धकका परिवारजनका लागि महत्त्वपूर्ण मानिएको छ। तीमध्ये केहीले यसअघि बन्धक मुक्तिका लागि आंशिक नभई पूर्ण सहमति हुनुपर्ने बीबीसीलाई बताएका थिए।
अहिले मुक्त हुने ५० बन्धकमा विदेशी नागरिक नपर्ने ठानिएको छ। बाह्र-१़२ जनाजतिको चार समूहमा मुक्त हुने सबै जना इजरेली नागरिक वा द्वैध नागरिकता भएका इजरेली हुने ठानिएको छ।

तस्बिर स्रोत, Reuters
मुक्त हुने बन्धकहरूको नाम सार्वजनिक गरिएको छैन। तर एक वरिष्ठ अमेरिकी अधिकारीले संवाददाताहरूलाई बताएअनुसार तीमध्ये तीन जना अमेरिकी राहदानीवाहक पनि छन्। ती तीनमध्ये एक बालिका पनि छिन् जसका आमाबुवा दुवै जना अक्टोबर ७ मा भएको आक्रमणमा मारिएका थिए।
हमासले २६ थाई नागरिकलाई एकपक्षीय रूपमा मुक्त गर्न सक्ने कुरा एक इजरेली अधिकारीले मङ्गलवार बताएका थिए। हमासले इजरेलबाट बन्धक बनाएर लगेका विदेशी नागरिकमध्ये २६ थाई र एक नेपाली नागरिक पनि भएको ठानिएको छ। नेपाली पक्षले विपिन जोशीको मुक्तिका लागि कतार सरकारलाई सहयोग गर्न आग्रह गरेको थियो।
आईसीआरसीले बन्धक मुक्तिका लागि सहजीकरण गर्न आफू तयार रहेको जनाएको छ। हमासले दुई इजरेली-अमेरिकी र अरू दुई इजरेली महिलालाई गत महिना मुक्त गर्दा आफूले सघाएको जनाएको छ।
गाजामा कारबाहीका क्रममा इजरेली सेनाले एक महिला सैनिकको उद्धार गरेको थियो भने अरू दुई महिला बन्धकको शव फेला पारेको थियो।
इजरेल सरकारले "सबै बन्धकलाई घर फिर्ता ल्याउन, हमासलाई निर्मूल पार्न र इजरेल राज्यलाई गाजातिरबाट नयाँ जोखिम नभएको सुनिश्चित गर्न युद्ध जारी राख्ने" जनाएको छ।

तस्बिर स्रोत, Getty Images
सङ्घर्षविरामका समयमा गाजामा के हुन्छ?
अस्थायी सङ्घर्षविरामको अवधिमा इजरेली सेनाले केकस्तो कारबाही रोक्ने सक्ने छ भनी हमासले एउटा लामो विज्ञप्ति जारी गरेको छ।
उसका अनुसार दक्षिणी गाजामा चार दिनका लागि इजरेली सेनाको ड्रोन तथा हवाई कारबाही रोकिने आशा गरिएको छ।
तर हमासलाई तहसनहस पार्ने उद्देश्यले सुरु भएको इजरेली कारबाहीको मूल तारोका रूपमा रहेको उत्तरी क्षेत्रमा भने प्रत्येक दिन स्थानीय समयानुसार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म मात्र सङ्घर्षविराम लागु हुने छ।
सङ्घर्षविरामको अवधिमा पनि इजरेली सेना तथा तिनका बख्तरबन्द गाडीहरू गाजामै रहने छन्। तर यस अवधिमा उनीहरूले कसैलाई आक्रमण वा पक्राउ नगर्ने हमासले बताएको छ।
गाजामा रहेका प्यालेस्टिनीहरूले यो क्रूर लडाइँबाट मुक्त भएर शान्तिको सास फेर्न भने निकट भविष्यमा पनि सम्भव नहुने जस्तो देखिएको छ। संयुक्त राष्ट्रसङ्घका अनुसार त्यहाँका करिब १७ लाख मानिसहरूले घर छाडिसकेका छन्।

तस्बिर स्रोत, Reuters
पछिल्लो सहमतिअनुसार सङ्घर्षविरामका अवधिमा सहायता सामग्री बोकेका २०० लरी, इन्धन बोकेका चार ट्याङ्कर र ग्यास बोकेका चार लरीलाई इजिप्टको रफाह नाका हुँदै गाजा प्रवेश गर्न दिइने छ।
तर अस्पतालका जेनरेटर र ढल व्यवस्थापनलगायत कामका लागि अत्यावश्यक इन्धनको आपूर्ति बढाइए पनि त्यो सङ्घर्षविरामको अवधिका लागि मात्र पर्याप्त हुने ठानिएको छ।
इजरेलले गाजामा विद्युत्, पानी र खानाको आपूर्ति बन्द गराएको छ। हमासको आक्रमणको प्रतिरोधका क्रममा उसले इन्धन र अन्य आवश्यक सामग्रीको आपूर्ति हुन दिएको छैन।
विगत एक महिनामा इजरेलको अनुमतिमा इजिप्ट हुँदै करिब १,४०० लरी मानवीय सहायता सामग्री गाजामा पुगेको छ। राष्ट्रसङ्घका अनुसार युद्धअघि त्यहाँ हरेक महिना औसतमा १० हजार लरी सामग्री पुर्याइन्थ्यो।
हमासले इन्धन चोरी गरी त्यसलाई सैन्य गतिविधिमा प्रयोग गर्न सक्ने दाबीका साथ इजरेलले गत सातासम्म पनि गाजामा इन्धन आपूर्ति गर्न दिएको थिएन।
सङ्घर्षविरामको सम्झौताले गाजाका मानिसहरूलाई सुरक्षित रूपमा दक्षिणतर्फ जाने अवसर दिए पनि उत्तरी क्षेत्रमा रहेका आफ्ना घरबाट विस्थापित भएका हजारौँ स्थानीयवासीलाई घर फर्कने अवसर भने अझै उपलब्ध भएको छैन।
इजरेली जेलबाट छुट्ने प्यालेस्टिनी बन्दी को हुन्?
इजरेलसँग भएको सहमतिअनुसार इजरेली जेलबाट १५० प्यालेस्टिनी बन्दीहरू छुट्ने हमासले बताएको छ। ती सबै महिला र बालबालिका छन्।
इजरेल सरकारले सुरुमा जारी गरेको विज्ञप्तिमा यो कुरा उल्लेख गरिएको थिएन। यद्यपि बुधवार बिहान इजरेलको न्याय मन्त्रालयले हिब्रू भाषामा प्रकाशित गरेको एउटा सूचीमा उक्त सहमतिअनुसार मुक्त हुन योग्य ३०० बन्दीको नाम समाविष्ट गरेको छ।
हमास थप ५० बन्धक मुक्त गर्न सहमत हुने सम्भावनालाई दृष्टिगत गर्दै ती नाम सार्वजनिक गरिएको हो।
उक्त सूचीमा १४ देखि १७ वर्षसम्मका १२३ बालक, एक १५ वर्षे बालिका, १४४ जना १८ वर्षे किशोर र १८ देखि ५९ वर्षसम्मका ३२ महिला छन्।
तीमध्ये अधिकांशलाई ढुङ्गा हानेको अभियोदेखि ज्यान मार्ने उद्योग गरेकोसम्मका अभियोगमा हिरासतमा राखिएको छ। उनीहरूविरुद्ध परेको मुद्दामा सुनुवाइ सुरु हुनु बाँकी नै छ।

तस्बिर स्रोत, Reuters
इजरेली कानुनमा विद्यमान प्रावधानअनुसार औपचारिकता पूरा गर्न उक्त सूची प्रकाशित गरिएको हो। कुनै बन्दीलाई मुक्त गर्नुअघि इजरेली नागरिकहरूलाई देशको सर्वोच्च अदालतमा पुनरावेदन गर्न २४ घण्टाको समय उपलब्ध गराउनुपर्छ।
यो सहमति कार्यान्वयनमा कुनै गम्भीर अवरोध हुने ठानिएको छैन। तर इजरेलले आफ्नो कानुनी प्रक्रिया पूरा गर्नुपर्ने भएकाले सहमति लागु गर्न केही विलम्ब भएको हो।
इजरेलमा अहिले झन्डै ७,००० प्यालेस्टिनीहरूलाई विभिन्न अभियोगमा वा मुद्दामा दोषी ठहर गरेर जेलमा राखिएको इजरेली तथा प्यालेस्टिनी मानवाधिकारवादी समूहहरूले जनाएका छन्। अक्टोबर ७ पछि हिंसाका घटना बढेपछि इजरेल अधीनस्थ वेस्ट ब्याङ्क र पूर्वी जेरुसलेमबाट झन्डै ३,००० प्यालेस्टिनीलाई पक्राउ गरिएको जनाइएको छ।
हमासले अहिले गरिएको सहमतिको उद्देश्य "हाम्रा जनताको सेवा गर्नु र अतिक्रमण भएका बेला तिनको दृढतालाई बलियो बनाउनु" भएको आफ्नो विज्ञप्तिको अन्त्यतिर लेखेको छ।
"हाम्रा औँलाहरू बन्दुकको ट्रिगरमै रहन्छन् अनि हाम्रा विजयी योद्धाहरू आफ्ना जनताको रक्षा गर्न र अतिक्रमणलाई परास्त गर्न तम्तयार रहेने छन्," उसले चेतावनी दिँदै भनेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








