विपिन जोशीलाई 'पहिलो चरणमै' छुटाउन पहल गरिदिन कतारलाई नेपालको अनुरोध

तस्बिर स्रोत, Facebook/Bipin Joshi
- Author, विष्णु पोखरेल
- Role, बीबीसी न्यूज नेपाली
गाजामा इजरेल र हमासबीच चार दिनका लागि सङ्घर्षविराम सुरु गर्न सहमति भएपछि अक्टोबर ७ मा हमास लडाकु समूहले इजरेलबाट बन्धक बनाएर लगेको ठानिएका नेपाली विद्यार्थी विपिन जोशीको अवस्थाबारे नेपालमा व्यापक चासो व्यक्त भइरहेको छ।
जोशीको परिवारका सदस्यहरूले निरन्तर उनको मुक्तिका लागि आवश्यक पहल गरिदिन नेपाल सरकार र सरोकारवालाहरूलाई आग्रह गर्दै आएका छन्। सरकारी तथा कूटनीतिक अधिकारीहरूले पनि त्यसका लागि पहल जारी राखिएको बताएका छन्।
सरकारी अधिकारीहरूका अनुसार नेपाल सरकारले इजरेल र हमासबीच लडाइँ रोक्ने र बन्धक मुक्त गर्ने सहमतिअनुसार विपिन जोशीलाई पनि छुटाउन नेपालले आवश्यक कूटनीतिक पहल जारी राखेको छ।
त्यस क्रममा बिहीवार परराष्ट्रमन्त्री एनपी साउदले नेपालस्थित इजरेली राजदूतलाई मन्त्रालयमा बोलाएर त्यस्तो आग्रह गरेको जानकाी उनको सचिवालयले दिएको छ। परराष्ट्रमन्त्रीले शुक्रवार नेपाल भ्रमणमा रहेका कतारी विदेश राज्यमन्त्रीलाई पनि त्यस्तै आग्रह गरेको साउदका स्वकीय सचिव दीपक जोशीले बीबीसीलाई बताए।
साउदकै निमन्त्रणामा कतारी विदेश राज्यमन्त्री सुल्तान बिन साद अल मुराइखी अहिले नेपाल भ्रमणमा छन्। इजरेल र हमासबीच सहमति गराउन कतारले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो।
विपिन जोशीबारे के थाहा छ?

तस्बिर स्रोत, Facebook/Bipin Joshi
इजरेल र हमासबीच भएको सहमतिअन्तर्गत चार दिनको सङ्घर्षविरामको अवधिमा हमासले गाजाबाट ५० बन्धकलाई मुक्त गर्ने छ भने इजरेलले १५० जना प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने भएको छ।
त्यसको पहिलो चरणमा शुक्रवार १३ बन्धकहरू मुक्त हुने कतारी मध्यस्थकर्ताले जनाएका छन्। त्यसमा सबै महिला तथा बालबालिका हुने बताइएको छ।
हमासको कब्जाबाट मुक्त हुने ५० जनाको समूहमा जोशी नपर्ने सम्भावना रहेको नेपाली कूटनीतिक अधिकारीहरूले बताएका छन्।
केही दिनअघि इजरेली डिफेन्स फोर्सेसले सार्वजनिक सञ्जालमा सीसीटीभी फुटेजसहित एउटा पोस्ट गर्दै हमासका लडाकुहरूले बन्धक बनाएर लगेका केही मानिसलाई अक्टोबर ७ कै दिन अल-शिफा अस्पताल परिसरमा देखिएको र तीमध्ये एक जना नेपाली भएको जनाएको थियो।
तर इजरेल र कतारस्थित नेपाली राजदूतहरूका अनुसार विपिन जोशीको पछिल्लो अवस्थाबारे यथार्थ जानकारी पाउन सकिएको छैन।
उनीहरूले “आवश्यक पहल भइरहेको र चाँडै उनी मुक्त हुने” आशामा आफूहरू बसेको बताएका छन्।
इजरेली विदेश मन्त्रालयमा छलफल

तस्बिर स्रोत, ISRAEL DEFENSE FORCES/REUTERS
बिहीवार इजरेलस्थित नेपाली राजदूत कान्ता रिजाल र इजरेलको विदेश मन्त्रालयका अधिकारीहरूबीच जोशीको मुक्तिका लागि आवश्यक पहल अघि बढाउने विषयमा पुन: छलफल भएको रिजालले बीबीसीलाई बताइन्।
“हामीले उहाँहरूलाई जोशीलाई मुक्त गराउने कुरालाई प्राथमिकतामा राख्न आग्रह गरेका छौँ। उहाँहरूले आवश्यक सहयोग गर्ने बताउनुभएको छ,” उनले भनिन्।
अधिकारीहरूले अहिले नेपालले जोशीलाई हमासले मुक्त गर्ने पहिलो चरणका मानिसहरूमै समाविष्ट गर्न नेपालले कूटनीतिक ढङ्गले पहल गरिरहेको बताएका छन्।
यद्यपि उनको पछिल्लो अवस्था र हमाससँग सम्पर्क भएको वा गर्ने वा नगर्नेबारे नेपाली अधिकारीहरूले कुनै पनि विवरण दिएका छैनन्।
कतारस्थित नेपाली राजदूत नरेशविक्रम ढकालले पनि हालसम्म विपिन जोशीको मुक्तिबारे थप जानकारी नआएको बताए।
परराष्ट्र मन्त्रालय के भन्छ

तस्बिर स्रोत, MOFA of Nepal
बिहीवार परराष्ट्र मन्त्रालयले एउटा वक्तव्य जारी गर्दै इजरेल र हमासबीच भएको सङ्घर्षविरामलाई स्वागत गरेको छ।
वक्तव्यमा उक्त सङ्घर्षविराम गराउन पहल गर्ने कतार, अमेरिका र इजिप्टको प्रशंसा पनि गरिएको छ।
त्यसमा नेपाल सरकारले विपिन जोशीको तत्काल मुक्तिका लागि आफ्नो आह्वानलाई दोहोर्याएको छ।
हमास र इजरेलसँग सङ्घर्षविराम गराउन मुख्य भूमिका खेलेको कतारलाई नेपालले पटकपटक विपिन जोशीलाई मुक्त गर्न पहल गरिदिन आग्रह गरेको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

तस्बिर स्रोत, ISRAEL DEFENSE FORCES/REUTERS
त्यसै क्रममा परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणामा नेपाल भ्रमणमा आएका कतारी विदेश राज्यमन्त्रीसँग पनि जोशीको मुक्तिबारे कुराकानी गरेका छन्।
"परराष्ट्रमन्त्रीले कतारलाई नेपाली नागरिक विपिन जोशीको शीघ्र मुक्तिका लागि सहयोग गर्न अनुरोध गर्नुभयो," परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल एक्समा लेखेको छ, "कतारी राज्यमन्त्रीले पनि नेपाललाई जोशीको मुक्तिका लागि सहयोग गर्ने आश्वासन दिनुभयो।"
कतारी विदेश राज्यमन्त्रीसँगको भेटपछि साउदको सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "विद्रोही हमासले रिहा गर्न लागिएको भनिएका ५० जनाको समूहसँगै जोशीको रिहाइ गराइदिन विशेष अनुरोध गरिएको।"
कतारी राजाले नेपाल भ्रमण गर्ने यसअघि नै तय भएको थियो तर इजरेल र प्यालेस्टाइनबीच बढेको तनावपछि उनको भ्रमण स्थगित भएको थियो।
मन्त्रालयका अनुसार साउदले बिहीवार नेपालस्थित इजरेली राजदूतसँग पनि जोशीको मुक्तिबारे कुराकानी गरेका थिए।
विपिन जोशी को हुन्?
कञ्चनपुरका विपिन जोशी सुदूरपश्चिम विश्वविद्यालयमा कृषिविज्ञानका विद्यार्थी हुन्।
उनी इजरेल र नेपाल सरकारबीचको सम्झौताअनुसार कृषिविज्ञानका विद्यार्थीलाई पठाइने ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत अरू विद्यार्थीसँगै इजरेल गएका थिए। उनी गाजाको सीमानजिकै एउटा कृषि फर्ममा कार्यरत थिए।
कृषि फर्ममा कार्यरत १७ नेपाली विद्यार्थीमध्ये १० जना हमासको आक्रमणमा परेर मृत्यु भएको थियो। अरू चार जना घाइते भएका थिए भने जोशी सम्पर्कविहीन भएका थिए। अन्य दुईजना भने सकुशल थिए।
जोशीसँग एउटै फर्ममा कार्यरत रहेका र उद्धार गरेर नेपाल फर्काइएका विद्यार्थीहरूले उनले हमासले प्रहार गरेको ग्रिनेड फालेर आफूहरूलाई बचाएको बताएका थिए।
तर पछि उनलाई हमास लडाकुले लगेको ती विद्यार्थीहरूले सञ्चारमाध्यमलाई बताएका थिए।

तस्बिर स्रोत, KISHOR CHANDRA JOSHI
इजरेलमा नेपालीको सङ्ख्या
नेपालको परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार अहिले इजरेलमा ४,५०० नेपालीहरू केअरगिभरको रूपमा कार्यरत छन्।
त्यस्तै २६५ जना विद्यार्थीहरू ‘लर्न एन्ड अर्न’ योजनाअन्तर्गत काम गर्दै सिक्नका लागि कृषि क्षेत्रमा गएका थिए।
त्यसमध्ये २५३ जनालाई स्वदेश फर्काइएको छ भने १० जनाको निधन भएको छ। त्यस्तै घाइते भएका दुई जना हाल इजरेलमै उपचाररत रहेको तेल अभिभस्थित नेपाली दूतावासले जनाएको छ।
यद्यपि इजरेलमा रहेका नेपालीहरू केही मात्रामा सरकारी विवरणमा नसमेटिएका र गैरकानुनी रूपमा इजरेलमा कार्यरत नेपालीहरू पनि रहेको बताउँछन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








