हमासको नियन्त्रणबाट विपिन जोशी छुटाउन नेपालले इजिप्टलाई पनि गुहार्‍यो

विपिन जोशी

तस्बिर स्रोत, Facebook/Bipin Joshi

हमासले इजरेली र विदेशी गरी झन्डै छ दर्जन बन्धक मुक्त गरिसक्दा पनि नेपाली विद्यार्थी विपिन जोशीको अवस्थाबारे स्पष्ट जानकारी प्राप्त हुन नसकेको नेपाली कूटनीतिक अधिकारीहरूले बताएका छन्।

जोशी हमासको नियन्त्रणमा भएको ठानिएको छ। केही साताअघि इजरेली सेनाले हमासको नियन्त्रणमा एक नेपाली बन्धक पनि भएको प्रमाण फेला परेको जनाएको थियो।

उनलाई छुटाउन “आवश्यक सबै किसिमको पहल जारी” राखिएको नेपाली अधिकारीहरूले बताएका छन्।

नेपाली पक्षले अहिलेसम्म जोशीबारे कुरा गर्न हमाससँग सीधा सम्पर्क गरेको छैन।

परराष्ट्रमन्त्री एनपी साउदले जोशीलाई छुटाउन उक्त प्यालेस्टिनी लडाकु समूहसँग सम्पर्कमा रहेका देशहरूसँग कूटनीतिक पहल गर्ने प्रयास गरिएको बताएका छन्।

त्यस क्रममा नेपालले इजिप्टसँग पनि आवश्यक पहल गरिदिन औपचारिक आग्रह गरिसकेको उनले बीबीसीलाई बताए। यसअघि नेपाली पक्षले कतारसँग त्यस्तो आग्रह गरेको थियो र उसबाट सहयोगको आश्वासन पाएको थियो।

विपिन जोशीबारे हामीलाई के थाहा छ

इजरेली डिफेन्स फोर्सेसले एउटा सीसीटीभी फुटेज जारी गर्दै अक्टोबर ७ का दिन विपिन जोशीलाई हमासको नियन्त्रणमा रहेको देखिएको बताएको छ

तस्बिर स्रोत, ISRAEL DEFENSE FORCES/REUTERS

तस्बिरको क्याप्शन, इजरेली डिफेन्स फोर्सेसले एउटा सीसीटीभी फुटेज जारी गर्दै अक्टोबर ७ का दिन विपिन जोशीलाई हमासको नियन्त्रणमा रहेको देखिएको बताएको थियो

जोशी हमासको कब्जामा रहेको भनिए पनि गत अक्टोबर ७ मा हमासले इजरेलमाथि गरेको हमलापछि उनीबारे कसैलाई पनि खासै जानकारी छैन।

उत्तरी गाजास्थित अल-शिफा अस्पतालको एउटा फुटेज सार्वजनिक गर्दै इजरेली सेनाले त्यसमा देखिएकामध्ये एक जना नेपाली नागरिक पनि रहेको जनाएको थियो। तर हमासले नेपाली बन्धकबारे कुनै पनि विवरण सार्वजनिक गरेको छैन।

इजरेली सुरक्षा अधिकारीहरूले तेल अभिभस्थित नेपाली दूतावासका अधिकारीहरूलाई विपिन जोशी हमासको कब्जामा रहेका छन् भन्ने मुख्यत: तीनवटा आधारहरू दिएको बताइएको छ।

ती आधारहरूमा अल-शिफा अस्पतालको उक्त फुटेजमा उनीजस्तो एक व्यक्ति देखिनु एउटा आधार हो।

त्यस्तै अक्टोबर ७ मा हमासको आक्रमणपछि पनि विपिन जोशीको मोबाइल फोन इजरेली सीमाबाहिर गाजा क्षेत्रमा केहीबेर ‘एक्टिभ’ रहेको पाइनु अर्को आधारका रूपमा देखिएको छ।

तेस्रो आधार भनेको विपिन रहेको कृषि फर्म र त्यस आसपासमा हमासको आक्रमणमा मारिएका र शव पहिचान हुन नसकेकाहरूसँग विपिन जोशीको डीएनए नमिल्नु हो।

उनी बेपत्ता भएपछि नेपालबाट उनका आमाबुवाको डीएनएको नमुना लगिएको थियो। इजरेली सुरक्षाकर्मीले सङ्कलन गरेका शवहरूको डीएनएसँग तुलना गरेर हेरिएको थियो।

इजरेलस्थित नेपाली राजदूत कान्ता रिजालले जोशीको पछिल्लो अवस्था थाहा हुन नसकेको तर उनलाई मुक्त गर्नका लागि विभिन्न तरिकाले पहल जारी राखिएको जानकारी दिइन्।

“विपिन जोशीलाई छुटाउनका लागि हामी इजरेली अधिकारीहरूसँग पनि निकट सम्पर्कमा रहेर काम गरिरहेका छौँ। उनको मुक्तिका लागि चाल्नुपर्ने सबैखाले कदम दूतावासले चालेको छ।”

परराष्ट्रमन्त्रीले के भन्छन्

सोमवार बिहान बीबीसीसँग सङ्क्षिप्त कुराकानी गर्दै परराष्ट्रमन्त्री एनपी साउदले सरकारले विपिन जोशीलाई छुटाउन प्रयास गरिरहेको बताएका छन्।

विशेष गरी नेपालले उनलाई छुटाउनका लागि हमाससँग "राम्रो सम्बन्ध भएको" कतारसँग कूटनीतिक पहल गरेको जानकारी उनले दिए।

केही साताअघि दोहास्थित नेपाली दूतावासले औपचारिक पत्र लेखेरै कतारलाई जोशीको मुक्तिका लागि पहल गरिदिन आग्रह गरेको थियो।

परराष्ट्रमन्त्री र कतारी मन्त्री

तस्बिर स्रोत, MOFA

तस्बिरको क्याप्शन, गत साता नेपाल भ्रमणमा आएका कतारी विदेश राज्यमन्त्रीलाई पनि जोशीको मुक्तिका लागि पहल गरिदिने नेपालका परराष्ट्रमन्त्रीले आग्रह गरेका थिए

त्यस्तै गत साता नेपाल भ्रमणमा आएका कतारी विदेश राज्यमन्त्रीलाई पनि त्यसबारे कुराकानी गरेको र उनले जोशीको मुक्तिका लागि कतारले सक्ने पहल गरिरहेको जानकारी दिएको बीबीसीलाई बताए।

“हमाससँग हाम्रो सीधा सम्पर्क वा कूटनीतिक सम्बन्ध छैन। हामीले उनीहरूसँग सम्पर्क भएका कतारलगायतका देशहरूसँग सहयोगका लागि पहल गरेका छौँ। उनीहरूले पनि सहयोगका लागि पहल गरिरहेको बताएका छन्।”

“गाजामा राहत तथा उद्धारका लागि सहयोग गरिरहेको इजिप्ट र अन्तर्राष्ट्रिय समुदायसँग पनि हामीले विपिन जोशीको मुक्तिका लागि पहल गरेका छौँ।”

इजिप्टलाई पनि पत्र लेखेर आग्रह

कायरोस्थित नेपाली राजदूत सुशीलकुमार लम्सालले बीबीसीलाई दिएको जानकारीअनुसार नेपालले इजिप्टलाई पनि पत्र लेखेर विपिन जोशीको मुक्तिका लागि पहल गरिदिन आग्रह गरेको छ।

“हामीले यहाँको विदेश मन्त्रालयलाई विपिन जोशीको हुलियासहित पत्र लेखेरै उनलाई छुटाउन पहल गरिदिन आग्रह गरेका छौँ,” उनले भने।

“उहाँहरूले पनि आवश्यक पहल गरिदिने आश्वासन दिनुभएको छ।”

विपिन जोशीको अवस्था र उनको मुक्तिका लागि आफूले आइतवार मात्र इजिप्टका सहायक विदेशमन्त्रीलाई भेटेर आग्रह गरेको लम्सालले बताए।

“उहाँले पनि इजिप्ट र अन्तर्राष्ट्रिय संस्थाहरूमार्फत् पहल गरिरहेको जानकारी दिनुभएको छ।”

आफ्नो परिवारसँग विपिन जोशी

तस्बिर स्रोत, KISHOR CHANDRA JOSHI

तस्बिरको क्याप्शन, आफ्नो परिवारसँग विपिन जोशी

विपिन जोशीको परिवार के भन्छ

भिडिओ क्याप्शन सुरु हुँदैछ, Bipin Joshi

अहिलेसम्म विपिन जोशीबारे नयाँ जानकारी नपाइएकाले आफूहरू चिन्तित भएको उनको परिवारका सदस्यहरूले बताएका छन्।

उनीहरूले अन्तर्राष्ट्रिय पहल गरेर जोशीको अवस्था पत्ता लगाइदिन र बन्धक अवस्थामा भए मुक्त गराउन सरकारले प्रभावकारी पहल गरोस् भन्ने चाहेको बताए।

उनको परिवारले अन्तर्राष्ट्रिय पहल गरेर चाँडोभन्दा चाँडो मुक्ति होस् भन्ने चाहेको जनाएको छ।

परिवारका सदस्यहरूले विपिन जोशीका बुबाआमा चाँडै छोरो मुक्त हुने आशामा रहेको बताएका छन्।

उनका दाइ चन्द्रकिशोर जोशीले भने, “सङ्घर्षविराम भएसँगै धेरै आशा पलाएको छ। भाइ छुटिहाल्छ कि भनेर हामी रातभरि पनि समाचार नै हेरेर बस्छौँ।”

“कतारसँग हमासको राम्रो छ भन्ने सुनिन्छ। नेपालको पनि कतारसँग राम्रो सम्बन्ध छ भन्ने सुनेकाले सरकारले त्यताबाट पहल गरेर भए पनि हाम्रो भाइलाई तत्काल छुटाइदिए हुन्थ्यो।”

“हामी ऊ कहिले मुक्त होला र फोन गर्ला भनेर उसको फोन कुरेर बसेका छौँ। बुबाआमाले पनि त्यही भन्नुहुन्छ।”

गाजाको अवस्था के छ

अक्टोबर ७ मा हमासले इजरेलमा गरेको हमलामा १,२०० जनाभन्दा बढीको ज्यान गयो। उक्त घटनामा १० नेपालीसहित कैयौँ विदशी नागरिकहरू पनि मारिए।

उक्त अप्रत्याशित आक्रमणको प्रतिक्रिया दिन इजरेलले हमासलाई निमिट्यान्न पार्ने उद्घोषसहित गाजामा सघन सैन्य कारबाही थाल्यो।

गाजा

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, हमासले मुक्त गरेका बन्दीहरूलाई अन्तर्राष्ट्रिय रेडक्रसलाई जिम्मा लगाएको छ

तर इजरेली बन्धक र प्यालेस्टिनी बन्दीहरू मुक्त गर्ने सहमति गर्दै इजरेल र हमासले चार दिनका लागि सङ्घर्षविराम गर्न तयार भए।

कतारी मध्यस्थतामा दुई पक्षबीच भएको सङ्घर्षविरामको सोमवार चौथो दिन हो र त्यसलाई लम्ब्याउने पहल जारी रहेको बताइएको छ। हमासले सङ्घर्षविराम लम्ब्याउन चाहेको बताएको छ भने अमेरिकी राष्ट्रपतिले पनि त्यस्तै धारणा राखेका छन्।

हमासले आइतवार रातिसम्म मुक्त गरेका ४० जना महिला र बालबालिका हुन्

तस्बिर स्रोत, ISRAEL DEFENSE FORCES

तस्बिरको क्याप्शन, हमासले आइतवार रातिसम्म मुक्त गरेका ४० जना महिला र बालबालिका हुन्

इजरेली हमलामा अहिलेसम्म गाजामा १४,५०० जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

इजरेली प्रधानमन्त्रीले चाहिँ सङ्घर्षविरामको अन्त्यपछि गाजामा इजरेली कारबाही जारी रहने चेतावनी दिएका छन्।

हमासले अहिलेसम्म ५८ जनालाई मुक्त गरिसकेको छ।

तीमध्ये महिला र बालबालिका गरी ४० जनाको मुक्ति इजरेल र हमासबीच भएको सहमतिअनुसार भएको हो। इजरेलले पनि त्यसको तेबर सङ्ख्यामा प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको छ।

हमास र इजिप्ट सरकारबीच भएको छुट्टै सहमतिअनुसार १७ थाई र एक फिलिपो नागरिकलाई पनि हमासले छोडेको छ।

इजरेल र हमासबीच ५० बन्धक मुक्त गर्ने र हमासले थप १० बन्धक मुक्त गरे सङ्घर्षविराम एक दिनले लम्बिने सहमति भएको थियो।

विपिन जोशी को हुन्

विपिन जोशी

तस्बिर स्रोत, KISHOR CHANDRA JOSHI

कञ्चनपुरका विपिन जोशी सुदूरपश्चिम विश्वविद्यालयमा कृषिविज्ञानका विद्यार्थी हुन्।

उनी इजरेल र नेपाल सरकारबीचको सम्झौताअनुसार कृषिविज्ञानका विद्यार्थीलाई पठाइने ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत अरू विद्यार्थीसँगै इजरेल गएका थिए। उनी गाजाको सीमानजिकै एउटा कृषि फर्ममा कार्यरत थिए।

कृषि फर्ममा कार्यरत १७ नेपाली विद्यार्थीमध्ये १० जना हमासको आक्रमणमा परेर मृत्यु भएको थियो। अरू चार जना घाइते भएका थिए भने जोशी सम्पर्कविहीन भएका थिए। अन्य दुईजना भने सकुशल थिए।

जोशीसँग एउटै फर्ममा कार्यरत रहेका र उद्धार गरेर नेपाल फर्काइएका विद्यार्थीहरूले उनले हमासले प्रहार गरेको ग्रिनेड फालेर आफूहरूलाई बचाएको बताएका थिए।

तर पछि उनलाई हमास लडाकुले लगेको ती विद्यार्थीहरूले सञ्चारमाध्यमलाई बताएका थिए।

इजरेलमा कति नेपाली छन्

इजरेलस्थित नेपाली राजदूत कृषि क्षेत्रबारे अध्ययन गरिरहेका विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै (फाइल फोटो)

तस्बिर स्रोत, EMBASSY OF NEPAL ISRAEL

तस्बिरको क्याप्शन, इजरेलस्थित नेपाली राजदूत कृषि क्षेत्रबारे अध्ययन गरिरहेका विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै (फाइल फोटो)

नेपालको परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार अहिले इजरेलमा ४,५०० नेपालीहरू केअरगिभरको रूपमा कार्यरत छन्।

त्यस्तै २६५ जना विद्यार्थीहरू ‘लर्न एन्ड अर्न’ योजनाअन्तर्गत काम गर्दै सिक्नका लागि कृषि क्षेत्रमा गएका थिए।

त्यसमध्ये २५३ जनालाई स्वदेश फर्काइएको छ भने १० जनाको निधन भएको छ। त्यस्तै घाइते भएका दुई जना हाल इजरेलमै उपचाररत रहेको तेल अभिभस्थित नेपाली दूतावासले जनाएको छ।

यद्यपि इजरेलमा रहेका नेपालीहरू केही मात्रामा सरकारी विवरणमा नसमेटिएका र गैरकानुनी रूपमा इजरेलमा कार्यरत नेपालीहरू पनि रहेको बताउँछन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।