भारत-पाकिस्तान: रीना वर्मा जो ७५ वर्षपछि रावलपिन्डिस्थित आफ्नो घरमा पुगिन्

- Author, सुमैला जाफरी
- Role, बीबीसी उर्दु, रावलपिन्डि
यो साता ९० वर्षकी रीना वर्माले ७५ वर्षदेखि देखेको सपना पूरा गर्दै पाकिस्तानको रावलपिन्डिस्थित घरमा पुगिन्।
वर्मा पश्चिम भारतको पुणेबाट पाकिस्तान पुग्दा उनलाई कलेज रोडस्थित आफ्नो घरमा पुष्प वर्षासहित स्वागत गरिएको थियो। उनको आगमनपछि मानिसहरूले ढोलक बजाए र उनीसँगै नाच्न थाले।
वर्माको परिवारले विभाजनका कारण भारत र पाकिस्तान अलग हुनुअघि सन् १९४७ मा रावलपिन्डीस्थित घर छाडेको थियो।
उक्त विभाजनले पन्जाबमा अस्थिरता र रक्तपात निम्त्याएको थियो। धार्मिक दङ्गा फैलँदा दशौँ लाख मानिसहरू घर छाडेर भागेका थिए।
सबै पीडा र आघातका माझ वर्माले कहिल्यै पनि आफ्नो बाल्यकालको घर बिर्सन सकिनन्। त्यो घर उनका पिताले आफ्नो बचतबाट बनाएका थिए।
सन् २०२१ मा आफूले छाडेको घरबारे एउटा लामो अन्तर्वार्तामा वर्माले बोलेपछि सामाजिक सञ्जालमा उनको निक्कै चर्चा भएको थियो।
इन्डिया-पाकिस्तान हेरिटेज क्लबका अभियानकर्ताहरूले रावलपिन्डीमा रहेको उनको घरको खोजी गर्न थाले र अन्ततः एक जना महिला पत्रकारले त्यसलाई फेला पारिन्।
तर कोभिड-१९ का कारण यात्रा प्रतिबन्ध लगाइएपछि उनले तत्कालै यात्रा गर्न पाइनन्।
मार्चमा उनले पाकिस्तानको प्रवेशाज्ञा प्राप्त गर्न अनुमति माग्दा कुनै कारण समेत नदिईकन त्यसलाई अस्वीकार गरिएको थियो।

भारत र पाकिस्तानबीच विभाजनयता कैयौँ द्वन्द्व र युद्धहरू भएका छन्। दक्षिण एशियाका दुई छिमेकीबीच सम्बन्ध चिसो रहेको छ।
निरन्तरको तनावपूर्ण सम्बन्धका कारण मानिसहरू एकअर्काको सीमाबाट निर्बाध आवतजावत गर्न पाउँदैनन्।
वर्मा भन्छिन्, "म स्तब्ध भएँ किनभने मैलै कहिल्यै पनि आफ्नो मृत्युअघि आफ्नो घर हेर्ने चाहना राखेकी ९० वर्षको व्यक्तिको निवेदन अस्वीकार गरिएला भन्ने सोचेकी थिइनँ। मैले कल्पना नगरेको भए पनि त्यस्तै भयो।"
उनले फेरि आवेदन दिने निर्णय गरिन्।
उनको कथाले पाकिस्तानका एक मन्त्रीको ध्यान तान्यो जसले दिल्लीस्थित उच्च आयोगलाई तत्कालै उनको निवेदनलाई प्रक्रिया अघि बढाउन निर्देशन दिए।
"पाकिस्तानको उच्च आयोगबाट फोन आएपछि म ओतप्रोत भए। उनीहरूले मलाई आउन र आफ्नो प्रवेशाज्ञा लैजान भने। केही दिनभित्रै त्यो सम्भव भयो।"
तर त्यसमा पनि थप चुनौतीहरू पनि थिए। तापक्रम एकदमै चर्को थियो। हालै आफ्नो छोरा गुमाएकी वर्माले एक्लै यात्रा गर्ने योजना बनाएकी थिइन तर उनलाई केही समय कुर्न सुझाव दिइएको थियो।
त्यो पर्खाइ 'अत्यासलाग्दो' थियो तर उनले बिरामी हुनसक्ने जोखिम उठाउन चाहिनन्।
त्यही भएर उनले पर्खिन् र अन्ततः जुलाई १६ मा पाकिस्तान पुगिन्।
भारत र पाकिस्तानका धेरैले उनको मन छुने कथाले लामो समयदेखि घृणाको राजनीति र समुदायको विभाजनले भाष्य निर्माणमा दह्रो जरा गाडेको यो क्षेत्रमा उत्साहको केही सञ्चार गराएको टिप्पणी गरिरहेका छन्।
पुरानो सम्झना
जुलाई २० मा वर्मा आफ्नो पुर्ख्यौली घरमा पुगिन्। जब मैले उनलाई भेटे उनले एकदमै मिलाएर रङ्गीबिरङ्गी पोसाक लगाएकी थिइन् र उनको आँखा र उनको कानको कुण्डल एकदमै चम्किरहेको थियो।
लेमनेड पिउँदै उनले मलाई उक्त भ्रमणबारे आफ्नो मिश्रित धारणा रहेको बताइन्, "यो तितो र मिठो दुवै रह्यो।"
"म यो पल मेरो परिवारसँग बिताउन चाहन्थे तर उनीहरू सबै बितिसकेका छन्। म यहाँ आउन पाएकोमा खुसी छु तर म आज एक्लो पनि महसुस गरिरहेकी छु।"
वर्माले सन् १९४७ को गर्मी याममा आफूहरूले घर छाडेको उल्लेख गर्दै उनी र उनका बहिनीहरूले कहिल्यै घर फर्कन पाइन्छ भन्ने नसोचेको जनाइन्।
"मेरी एक जना दिदीको विवाह अमृतसरमा भयो। उहाँका श्रीमान् सन् १९४७ मा हाम्रोमा आउनु भएको थिए र उहाँले हाम्रा बुबालाई हामीलाई उहाँसँग लैजान दिन मनाउनुभयो। हाम्रा बुबालाई आउन लागेको समस्याबारे थाहा थियो। त्यही भएर त्यो वर्षको गर्मियाममा हामीलाई साधरणतया हामीले बिदा मनाउन मरीको सट्टा सिमला पठाइएको थियो जुन भारतमा पर्थ्यो।"
रिजोर्टहरू अवस्थित पहाडी इलाका मरी रावलपिन्डीबाट करिब ८८ किलोमिटर पर पर्छ।
"मेरो अभिभावकहरूले सुरुमा प्रतिरोध गर्नुभयो तर केही दिनपछि त्यसलाई अस्वीकार गर्नुभयो। हाम्री आमाबाहेक सबैले बिस्तारै विभाजनलाई स्वीकार गर्यौ। उहाँले यो बुझ्न सक्नुभएन र सधैँ त्यसले हामीलाई के फरक पार्छ भन्नु हुन्थ्यो।"
"सुरुमा हामी ब्रिटिस राजमा बाँचिरहेका थियौँ र अहिले मुसलमानराज आउँदै थियो तर हामी कसरी हामी हाम्रो घर छाड्न बाध्य हुन्थ्यौँ।"
वर्माका अनुसार उनीहरूकी आमाले रावलपिन्डीमा छाडेको घरका लागि शरणार्थीको हैसियतमा राहतस्वरूप दिइएको घरसमेत नस्वीकारेको बताइन्।
उनको विश्वासमा यदि त्यस्तो गरिए पाकिस्तानमा रहेको आफ्नो सम्पत्तिमा दाबी गर्न सकिँदैन भन्ने उनको भनाइ थियो।
वर्माको कथा आफ्नो घरबाट विस्थापित भएका उनीजस्ता कैयौँका लागि प्रेरणादायी छ।

घरमा आगमन
जब वर्मा आफ्नो बाल्यकालको घरमा प्रवेश गरिन् संवाददाताहरूलाई बाहिरै राखिएको थियो। घरमा भर्खरै रङ्ग लगाइएको थियो। हेर्दा घर केही आधुनिक देखिएको भए पनि त्यसको संरचना भने पुरानै रहेको थियो।
उता ती पाहुनालाई एक झलक हेर्न वा उनीसँग सेल्फी खिचाउन धेरै मानिसहरू जम्मा भइरहेका थिए।
वर्मा केही घण्टा घरभित्रै बसिन्। जब उनी फर्किन्, उनलाई एक दर्जन क्यामेराहरूले पर्खिरहेका थिए।
चोकमा भिडभाड थियो तर वर्मा एकदमै सम्हालिएकी थिइन्।
आफू वरपरको भिडले उनलाई कुनै प्रभाव पारेको थिएन।
उनले संवाददाताहरूलाई आफ्नो घर लगभग उस्तै रहेको उल्लेख गर्दै त्यसले आफूलाई त्यहाँ कुनै बेला आफ्ना प्रियजनसँग बिताएका सुन्दर पलहरूको सम्झना आएको बताइन्।
हाल तिनीहरू नरहेको भन्दै उनले भनिन्, "मेरो हृदय शोकाकुल छ तर म धन्य यसर्थमा छु कि मैले जीवनभर कुरिरहेको पललाई अनुभूत गर्न पाए।"









