बिहार: छोरा हराएको परिवारमा ४१ वर्ष हराएको व्यक्ति बनेर बसे एक छद्मभेषधारी व्यक्ति

तस्बिर स्रोत, Ronny sen

एक जमिनदारको छोरा बनेर ४१ वर्षसम्म बसेका एक व्यक्तिलाई भारतको एउटा अदालतले दोषी ठहर गर्दै जेल सजाय सुनाएको छ। जालझेल र न्यायमा विलम्ब दर्शाउने उक्त अस्वाभाविक घटनाबारे बीबीसीका सौतिक बिस्वासले लेखेका छन्।
सन् १९७७ को फेब्रुअरीमा भारतको पूर्वी राज्य बिहारमा विद्यालयबाट घर फर्किरहेको बेला एक किशोर बेपत्ता भए।
नालन्दा जिल्लाका एक प्रभावशाली जमिनदारका छोरा कन्हैया सिंह दोस्रो दिनको परीक्षा सकेर घर फर्किरहेका थिए। परिवारले उनी हराएको उजुरी प्रहरीमा दियो।
ती किशोरको खोजी भयो तर उनी फेला परेनन्।
बूढा भइसकेका पिता निकै चिन्तित भए र बिरामी परे। उनी धामीकहाँ धाउन थाले। गाउँका एक धामीले ती जमिनदारलाई उनका छोरा जीवितै रहेको र उनी 'चाँडै' फर्किने बताए।
सन् १९८१ को सेप्टेम्बरमा २०-२२ वर्षको उमेरका एक युवक कन्हैया बस्ने गरेको गाउँभन्दा करिब १५ किलोमिटर पर आइपुगे।
गेरुवस्त्र लगाएका उनी गीत गाउँदै मागेर जीविका चलाउँथे।
स्थानीय बासिन्दाहरूलाई उनी "आफू [बेपत्ता किशोरको गाउँ मुर्गावानका] महत्त्वपूर्ण व्यक्तिको छोरा भएको" उनी बताउने गर्थे।
त्यसपछि के भयो पूर्ण रूपमा स्पष्ट छैन। हराइरहेको छोरा फेरि देखा परेको खबर सुनेर कामेश्वर सिंह स्वयम् उनलाई हेर्न उक्त गाउँ पुगे।
सिंहले केही छिमेकीहरूलाई पनि साथै लिएर गएका थिए। उनीहरूले उनलाई ती पुरुष उनका छोरा भएको बताए र उनले ती व्यक्तिलाई घर लिएर आए।
सिंहले ती व्यक्तिहरूलाई भनेको उद्धृत गर्दै प्रहरी अभिलेखमा लेखिएको छ, "मेरो आँखा कमजोर भइसकेको छ र म उसलाई राम्रोसँग देख्न सक्दिनँ। यदि तिमीहरू ऊ मेरो छोरा हो भन्छौँ भने म उसलाई राख्छु।"


तस्बिर स्रोत, Ronny sen

चार दिनपछि छोरी विद्यासँगै पटनाको भ्रमण गरिरहेकी सिंहकी श्रीमती रामसखी देवीको कानमा आफ्ना छोरा फर्किएको खबर पुग्यो।
उनी तुरुन्तै गाउँ फर्किन्। तर ती युवक आफ्नो छोरा नभएको अनुभूति भयो।
उनी भन्छिन्, "कन्हैयाको टाउकोको देब्रे भागमा काटेको दाग थियो जुन ती युवककोमा थिएन। विद्यालयका शिक्षकलाई पनि उनले चिन्न सकेनन्।"
तर कामेश्वर सिंह ती पुरुष आफ्नो छोरा भएकोमा ढुक्क थिए।
मुद्दा
उक्त घटनाको केही दिनपछि रामसखी देवीले छोराको रूपमा आएर झुक्याउन खोजेको आरोप लगाउँदै ती युवकविरुद्ध मुद्दा दायर गरिन्।
ती युवकलाई गिरफ्तार गरियो र एक महिना जेलमा बिताएपछि उनी धरौटीमा रिहा भए।
तर त्यसपछिका चार दशकमा जे भयो त्यो छलकपटको उत्कर्ष थियो।
उनले आफू जमिनदारको हराएको छोरा भएको जस्तो देखाउँदै उनकै घरमा बसे।
धरौटीमा छुटेको भए पनि उनले नयाँ परिचय बनाए। कलेज गए, विवाह गरे, सन्तान हुर्काए र कैयौँ नक्कली परिचयपत्र बनाए।
ती परिचयपत्र प्रयोग गर्दै उनले मतदान गरे, कर तिरे, राष्ट्रिय परिचयपत्रका लागि बायोमेट्रिक दिए, बन्दुक राख्ने अनुमतिपत्र लिए र सिंहको सम्पत्तिमध्ये ३७ एकड जमिन बेचिदिए।
आफू र जमिनदारकी छोरी दाजुबहिनी भएको स्थापित गर्न डीएनए नमुना दिन ती व्यक्तिले निरन्तर अस्वीकार गरिरहे।
अदालतलाई पनि छक्क पार्नेगरी उनले मिथ्या मृत्युदर्ता प्रमाणपत्रसहित आफ्नो वास्तविक परिचयलाई समेत 'समाप्त' पार्ने प्रयास गरे।
न्यायप्रणालीमा समस्या
ती छद्मभेषधारीको कथा भारतको सरकारी निकायको असक्षमता र त्यहाँको न्यायप्रणालीको ढिलासुस्तीको उदाहरण हो।
भारतका विभिन्न अदालतमा पाँच करोडवटा मुद्दा विचाराधीन छन्। तीमध्ये एक लाख ८० हजार वटाभन्दा बढी ३० वर्षभन्दा बढी समयदेखि विचाराधीन छन्।
आधिकारिक दस्तावेजहरूमा ती पुरुषलाई आदरपूर्वक 'कन्हैयाजी' भनेर सम्बोधन गरेको पाइन्छ। संसारभरि नै कुनै पनि व्यक्तिको नाम र थरलाई परिचय जनाउन प्रयोग गरिन्छ।
छद्मभेष धारणा गरेको, ठगी गरेको र षड्यन्त्र गरेकोमा ती व्यक्तिलाई दोषी ठहर गरेका न्यायाधीशहरूले मात्रै उनको वास्तविक नाम दयानन्द गोसाईँ रहेको उल्लेख गरेका थिए।
सात वर्षका लागि जेल सजाय सुनाइएका उनी आफूले 'आश्रय लिएको' घरभन्दा करिब ६२ माइल पर जामुई गाउँबाट आएका थिए।



तस्बिर स्रोत, Ronny sen

सन् १९८२ मा विवाहका बेला खिचिएको श्यामश्वेत तस्बिरमा दयानन्द गोसाईँ पातलो जुँगासहित गहुँगोरो वर्णका देखिन्छन्।
उनले चलचित्रमा प्रयोग गर्ने गरिएको जस्तै अनुहार ढाक्ने कलात्मक कपडा शिरमा लगाएका छन् र पर हेरिरहेको देखिन्छन्।
सिंहको परिवारमा प्रवेश गर्नुअघिको उनको वास्तविकता अस्पष्ट छ।
उनको आधिकारिक कागजपत्रमा फरकफरक जन्म मिति उल्लेख छ।
उच्च माध्यमिक विद्यालयको अभिलेखमा ज्यानुअरी १९६६ भनिएको छ। राष्ट्रिय परिचयपत्रमा फेब्रुअरी १९६० र मतदाता प्रमाणपत्रमा १९६५ उल्लेख छ।
सन् २००९ मा स्थानीय सरकारले दिएको राशनकार्डमा उनको उमेर ४५ वर्ष भनिएको छ जसले उनी सन् १९६४ मा जन्मिएको अर्थ लाग्छ।
गोसाईँको परिवारले उनी करिब ६२ वर्षको भएको उल्लेख गरेको छ, जुन उसले राष्ट्रिय परिचयपत्रमा उल्लेख भएको जन्म मितिसँग मिल्छ।
पारिवारिक पृष्ठभूमि
अनुसन्धानकर्ताहरूले गोसाईँ जमुईका एक किसानका चार छोरामध्ये कान्छा भएको प्रमाणित गर्न सके।
उनी गुजारा गर्नका लागि गीत गाउँथे र माग्ने गर्थे र उनले सन् १९८१ मा घर छाडेका थिए।
जमुईका एक वरिष्ठ प्रहरी अधिकारी चित्तरञ्जन कुमारका अनुसार गोसाईँको कम उमेरमै विवाह भएको थियो तर उनकी श्रीमतीले उनलाई चाँडै छाडिदिइन्।
कुमार भन्छन्, "उक्त जोडीका सन्तान थिएनन् र उनकी पहिलो श्रीमतीले पुनर्विवाह गरिन् र घरबार बसाइन्।"
उनले उक्त गाउँका एक मान्छेलाई फेला पारे जसले मुद्दा चलिरहेको समयमा आफूले गोसाईँलाई चिनेको बयान अदालतमा दिएका थिए।
"उनको पुर्ख्यौली गाउँमा लगभग सबै जनालाई गोसाईँ नालन्दामा जमिन्दारको परिवारमा बसिरहेको थाहा थियो," न्यायाधीश मानवेन्द्र मिश्रले आफ्नो आदेशमा लेखेका छन्।


तस्बिर स्रोत, Ronny sen

सिंहले घर लगेको एक वर्षपछि उनले छोरा ठानेर गोसाईँको जमिन्दार वर्गकी एक महिलासँग विवाह गरिदिए।
परिवारसँग उपलब्ध कागजपत्रका अनुसार गोसाईँले स्नातक तहसम्म अङ्ग्रेजी, राजनीतिशास्त्र र दर्शनशास्त्र अध्ययन गरेका थिए।
कलेजमा उनको व्यवहार 'सन्तोषजनक' रहेको पाइएको थियो।
त्यसको केही वर्षमा गोसाईँका दुई छोरा र तीन छोरी भए।
सिंहको मृत्युपछाडि मुर्गावानमा रहेको दुईतले घर उनको नाममा आयो।
सानो पर्खालले छुट्याइएको घरको बाँकी क्षेत्र सिंह परिवारको अर्को समूहले प्राप्त गर्यो।
पहिला चहलपहल अहिले चकमन्नता
एउटा ठूलो पानी ट्याङ्की देखिनेगरी आँप र अम्बाका रूख रहेको अनि रङ्ग नलगाइएको फलामे ढोका र इँट्टाको पर्खालले छेकिएको उक्त घर शान्त देखिन्छ।
सोह्रवटा कोठा रहेको उक्त घरमा तीन पुस्ताले जीवन व्यतीत गरेका छन्। त्यहाँ कुनै बेला निकै चहलपहल हुन्थ्यो।
तर अहिले उक्त स्थानमा असहज किसिमिको चकमन्नता छ। आँगन अस्तव्यस्त छ र एउटा कुनामा गहुँ पिस्ने उपकरण राखिएको छ।
गोसाईँका जेठा छोरा गौतम कुमार आफ्ना बुवा साधारणतया घरमै बस्ने गरेको र करिब ३० एकड कृषियोग्य जमिन व्यवस्थापन गर्ने गरेको बताउँछन्।
उक्त जमिनमा धान, गहुँ र दालको उब्जनी हुन्थ्यो। खेतमा काम गर्न ज्यालामा खेताला आउँथे।


तस्बिर स्रोत, Ronny sen

कुमारले 'छद्मभेषसँग सम्बन्धित घटना' को विषयमा परिवारका सदस्यले कहिल्यै पनि बुवासँग कुरा नगरेको बताए।
"उहाँ हाम्रा बुवा हो। यदि मेरो हजुरबुवाले उहाँलाई छोराका रूपमा स्वीकार गर्नुभयो भने त्यसमाथि प्रश्न उठाउने हामी को हौँ? तपाईँ कसरी आफ्ना बुवालाई नपत्याउन सक्नुहुन्छ?"
"अहिले यतिका वर्षपछि हाम्रो जीवन र परिचय अन्योलमा छ किनभने मेरो बुवाको परिचय खोसिएको छ। हामी एकदमै चिन्तामा छौँ।"
अदालतमा गोसाईँलाई न्यायाधीश मिश्रले हराएको चार वर्षमा उनी कहाँ र कोसँग बसे भनेर प्रश्न गरेका थिए।
उनले उक्त प्रश्नको उत्तर छल्न खोजेको देखिन्थ्यो।
न्यायाधीशहरूलाई उनले नजिकैको उत्तर प्रदेश राज्यमा अवस्थित गोरखपुरको एउटा आश्रममा एक साधुसँग आफू बसेको बताए। तर उनले आफ्नो दाबी प्रमाणित गर्ने कुनै साक्षी भने जुटाउन सकेनन्।
धोका नदिएको दाबी
गोसाईँले न्यायाधीशहरूलाई आफूले जमिनदारको हराएको छोरा भएको आफूले कहिल्यै दाबी नगरेको बताए।
उनले सिंहले "मलाई आफ्ना छोराको रूपमा स्वीकार गरेको र घरमा लगेको" बताए।
"मैले कसैलाई पनि छद्मभेष धारण गरेर धोका दिएको छैन। म कन्हैया हुँ," उनले भने।




तस्बिर स्रोत, Ronny sen

उनको स्टुडियोमा लिइएको श्यामश्वेत तस्बिरमा अनुहारको आकृति देखिने एउटा मात्रै तस्बिर अदालतको कागजपत्रमा पेस गरिएको थियो। उनको मिलेको कपाल, उज्यालो रङ्गको कमिज फोटोमा देखिन्छ।
कन्हैया हराउँदा उनी १६ वर्षका थिए। तर दुर्भाग्यवश उनले पटनाबाट करिब १०० किलोमिटर टाढा १,५०० जनाको बसोबास रहेको आफ्नो गाउँ मुर्गावानलाई बिर्सिएका थिए।
सर्वोच्च अदालतका एक वकिल र सिंह परिवारका आफन्त कन्हैयालाई "धक मान्ने, लजालु र मिलनसार" बालकका रूपमा सम्झिन्छन्।
"हामीसँगै हुर्कियौँ र सँगै खेल्यौँ। उनी बेपत्ता भएपछि ठूलो कोलाहल मच्चियो," उनले भने।
"चार वर्षपछि आएका व्यक्ति कन्हैयाजस्तो देखिएनन्। तर उनका पिताले उनी आफ्ना छोरा भएको अड्डी लिइरहे। त्यसमा हामी के गर्न सक्थ्यौँ र?"
कामेश्वर सिंहको निधन सन् १९९१ मा भएको थियो। उनी प्रभावशाली जमिनदार थिए। एउटा अनुमानअनुसार उनीसँग ६० एकडभन्दा बढी जमिन थियो।
उनी चार दशक भन्दा बढी समयसम्म गाउँ परिषद्को नेता थिए र उनको परिवारको नजिकका नातेदारमा सर्वोच्च अदालतका वकिल र संसद्का सदस्यहरू थिए।
दुईवटा विवाह गरेका उनका सात छोरी र एक छोरा थिए।
जमिनदार बयान दिन गएनन्
सबैभन्दा कान्छा सन्तान कन्हैया उनका उत्तराधिकारी भएकाले निकै प्रिय थिए। रोचक कुरा के छ भने बिरामी जमिनदारले कहिल्यै पनि अदालतमा उपस्थित भएर गोसाईँको पक्षमा बोलेनन्।
"मैले गाउँलेहरूलाई भनेको थिएँ कि यदि यो व्यक्ति मेरो छोरो होइन भन्ने हामीले पत्ता लगायौँ भने हामी उनलाई फिर्ता गरिदिनेछौँ," सिंहले प्रहरीलाई भनेका थिए।




उक्त मुद्दालाई कम्तीमा एक दर्जन न्यायाधीशहरूले चार दशकसम्म हेरेका थिए।
अन्तिममा यसै वर्षको फेब्रुअरीमा निरन्तर ४४ दिन सुनुवाइ गरियो र अदालतले एप्रिल महिनाको सुरुमा आफ्नो फैसला सुनायो।
न्यायाधीश मिश्रले गोसाईँलाई दोषी ठहर गरे। जुन महिनामा उच्च अदालतले उनको फैसलालाई सदर गर्यो र गोसाईँलाई सात वर्षको कारावासको सजाय सुनायो।
अदालतले गोसाईँको पक्षका सबै सात प्रत्यक्षदर्शीहरू विश्वसनीय नरहेको निष्कर्ष सुनायो।
"हामीले यो मुद्दालाई गम्भीरतापूर्वक लिएका थिएनौँ। हामीले हाम्रो प्रमाण अझ राम्रोसँग जुटाउनुपर्थ्यो। हामीलाई हाम्रो बुबाको परिचयमाथि कहिल्यै पनि शङ्का भएन," गौतम कुमारले भने।
नाटकीय मोड
यो मुद्दाको अदालती प्रक्रियाले नाटकीय मोड तब लियो जब अदालतमा दयानन्द गोसाईँको मृत्यु भएको प्रमाणपत्र प्रस्तुत गरिएको थियो।
तर उक्त मृत्युदर्ता प्रमाणपत्रमा अनेकौँ अस्पष्टता थिए।
सन् २०१४ मे महिनाको मिति राखेर बनाइएको उक्त प्रमाणपत्रमा गोसाईँको मृत्यु सन् १९८२ को ज्यानुअरीमा भएको उल्लेख छ।
प्रहरी अधिकारी चित्तरञ्जन कुमार भन्छन्ः स्थानीय अभिलेख हेर्दा गोसाइँको मृत्युको कुनै प्रमाण पाइएन।
स्थानीय अधिकारीहरूले उनलाई उक्त प्रमाणपत्र वास्तवमै नक्कली भएको बताए। कुमार भन्छन्, "यहाँ जाली कागजपत्र बनाउन एकदमै सजिलो छ।"
न्यायाधीश मिश्रले भने, "आफूलाई कन्हैया प्रमाणित गर्न गोसाईँले आफ्नै ज्यान लिए।"
गोसाईँविरुद्धको सबैभन्दा महत्त्वपूर्ण प्रमाण डीएनए नमुना नदिने उनको अडान बन्न पुग्यो।
अभियोजकहरूले सन् २०१४ मै त्यसको माग गरेका थिए। आठ वर्षसम्म उनले त्यसलाई रोकेर राखे र गएको फेब्रुएरीमा मात्रै उनले आफ्नो नमुना नदिने लिखित उत्तर दिए।
"अब अरू कुनै प्रमाण चाहिँदैन," अदालतले भनेको छ, "आरोपितलाई थाहा छ कि डीएनए परीक्षणले उनको झुट्टो दाबीलाई पर्दाफास गरिदिन्थ्यो।"
न्यायाधीशले आफ्नो पहिचान पुष्टि गर्ने जिम्मेवारी आरोपितको भएको पनि उल्लेख गरेका थिए।



तस्बिर स्रोत, VISHAL ANAND
गोसाईँलाई दोषी प्रमाणित गर्नु समस्याको एउटा अंश मात्रै हुन सक्ने वकिलहरू बताउँछन्।
षड्यन्त्रको आशङ्का र अनुत्तरित प्रश्न
अदालतले गोसाइँलाई हराएर सन्तानका रूपमा सिंह परिवारको सदस्य बनाउन मुर्गावानका कैयौँ व्यक्तिले ठूलो षड्यन्त्र गरेको हुन सक्ने अदालतले ठानेको छ।
अदालतले ती व्यक्तिहरूले सिंहको स्वामित्वमा रहेको र पछि स्वाभाविक उत्तराधिकारीका रूपमा गोसाईँले बेचेको जमिन खरिद गरेको हुनसक्ने ठानेको छ। यी दाबीबारे अनुसन्धान हुन बाँकी नै छ।
सन् १९९५ मा ज्यान गुमाएकी रामसखी देवीले अदालतलाई भनेकी थिइन्, "मेरो पतिको स्वास्थ्य र कमजोर दृष्टिलाई ध्यान दिँदै हाम्रो सम्पत्ति कब्जा गर्नका लागि मेरो परिवारविरुद्ध ठूलो षड्यन्त्र गरिएको थियो।"
जालझेलको यो कथाका अझै पनि कैयौँ प्रश्नहरू अनुत्तरित नै छन्।
गलत परिचयको प्रयोग गरी सिंहले विक्री गरेको जमिन के हुन्छ? के त्यसका खरिदकर्ताबाट ती जमिन खोसेर सिंहका जीवित छोरीहरूलाई वितरण गरिन्छ? गोसाईँको नक्कली परिचयलाई कसरी सम्बोधन गरिन्छ?
अनि सबैभन्दा महत्त्वपूर्ण प्रश्न: कन्हैया कहाँ छन्?
भारतीय कानुनअनुसार सात वर्षसम्म हराएका कुनै पनि व्यक्तिलाई मृत मानिन्छ। प्रहरीले किन मुद्दा बन्द गरिसकेको छैन? के उनी जीवितै छन्?









