गाजामा सङ्घर्षविराम, हमासले छोड्ने बन्धकलाई इजिप्टको नाका हुँदै इजरेल लगिने

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
इजरेल र हमासबीचको युद्धमा सङ्घर्षविरामको अवधि आरम्भ भएको छ।
स्थानीय समयानुसार बिहान ७ बजे उक्त अस्थायी सङ्घर्षविराम सुरु भएपछि अपराह्ण ४ बजे हमासले बन्धक बनाएर राखेकाहरूमध्ये १३ जना मुक्त हुने कतारी मध्यस्थकर्ताहरूले बताएका छन्।
बीबीसीकी मध्यपूर्व संवाददाता योलान्ड नेलका अनुसार थप सहायता गाजा स्ट्रिपतिर जान थालेको र गाजामा प्यालेस्टिनी र अरू मानिसहरू हिँडडुल गर्न थालेको देखिएको छ।
उनका अनुसार हमासले मुक्त गर्ने १३ जनालाई अन्तर्राष्ट्रिय रेड क्रसलाई हस्तान्तरण गरिने छ र उनीहरूलाई इजिप्टको रफाह नाका हुँदै इजरेल लगिने छ।
इजरेल र हमासबीच भएको सहमतिअन्तर्गत चार दिनको सङ्घर्षविरामको अवधिमा हमासले गाजाबाट कुल ५० जना बन्धकहरूलाई मुक्त गर्ने छ भने इजरेलले १५० जना प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने छ।

तस्बिर स्रोत, GETTY IMAGES
मुक्त भएका मानिसहरू कसरी इजरेल पुग्छन्?
शुक्रवार मुक्त हुने भनिएकाहरू सबै जना महिला तथा बालबालिका हुने बताइएको छ। उनीहरूको नाम सार्वजनिक गरिएको छैन।
गाजाबाट रफाह नाकामा इजरेली सुरक्षाकर्मीहरूले मुक्त भएका मानिसहरूको परिचय जाँच गर्ने छन्। त्यहाँ उनीहरूको स्वास्थ्य परीक्षण पनि हुने छ। त्यहाँबाट उनीहरूलाई हेलिकप्टरमा राखेर इजरेली सीमाभित्र लगिने छ।
नेलका अनुसार उनीहरूलाई थप परीक्षणका लागि अस्पताल लगिने छ। त्यसपछि बल्ल उनीहरूको आफन्तसँग पुनर्मिलन हुने छ।
त्यसको दुई घण्टाजतिपछि मात्र इजरेली जेलबाट प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरिने छ।

तस्बिर स्रोत, Reuters
गाजामा बिहान के भयो?
बिहान सङ्घर्षविराम सुरु हुनुभन्दा केही घण्टाअघि गाजामा भीषण लडाइँ भएको थियो।
बीबीसी संवाददाता नेलका अनुसार इजरेलले हवाई आक्रमण गरेका स्थानबाट धुवाँको मुस्लो उडेको देखिएको थियो भने निरन्तर गोलाबारी भएको आवाज सुनिएको थियो।
यसअघि इजरेली सेनाले गाजामा "युद्ध अझै समाप्त भएको छैन" भन्दै सामाजिक सञ्जालमा एउटा भिडिओ पोस्ट गरेको थियो।
उक्त भिडिओमा इजरेली डिफेन्स फोर्सेस (आईडीएफ) का प्रवक्ताले मानवीय सहायताका लागि गरिएको विराम "अस्थायी" भएको भन्दै उत्तरी गाजा स्ट्रिप "खतरनाक रणभूमि" भएको चेतावनी दिएका थिए।
मानवीय सहायताको अवस्था के छ?
प्यालेस्टिनी बन्दीहरूको रिहाइसँगै गाजामा मानवीय सहायता सामग्रीहरूको प्रवेशलाई पनि उल्लेख्य रूपमा बढाइने जनाइएको छ।
विश्व खाद्य कार्यक्रमले आफ्ना १०० वटा ट्रक खाद्यान्न आपूर्ति गर्न तयार अवस्थामा रहेको जनाएको छ। इजिप्टले प्रत्येक दिन १.३० लाख लिटर डीजल र चार ट्रक ग्यास गाजामा पठाइने जनाएको छ।
तर अक्सफामकी एक अधिकारीले अहिले भनिएको परिमाणको सहायताले गाजाको आवश्यकता पूर्ति नगर्ने जनाएकी छन्।
"गाजाको पूरा जनसङ्ख्या (२० लाख) सहायतामा निर्भर छ र चार दिनमा २०० ट्रक मानवीय सहायता जुट्छ...। त्यो अपर्याप्त छ," लैला बार्हूमले बीबीसीसँग भनिन्।
सङ्घर्षविराम लम्बिन सक्ला?

तस्बिर स्रोत, GETTY IMAGES
इजरेलले यदि हमासले १० जना थप बन्धक मुक्त गरेमा त्यसको बदलामा सङ्घर्षविरामको अवधिमा एक दिन थप गरिने पनि बताएको छ।
अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा १,२०० जनाको ज्यान गएको थियो भने २४० जनालाई बन्धक बनाएर लगेको थियो।
त्यसयता इजरेलले गरेको हमलामा १४,००० जनाभन्दा बढी मारिएको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।
हमासले गरेको हमलामा १० जना नेपाली नागरिकहरू पनि मारिएका थिए। एक नेपाली नागरिकलाई हमासले बन्धक बनाएर लगेको विश्वास गरिएको छ।
केही दिनअघि इजरेली सेनाले गाजास्थित अल-शिफा अस्पतालमा अक्टोबर ७ मा खिचिएको सीसीटीभी फुटेजमा नेपाली बन्धक पनि देखिएको जनाएको थियो। तर अक्टोबर ७ पछि विपिन जोशी सम्पर्कविहीन भएको भए पनि उनको अवस्थाबारे अहिलेसम्म पक्का जानकारी प्राप्त नभएको नेपाली अधिकारीहरूले बताएका छन्।
बन्धकका आफन्त के भन्छन्?
शुक्रवार रिहा हुने भनिएका बन्धकहरूमा आफ्ना आफन्त नपरेको भन्दै केही बन्धकका परिवारहरूले असन्तुष्टि व्यक्त गरेका छन्।
हमासले रिहा गर्ने १३ जना बन्धकहरूको नाम टुङ्गो लगाएको बुझिएको छ। तर उनीहरूको नाम सार्वजनिक गरिएको छैन।
डाफ्ना र एला नाम गरिएका दुई बालबालिकाकी आमा मायान जिनले आफूलाई आफ्ना सन्तानहरूको रिहाइ शुक्रवार नगरिने भनी सूचित गरिएको बताइन्। यो खबरले आफूलाई “विश्वास गर्नै नसकिने कठिनाइ” भएको उनले बताइन्।

तस्बिर स्रोत, Getty Images
“म उनीहरू फर्किऊन् भनी कामना गर्छु। अरू परिवारहरूप्रति म खुसी छु र सबै बन्धकहरू रिहा हुने आशा गर्छु," उनले सामाजिक सञ्जाल ‘एक्स’मा लेखेकी छन्।
पाका उमेरका आफ्ना आमाबुवा तामर र योरम पनि रिहा हुने सूचीमा नरहेको थाहा पाएपछि गाइ मर्ज्गरले वाल स्ट्रीट जर्नललाई भनेका छन्, “मैले चिट्ठा जितिनँ।”
आइरिश-इजरेली बालिका एमिली ह्यान्डका परिवारले हमासले रिहा गर्न लागेका इजरेली बन्धकहरूको पहिलो समूहमा एमिली रहेको भनी आफूलाई आश नभएको बताएका छन्।
परिवारसँग इजरेली सेनाको कस्तो कुराकानी भयो?
इजरेली सैन्य निकाय इजरेल रिफेन्स फोर्स (आईडीएफ)का प्रवक्ता ड्यानिअल हगारीले शुक्रवार रिहा गरिने सूचीमा रहेका बन्धकहरूका परिवारलाई यसबारे जानकारी दिइएको बताए।
एक पत्रकार सम्मेलनमा उनले भने, “विगतका केही घण्टाहरूमा परिवारहरूसँग सम्पर्क गर्ने जिम्मेवारी भएका अधिकारीहरूले संवेदनशीलता तथा विनम्रतापूर्वक उक्त सन्देश प्रवाह गरेका छन्।”
उनले बिहीवार साँझ “विशेषतः अपहरित व्यक्तिहरूका परिवारलाई र सबैलाई पनि कठिन र तनावपूर्ण” रहेको बताए। “यी जटिल दिनहरू हुन्। कुनै घटना नभएसम्म केही कुराको पनि टुङ्गो छैन।”
चारदिने सङ्घर्षविराम सुरु हुने केही घण्टाअगाडि पत्रकारहरूसँग बोलेका हगारीले आफ्नो देशको सेनाले गाजा स्ट्रिपमा युद्ध जारी राख्ने बताए। तर विरामका समयमा सेना गाजा स्ट्रिपभित्रै रहे पनि ‘युद्धविराम रेखा’मै रहने उनको भनाइ थियो।

तस्बिर स्रोत, Getty Images
“उत्तरी गाजामाथिको नियन्त्रण लामो युद्धको पहिलो चरण हो। हामी अर्को चरणको तयारीमा छौँ,” उनले थपे।
प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय निकायका प्रमुख फिलिप लजरिनीले चारदिने सङ्घर्षविरामले “सहायता आवश्यक हुने मानिसहरूसम्म पुग्ने र नागरिकले उपभोग गर्ने पूर्वाधारको मर्मत सुरु गर्ने” अवसर प्रदान गरेको बताएका छन्।
गाजा स्ट्रिपको भ्रमणबाट फर्किएलगत्तै उनले त्यहाँ “शब्दमा व्यक्त गर्न नसकिने तहमा मानिसहरूको दुःख” देखेर आएको बताए।
उनले भने, “मेरो दुई साताअघिको पहिलो भ्रमणका तुलनामा त्यहाँको मानवीय अवस्था अत्यन्त खराब भइसकेको रहेछ।”
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








