भारत पाकिस्तान विभाजन: हिँसा फैलिएका बेला विमानहरूले खेलेका महत्त्वपूर्ण भूमिका

तस्बिर स्रोत, Getty Images
- Author, सौतिक विश्वास
- Role, भारत संवाददाता
लेखक भीष्म सहनीले सन् १९७४ मा प्रकाशित उपन्यास तमस (अन्धकार) मा भारतको रक्तपातपूर्ण विभाजन, 'पार्टिशन' को चर्चा गरेका छन् जसमा हिंसाले ध्वंस भएको एउटा ठाउँमाथि विमानले तीन फन्को लगाउँदा त्यहाँ बदलिन पुगेको वातावरणलाई सजीव रूपमा प्रस्तुत गरेका छन्।
“मानिसहरू बाहिर निस्किए। लडाइँ समाप्त भएको जस्तो देखिन्थ्यो र शवको व्यवस्थापन गरिँदै थियो। मानिसहरू आफ्नो घर भित्र प्रवेश गरेर लुगाकपडा र हातहतियारमा के कस्तो क्षति पुग्यो भनेर जाँच गर्दै थिए।”
सहनीले विभाजन भएर भारतीय उपमहाद्वीपमा नयाँ राष्ट्रहरू भारत र पाकिस्तानको सिर्जना हुने बेलाको विध्वंसात्मक परिवेशलाई काल्पनिक ढङ्गले प्रस्तुत गरेका छन्।
त्यसबेला धार्मिक हिंसाले झन्डै १ करोड २० लाख मानिसलाई विस्थापित गराएको थियो भने १० लाखसम्म मानिसले ज्यान गुमाएका थिए।
समस्याग्रस्त गाउँहरूमाथिबाट विमानले तेज गतिमा त्यसरी उडान गर्दा ती लेखकको कल्पना वास्तविकतासमेत बन्न पुगेको हुनसक्ने एकजना भारतीय इतिहासकार आशिक अहमद इकबालले बताए।
हवाईजहाजको उपस्थितिले मात्रै भीडलाई तितरवितर हुन र गाउँलाई आफ्नो रक्षाका लागि तयारी गर्न समय दिने गरेको उनको भनाइ छ।
“भारतमा ब्रिटिस साम्राज्य विभाजित भएर स्वतन्त्र भारत र पाकिस्तानको निर्माण भएको समयमा विमानहरूले सानो तर एकदमै महत्त्वपूर्ण भूमिका खेलेका थिए,” इकबालले आफ्नो चर्चित पुस्तक द एरोप्लेन एन्ड द मेकिङ अफ मोडर्न इन्डियामा उल्लेख गरेका छन्।
भयावह विभाजन
भारत र पाकिस्तानबाट भागेका १ करोड २० लाख मानिसहरूमध्ये अत्यधिक सङ्ख्याले रेल, मोटरगाडी, ठेलागाडाको प्रयोग गरेका थिए। धेरै जना पैदल नै पनि हिँडेका थिए।
उद्धार गरिएकामध्ये एक प्रतिशत भन्दा कम अर्थात् ५० हजार जनासम्म मानिसहरू अहिले भारत र पाकिस्तान बनेको भूभागबाट विमान चढेर बाहिरिएको इकबाल बताउँछन्।
जनसङ्ख्याको झन्डै पूर्ण स्तरको उक्त अदलाबदली सन् १९४७ को सेप्टेम्बरदेखि नोभेम्बरबीचका ३ महिनामा पुरा भएको थियो।

तस्बिर स्रोत, Getty Images
ब्रिटिस इन्डियाको वायु सेवा रोयल इन्डियन एअर फोर्स, जुनपछि भारतको मातहतमा आएको थियो, जसले हिंसा नियन्त्रण गर्न र विभाजनका कारण शरणार्थी बनेका मानिसहरूको उद्धारमा सहयोग पुर्याउन प्रमुख भूमिका खेलेको थियो।
प्रत्येक विहान उनीहरूको जहाज रणनीतिक सर्भे मिसनहरूका लागि निस्कने गर्थ्यो र रेलवे ट्र्याकहरूमाथिबाट उडेर शरणार्थीहरू सवार रेलहरूलाई सम्भावित जत्थाहरूको ‘एम्बुस’ मा पर्नबाट जोगाउने प्रयास गर्थ्यो। विमानले रेलवे प्रणाली बिगारिएको कुनै सङ्केत रहे या नरहेको पनि जाँच गर्ने गर्थ्यो।
ती विमानहरूले सशस्त्र दङ्गाकारीलाई पनि निगरानी गर्थे र ताररहित रेडिओको सहायताले रेलसँग संवाद गर्ने गर्थे।
काबुलको दृश्यसँग तुलना
सन् १९४७ को सेप्टेम्बरमा पन्जाबमाथि उडिरहेको विमानले एउटा भयावह दृष्य देख्यो। त्यसबेला करिब ३० हजार शरणार्थीहरू लगभग ४० किलोमिटर लामो मार्गमा हिँडिरहेको इकबाल सम्झन्छन्।
ती विमानहरूले थकित अवस्थाका ती शरणार्थीहरूलाई आक्रमण गर्न पर्खिबसेको जत्थाहरूलाई देखे र आगो लगाइएका गाउँहरूबाट धुवाँको मुस्लो उडिरहेको देखे।
“यदि तपाईँले कम उचाइबाट उडान भर्नुभयो भने पन्जाबको चर्चित नहर प्रणालीमा शवहरू बगिरहेको देख्न सक्नुहुन्थ्यो।”
त्यति मात्रै होइन। रोयल इन्डियन एअर फोर्सका अधिकांश डाकोटा विमानहरूले दिल्लीदेखि कराचीसम्म १५ लाख हैजाको खोप ढुवानी गरेका थिए।
सरसफाई नभएका शरणार्थी शिविरमा महामारी फैलनबाट रोक्न त्यस्तो कदम चालिएको थियो। ती विमानहरूले पकाइएका खाना, चिनी र तेल पनि शरणार्थीहरूका लागि खसालेका थिए।

तस्बिर स्रोत, MICHAEL OCHS ARCHIVES
भारत र पाकिस्तान दुवैले दङ्गाकारीहरूलाई हिंसा अन्त्य गर्न अनुरोध गरिएका पर्चाहरू खसाल्न पनि ती विमानहरूको प्रयोग गरिएको इकबालले लेखेका छन्।
रोयल इन्डियन एअर फोर्सले पाकिस्तानको सुदूरमा पर्ने मुल्तान, बान्नु र पेशावरजस्ता ठाउँहरूबाट गैर मुसलमानहरूको पनि उद्धार गरेको थियो।
सन् २०२१ को अगस्टमा आफ्नो देशबाट भाग्न काबुल विमानस्थलमा सैनिक जेटहरूमा झुन्डिएका र दौडिरहेका अफगानहरूसँग मिल्दोजुल्दो दृश्य सन् १९४७ मा दिल्ली र पन्जाबका विमानस्थलमा देखिएको थियो।
त्यसलाई ‘असामान्य खतरा र व्याकुलताको’ क्षणका रूपमा उल्लेख गर्ने गरेको पाइन्छ।
इकबालले लेखेका छन्, “विमानस्थल नजिकको शिविरका शरणार्थीहरू आफूलाई मौका दिइने बित्तिकै विमानतर्फ दौडिन्थे। खतराबाट उम्कन व्याकुल यात्रुहरूले आफूलाई विमानमा सवार हुन दिएबापत चालक दलका सदस्यहरूलाई घुसमा पैसा र सुन दिन्थे।”
विमानमा कोचाकोच
टिकटको मूल्य महँगो थियो। यात्रुहरूलाई एकदमै थोरै लगेज बोक्न दिइन्थ्यो। हैदरावाद भारतकी एक जना यात्रुलाई आफ्नो कुरानमात्रै लिएर पाकिस्तान जान दिइएको र अरूलाई ‘बच्चाको जीर्ण बाँसको कुर्सी’ र ‘बिरामी जस्तो देखिने सुगा’ लिएर गएका थिए।

तस्बिर स्रोत, GETTY IMAGES
ती विमानहरू भरिभराउ हुन्थे। तीनका सिट र कार्पेट हटाएर सम्भव भएसम्म धेरै शरणार्थीलाई अटाइएको हुन्थ्यो। २१ जना यात्रु बोक्ने गरेका डकोटा डीसी-३ विमानहरूले अधिकांश अवस्थामा पाँच गुणा बढी यात्रु सवार गराउँथे।
भिडभाड, कमजोर विमानस्थल सुरक्षा र लामो समयसम्म सन्चालनमा रहेका विमान हुँदा पनि कुनै दुर्घटना नहुनुलाई उल्लेख्य मानिएको छ।
“सुरक्षा नभएका कारणले गर्दा शरणार्थीहरूले विमानस्थलमा प्राय:जसो भिडभाड गर्थे,” इकबालले लेखेका छन्।

सन् १९४७ सम्म भारतसँग ११५ वटा गैरसैनिक विमानहरू थिए जुन ११ वटा निजी कम्पनीहरूले सञ्चालन गर्थे। दोस्रो विश्वयुद्धको अन्त्यले नागरिक उड्डयनका क्षेत्रमा ‘अभूतपूर्व विस्तार’ निम्त्याएको थियो।
भारतीय कम्पनीहरूले आफ्नो मुलुक फर्किएका अमेरिकी फौजहरूले छाडेर गएका डगलस डीसी-३ डकोटा विमानहरू खरिद गरेका थिए। आपूर्ति बढी र माग पर्याप्त नभएकाले नाफा खस्किन पुगेको थियो।
विभाजनको समयमा आफ्नो नियमित रुटमा उडान गरिरहेका गैरसैनिक विमानहरूलाई पाकिस्तानबाट भारतसम्म शरणार्थी ओसार्नका लागि ‘डाइभर्ट’ गरिएको थियो। त्यसमध्ये १० वटा विमान सरकारलाई उपलब्ध गराइएको थियो।
किन महत्त्वपूर्ण?
तर गैरसैनिक एअरलाइन्सका सञ्चालकहरूले सामूहिक उद्धार व्यवस्थापनको चुनौती सामना गर्न सकेनन्। उनीहरूले उक्त ‘असम्भव कार्यका लागि’ विमान र मानिसहरूलाई जोखिममा पार्न अस्वीकार गरेका थिए।
अन्ततः विदेशी सहयोगको अपिल गरिएको थियो, ब्रिटिस ओभरसिज एअरवेज कर्पोरेसन (बीओएसी) का २१ वटा जेट प्लेनहरूले १५ दिन लगातार उडान भरेर ६,३०० जना मानिसहरूलाई दिल्लीबाट कराची पुर्याए। उनीहरूले ४५,००० किलोग्राम खानेकुरा, पाल र खोप दिल्ली विमानस्थलमा अलपत्र परेका मुसलमान शरणार्थीहरूका लागि पनि बोकेका थिए।
रोयल एअर फोर्सका दुईवटा मालवाहक विमानहरूलाई ब्रिटिस नागरिकहरूको उद्धारका लागि परिचालित गरिएको थियो। त्यसले भारत र पाकिस्तानबाट करिब १२ हजार मानिसहरूलाई उद्धार गरेको थियो। त्यसमध्ये जम्मा २,७९० मात्रै ब्रिटिस कर्मचारी थिए।

तस्बिर स्रोत, COURTESY THE PARTITION MUSEUM, TOWN HALL, AMRITSAR
बाँकी रेलवे, हुलाक र टेलिग्राफका कर्मचारी थिए जसले स्थलमार्गहुँदै भइरहेको मानिसहरूको आवतजावतमा महत्त्वपूर्ण भूमिका खेलेको इकबालले लेखेका छन्।
सन् १९४७ को अक्टोबरसम्ममा भारतले यो प्रयास अझै पर्याप्त नरहेको निष्कर्ष निकाल्यो। त्यही समयमा ‘अप्रेशन इन्डिया’ घोषणा गरियो।
अक्टोबर र नोभेम्बर २१ बीचको ६ हप्ताको अवधिमा २१ वटा विमानहरू आठवटा ब्रिटिस कम्पनीहरूबाट भाडामा लिइएको थियो।
त्यतिबेला भारत र पाकिस्तानबीच ३५,००० मानिसहरू र ६ लाख ८० हजार केजी तौल भन्दा बढीका यात्रुका सामानहरू ओसारिएको थियो। सहयोगका लागि ब्रिटेनबाट करिब १७० जना उड्डयनसँग सम्बन्धित व्यक्तिहरूलाई मगाइएको थियो।
भारतीय उड्डयन कम्पनीहरू उद्धारको उक्त स्तरलाई लिएर अन्योलमा थिए त्यही भएर दुवै सरकारहरूले ब्रिटेनका विमानहरूलाई भाडामा लिने निर्णय लिएका थिए।
र विमानहरूको प्रयोगले, इकबालको भनाइमा, ‘स्वतन्त्रतापछिका पहिलो महत्त्वपूर्ण महिनाहरूमा स्वतन्त्र भारतको द्रुत निर्माणलाई सुनिश्चित’ गरेको थियो।








