मर्ल ओबरोन: भारतले बिर्सिएको एक हलीवुड अभिनेत्री जसले आफ्नो वास्तविक पृष्ठभूमि आजीवन लुकाइन्

तस्बिर स्रोत, Getty Images
श्यामश्वेत युगमा हलीवुडमा ख्याति कमाएकी मर्ल ओबरोन भारतमा जन्मिएकी हुन्। तर भारतले उनलाई बिर्सिएको छ।
विशेष गरी वदरिङ हाइट्स चलचित्रमा मुख्य भूमिका निर्वाह गरेपछि चर्चामा आएकी उनी सन् १९११ मा तात्कालिक बम्बईमा जन्मिएकी एङ्ग्लो-इन्डियन थिइन्। तर हलीवुडको स्वर्णिम युगमा चर्चामा आएकी उनले आफ्नो वास्तविक पृष्ठभूमि आजीवन लुकाइन्। उनले आफूलाई सधैँ श्वेत महिलाका रूपमा प्रस्तुत गर्न खोजिन्।
उनी ओस्करमा मनोनीत दक्षिण एशियाली मूलकी प्रथम अभिनेत्री भएको थाहा पाएपछि अमेरिकामा रहेका लेखक एवं शिक्षाविद् मयूख सेनले सन् २००९ मा पहिलो पटक मर्लप्रति चासो देखाए।
मर्लका चलचित्रहरू हेरेपछि र उनको विगतबारे गहिरो अध्ययन गरेपछि उनीप्रति सेनको आकर्षण बढ्दै गयो। "एक क्वीर व्यक्ति हुनुको नाताले म आफ्नो पहिचान लुकाउन बाध्य मानिसको भावना समानुभूत गर्न सक्छु। हाम्रो पहिचान स्वीकार्न नसक्ने शत्रुतापूर्ण समाजमा त्यसो गर्नु आवश्यक हुन्छ।"
अहिले सेन दक्षिण एशियाली परिप्रेक्ष्यबाट मर्लको कथा भन्न उनको जीवनी लेखिरहेका छन्।
इस्टेल मर्ल ओ'ब्राएन थम्पसनको जन्म सन् १९११ मा तात्कालिक बम्बई (हालको मुम्बई) मा भएको थियो। उनकी आमा सिन्हाली र माओरी मूलकी थिइन्। उनका बुवा भने ब्रिटिश थिए। सन् १९१७ मा उनको बुवाको निधनपछि उनीहरू कोलकाता बसाइँ सरे। मर्लले सन् १९२० मा कलकत्ताबाट अभिनय यात्रा सुरु गरिन्।
उनले सन् १९२५ मा पहिलो पटक स्वरविहीन चलचित्र "द डार्क एन्जल" हेरेकी थिइन्। सेनका अनुसार उक्त चलचित्रमा विल्मा बान्कीको अभिनयबाट प्रभावित भई मर्लले पनि कलाकार बन्ने अठोट गरिन्।
एक सैन्य अधिकारीले उनलाई निर्देशक रेक्स इन्ग्रामसँग भेट गराइदिए। ती निर्देशकले उनलाई आफ्नो चलचित्रमा केही भूमिका दिने भए। त्यसपछि सन् १९२८ मा उनी फ्रान्स गइन्।
अश्वेत देखिने मर्लकी आमा शार्लोट सेल्बी आफ्नै छोरीको सुसारेको रूपमा उनीसँगै गइन्।

तस्बिर स्रोत, Archive Photos
सन् २०१४ मा सार्वजनिक भएको वृत्तचित्र "द ट्रबल विद मर्ल" मा सेल्बी वास्तवमा अभिनेत्रीकी हजुरआमा भएको देखाइएको थियो। सेल्बीकी छोरी कन्स्टन्सले मर्ललाई किशोरावस्थामै जन्म दिएकी थिइन्। तर कन्स्टन्स र मर्ललाई सेल्बीले केही वर्षसम्म दिदीबहिनीसरह हुर्काइन्।
मर्लको पहिलो ठूलो सफलता सर अलेक्जेन्डर कोर्डाद्वारा निर्देशित चलचित्र "द प्राइभेट लाइफ अफ हेन्री एट्थ्" ले प्रदान गरेको थियो। सन् १९३३ मा प्रदर्शित उक्त चलचित्रमा उनी एन बोलिनको भूमिकमा देखिएकी थिइन्। निर्देशक कोर्डासँग पछि उनले विवाह गरिन्।
कोर्डाका प्रचारकहरूले मर्लको जातीय पृष्ठभूमिबारे छुट्टै कथा रच्नुपरेको बताइन्छ।
"उनको जन्मथलोको रूपमा टास्मेनिया चयन गरियो। किनकि यो अमेरिका र युरोपभन्दा टाढा छ र सामान्यतया ब्रिटिशसँग निटक मानिन्छ," द ट्रबल विद मर्लकी निर्देशक मारी डेलोफ्स्कीले वृत्तचित्रमा भनेकी छन्।
डेलोफ्स्कीले बताएअनुसार मर्ललाई होबार्टकी एक उच्च कुलीन युवतीको रूपमा प्रस्तुत गर्दै दुर्घटनामा परी पिताको मृत्यु भएपछि भारत सरेको बताइएको थियो।
यद्यपि मर्ल छिट्टै टास्मेनियाको हिस्सा बनेकी थिइन्। उनले कलाकारिता गरुन्जेल अस्ट्रेलियाली सञ्चारमाध्यमले उनलाई गर्व र उत्सुकतासहित नजिकबाट पच्छ्याइरह्यो। उनले टास्मेनिया आफ्नो जन्मथलो भएको भनिन् तर कोलकाताको नाम बिरलै लिइन्।
कोलकाताले भने उनलाई सम्झिरह्यो। "सन् १९२० र १९३० को दशकमा विभिन्न ब्रिटिशहरूले आफ्नो संस्मरणमा उनको नाम उल्लेख गरेका छन्," पत्रकार सुनन्द के दत्त रेले बताए।

तस्बिर स्रोत, Getty Images
"मानिसहरूको दाबीअनुसार उनी कलकत्तामा जन्मिएकी थिइन् र त्यहाँ उनी एउटा टेलिफोन एक्सचेन्जमा स्विचबोर्ड सञ्चालकको रूपमा काम गर्थिन्। उनले फर्पोको एउट रेस्टुराँमा प्रतिस्पर्धा पनि जितेकी थिइन्।"
थुप्रै हलीवुड चलचित्रमा काम मिलेकाले मर्ल अमेरिका गइन् र सन् १९३५ को चलचित्र द डार्क एन्जलमा निर्वाह गरेको भूमिकाका लागि ओस्कर मनोनयनमा परिन्।
तर १९३९ मा सार्वजनिक वदरिङ हाइट्समा प्रख्यात अभिनेता लरेन्स ओलिभिएरसँग अभिनय गरेपश्चात् हलीवुडमा उनको स्थान बलियो बनेको थियो।
विवरणहरूका अनुसार भारतमा जन्मिएकी अर्की अभिनेत्री भिभिएन लीको स्थानमा उनलाई लिइयो। लेखक सेनका अनुसार चलचित्र निर्माण समूहले तुलनात्मक रूपमा उनीसँग धेरै सम्भावना देखे।
न्यूयोर्क टाइम्समा प्रकाशित चलचित्रको समीक्षामा मर्लले "आफ्नो भूमिकालाई उत्कृष्ट ढङ्गमा न्याय गरेको" जनाइएको थियो।
सन् १९३० को अन्त्यले मर्ललाई हलीवुडको ठूलो समूहसँग परिचित गराएको सेनले बताए। उनका निकटवर्तीमा सङ्गीतकार कुल पोर्टर, नाटककार नोल कोवार्डजस्ता चर्चित कलाकार समाविष्ट थिए।
कोर्डा र प्रख्यात निर्माता स्यामूएल गोल्डविनले मर्ललाई अमेरिकी संस्कारमा घुलमिल हुन सहयोग गरे। सेनका अनुसार उनीहरूले उनको दक्षिण भारतीय लवज हटाउन सिकाए।
तर उनलाई पर्दामा अन्य अमेरिकी कलाकारजस्तै गोरो देखिए पनि मर्लको यस रहस्यले सकारात्मक प्रभाव पारेन।
"आफू मिश्रित वर्णकी हुँ भन्ने चर्चालाई उनले बेलाबेला मत्थर पार्नुपर्थ्यो। त्यस समयका चलचित्र पत्रकारहरू उनको हल्का अश्वेत देखिने वर्णबारे उल्लेख गर्थे," सेनले भने।
मर्लको छाला सेतो बनाउन प्रयोग गरिएका तत्त्व र विधिका कारण बिग्रिएको कसैकसैको भनाइ छ।

तस्बिर स्रोत, Getty Images
सन् १९३७ मा दुर्घटनामा परी मर्लको मुहारमा चोट लागेर खत बस्यो। त्यपछि छायाकार लुसिएन ब्यालर्डले एउटा पद्धतिको विकास गरे जसले उनको अनुहारको खत लुकाउँथ्यो। पछि मर्लले सन् १९४५ मा कोर्डासँग सम्बन्धविच्छेद गरी ब्यालर्डसँग विवाह गरिन्।
"केही स्रोतहरूले सुझाएअनुसार उक्त पद्धति क्यामराअगाडि मर्लको मुहार सेतो देखाउने उपाय थियो," सेनले भने।
आफ्नो वास्तविक नाम र पृष्ठभूमि लेखिए मुद्दा हाल्ने धम्की मर्लले दिएपछि आफूले ती कुरा सन् १९७९ मा प्रकाशित "चार्म्ड लाइभ्स" नामक पारिवारिक संस्मरणमा लुकाएको उनका भतिजा माइकल कोर्डाले बताएका छन्।
"मलाई लाग्थ्यो समय धेरै बितिसकेको थियो तर उनलाई आफ्नो विगतले धेरै पछिसम्म असर पारिरह्यो," माइकले एउटा अन्तर्वार्ता भनेका छन्।
तर यो झुट टिकाइराख्न निकै कठिन थियो।
सन् १९६५ मा मर्लले सार्वजनिक स्थानमा जाने कार्यक्रम स्थगित गरिन्। स्थानीय पत्रकारहरू उनको पृष्ठभूमि थाहा पाउन उत्सुक रहेको थाहा पाएपछि उनले अस्ट्रेलिया भ्रमण पनि छोटट्याइन्।
विवरणहरूका अनुसार उनको पहिचानबारे प्रश्नहरू उठ्न थालेपछि उनी सन् १९७८ को आफ्नो अन्तिम टास्मेनिया भ्रमणका क्रममा निकै रिसाएकी थिइन्।

तस्बिर स्रोत, Getty Images
उनले सार्वजनिक रूपमा सत्य कहिल्यै स्वीकार गरिनन्। सन् १९७९ मा हृदयाघातका कारण उनको मृत्यु भयो।
सन् १९८३ मा उनको एङ्ग्लो-इन्डियन पृष्ठभूमिबारे "प्रिन्सेस मर्ल: द रोमान्टिक लाइफ अफ मर्ल ओबरोन" नामक जीवनीमार्फत् सार्वजनिक भयो। जीवनी लेखकहरूले मुम्बईमा उनको जन्म अभिलेख, नामकरणको प्रमाणपत्र र उनका भारतीय आफन्तले पठाएको पत्र र तस्बिरहरू प्राप्त गरेका थिए।
आफूले लेखिरहेको पुस्तकमार्फत् सेनले दक्षिण एशियाली महिलाको रूपमा मर्लले झेलेको अथाह तनावको जानकारी प्रस्तुत गर्न सकिने विश्वास गरेका छन्।
"यी यावत् चुनौतीबीच आफ्ना लागि नबनेको चलचित्रमा समाहित हुनु र कौशल देखाउनु उनका लागि निकै नै तनावपूर्ण थियो," सेनले भने।
ती सङ्घर्षहरूको सामना गर्नु उनका लागि पक्कै सहज थिएन। त्यसैले उनीमाथि प्रश्न गर्नुभन्दा उनीप्रति आदारभावले सहानुभूति देखाउनु उचित हुने सेनको धारणा छ।








